बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहःएक वर्षमै सवा चार खर्ब बढ्यो
काठमाडौः बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी एक वर्षमै चार खर्ब ३१ अर्ब ५४ करोड रुपैयाँ बढेको छ । भूकम्प र भारतीय नाकाबन्दीपछि देशमा आर्थिक चहलपहल सुरु हुन थालेसँगै बैंकहरूको कर्जा विस्तार भएको हो । गत वर्षको फागुनदेखि चालू आवको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १९ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा यो रकम २८.६७ प्रतिशत बढी हो । गएको आर्थिक वर्षको दोस्रो चौमाससम्म यस्तो लगानी १५ खर्ब पाँच अर्ब १९ करोड थियो । पछिल्लो समय क्षेत्रगत कर्जा वृद्धि उच्चदरले भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । ‘अहिले उच्चदरमा भएको कर्जा विस्तार एडिसन लगानी भएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताउनुभयो । ‘पुरानो कर्जा उठेको हुन सक्छ, नत्र यसरी उच्च दरमा कर्जा लगानी बढ्ने सम्भावना थिएन', उहाँले भन्नुभयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पुँजी वृद्धि योजनाको दबाब बढ्दै जाँदा बैंकहरूले कर्जा प्रवाहलाई पनि विस्तार गर्दै लगेका हुन् ।
कर्जा बढ्नु सकारात्मक संकेत भएको अर्थविद्ले बताएका छन् । कर्जा विस्तार हुँदा देशको अर्थतन्त्र चलायमान भई औद्योगिक गतिविधि बढ्ने र यसले उत्पादन वृद्धि गराउने, रोजगारी सिर्जना हुने, स्रोतको परिचालन हुन गई सबल अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने अर्थविद् डा.चन्द्रमणि अधिकारीले बताउनुभयो । ‘कर्जा नबढे उत्पादन हुँदैन', उहाँले भन्नुभयोे, ‘तर, कुन क्षेत्रमा कसरी कर्जा विस्तार भएको छ, त्यो हेर्नुपर्छ ।' ‘सन्तुलित लगानी हुनुपर्छ ।' सेयर पुँजीमा भएको लगानीले अर्थतन्त्र निर्माण गर्नुको साटो भत्काउँछ भने हायर पर्चेज, घरजग्गा, खुद्रा व्यापारमा बढेको लागानीले उपभोग र राजस्वमात्र वृद्धि गर्ने उनको भनाइ छ ।
गत वर्षको फागनुसम्म दुई खर्ब २५ अर्ब रहेको घरजग्गा कर्जा यस वर्षको सोही अवधिसम्म आइपुग्दा ६७ अर्बले बढेर दुई खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । यस्तै हायर पर्चेज कर्जा ५९ अर्ब रुपैयाँले बढेर एक खर्ब ४८ अर्ब पुगेको छ भने थोक तथा खुद्रा व्यापार बढेर ९३ अर्ब ४१ करोडले बढेर चार खर्ब २३ अर्ब ६ करोड पुगको छ । यस्तो कर्जा विस्तारले व्यापार बढाए पनि उद्योग र उत्पादन भने नबढ्ने अधिकारीले बताउनुभयो । पूर्वाधार निर्माण तथा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा बढ्नुपर्नेमा अनुत्पादक क्षेत्रमा बढेको छ । उहाँले भन्नुभयो, ‘अहिलेकै अवस्थामा अनुत्पादक क्षेत्रमा कर्जा लगानी बढ्दै जाने हो भने अर्थतन्त्र धराशायी हुँदै जान्छ ।'
पछिल्लो तथ्यांकअनुसार नेपालको अर्थतन्त्र २२ खर्ब ४८ अर्ब रुपैयाँको छ । नेपालको अर्थतन्त्रअनुसार २३/२४ प्रतिशतभन्दा माथिको कर्जा वृद्धि अस्वाभाविक भएको नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.युवराज खतिवडाले बताउनुभएको छ । अन्नपूर्णसँगको कुराकानीमा उहाँले यस्तो कर्जा वृद्धिले आयात बढाउने, भुक्तान सन्तुलन घटाउने शोधानान्तरस्थिति बिग्रने बताउनुभयो ।
‘एक रुपैयाँले बढी कर्जा गयो भने त्यतिनै रुपैयाँले हाम्रो विदेशी सञ्चिति घट्छ र बढी कर्जा प्रवाहले भुक्तानी सन्तुलनमा चाप पार्छ ।' गएको आर्थिक वर्षको दोस्रो चौमासको तुलनामा यस वर्षको दोस्रो चौमाससम्म बैंक तथा वित्तीय क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह २८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
सेयर पुँजीमा भएको लगानीले अर्थतन्त्र निर्माण गर्नुको साटो भत्काउँछ भने हायर पर्चेज, घरजग्गा, खुद्रा व्यापारमा बढेको लागानीले उपभोग र राजस्व मात्र वृद्धि गर्छ । डा.चन्द्रमणि अधिकारी, अर्थविद
नेपालको अर्थतन्त्रअनुसार २३/२४ प्रतिशतभन्दा माथिको कर्जा वृद्धि अस्वाभाविक हो । यस्तो कर्जाले आयात बढाउने, भुक्तान सन्तुलन घटाउने र शोधानान्तरस्थिति बिग्रने हुन्छ । डा.युवराज खतिवडा, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक
बैंक तथा वित्तीय क्षेत्रको साधन उत्पादनमूलक क्षेत्रमा गएमा यसले मूल उद्योगका साथै सहायक उद्योग खोल्नसमेत सहयोग पुर्याउने उहाँको बुझाइ छ । हाइड्रोपावर, कृषिलगायतका क्षेत्रको लगानीले उत्पादन वृद्धि गर्नुका साथै अर्थतन्त्र निर्माणमा समेत टेवा मिल्नेछ । गएको वर्षको समीक्षा अवधिको तुलनामा यस वर्ष कृषि क्षेत्रको कर्जा २०.३५ प्रतिशतले बढेर ८५ अर्ब ४५ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले आफ्नो कुल लगानीको कृषि र जलस्रोतमा १५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान राखेको छ । यसका साथै देशलाई आत्मनिर्भर बनाउने मुख्य आधारका रूपमा कृषि र जलस्रोत मानिएको छ । यस क्षेत्रको विकास र विस्तारका लागि सरकारले सेवा सुविधा पनि बढाएको छ । यसै कारण पनि पछिल्लो समय लगानीकर्ता यस क्षेत्रमा लगानी गर्न हौसिएका छन् ।
समीक्षा अवधिमा उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी १८.८८ प्रतिशतले वृद्धि भएको छ । समग्र कर्जा प्रवाह वृद्धि भएको छ । तर, अनुत्पादक क्षेत्रमा जसरी कर्जा प्रवाह वृद्धि भएको छ त्यस अनुपातमा उत्पादनमूलक क्षेत्रमा भएको छैन ।