काठमाडौं सस्तोः राष्ट्र बैंक
काठमाडौः देशका अन्य क्षेत्रको तुलनामा काठमाडौं सबैभन्दा सस्तो देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आठ महिनाको समष्टिगत आर्थिक परिदृष्यले हिमाल, पहाड र तराईको तुलनामा काठमाडौंको मूल्य वृद्धि कम भएको देखाएको हो ।
क्षेत्रगत तथ्यांकका आधारमा फागुनसम्म काठमाडौं उपत्यकाको मूल्य वृद्धि १.९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा उपत्यका सबैभन्दा महँगो थियो । गएको वर्षको समीक्षा अवधिमा उपत्यकमा १२.७ प्रतिशत मूल्य वृद्धि थियो । ६ महिना लामो नाकाबन्दीको कारण आपूर्ति व्यवस्थामा सहजता नहुँदा गएको वर्ष देशका अन्य क्षेत्रको तुलनामा काठमाडौं अत्यन्त महँगो थियो । अहिले आपूर्ति व्यवस्थामा आएको सहजताले काठमाडौं उपत्यका सस्तो बनेको हो ।
त्यसरी नै उपभोक्ता मूल्य वृद्धि दर पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत छ । गएको वर्षको सो अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत थियो ।
गएको वर्ष फागुनमा १०.२ प्रतिशत रहेको मूल्य वृद्धिदर यस वर्ष ओरालो लाग्ने क्रम जारी छ । यस वर्षको फागुनमा मूल्य वृद्धिदर २.९ प्रतिशतमा सीमित भएको छ । माघमा मूल्यवद्धि ३.३ प्रतिशत थियो । गत वर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनामा उपभोक्ता मूल्य वृद्धिदर घट्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा खाद्य क्षेत्रको मूल्य वृद्धिदर शून्य दशमलव चार प्रतिशत ऋणात्मक छ । गएको वर्षको सोही अवधिमा खाद्य मूल्य वृद्धि १०.३ प्रतिशत थियो । खाद्य समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घिउ तथा तेलको मूल्य ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा शून्य दशमलव एक प्रतिशतले ऋणात्मक छ ।
क्षेत्रगत तथ्यांकका आधारमा फागुनसम्म काठमाडौं उपत्यकाको मूल्य वृद्धि १.९ प्रतिशत छ ।
समीक्षा अवधिमा मसला, दुधजन्य पदार्थ तथा अन्डाको मूल्य वृद्धि गएको वर्षको समीक्षा अवधिको तुलनामा घटे पनि ऋणात्मक भने भएको छैन । त्यसैगरी यस वर्ष चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति पाँच दशमलव छ प्रतिशत छ । गएको वर्षको सोही अवधिमा गैरखाद्य मूल्य वृद्धि १०.२ प्रतिशत थियो । गैरखाद्य समूह अन्तर्गत लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य वस्तुको मूल्य वृद्धि कम रहन राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर एक प्रतिशत छ । गएकोे वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धि पाँच दशमलव पाँच प्रतिशत थियो । थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक शून्य दशमलव दुई प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक चार दशमलव दुई र आयातित वस्तुको मूल्य सूचकांक एक दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।
गएको वर्षको सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचकांक नौ दशमलव एक प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक छ दशमलव तीन प्रतिशतले बढेको थियो भने आयातित वस्तुको मूल्य सूचकांक दुई दशमलव आठ प्रतिशतले घटेको थियो ।