नयाँ वर्षमा सांस्कृतिक प्रस्तुति
काठमाडौः भारतीय सांस्कृतिक केन्द्र र नेपालका लागि भारतीय राजदूतावासले बुधबार काठमाडौंमा नेपाली नयाँ वर्ष विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ । ‘कलर्स अफ द नर्थन एन्ड साउर्थन स्टेट्स अफ इन्डिया'अन्तर्गत भएको कार्यक्रममा कुलजित सिंहको नेतृत्वमा भारतबाट आएका १२ जना कलाकारको सांस्कृतिक प्रस्तुति रहेको थियो । विक्रम संवत् नेपाल र भारत दुवै मुलुकमा नयाँ वर्षका रूपमा मनाउने गरिएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उद्घाटन गरेका थिए । सामाजिक, सांस्कृतिक एवं जनस्तरमा नजिकको सम्बन्ध रहेको नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यस प्रकारका कार्यक्रम सहायक सिद्ध हुने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा नेपाली कलाकर्मीको बाक्लो उपस्थिति थियो ।