निक्षेप र कर्जा बढ्यो

निक्षेप र कर्जा बढ्यो

काठमाडौः वाणिज्य बैंकहरूमा पछिल्लो तीन महिनायता देशमा सञ्चालित ८१ अर्ब रुपैयाँ निक्षप संकलन भएको छ । गत पुस १५ गते १८ खर्ब ६६ अर्ब रहेको निक्षेप संकलन चैत १८ सम्म आइपुग्दा १९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलन बढ्दै गएपछि लगानीयोग्य पुँजी अभाव ‘क्रेडिट क्रन्च' झेलिरहेका बैंकलाई केही राहत मिलेको छ । यस कारण कर्जा रोकेका बैंकहरूले साना परियोजनामा लगानी प्रवाह गर्न थालेका छन्।

विभिन्न बैंक तथा बिमा कम्पनीको फरदर पब्लिक अफरिङ (एफपीओ) मा लगानी भएको रकम पुनः बैंकिङ च्यानलमा आउनुका साथै राष्ट्र बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी रेसियो)मा देखाएको लचकता, साथै दोस्रो चौमास लाग्दादेखि नै बढ्न थालेको सरकारी खर्चका कारण बैंकहरूमा निक्षेप संकलन बढ्न थालेको हो ।

तर, गत माघ १४ मा १८ खर्ब ८२ अर्ब पुगेको निक्षेप संकलन चैत ११ मा आइपुग्दा १९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । चैत ४ मा १९ खर्ब ५३ अर्ब पुगेको निक्षेप चैत ११ को एक साताको अवधिमा सात अर्ब रुपैयाँले निक्षेप संकलन घटेको छ । चैत ११ गतेसम्म निक्षेप संकलन घटेर १९ खर्ब ४६ अर्बमा झरेको छ ।

त्यस साता सेयर बजार बढेपछि बैंकको निक्षेप संकलन घटेको हो । लगानीकर्ताको सेयर बजारमा आकर्षण बढेसँगै वाणिज्य बैंकहरूको निक्षेप संकलन घटेको हो । चैत पहिलो सातासम्म दैनिक ३०÷३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेकामा चैतको दोस्रो साता दैनिक करिब पौने अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगानीयोग्य पुँजी अभावका कारण विगत तीन महिनायता सबै प्रकारका कर्जा प्रवाह रोकका बैंकले पछिल्लो समय साना कर्जा दिन थालेका छन् । यसले गर्दा कर्जा प्रवाह पनि बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिनुभयो ।

निक्षेप संकलन बढेसँगै बैंकहरू कर्जा प्रवाह पनि बढाउन थालेका छन् । गत पुस १५ गते १५ खर्ब ३५ अर्ब रहेको बैंकहरूको लगानी चैत १८ गतेसम्म ९९ अर्ब रुपैयाले बढेर तीन महिनाको अवधिमा १६ खर्ब ३४ अर्ब पुगेको छ । यसको अर्थ बैंक विस्तारै सहजतातर्फ उन्मुख भएको छन् भन्ने हो । त्यति लगानीयोग्य पुँजीको अभावका कारण कर्जा प्रवाह ठ्याम्मै रोकेका बैंकहरूले अहिले केही राहत महसुस गरेका छन् । चैत ४ गतेसम्म १६ खर्ब ३० अर्ब कर्जा लगानी भएकामा ११ गते आइपुग्दा कर्जा प्रवाह २ अर्ब रुपैयाँले वृद्धि भएको छ ।

लगानीयोग्य पुँजी अभावका बेला बैंकहरूले साना व्यवसायमा लगानी गर्न सुरु गरे पनि निक्षेप भने पछिल्लो घट्दो र कर्जा लगानी बढ्दो क्रममा रहेको छ । गत माघ २० गते १६ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाको लगानी प्रवाह १५ अर्बले बढेर अहिले १६ खर्ब ३२ अर्ब पुगेको छ ।

निक्षेप संकलन तथा कर्जा प्रवाह हुन थालेपनि बैंकहरू सामान्य अवस्था फर्कंन भने अझै केही महिना लाग्ने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाहले बताउनुभएको छ । ‘यस आवसम्ममा अहिले अभावबाट बैंकहरू माथि उक्लने छन्', उहाँले भन्नुभयो ‘सरकारी खर्च बढ्न थालेपछि चालू आवको अत्यसम्म सम्भवत हामी सामान्य अवस्थामा फर्कंनेछौं ।'

राष्ट्र बैंकले सीसीडी गणना विधिलाई परिमार्जन गर्दै केही समय अघि पोलिसी गिफ्ट गरेको थियो । निक्षेपको ८० प्रतिशत मात्र ऋण लगानी गर्न पाइने व्यवस्थालाई परिमार्जन गरी राष्ट्र बैंकले विपन्न वर्गमा प्रत्यक्ष प्रवाहित २ प्रतिशतसम्मको कर्जा, व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान सम्बन्धी सरकारी कार्यक्रममा गएको ऋण र कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्यममा गएको कर्जाको ५० प्रतिशत रकमलाई सीसीडी गणना परिमार्जन गरेका कारण पनि केही बैंकमा पुँजी थपिएको हो ।

‘क्रेडिट क्रन्च' उच्च बिन्दुमा पुगेको बेला कतिपय बैंकहरूको सीसीडी रेसियो निर्धारित सीमालाई नाघेर ८९ प्रतिशतसम्म पुगेको थियो । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरूले ८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो नघाउन पाउँदैनन् । दैनिक गणना गरिने सीसीडी रेसियोको ८० प्रतिशत सीमा नाघेमा त्यो रकममा सात प्रतिशत जरिबाना लाग्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.