महाभूकम्पको २ वर्ष
नेपाल र अन्य मुलुकमा आएका अहिलेसम्मका महाभूकम्प, भूकम्प, परकम्प र तिनले उत्पन्न गरेका तरंगमाथि लेखक पुरुषोत्तम नेपालले किताब लेखेका छन्– '२०७२ को भूकम्प र भूकम्पको इतिहास ।' लेखकले किताबमा २०७२ साल वैशाखमा आएको भूकम्पको असर र त्यसले पुर्याएको क्षतिको विस्तृत जानकारी दिएका छन् । यस भूकम्पबाट ८८९६ जना नेपाली तथा विदेशी नागरिकको ज्यान गएको थियो भने २२,३०३ जना घाइते भएका थिए । निजी तथा सरकारी भौतिक संरचना, ऐतिहासिक तथा पुरातात्विक देवदेवालय ध्वस्त भए । सात बिलियनबराबरको क्षति भएको अनुमान छ ।
वैशाख १२ गते ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । वैशाख १३ र २९ गते ६.८ रेक्टर स्केलको भूकम्प गयो । दुई हप्तामा १६० पटक भूकम्प गयो । ती भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक, धादिङ, दोलखा, रसुवा, नुवाकोट, रामेछाप, सोलुखुम्बु नै थियो । भूक्म्पले छिमेकी मुलुक चीन, भारत र बंगलादेशसम्म असर पुर्याएको लेखक नेपालले किताबमा उल्लेख गरेका छन् ।
भूकम्प जाँदा एउटै घरभित्र पुरिएर धेरै मरे । काठमाडौंको सुन्धारास्थित धरहरामा ६० जना, कपनको चर्चमा २९ जना, टोखाको नौतले घरमा १७ जना, ठाडोभन्ज्याङको साढे चारतले घरमा ३८ जना, विजेश्वरीको ६ तले घरमा २८ जना र साढे तीनतले घरमा १७ जना, फौकाचोकमा पाँचतले घरमा १२ जना भग्नावशेषमा पुरिएर मरेको तथ्य पनि किताबमा समावेश गरिएको छ ।
सिन्धुपाल्चोकको सिपापोखरेको एउटा तामाङ बस्तीमा १२० जना, भीमटारमा ८० जना, कुन्चोकमा ११९ जनाको भग्नावशेषमा पुरिएर मरे । यस्तै रसुवाको लाङटाङ क्षेत्रमा ९१ जना र डाँडागाउँमा ९९ जना, नुवाकोटको घ्याङफेदीमा ८१ जना र मेलुङमा ४९ जना, धादिङको री गाउँमा ६५ जना, काठमाडौंको साँखुमा ७१ जना, केन्द्रीय कारागारमा १६ जना, भक्तपुरको ठिमी निकोसेरामा १४३ जना भग्नावशेषमा पुरिएर मरेका थिए ।
भूकम्प गएको दुई वर्ष पुग्यो, भूकम्पपीडितका लागि अर्बौं रकम आयो, पुनर्निर्माण प्राधिकरण बन्यो, तर सरकारको उदासीनताले पीडितहरूले अझै पनि हिउँदको ठण्डीबाट जोगिन सानो घर निर्माण गर्न रकम पाएका छैनन् ।
विनाशकारी भूकम्प जाँदा भग्नावशेषमा पुरिएर पनि धेरैले पुनर्जन्म पाएका छन् । वैशाख १२ गते भूकम्प जाँदा गोंगबुस्थित साततले सयपत्री गेस्ट हाउसमा अर्घाखाँचीका २८ वर्षीय ऋषि खनाल ८२ घन्टासम्म अडकिए । नयाँ बसपार्कनजिक साततले हिडन गेस्टहाउसमा मजदुरी गर्ने पेम्बा लामालाई १२० घन्टा अर्थात् पाँच दिनपछि उद्धार गरियो । यसरी भग्नावशेषमा परेर उद्धार गरिएकाहरूको समग्र तथ्यांक पनि यस किताबमा भेटिन्छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, नौ महिनापछि माघ २२ गते सिन्धुपाल्चोकको हेलम्बू केन्द्रबिन्दु पारेर ५.५ रेक्टर स्केलको भूकम्प गयो । डेढ वर्षपछि २०७३ साल मंसिर १३ गते रामेछाप र सोलुखुम्बु आसपास क्षेत्र पारेर ५.६ रेक्टर स्केलको भूकम्प गयो । उनले किताबमा प्रस्तुत तथ्यांक हेर्दा हाम्रो भूगोलमा सानाठूला भूकम्प आइरहेका छन् । नगन्य र साना खालका भूकम्प दैनिक हजार
पटकसम्म जान्छ । ८ रेक्टरभन्दा माथिका मात्र होइन, गहिराइका आधारमा ७ रेक्टरभन्दा माथिका भूकम्प पनि विनाशकारी हुन्छन् ।
