वेश्यावृत्ति र राजनीतिबीचको सम्बन्ध

 वेश्यावृत्ति र राजनीतिबीचको सम्बन्ध

 

'त्यो युवतीलाई भेटेपछि
मलाई बोध भयो
धोकापूर्ण राजनीतिविरुद्ध
वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो ।'
-अभय श्रेष्ठ÷क्रान्तिको पाठशाला

laxamnश्लील र अश्लीलबीच कति मिटरको दूरी हुन्छ ? वेश्यावृत्ति र कुत्सित राजनीतिबीच कुन कोणको सम्बन्ध हुन्छ ? वैयक्तिक अस्मिता र सत्ता स्वार्थबीच 'आजादी' कहाँनेर फिट हुन्छ ? विद्या बालनको पछिल्लो फिल्म 'बेगम जान'ले प्रश्नको यति लामो लस्कर सुरु गर्छ, सिनेमा निर्माणका तकनिकीबाट अलि पर बसेर फिल्मले समातेका अनेक पाटा पर्गेल्न बाध्य भइन्छ । यस फिल्मलाई एउटै कोणबाट बुझ्न खोज्नु सायद सपाट बुझाइ हुन्छ।

दुखेको इतिहास

'वर्तमान विगतले निश्चित गर्छ, तर विगतप्रतिको हाम्रो बुझाइ वर्तमानले तय गर्छ,' गिनेचुने इतिहासकार महेशचन्द्र रेग्मी भन्छन् । फिल्म 'बेगम जान' पनि इतिहासप्रति समकालीन बुझाइको दृश्यचित्र हो । समकालीन सत्यका जसरी अनेक पाटा हुन्छन्, त्यसैगरी विगतबोधका पनि विभिन्न पाटा हुन्छन् । त्यसैले इतिहास भिन्नाभिन्नै बुझाइको प्रस्तुति पनि हो । सुरुवाती भारतको इतिहास लेख्ने भारतीय बौद्धिक रोमिला थापर त भन्छिन्, 'कसैले पनि विगतबारे निश्चित जवाफहरू जान्दैन । ऊ केवल उपलब्ध तथ्यहरूको आधारमा तार्किक विश्लेषण प्रस्तुत गर्नमात्र सक्छ ।'
(डिबेटिङ द एन्सिएन्ट एन्ड प्रिजेन्ट)

इतिहासप्रतिको यो बुझाइ मलाई आख्यानजस्तै लाग्छ । गतिलो आख्यानले सजीव इतिहास भन्छ, तथ्यपूरक इतिहासले विशिष्ट आख्यान बनाउँछ, सायद कुनै अर्को बौद्धिकले पनि भनेका छन् । 'बेगम जान' हेरिरहँदा इतिहास र आख्यानको त्यही मि श्रण फेला पर्छ । निर्देशक सिर्जित मुखर्जीले सन् २०१६ मा रिलिज भएको आफ्नै बंगाली फिल्म 'राजकहिनी'को हिन्दी रिमेकमा भारत विभाजनको इतिहासको एक पाटो कोट्याएका छन् ।

सन् १९४७ मा भएको भारत-पाकिस्तान विभाजन मात्रै दुई देश निर्माणको कथा थिएन । यो त अनेकन् उपाख्यानहरूले बनेको महाख्यान थियो जसमा लाखौं मानिसले अनाहकमा जीवन गुमाएका थिए । मानवीय मूल्य, मान्यता र भावना धर्मको अन्धोपनमा कतै हराएको थियो । मानिसहरू मानिससँग बैरी बनेको त्यो दुर्दान्त समयको कथा कति लेखियो कति ! आज पनि लेखिँदैछ । त्यसबारे अनेकन् कोणबाट फिल्म बनाइएका छन् र बन्ने क्रम रोकिएको छैन । यो फिल्म पनि विभाजनको त्यही दुःखी इतिहाससँग जोडिएको छ । तर, यसले वर्तमानको धागो समात्छ र फरक कोणबाट बेग्लै कथा भन्छ । त्यो कथा महिलाहरूको हो । १० वेश्याहरूको कथा हो । भारत-पाकिस्तान विभाजनका लागि सर रेडक्लिफले नक्सामा कोरेको सीमारेखाको बीचमा परेको एक बंगलामा देहव्यापार गर्ने वेश्याहरू हुन् ती । दुखेको इतिहासको त्यो प्रसंगबाट फिल्ममा एक होइन अनेक विषय उठान गरिएको छ ।

