कविता बोकेर नेपालगन्ज
त्यो यात्रा मेरो लागि सुनौलो अवसर थियो । त्यहाँ सपना, रहर र चुनौती थिए । एक साताअघि पक्का भइसकेको थियो, पश्चिम नेपालको नेपालगन्ज साहित्य महोत्सवमा जाने । तालिकाअनुसार हामी काठमाडौंबाट चैत २५ गते रात्रिबसमा जाने निधो भयो । साँझ पाँच बजे एउटा झोला भिरेर रुमबाट निस्किएँ, नयाँ बसपार्कतिर । हाम्रो गु्रपमा सातजना रहेछौं— ज्ञानुवाकर दम्पती, रेशम विरही सर, असीम दाइ, जीके दाइ, सुदेश र म । विकु सर पनि दाङसम्मको यात्राको लागि हाम्रै गाडीमा जाने भए, हामी आठजना भयौं । कवि मन न हो, रहर थियो गाडीको झ्यालबाट बाहिरको मनोरम संसार सबै आफ्नो क्यामेरामा कैद गरूँ, तर त्यो सम्भव भएन । नेपालगन्जनिवासी एकजना बूढा बा परे सँगै सिटमा ।स्वर्गवासी बाबाको याद दिलाए तिनले ।
गाडी हुइँकिन सुरु गर्यो । ११ बजे नारायणगढ पुगेर खाना खान रोकियो गाडी । हामी पनि ओर्लियौं । टोकन लियौं र खाना मगायौं । अरू बेलाको यात्रामा जस्तो त्यति नमीठो थिएन खाना । खानपिन सकिएपछि सबैजना बसमा चढ्यौं, बसले आफ्नो पाइला चाल्न थाल्यो । बुटवल बजार नियाल्ने रहर थियो, तर त्यहाँबाट बस क्रस भइसकेछ । दाङको लमही आएपछि हामी निदाएनौं । रफ्तारमा हिँडिरह्यो बाटो, दौडिरह्यौं हामी । त्यसपछि इमेलिया भन्ने ठाउँ आयो, जहाँबाट तुलसीपुर र नेपालगन्ज जाने बाटो अलग हुने रहेछन् ।
त्यहीँ झरे बिकु लामा र लागे दाङ तुलसीपुरतिर । हाम्रो टोली लाग्यो आफ्नै गन्तव्यतिर । गाडी कोहलपुर पुगेर केही बेर रोकियो, चिया नास्ता खायौं, त्यसपछि एकैचोटि हाम्रो अन्तिम गन्तव्य नेपालगन्जको होटेल सिद्धार्थ भ्यु प्वाइन्टको गेटमा ८:३० बजे पुगेपछि रोकियो गाडी ।
ओर्लनुअगाडि बालाई बाईबाई गरें, राम्ररी जानुहोला भनें । सबैजना झर्यौं, केही छुटेजस्तो लागिरह्यो ।
बसबाट झर्नेबित्तिकै कपिल अन्जान दाइ आए लिन हामी होटेलतिर लाग्यौं । आयोजक त्यो होटेल पनि भएको थाहा लाग्यो । जीके, असीम र सुदेशलाई एउटा रुम, ज्ञानु सरहरूलाई एउटा, रेशम सरलाई एउटा रुमको चाबी दिइयो । म एक्लै थिएँ लेडिज, मेरो भागमा पर्यो रुम नम्बर ३०४ । हामी आआफ्नो रुमतिर लाग्यौं । एक घन्टामा फ्रेस भयौं र निस्कियौं तलतिर । कार्यक्रम हुने र खाना खाने अलिपर सिद्धार्थ कटेजमा रहेछ । त्यो कटेज र होटेल एउटैको भन्ने थाहा भयो ।
कवितावाचनलाई रचना बे्रक भनेर छुस्स बीचमा राख्दा अलि खल्लो लागेकै हो । नेपालमा त्यति धेरै महिला कवि, साहित्यकार हुँदाहुँदै पनि महिला सहभागिता त्यति नगराउनुमा आयोजकको केही कमजोरी पक्कै भएको हो ।
पहिला सडकमा ठेलामा व्यापार गर्ने मान्छेको अहिले यतिविघ्न आँखाले हेर्न नभ्याउन्जेलको होटेल र कटेज देखेर मनमा अचम्मको हैरानी लाग्यो । विदेशमा पसिनाको मेसिन चलाउने नेपालीलाई सम्झें, यहीं केही गरून् भन्ने सोचें । सुनेको थिएँ, नेपालगन्ज गर्मीको महाखानी हो तर त्यति धेरै गर्मी आइसकेको रहेनछ । कतिकति बेला घामले बेस्सरी पिटे झैं लाग्थ्यो ।
