भवानी राणाद्वारा पदभार ग्रहण
काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार महासंघ सचिवालय टेकुमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि मंगलबार निर्वाचन भएको थियो ।
महासंघको ५२ वर्ष पुरानो इतिहासमा राणाले पहिलो महिला अध्यक्ष हुने सौभाग्य प्राप्त गर्नुभएको हो । महासंघको संशोधित विधानअनुसार उहाँ स्वतः अध्यक्ष हुनुभएको हो । संशोधित विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ । उहाँले पदभार ग्रहण गर्दै तीन वर्षे कार्यकालका लागि २६ बुँदे कार्ययोजनासमेत घोषणा गर्नुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई एकतावद्ध गरेर आर्थिक समृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अध्यक्ष राणाले मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग सशक्त सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । निवर्तमान अध्यक्ष मुरारकाले अगाडि बढाएका काम कार्यान्वयन गर्ने पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । नेपालबाट वार्षिक साढे चार लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । बिदेसीने युवाशक्तिलाई स्वदेशमै रोक्नका लागि सातवटै प्रदेशमा टेक्निकल स्कुल खोल्न पहल गरिने उहाँको घोषणा छ ।
जस्तोसुकै राजनीतिक अस्थिरतामा पनि मुलुकको आर्थिक विकासको गति रोकिन नदिन संसद्बाट दीगो विकास र आर्थिक समुन्नतिका लागि संकल्प प्रस्ताव पारित गरेर लागू गर्न राजनीतिक दल र सरोकारवालासँग पहल गर्ने अध्यक्ष राणाले बताउनुभयो । यस्तै, महासंघले मुलुकको आर्थिक विकास, नीति तथा ऐन कानुनका विषयमा महासंघको धारणा निर्माणका लागि प्रबुद्ध व्यक्ति सहभागी गराएर विज्ञ समूहसमेत गठन गर्नेछ ।
नेपाल र भारतबीच व्यापारमा देखिने समस्याको समाधान तथा गैरभन्सार अवरोध अन्त्यका लागि नेपाल–भारत इकोनोमिक समिट आयोजना गर्ने प्रतिबद्धता छ । ठूला पूर्वाधारमा वैदेशिक लगानी भित्र्याउन तथा स्वदेशी लगानी अभिवृद्धिका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) नीतिको समयानुकूल परिवर्तन गर्दै लगानीको वातावरण बनाउन महासंघले नेतृत्व लिने भएको छ ।
स्वदेशमा उत्पादित बस्तु १५ प्रतिशतसम्म महंगो भए पनि सरकारी कार्यालयमा अनिवार्य प्रयोग गर्ने व्यवस्था छ तर कार्यान्वयन हुन सकेको छैन । सरकारी कार्यालयमा प्रयोग हुने स्वदेशी वस्तुको सूची तयार पार्ने, तिनको उत्पादनमा जोड दिने र कार्यान्वयनका लागि पहल गर्ने कार्ययोजनामा उल्लेख छ ।
यसैगरी, जिल्ला/नगर उद्योग वाणिज्य संघको सांगठनिक सुदृढीकरण तथा सशक्तीकरणका लागि पनि पहल गरिने भएको छ । महासंघले नेपाली कच्चा पदार्थको मूल्य अभिवृद्धिका लागि ठोस योजना बनाएर कच्चा पदार्थको प्रशोधन र भन्डारणमा विशेष ध्यान दिनेछ । जलाशययुक्त विद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माण गर्न सरकारलाई सहयोग गर्ने, जग्गा प्राप्ति र भू–उपयोग नीति कार्यान्वयनका लागि सरकारसँग समन्वय गर्ने पनि उल्लेख छ ।
मुलुकका सातवटा प्रमुख सहरमा स्मार्ट सिटी स्थापना गरिने भएको छ । यसको अवधारणा निजी क्षेत्रले नै तयार पार्नेछ । मिसम्याच, भ्याट विवादमा व्यवसायमैत्री पारदर्शी नीति नियमको व्यवस्था गर्न दवाव सिर्जना गर्ने रणनीति लिइएको छ । औद्योगिक सुरक्षा बलको सशक्तीकरण, प्रान्तीय क्षेत्रमा पनि उद्योग व्यवसायीको भौतिक तथा उद्योग प्रतिष्ठानको सुरक्षाका लागि स्थानीय प्रहरीसँग समन्वय र सहकार्य गरिने बताइएको छ ।
महासंघको ५२ वर्षे इतिहासमा राणाले पहिलो महिला अध्यक्ष हुने सौभाग्य प्राप्त गर्नुभएको हो । उहाँले पदभार ग्रहण गर्दै तीन वर्षे कार्यकालका लागि २६ बुँदे कार्ययोजनासमेत घोषणा गर्नुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई एकताबद्ध गरेर आर्थिक समृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अध्यक्ष राणाले नेपालमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि रिसर्च एन्ड डेभलपमेन्ट सम्बन्धी काम सुरु गर्न संयन्त्र स्थापना गर्ने बताउनुभयो । निकासी प्रवद्र्धनका लागि सम्भवना खोजि गरिनेछ । साथै, निर्यातमा दिइँदै आएको नगद अनुदानलाई पारदर्शी र सहज बनाउन पनि पहल हुनेछ । मास ट्रान्सपोर्टमा पीपीपी मोडलमा सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो ।
नेपालको वैदेशिक व्यापारमा देखिएका समस्या क्रमशः न्यूनीकरण गर्दै लैजाने, औद्योगिक गणना गर्ने, राष्ट्र बैंकसँगको समन्वयमा राम्रा परियोजना धितोमा राखेर निश्चित प्रतिशतसम्म लगानीका लागि नीतिगत व्यवस्था गर्न पहल गरिने छ । पुँजीगत खर्चको कार्यान्वयनका लागि आर्थिक वर्षको सुरुवातदेखि नै महासंघले पहल गर्ने भएको छ । निर्माण सामग्री नपाउने अवस्थाको अन्त्य गर्न पनि पहलकदमी हुनेछ । विकास निर्माणको वार्षिक क्यालेन्डर सार्वजनिक गर्न पहल गर्ने अध्यक्ष राणाले बताउनुभयो ।
पर्यटन प्रवद्र्धन, सूचना प्रविधिको विकास, नेपाली राजदूतलाई विदेशी लगानी र पर्यटक भित्र्याउने तार्गेट दिन र मुलुकबाहिरका वाणिज्य दूतावासलाई व्यवसायमैत्री बनाउन सरकारसँग सहकार्य हुनेछ । महिला उद्यमशीलताको विकासका लागि अधिकतम पहल गर्ने अध्यक्ष राणाले बताउनुभएको छ । महिलाद्वारा सञ्चालित उद्योगको क्षमता विकास र विस्तारका लागि महासंघले समन्वय गर्नेछ ।
महासंघको जिल्ला/नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । एसोसियट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध भएका छन् । शेखर गोल्छा र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । गोल्छा समूहले बरिष्ठ उपाध्यक्षसहित अधिकांश पदमा जीत हासिल गरेको छ ।