भ्रमको मान्यता राज्य

'दुई मुलुक मिलेर आजादी-आजादी खेलिरहेछन् त्यसैले हामीले हाम्रो घर छोड्नु परिरहेछ,' वेश्यालयकी प्रमुख 'बेगम जान'की भूमिकामा अभिनय गरेकी विद्या बालन एक दृश्यमा भन्छिन् । त्यतिबेला भारतीय राज्यका प्रतिनिधि हर्षवद्र्धन(अशिष विद्यार्थी) र पाकिस्तानी राज्यका प्रतिनिधि इलियास (रजित कपुर) सीमारेखामा पर्ने भएकाले त्यो 'कोठी' खाली गर्ने आदेश लिएर पुगेका हुन्छन् ।

कौसर मुनिरले लेखेका डायलगमा ध्यान दिन्छु । एउटै संरचना समाजबाट बहिस्कृत नगरवधूका लागि 'घर' र तथाकथित राज्य प्रतिनिधि तथा अरू इज्जतदाको लागि 'कोठी' बनिरहेको हुन्छ । राज्य र वैयक्तिक जीवनका सम्बन्धहरू गुजुल्टो बनेर सल्बलाउँछन् एकैपटक । भूमि, जनसंख्या, सार्वभौमिकता र सरकारको परिभाषाबाट चार कोस पर बसेर राज्यलाई हेर्दा बडो अनौठो देखिन्छ यो । राज्यसँग मानिसको वैयक्तिक सम्बन्ध केले निर्धारण गर्छ ?

कुनै एउटा सम्भ्रान्त वर्गले शक्तिको आडमा राज्यको प्रारूप परिकल्पना गर्दैमा सर्वस्वीकार्य नहुँदो रैछ । लाग्छ, राज्य एक भ्रामक परिकल्पना रहेछ, शक्तिको आडमा बनाइएको । शक्तिको सामथ्र्यले भ्रम र यथार्थको धुमिल रेखा फितलो बनाएको मात्र हुँदोरहेछ । जब १० जना नगरवधूले राज्यको त्यो स्वघोषणालाई चुनौती दिन्छन् र आफ्नो 'घर'लाई तथाकथित राज्यको मान्यताबाहिर उभ्याउन खोज्छन्, सिंगो राज्यको पसिना चुहिन थाल्छ । 'बेगम जान' राज्यको त्यही भ्रमित मान्यता र चुहिएको पसिनाको कथा हो ।

जबसम्म मानिसले अपनत्व महसुस गर्न सक्दैन देश र प्रेमको कुनै अर्थ रहँदैन । जब आफैंबाट आफ्नो ठेगाना हराउँछ त्यसबेला देशको के अर्थ ? प्रेमको के अर्थ ? फिल्ममा समाविष्ट कौसर मुनिरको गीतका यी पंक्तिले राज्यसँग वैयक्तिक सम्बन्धका पहेँलीलाई झनै गाढा बनाइदिन्छ ः

'आँखो से छलके सामें अवध की
सुबह हे ओंठ पे बनारस वाली
बालों से बरसे झेलमका पानी
घाट से घाट मे यैसी फिरी रे
मुझ से ठिकाना मेरा खो गया'

'अनेकन घाट चहारिहिँडेँ÷मबाटै मेरो ठेगाना हरायो ।' ठेगानाको अर्थ केवल लिफाफामा लेखिने शब्द होइन, यो त अस्तित्वको चिनारी पनि हो । जब अस्तित्व नै धुमिल हुन्छ, के देश ? के परदेश ?

वकालत महिलावाद

विभिन्न पत्रपत्रिकामा फिल्मबारे लेख्ने समीक्षकले यस फिल्मलाई महिलावादको बोल्ड अभिव्यक्ति भनेका छन् । अवश्य, यस फिल्ममा महिलावादको वकालत गरिएको छ । तर, त्यो महिलावाद केवल सामाजिक-पारिवारिक संरचनामा उल्लेख्य उपस्थितिको वकालतमात्र होइन । यो त महिलाले आफ्नो शरीरबारे आफैंले निर्णय गर्न पाउनुपर्ने बन्दोबस्तको माग पनि हो । अनि हो महिलाको शरीरलाई केवल खेलौना सम्झिने प्रवृत्तिको तीव्र आलोचना पनि जसलाई फिल्मकी पात्र लाड्लीले बाल्यकालमा र बुढेसकालमा अर्की महिलालाई बलात्कारको सिकार हुनबाट जोगाउन लुगा फुकालेको दृश्यबाट सम्बोधन गरिएको छ ।

