मध्यरातमा ओ अमिरा...
भरतपुरः अघिल्ला वर्षमा जस्तै यस पटक पनि नयाँ वर्षको अवसरमा चितवनमा विभिन्न कार्यक्रम भए । नयाँ वर्षको अघिल्लो दिन बिहीबार रातिसम्म नारायणगढको होटेल सेन्ट्रल पाम संगीतमय बन्यो । रातको ११ बजे गायक दीपक वज्राचार्य स्टेजमा देखा परे । ब्यान्डसहित स्टेज पुगेका उनले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी चितवनवासीलाई भरपुर मनोरञ्जन दिए । दर्शक पनि सांगीतिक वातावरणमा झुम्दै नयाँ वर्षलाई स्वागत गर्न पाउदा दंग देखिन्थे।
कार्यक्रममा दीपकले ‘ओ अमिरा' बोलको गीतबाट गाउन सुरु गरे । त्यसैगरी ‘फर्केर आउने छैन', ‘काली काली हिस्सी परेकी', ‘जाऊ तर्केर जाऊ', ‘कति आउँछौ सपनीमा', ‘नगर हेलाँ'जस्ता गीतले दर्शकको मन जित्यो । उनको चर्चित गीत ‘मायाको डोरीले निष्ठुरी मोरीलाई' बोलको गीत गाउँदा अधिकांश दर्शक उनको गीतको तालमा नाचिरहेका थिए । दीपकको प्रस्तुतिसँगै लाखे र झाँक्रीनाचले पनि दर्शकलाई फरक स्वाद दियो ।
कार्यक्रममा अर्का गायक धर्मेन्द्र सेवानको प्रस्तुतिलाई पनि दर्शकले रुचाए । ‘हाजिर गरौं त' बोलको गीतबाट गाउन सुरु गरेका उनले रेसम फिरिरी, ‘हेर्दा राम्रो माछापुच्छ्रे' जस्ता गीत गाएर दर्शकलाई नचाए । सेवानले टिमिक्कै टिमिक्कै, छातीमा मेरो, १६ वर्षे उमेरमा बोलका गीत पनि गाएका थिए ।
गायक प्रकाश तिमिल्सिनाले विभिन्न भाषाको गीत गाए । ‘तिम्रै हातको सिन्दूर लाउछु' , ‘मान्छे रैछौ खली', ‘तिमीलाई देखेर', ‘प्रिय तिम्रो सिउँदोमा, ‘माया बैगुनीजस्ता उनका गीतमा पनि दर्शक त्यतिकै झुमे । आर्थिक समस्याले आँखाको उपचार गर्न नसकेका उनले त्यसका लागि गाउँदै हिँडेको बताए । गायिका मीना निरौलाले दर्शकको माग आएपछि ‘काले दाइ' र ‘ठमेल बजार' दोहोर्याएर गाउनु परेको थियो । सो अवसरमा दिया जोशीले पनि नृत्य प्रस्तुत गरेकी थिइन् ।
नयाँ वर्षको अवसरमा दाताज इभेन्टले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ । दाताजको यो सातौं शृंखला हो । पारिवारिक सांगीतिक माहोल बनाउन कार्यक्रम आयोजना गरिएको इभेन्टका प्रमुख दाताराम घिमिरेले बताए । त्यस्तै नयाँ वर्षको अवसर पारेर नारायणी कला मन्दिरले पनि गरिमा इन्द्रेणी साझ आयोजना गर्यो । कार्यक्रममा नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।
नारायणी कलाबाटै कलाकारिता सुरु गरेका मोडेल पूर्णिमा श्रेष्ठ र प्रमिला खनालले नृत्य प्रस्तुत गरेका गरेका थिए । नेपाली नयाँ वर्षलाई चाडको रूपमा मनाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष उमेश अधिकारीले बताए । उनका अनुसार २६ वर्षदेखि कलामन्दिरले इन्दे्रणी साँझ गर्दै आएको हो । स्थानीय कलाकारको प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी भएको सचिव उद्धव जोशीले बताए ।
त्यसैगरी क्यान्सर पीडितको सहयोगार्थ भरतपुर शुभकामना साँझ पनि आयोजना गरियो । परिचयनामक संस्थाले गरेको कार्यक्रममा गायिका इन्दिरा जोशी, लोकदोहोरी गायक मिलन लामालगायतको प्रस्तुति रहेको थियो । कार्यक्रमबाट उठेको रकम क्यान्सरपीडितका लागि सहयोग गरिने अध्यक्ष वन्दना खाँणले जानकारी दिएकी थिइन् ।