महिला चलचित्र महोत्सवमा मूलधारका कुरा
काठमाडौं : नेपालमा पहिलो पटक आयोजना गरिएको महिला चलचित्र महोत्सव 'आइवार्ड वुमेन फिल्म फेस्टिवल' सोमबार सम्पन्न भएको छ । 'मूलधारमा महिला चलचित्र निर्माता' भन्ने नारासहित रेडियो तथा टेलिभिजनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय संस्था (आइवार्ड)को नेपाल शाखाले महोत्सव आयोजना गरेको हो । महोत्सवमा नेपालका साथै क्यामरुन, फिलिपिन्स, मलेसिया, चीन, जापान, भारत, बंगलादेश र अमेरिका गरी आठ देशका महिला निर्माताले निर्माण गरेका १० वटा चलचित्र प्रदर्शन गरिएको थियो ।
महोत्सवमा कला संग्रौलाद्वारा निर्देशित बुट्टे जामा (नेपाल), त्रिवेणी रायको मेमोरी अफ हर्ट (भारत), रजिला श्रेष्ठको रडियो मेलम्ची १०७.२ (नेपाल), हन्स थपलियाको घर स्टुटियो है (भारत), मकी सटकी (जापान), हरिकथा प्रसंग अन्ननेया करवल्ली (भारत), नैना सबनानीको वी मेक इमेजेज (भारत), युझिआवको वाकिङ (चीन), अनिथा बालचन्द्रन पुडाभाइ (भारत) र उल्क प्रदर्शन गरिएको थियो ।
आइवार्ड फिल्म फेस्टिवलका कार्यक्रम निर्देशक मल्लिका भट्टराईले महिला निर्माता÷निर्देशकलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरेको बताउनुभयो । 'वुमेन फिल्म फेस्टिवलको मुख्य उद्देश्य महिला निर्माता÷निर्देशकलाई प्रोत्साहन गर्नु हो', निर्देशक भट्टराईले भन्नुभयो । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका महिला निर्देशक समेत महोत्सवमा सहभागी भएकाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने उहाँको भनाई छ । नेपालमा यसले महिला पत्रकारका लागि व्यक्तित्व विकास तथा सशक्तीकरण गर्ने काम गर्दै आएको आइवार्ड नेपाल शाखाका अध्यक्ष अनुपा श्रेष्ठले बताउनुभयो ।
सञ्चारिक समूहकी अध्यक्ष निर्मला शर्माले महिला धेरै साहसिक भइसकेको अवस्थामा चलचित्रले पनि महिलालाई परम्परागत भूमिकामा सीमित नराखी साहसिक भूमिका खेल्न सक्छन् भन्ने सन्देश समेट्नुपर्ने सुझाव दिनुभयो ।सन् १९४९ मा स्थापना भएको आइवार्डको ५० देशमा सदस्य रहेको छ ।