'यो मध्यरातमा सिंगो संसार निदाइरहेछ केवल भारतीय जनता आफ्नो भाग्य लेख्न जागैछन्,' जवाहरलाल नेहरूका यी शब्दसँगै मध्यरातमा भारतीय स्वतन्त्रताको घोषणा हुन्छ । 'आजादी'को खुसीयाली मनाइरहेको बेला विद्या बालन प्रश्न गर्छिन्, 'कस्तो आजादी ? कसको आजादी ? आजादी त केवल पुरुषको हुन्छ ।' यो प्रश्न अभिनेत्री विद्या बालनको होइन, एक वेश्या 'बेगम जान'को हो, जो शरीरको सौदाबाजी गर्न बाध्य छे र उसले देखेकी छ पुरुष हैकमको कठोर शासन ।

जबसम्म महिला वैयक्तिक रूपमा स्वतन्त्र हुन्नन्, हरेक स्वतन्त्रता अधुरा रहन्छन्-फिल्मको दृश्यबीचबाट निकाल्न सकिने एक वाक्यको घोषणापत्र यही हो । फेरी पनि यो रोनाधोनाको कथा होइन, यो त आफ्नो मुक्तिको निम्ति महिलाले गरेको लडाइँको प्रस्तुति हो । फिल्मको एउटा गीत 'वो सुबह हमी से आएगी' (त्यो बिहान हामीबाटै आउनेछ) ले समानतायुक्त समाज संघर्षबाटै आउने आशा व्यक्त गर्छ ।

 

बाँडिएका मान्छे

अन्ततः भारतीय भूगोल छोडेर जानुपर्ने भएपछि बेलायतीहरूले हिन्दु बहुल हिन्दुस्तान र मुसलमान बहुल पाकिस्तानको बिउ रोपेका थिए । विभाजनको यो बिउ लन्डनमा आयोजित एक डिनरमा १६ वर्षअघि रोपिएको उल्लेख गरेका छन् डोमिनिक ल्यापिएर र ल्यारी कोलिन्सले 'फ्रिडम एट मिडनाइट' पुस्तकमा । विभाजनको यो बिउले वर्षौंदेखि मिलेर बसेको समाजलाई धर्मको नाममा विभाजन गरिदियो । त्यही समाजमा उनीहरूलाई बाँध्ने सायद कुनै त्यस्तो तन्तु थियो । ती कसरी एकाएक एकअर्काको दुश्मन बने ? कसरी एकअर्कोको शिर गेडेर छट्पटिएको शरीर हेर्न लालायित बने ? भीष्म साहनीले उपन्यास 'तमस'मा लेखेका छन् ।

साम्प्रदायिक दंगा बढी फैलिएको पञ्जाब र बंगालको विभाजन गर्ने जिम्मा बेलायतका एक न्यायाधीश सर सिरिल रेडक्लिफलाई दिइएको थियो । भारतबारे खासै जानकारी नराख्ने यी न्यायाधीशले पाँच हप्ताको समयसीमामा टेबलमा फिँजाइएको नक्साको भरमा मानिस र जमिनलाई दुई हिस्सामा बाँडिदिएका थिए । सन् १९४७ अगस्ट १६ मा सीमा निर्धारणको घोषणा गरिएपछि मानिस एकअर्कोको हत्यामा थप तल्लीन भए । मानिसहरू वर्षौंदेखि आफैंले आवादी गरिरहेको भूगोललाई केवल आफ्नो धर्मअनुकूल नभएको आरोप लगाउँदै छोड्न बाध्य भए ।

हिन्दुस्तान छोडेर पाकिस्तान जाने मुस्लिम र पाकिस्तान छोडेर हिन्दुस्तान आउने हिन्दु शरणार्थीहरूको लहर चल्यो । आफ्नो घरबार छोडेर धर्मअनुकूल देश खोजिहिँडेका शरणार्थीको हुललाई जवाहरलाल नेहरूले हवाईजहाजबाट हेरेका थिए । करिब एक लाख मानिसले बनेको त्यो हुल दस माइल लामो थियो (रामचन्द्र गुहा, इन्डिया अफ्टर गान्धी) । त्यो त केवल एक हुल थियो । त्यस्तै हुलले करोडौं शरणार्थीको भेल बनाएको थियो । मानिस बाँडिएको त्यो समयको व्यथा यस फिल्मको अन्तर्कथा हो ।

पटक-पटक हर्षवद्र्धन र इलियासको संवाद देखाउँदा दुवैको आधा-आधा अनुहार देखाइन्छ । उनीहरू बाल्यकालका साथी हुन् । तर, धर्मको नाममा विभाजित छन्, त्यही देखाउन आधा अनुहार खिचिएको छ । भारतीय इतिहासमा मानिस बाँडिएका थिए धर्मको नाममा । जब मानिस धर्मको नाममा मानवीय अस्तित्व नै बिर्सन्छ उसको सग्लो अनुहार कसरी बन्न सक्छ ? फिल्म प्रश्न गर्छ । सँगसँगै तथाकथित मर्यादायुक्त समाजभन्दा देहव्यापार गर्ने नगरवधू नै मानवीय भएको देखाउँछ । उनीहरू मानिसलाई केवल मानिसको रूपमा हेर्छन्, जात वा धर्मको नाममा होइन ।
विभाजित समयको व्यथा दृश्यचित्रमा देखाइरहँदा फिल्मले ती विभाजनकारीको आर्थिक-सामाजिक स्वार्थ केलाउन भने कञ्जुसी गर्छ जबकि साहनीले 'तमस'मा यस विषयमाथि गज्जबले विमर्श गरेका छन् । सायद उपन्यासभन्दा फिल्मको क्यानभास साँघुरो हुन्छ ।