नेपालगन्ज साहित्यिक महोत्सव तीन दिन मात्रै थियो । चैत २७ गते आइतबार ११ बजे राष्ट्रगान गाएर महोत्सवको ढोका उघारिएको थियो । कार्यक्रमको सुरुमा नेपालगन्जका अग्रज साहित्यकार सनत रेग्मीले नेपालगन्जको इतिहास बताए । 'मेरो कथा र म जन्मिएको सहर' शीर्षकमा आधा घन्टासम्म धारा प्रवाह बोलेका थिए उनी । त्यसपछि सेसनको क्रम शुरु भयो । 'साहित्यमा तराई-मधेस र सीमान्त वर्ग विषयमा नयनराज पाण्डे, महेशविक्रम शाह र गोपाल अष्क वक्ताका रूपमा उभिएका थिए । प्रस्तोतामा थिए, जिके पोखरेल । महेशविक्रम र जिकेबीच सत्ता सम्बन्धलाई लिएर राम्रै चर्काचर्की भयो । पाण्डेले तराई-मधेसले आफ्नो लेखनमा प्रभाव परेको स्विकारे । अष्कले हिन्दी भाषामै कलम चलाएर मधेसलाई न्याय गरेको जिकिर गरे ।
अर्को सेसनमा 'मेरो सहर मेरो नेपालगन्ज' विषयमा धवलशमशेर राणा, पशुपतिदयाल मि श्र र समसुद्दिन सिद्दिकी बोलेको थिए । प्रस्तोतामा थिए, झलक गैरे । विशेष नेपालगन्जलाई चाहिँ मधेसवासीहले आफ्नो सहर बनाउने गरेका रहेछन् । बहस विशेष मधेसकेन्द्रित नै थियो । सेसनहरूको बीचबीचमा रचनाब्रेक भन्दै कवितावाचन गराइएको थियो । पहिलो रचनाब्रेकमा सुदेश सत्यालले कवितावाचन गरेपछि गजलको सेसन सुरु भयो । 'नेपाली गजलको भविष्य' विषयमा ज्ञानुवाकर पौडेल र टीकाराम उदासीसँग अन्जान स्नेहाले बहस गरेका थिए । दोस्रो रचनाब्रेकमा हुकुम धड्कनले दुइटा गजल सुनाएर माहोल तताए ।
'समृद्धिको बाटो' शीर्षकको सेसनमा केशव श्रेष्ठ, लक्ष्मण न्यौपाने, कालु हमाल र राजेश जैनले मुकुल हुमागाईको संयोजनमा समृद्धिबारे धारणा राखेका थिए । पहिलो दिनको अन्तिम सेसन 'कठघरामा लेखक' रोचक बन्यो । कठघरामा उभिएका रेशम विरहीले सागर गैरेले सोधेका हरेक प्रश्नको रोचक जवाफ दिए।
दोस्रो दिनको पहिलो सेसनमा नयनराज पाण्डे र ब्रजेशले 'स्रष्टा संवाद : सिनेमा र साहित्य' शीर्षकमा फिल्म संसार र साहित्य लेखनलाई विभिन्न कोणबाट तुलना गरे । 'मेरो कथा, मैले लेखेको नेपालगन्ज' शीर्षकमा अमर न्यौपानेले 'पानीको घाम' को रचनागर्भ सुनाए । तेस्रो सेसनमा 'मधेस मुद्दा र समाधान' विषयमा डा. जनार्दन आचार्य, इस्तियाक राई र सरोजराज अधिकारीले मधेसी राजनीतिबारे धारणा राखे । 'सुशासन र राजनीति' शीर्षकमा हरिबहादुर थापा, गणेश विक र नरेन्द्रजंग पिटर सरोजराज अधिकारीसँग छलफलमा सहभागी भएका थिए । रचनाब्रेकमा मैले दुइटा कविता सुनाएँ । त्यस दिनको अन्तिम सेसन थियो, समकालीन नेपाली कविता । वक्ताहरू केशव सिग्देल, ज्योती जंगल र भूपिन थिए भने सहजकर्तामा थिए नवीन अविलासी । तर त्यो सेसनमा म बस्न सकिनँ । २९ गते तीनवटा सेसन बाँकी नै थियो, तर म फर्किसकेकी थिएँ मनभरि नेपालगन्ज, बागेश्वरी मन्दिर र त्यहाँको तलाउ बोकेर । नेपालगन्ज महोत्सव समग्रमा प्रभावकारी लाग्यो । एकथोकमा भने गुनासो गुम्सियो ।
कविताबिना साहित्य निस्तो हुन्छ । त्यही कवितावाचनलाई रचना बे्रक भनेर छुस्स बीचमा राख्दा अलि खल्लो लागेकै हो । नेपालमा त्यति धेरै महिला कवि, साहित्यकार हुँदाहुँदै पनि महिला सहभागिता त्यति नगराउनुमा आयोजकको केही कमजोरी पक्कै भएको हो । स्थानीय साहित्यकार त्यति धेरै उपस्थित नहुनुले पनि केही खटकिएको महसुस गरिएकै हो ।