पाँच नेपाली खेलाडीलाई अवसर

पाँच नेपाली खेलाडीलाई अवसर

काठमाडौं : सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा आइतबारबाट सुरु हुने इटालियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्पबाट पाँच खेलाडीले इटालीमा अर्को वर्ष आयोजना हुने फुटबल फेस्टिभलमा सहभागिताको अवसर पाउने भएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा इटालीबाट आएका प्रशिक्षक डेभिड कोर्टीले एक साताको प्रशिक्षणमा उत्कृष्ट देखिएका पाँच खेलाडीले इटालीको मिलानमा हुने फुटबल फेस्टिभलमा आफ्नो क्षमता देखाउने अवसर पाउने बताए । उनका अनुसार एसी मिलान आफैंले आयोजना गर्ने फेस्टिभल अर्काे वर्षको मार्च अप्रिलमा हुनेछ ।

नेपालअघि २२ राष्ट्रमा क्याम्प सञ्चालन गरिसकेको एसी मिलानले नेपालसहित ती सबै देशका उत्कृष्ट केही खेलाडीलाई सो फुटबल फेस्टिभलमा सहभागी गराउने योजना बनाएको छ । 'हामीले एक साताको प्रशिक्षणबाट कम्तीमा चार वा पाँच उत्कृष्ट खेलाडीलाई छान्नेछौं । उनीहरूलाई अर्को वर्षको मार्च वा अप्रिलमा हुने फेस्टिभलका लागि इटालीमा बोलाउनेछौं', पत्रकार सम्मेलनमा कोर्टीले भने, 'नेपाली खेलाडीसहित अन्य देशका खेलाडी पनि त्यहाँ हुनेछन् ।'

युरोपेली फुटबल क्लबले पहिलोपटक नेपालमा सञ्चालन गर्न लागेको फुटबल क्याम्प आइतबारबाट सुरु हुँदैछ । एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा हुन लागेको क्याम्पमा एक सय २५ युवा खेलाडी सहभागी हँुदैछन् । आयोजकका अनुसार क्याम्पमा सातदेखि १७ वर्ष सम्मकालाई समावेश गरिएको छ । क्याम्पमा कोर्टीसहित पउलो कार्ली, एन्द्रेया निकोली र निकोलास फासोलीले प्रशिक्षण दिनेछन् । उनीहरूसँग एसी मिलान जुनियर फुटबल क्याम्पका अध्यक्ष तथा प्राविधिक निर्देशक डानिली पाकाग्नान पनि हुनेछन् ।

कोर्टीले आफूहरूले नेपाली युवा फुटबलरहरूलाई युरोपेली फुटबल संस्कृति र खेल्ने शैली सिकाउने बताए । 'पहिलो कुरो हामी नेपाली खेलाडीसँग रमाइलो गर्नेछौं । साथै हामी उनीहरूलाई युरोपेली फुटबल संस्कृति सिकाउनेछौं', कोर्टीले भने, 'एक साताको अवधिमा हामी उनीहरूलाई हामीले खेल्ने शैली सिकाउनेछौं । उनीहरूले केही नयाँ सिक्ने अवसर पाउनेछन् ।'

आयोजक एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काका अनुसार इटालियन प्रशिक्षकहरूलाई नेपाली प्रशिक्षकले समेत सहयोग गर्नेछन् । 'हामीले फुटबल खेल्ने इच्छा भएका युवालाई युरोपेली फुटबल संस्कृति र खेल्ने शैली सिकाउने उद्देश्यले जुनियर क्याम्प सञ्चालन गरिरहेका छौं', निर्देशक खड्काले भने, 'यसबीचमा हामी इटालियन प्रशिक्षकहरूको अनुभव सुन्न नेपाली प्रशिक्षकहरूसँग एउटा कार्यक्रमसमेत आयोजना गर्दैछौं ।' खड्काले एसी मिलान जुनियर फुटबल क्याम्प सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.