शरीर संकथन

धर्मशास्त्रहरूले शरीरलाई भिन्नाभिन्नै ढंगले व्याख्या गरेका छन् । दार्शनिकहरूले बेग्लाबेग्लैे परिभाषा दिएका छन् । 'गीता'मा शरीरलाई लुगाको रूपमा लिइएको छ । मानिसले उसको जीवनकालमा आफूले गरेको कर्मअनुसारको लुगा पहिरिन पाउने व्याख्या गरिएको छ । बुद्धले चित्त (मन) र शरीरलाई अनोन्याश्रित तवरमा व्याख्या गरेका छन् । उनले पवित्र चित्तले शुद्ध शरीरको निर्माण गर्ने परिकल्पना गरेका छन् ।

फिल्मको एक पाटोले शरीर संकथनको यो फलक पनि समात्छ । हरेक रात उसको शरीर अर्कैले भोगेको देख्दा विरक्त भएको प्रेमी सुजित (पितोबास त्रिपाठी)सँग एउटी वेश्या रुविना (पल्लवी सर्दा) एक दृश्यमा शरीरलाई एकदमै मूल्यहीन तरिकाले व्याख्या गर्दै भन्छे, 'सबैभन्दा पवित्र त आँसु हो, त्यो केवल तिम्रो हो ।'

सायद आँसु शरीरभन्दा पनि मनसँग सम्बन्धित छ । शरीरलाई भन्दा मन (आत्मा) लाई प्राथमिकता दिएको त्यो दर्शन पूर्वीय दार्शनिक परम्परासँग मेल खाएजस्तो देखिन्छ । तर, जब ती लडाकु १० महिलाले अन्तिममा आफ्नो शरीर सुम्पिनको साटो आत्मदाहको बाटो समात्छन्, शरीर संकथनमा नयाँ प्रश्न आउँछ-पवित्रता र स्वाभिमानको । सायद यसको अर्थ हो, स्वाभिमान सबैभन्दा पहिलो हो । स्वाभिमानपूर्वक गरिएको हरेक कार्यमा मन शुद्ध छ भने शरीर पनि पवित्र हुन्छ । होइन भने शरीरको नष्टताले पवित्रता र स्वाभिमान दुवैको रक्षा गर्छ ।

मिथक चेत

वरिपरि आगोको लप्का छ । आत्मदाहमा तल्लीन महिलाहरू भन्छन्, 'अम्मा पद्मावतीको कथा सुनाउ न ।' फिल्मका विभिन्न दृश्यमा सबैभन्दा वृद्ध पात्र अम्मा (इला अरुण) कथा सुनाइरहन्छिन् कहिले झाँसीकी रानीको, कहिले पद्मावतीको । भारतीय इतिहासमा मिथजस्तै भइसकेका यी पात्र विरांगनाहरू हुन् । आफ्नो देश र वैयक्तिक स्वाभिमान जोगाउन लड्दा-लड्दै विरगति प्राप्त गरेका यी महिलालाई प्रेरणा स्रोतको रूपमा देखाउन फिल्ममा गरिएको प्रयोगले मिथकको शक्ति बताउँछ । जसले इतिहासको गर्तबाट स्वाभिमानको बिउ खोजेर ल्याउँछ उसले वर्तमानमा शिर ठाडो बनाउनसक्छ, फिल्ममा अम्माले सुनाउने कथाको पेटबोलीमा यस्तै सन्देश लुकेको छ ।

फिल्मबारे यति लेखिसक्दा पनि मलाई भने अझै धेरै आयाम छुटेजस्तो लागिरहेको छ । फिल्म हेरेपछि त्यहाँ प्रयुक्त गाली, बोल्ड बडी ल्यांग्वेज, ईशारा र दृश्य देखेर तपाईं श्लीलताको प्रश्न उठाउन सक्नुहुन्छ । मसँग भने एउटै जवाफ रहन्छ-अश्लील समयको कथा-व्यथामा तपाईंले निर्माण गरेको श्लील मानकको खोजी के नवौं आश्चर्य हुँदैन ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.