बालुवाटार लाइभ

बालुवाटार लाइभ

आदरणीय दर्शकवृन्द !
स्वागत छ यहाँहरूलाई बालुवाटार लाइभमा

तीन नम्बर गेट पूरै बन्द छ
तर तीन दर्जन शिकारी कुकुरहरू
भर्खरै गेट नाघेर निस्केका छन् सडकमा
केही चुपचाप जाँदैछन् सिंहदरबारतिर
केही हाँस्दै हाँस्दै लाग्दैछन् सिटी सेन्टरतिर
र, केही अङ्ग्रेजीमा कुइँकुइँ गर्दै पस्दैछन् राष्ट्र बैङ्कभित्र...

बन्द नै छ दुई नम्बर गेट पनि
तर दुई टाउके भूत भर्खरै उक्लेको छ गेटमाथि
एउटा टाउको सुँकसुँकाइरहेछ उँधो मुन्टो लगाएर
अर्को टाउको खितखिताइरहेछ ठाडो मुन्टो लगाएर
खुट्टाहरू छन् इन्डियन क्लासिक डान्समा
चलायमान–चलायमान,
अनि हातहरू पनि छन् अस्थिर–अस्थिर
एउटा हातमा छ चिनियाँ कटुवा पेस्तोल
र, अर्को हातमा छ अमेरिकन ब्रान्डको ह्विस्की...

आउनुस्, अब गेट नम्बर एकमा पुगौँ
यहाँ पनि लगाइएको छ ठूलो ताला
तर गेटबाहिर
सनातन ऐनबाट भर्खरै ओर्लेका
केही परिशोधित दफाहरू छन् अति व्यस्त
जो ‘बोक्सी’का जगल्टा लुछेर मलमुत्र कोच्याउँदै छन्
न्यायालयको सर्वोच्च ढोकाबाट निस्केका
केही श्यामबर्ने पुलिङ्ग कोटहरू छन्
जो ‘आइमाई’का पटुकाबाट नागरिकता खोस्दैछन्
र, आफ्नै गोजीमा हालिरहेछन्
अनि छन् केन्द्रीय पुस्तकालयबाट चोरिएका
केही पवित्र पुस्तकहरू– कुरान, पुराण, बाइबल र महेन्द्रमाला
जसबाट निस्केका तानाशाही अक्षरहरू
बुर्कुसी मारिरहेका देखिन्छन् चोक चौतारातिर...

आदरणीय दर्शकवृन्द !
हामी छौँ, बालुवाटार लाइभमा
यहाँहरूले देखिहाल्नुभयो–
सम्पूर्ण गेटहरू यहाँ बन्द छन्
पैदल पेटीमा लौरो टेकेर हिंडिरहेका वयोवृद्धहरू भन्छन्–
यी देखिने गेटहरू शताब्दीयौँदेखि बन्दको बन्दै छन्

र, स्मरणीय कुरा के छ भने
बाहिर पर्खालभरि लेखिएको छ–
‘नो पार्किङ, नो हर्न !’
तर भित्रपट्टि भने चौबिसै घण्टा बजिरहेका छन्
किसिम किसिमका साइरनहरू
घण्टा घण्टामा सुनिन्छ–
नशामा धूत कोही चिच्याइरहे जस्तो
क्षण क्षणमा आउँछ आवाज–
बलात्कारको पीडामा कसैले पुकार गरेजस्तो
घरिघरि फेरिन्छ स्वर–
मैमत्त ‘महिषासुर’ले उन्मत्त खित्का छाडेजस्तो...

आदरणीय दर्शकवृन्द !
बालुवाटार लाइभ जारी छ
अब एकैछिनलाई कमर्सिएल ब्रेक...
०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.