इतिहास पल्टाउँदा विश्वमा व्यापक क्षति पुर्याउने २५ महाभूकम्पमध्ये ६ वटा चीनमा मात्र गएका छन् भने जापानमा तीनवटा गएका छन् । बाक्लो बस्ती, भूकम्पको किसिम, कमजोर भौतिक संरचना, जमिनको भूबनावट, भूकम्पको केन्द्रविन्दुको दूरी, जमिनको सतह, जमिन धेरै हल्लिनुले पनि भूकम्पबाट बढी क्षति हुने किताबीय निष्कर्ष छ ।
प्राचीन तथा मध्यकालीन इतिहास हेर्दा विश्वमा ठूलाठूला भूकम्प गएका थिए । ३ अगस्त १३६१ मा जापानको सिकोकुमा ८.५ रेक्टर स्केलको भूकम्प गएको थियो । १ नोभेम्बर १७५५ मा पोर्चुगलमा ९ रेक्टर स्केलको भूकम्प गएको थियो । १३ अगस्त १८६८ मा चिलीमा ९ रेक्टर, ४ नोभेम्बर १९५२ मा सोभियतमा ९ रेक्टर, २२ मे १९६० मा चिलीमा ९.५ रेक्टर, ११ मार्च २०११ म जापानमा ९ रेक्टरको भूकम्प गएको थियो । सन् २०१२ सम्म ८ रेक्टरभन्दा माथि ३८ पटक भूकम्प गएको रेकर्ड पनि यस किताबमा समेटिएको छ ।
२३ जनवरी १५५६ मा चीनमा ८ रेक्टर स्केलको भूकम्प जाँदा सबैभन्दा बढी मानवीय क्षति भएको त्यस भूकम्पमा आठ लाख ३० हजार मानिसको मृत्यु भएको थियो । २८ जुलाई १९७६ मा चीनमा नै ७.५ रेक्टर स्केलको भूकम्प जाँदा २ लाख ५५ हजार मानिसको मृत्यु भएको थियो । २६ डिसेम्बर २००४ मा इन्डोनेसियामा ९.१ रेक्टरको भूकम्प जाँदा २ लाख २५ हजार मानिसको मृत्यु भएको थियो।
भूकम्पको भग्नावशेषमा परेर पुनर्जन्म पाएकाहरू विश्वमा धेरै भेटिन्छन् । सन् २००५ मा पाकिस्तानमा भूकम्प जाँदा ४० बर्से नक्युसा बिबी ६३ दिनसम्म भग्नावशेषमा अडकिएका थिए । सन् २०१० मा हाइटीमा भूकम्प जाँदा यान्स मासिग्नाक २७ दिनसम्म भग्नावशेषमा अडकिएका थिए । यसैगरी सन् १९९० मा फिलिपिन्समा पेडिट्रो डाइ १४ दिनसम्म र कोरियामा पार्क सियुङ हुयान १६ दिनसम्म भग्नावशेषमा अडकिएका थिए । हृदयविदारक भूकम्पमा परेर जीवनदान पाएकाहरूका बारेमा पनि उनले प्रस्तुत गरेका छन् ।
बहत्तर वैशाखको भूकम्पले धेरैलाई कहिल्यै नमेटिने चोट लाग्यो । मुलुकको अर्थतन्त्र र भौतिक संरचनामा गहिरो घाउ पार्यो । धरतीको संरचना नै बदलियो । व्यक्ति, घर, परिवार, समाज र सिंगो राष्ट्रको संरचना खल्बलियो । पानीका मूल सुके । भूकम्पको त्रास हाम्रो मनमस्तिष्कमा घुमिरहेको छ, हिँड्दाहिँड्दै, बस्दाबस्दै र काम गर्दागर्दै तरंग आइरहेको छ ।
यसैगरी धेरैले जीवनसाथी, सन्तति, अभिभावक गुमाए । करोडपति रोडपति भए । सबैजसो बेघर भए । धेरै त अझै अस्थायी पाल र टहरामा जीवन गुजार्दैछन् । भूकम्प गएको दुई वर्ष पुग्यो, भूकम्पपीडितका लागि अर्बौं रकम आयो, पुनर्निर्माण प्राधिकरण बन्यो, तर सरकारको उदासीनताले पीडितहरूले अझै पनि हिउँदको ठण्डीबाट जोगिन सानो घर निर्माण गर्न रकम पाएका छैनन् । सरकारले भूकम्पपीडितका घाउहरूमा मलम लगाएर तिनका मन सन्तुष्ट पार्नुपर्छ, कृतिकारको सुझाव छ ।
लेखकले विभिन्न खोज, अनुसन्धान तथा स्रोतबाट प्राप्त सामग्री संकलन र अध्ययन गरी तयार गरिएको यस किताबमा भाषिक त्रुटि र कमीकमजोरी भेटिन्छन् । भूकम्पपछि खोज, उद्धार र उपचारार्थ विभिन्न मुलुकबाट आएकाहरूको र विभिन्न जिल्लामा भूकम्पीय पहिरो र कालीगण्डकी थुनिएपछिको अवस्थाबारे तस्बिर नसमेटिएकोमा अपूर्ण लाग्यो । लेखन शैली र प्रस्तुति सन्तुलन रहे पनि निचोड लेख्न कन्जुस्याइँ गरेका छन् । यी कमजोरी हुँदाहुँदै पनि लेखकले पाठकलाई भूकम्पबारेमा धेरै ज्ञान दिन खोजेका छन्, जुन लेखकको सकारात्मक पक्ष हो । समग्रमा यो किताब बहत्तर वैशाख र विश्वमा आएका भूकम्पहरूको संक्षिप्त भूगोल हो ।