पोखरामा नव वर्ष महोत्सव सुरु
पोखरा : नयाँ वर्ष २०७४ लाई स्वागत गर्न पोखरामा मंगलवारदेखि नव वर्ष महोत्सव सुरु भएको छ । नेपाली नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न जातीय झाँकीसहित नव वर्ष महोत्सव सुरु भएको हो ।पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा सुरु भएको चौधौं फेवा नव वर्ष महोत्सव स्थानीय कोमागाने पार्कमा आगामी वैशाख २ गतेसम्म चल्नेछ । महोत्सव हुनुअघि बैदामको खहरेचोकवाट बाजागजासहित विभिन्न जातीय संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवमा प्रस्तुत भएका झाँकीले पर्यटकलाई लोभ्याएको थियो । पर्यटकहरू झाकीको तस्विर खिच्न व्यस्त थिए । पोखरामा रहेर व्यवसाय गरेका चिनियाँ व्यवसायी पनि आफ्नो देशको राष्ट्रिय झण्डासहित र्यालीमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै होटल संघ नेपालकी वरिष्ठ उपाध्यक्ष सृजना राणाले २० हजारसम्म पर्यटक भित्र्याउन नसके होटलमा भएको लगानी धराशायी हुने बताइन् । भूकम्प र नाकाबन्दीपछि पछिल्लो समय पर्यटकको आगमन बढे पनि होटलको संख्या बढेकाले पर्यटन प्रवद्र्धनमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरालाई नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रूपमा विकास गर्न आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव पर्यटकीय गतिविधि बढाउन महत्वपूर्ण हुने बताए । महोत्सवमा खानाका पन्ध्र तथा अन्य व्यापारिक गरी कुल ६० स्टल राखिएको छ । स्थानीय र पर्यटक गरी कुल एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको संघका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा डुंगा दौड, पर्यटक दौड, एकल नृत्य र गीत संगीतका कार्यक्रम समेटिएको छ ।
महोत्सवको अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर संघ प्रथम, नेवा कच खल बैदाम दोस्रो र किराँत सेवा समाज तेस्रो भए । झाँकीमा २६ समूह सहभागी थिए । यसैगरी आमा समूहको प्रतियोगितामा बंगलादी आमा समूह, खहरे आमा समूह र क्षेत्री महिला समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भए । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि होटल संघसँग मिलेर नयाँको सुरुसँगै भारतका विभिन्न शहरमा ‘चलिये पोखरा’ अभियान लिएर जाने बताए।