अस्वीकार्य 'अहम्'

अस्वीकार्य 'अहम्'

नेपालको राजनीतिक पद्धति र संस्कारलाई दीर्घकालीन रूपमा फरक पार्ने गतिविधि बढ्न थालेका छन्, एकपछि अर्को । नैतिकताको राजनीति तथा सत्तासँग पारपाचुके भइसकेको अवस्था छ । खासगरी ०६३ को परिवर्तनपछि गठित एकपछि अर्को गठबन्धन सरकार या मन्त्रिपरिषद्मा सहभागी हरेक दलका आआफ्ना नेता पनि तोकिने व्यवस्थापछि प्रधानमन्त्री सिद्धान्तमा मन्त्रिपरिषद्को प्रमुख रहे पनि व्यवहारमा हरेक दलका आआफ्नै प्रमुख रहने परिपाटी बन्यो । मन्त्री प्रधानमन्त्री र मन्त्रिपरिषद्प्रति नभएर दलका नेताप्रति जिम्मेवार रहने व्यवहार स्थापित गरियो । 'प्रधानमन्त्रीय पद्धति' मा प्रधानमन्त्री अधिकारविहीन या बिचरा बनाइयो ।

एउटा विकृतिले अनेक विकृति जन्माउँछ, जुन अहिले त्यो देखा परेको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सार्वजनिक वक्तव्य (ट्विट) मार्फत कमल थापालाई उनीभन्दा वरिष्ठ तोकिएपछि मन्त्रिपरिषद् बैठकमा भाग नलिने तर प्रधानमन्त्री तथा मुख्य सचिवसँगको परामर्शमा उक्त पदको जिम्मेवारी नछोड्ने घोषणा गरेका छन् । उनले यो कदमलाई बीपी कोइरालाले गृहमन्त्रीका रूपमा लिएको अडानसँग तुलना मात्र गरेका छैनन्, त्यसलाई 'समस्त कांग्रेसजन र लोकतन्त्रको लागि चालेको कदम' को रूपमा प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भइरहने तर 'सरकारको संवेदनशील जिम्मेवारी पूर्ण निष्ठा र लगानका साथ पूरा गरिरहेका दाबी पनि उनले गरेका छन् ।

व्यक्तिगत अहम्, व्यवहारमा पदलोलुपता र आदर्शप्रतिको दृढता एकसाथ अगाडि बढ्न सक्तैन । निधि अहिले ती परस्पर विरोधी प्रवृत्तिका द्वन्द्वमा थिचिएको एक निरिह राजनीतिज्ञ बनेका छन् । उनको अहिलेको शक्ति या बल भनेको विगत ११ वर्षको अभ्यासमा समाप्त पारिएको प्रधानमन्त्रीको हैसियत या लाचारी मात्र हो ।

एउटा मन्त्री या उपप्रधानमन्त्रीलाई मन्त्रीको नियमित आचरण र मर्यादा उल्लंघन गर्ने छुट हुँदैन । प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद् बैठक बहिस्कार गर्ने तर संसद्मा मन्त्रीका रूपमा उपस्थित हुने अनि मुलुकलाई मन्त्रीकै रूपमा प्रतिनिधित्व गर्ने छुटले भोलि नराम्रो परम्परा जन्माउने मात्र हैन, मन्त्रीलाई स्वेच्छाचारी र थप उत्तरदायित्वविहीन बनाउनेछ । यो परम्परालाई यहीं समाप्त गरिएन भने मन्त्रिपरिषद् सामूहिक स्वेच्छाचारिताको संयन्त्र बन्नेछ, त्यसैले यो विवाद तत्काल सम्बोधित हुन जरुरी छ ।

प्रधानमन्त्री यदि निधिको बरियताबारे आश्वस्त छन् भने उनको दाबीलाई स्विकार्न सक्नुपर्छ । तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरिसकेको अवस्था भएकाले निधिले अर्को मर्यादित बाटो अपनाउनु उचित हुनेछ, 'बहिर्गमन' को । मन्त्रिपरिषद्को बैठक बहिष्कार गरेर मात्र बीपी कोइराला बन्न सकिन्छ भन्ने भ्रमबाट उनी मुक्त हुन आवश्यक छ । तेस्रो सत्ता गठबन्धनमा सामेल निधिको पार्टी नेपाली कांग्रेसले पनि यो कुपरम्परा अर्थात् अहंबाट प्रेरित राजनीतिलाई प्रोत्साहित हैन दण्डित नगरेमा भोलि उसले थुप्रै यस्ता धम्की र 'ब्लाकमेल' को सिकार हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.