न्यायका नौ सिङ

न्यायका नौ सिङ

ढिलै भए पनि कसैलाई न्याय किन दिइयो भनेर प्रश्न गर्नु जायज हुँदैन । तर न्यायमा ढिलाइ किन भयो ? त्यो सोध्ने हक हरेक नागरिकसँग हुन्छ । न्यायिक प्रणालीमा दुइटा सिद्धान्त सामान्य व्यक्तिहरूले पनि दोहोर्‍याउने गर्छन् । पहिलो- 'जस्टिस डिलेड इज जस्टिस डिनाइड (ढिलो न्याय दिनु नदिनुजस्तै हो) र दोस्रो- 'जस्टिस हरिड इज जस्टिस बरिड' (हतारमा न्याय मार्नुसरह हो) । दुवै उक्तिहरूको सार एउटै हो- हतार या अनावश्यक ढिलाइ स्वीकार्य हुँदैनन्, न्याय दिने क्रममा र ती दुवै प्रवृत्तिले न्याय मर्छ ।

अपवाद सबै ठाउँ र संस्थामा हुने गर्छन् । नेपालको न्यायपालिका र सर्वोच्च अदालतमा पनि त्यस्ता अपवाद होलान् । तर अपवाद अपवाद नरहेर नियम बन्यो भने ? अर्थात् कुनै विशेष मुद्दालाई सुपर फास्ट ट्र्याकमा र अर्कोलाई कछुवाजतिको ट्र्याकमा राखेर न्याय दिने चलन बस्यो भने ? के कुनै नागरिक या समूह बढी न्यायको हकदार र अरू कम हुने गर्छन् ? अथवा के सर्वोच्च न्यायपालिकासँग कुनै मुद्दालाई प्राथमिकतामा राखेर र अरूलाई कम प्राथमिकताका साथ न्यायको गति निर्धारित गर्ने अधिकार हुन्छ ? हो, पक्कै पनि आवधिक महत्व (टाइम फाउन्ड) या अति संवेदनशील राष्ट्रिय हित तथा संवैधानिक महत्वसँग सरोकार राख्ने विषयलाई सर्वोच्चले प्राथमिकता दिनुपर्छ, तर त्यो उसको या कुनै न्यायाधीशको व्यक्तिपरकताबाट निर्देशित हुनु हुँदैन ।

अहिले दुइटा महत्वपूर्ण विषयमा सर्वोच्चको फैसला आएको छ । एउटा- 'सुपर फास्ट ट्र्याक' मा पर्‍यो र अर्को 'कछुवा ट्र्याक' मा । यी दुइटा विषयलाई क्रमशः न्यायमा भएका हतार र ढिलाइका उदाहरणको रूपमा लिन सकिन्छ । माओवादीले चलाएको 'जनयुद्ध' का नाममा पार्टीका नेता बालकृष्ण ढुंगेलले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरे २०५५ मा । त्यसको ११ वर्षपछि अर्थात् शान्ति प्रक्रियाको तीन वर्षपछि ढुंगेललाई सर्वोच्चले हत्यामा दोषी ठहर गरी जन्मकैद र सर्वस्वहरणको आदेश दियो । ढुंगेल सांसद थिए त्यसबेला र सांसदकै हैसियतमा काम गरिरहे । कांग्रेस, एमाले र माओवादीले दल र सरकारका अंगका रूपमा कुनै कदम चालेनन्, उनको गिरफ्तारीको लागि । बरु फैसलाको दुई वर्षपछि अहिलेको नयाँ शक्ति र त्यसबेला माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा ढुंगेलविरुद्धको 'फैसला' लाई रद्द गरी उनलाई उन्मुक्ति दिने कोसिस गरे । सर्वोच्चले फेरि तगारो हाल्यो।

तर अहिले फरार ढुंगेललाई एक साताभित्र गिरफ्तार गर्न सर्वोच्चको एकल इजलासले आदेश दिएको छ र त्यसको कार्यान्वयनको लागि प्रहरी प्रमुख प्रकाश अर्याललाई जिम्मेवारी दिएको छ इजलासले । अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलले दुई पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी र कल्याण श्रेष्ठमाथि भौतिक कारबाहीको धम्की दिएको भनी उनीमाथि कारबाही माग गरी दायर याचिकामा सर्वोच्चले फैसला गरेको हो ।

आईजीपी प्रकाश अर्याललाई किन व्यक्तिगत रूपमा यो आदेश थमाइयो ? यसबारे अनेक अड्कलबाजी भइरहेका छन् र उता माओवादी नेताहरू सर्वोच्चको आलोचना र ढुंगेलको पक्षमा उत्रेका छन्, सामाजिक सञ्जालमार्फत अहिले । एउटा काल्पनिक प्रश्न : ढुंगेलले पूर्व प्रधानन्यायाधीशबाहेक अन्य कुनै नगारिकलाई धम्की दिएको भए के सर्वोच्च इजलासले त्यही गति र शैलीमा आदेश दिन्थ्यो होला ?
यो आदेशकै आशयमा सर्वोच्चको अर्को इजलासले उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेलाई एउटा भ्रष्टाचार मामिलामा सफाइ दियो, ०४५ सालमा तत्कालीन सरकारले माफी दिएको निर्णयका आधारमा ।

करिब डेढ वर्षअघि जिल्ला अदालतले उक्त माफीलाई अस्वीकार गरी पाण्डेलाई दोषी ठहर गरी जेल सजाय दियो । उनी सर्वोच्चमा पुगे अपिलका साथ । मुद्दा लम्बिएपछि उनी गिरफ्तार भए र अध्यक्ष पद त्यागे । संयोग त्यो पदावधि सकिने दिनमै उनले सफाइ पाए । उनी पूर्व प्रधानन्यायाधीश थिएनन्, केवल उद्योग वाणिज्य महासंघका निर्वाचित अध्यक्ष थिए । सर्वोच्चले डेढ वर्षपछि फैसलामार्फत सफाइ दिएर उनको 'इज्जत र सम्मान' को पक्षमा उभियो, तर पाण्डेले न्याय पाए कि पाएनन् ? यो आगामी दिनमा बहसको विषय बन्नेछ खासगरी । किनकि ढुंगेल गिरफ्तारीको आदेश र पाण्डेको सफाइसँगसँगै आएको छ । जनता न्यायको पक्षमा छन्, सर्वोच्चप्रति सम्मान छ उनीहरूको । न्यायिक प्रक्रियामा समान मापदण्ड, गति र पारदर्शिता देखाउन सकेमा सर्वोच्चले पक्कै पनि त्यो सम्मान पाइरहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.