घामपानीःसरल कथाको अब्बल प्रस्तुति

घामपानीःसरल कथाको अब्बल प्रस्तुति

कहिले घाम कहिले पानी, यस्तै छ नेपालीको जिन्दगानी । त्यसैले घामपानी नेपालीका लागि जीवनदर्शन व्याख्या गर्ने एउटा शब्द हो । यही शब्दलाई टिपेर पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामा निर्देशकको तहमा उक्लेका छन् । नेपाली सञ्चारमाध्यममा कडा फिल्म समीक्षकको रूपमा चिनिएका लामा अहिले आफैं फिल्म लिएर परीक्षामा उत्रिएका छन् । यतिबेला उनी खतरामा छन् । झुर भनेर उनले टिप्पणी गरेका फिल्महरूमाझ आफूलाई अब्बल साबित गर्नु सम्भवतः सबैभन्दा ठूलो चुनौती हो । फिल्मबारे राम्रो बुझाइ साबित गरिसकेकाले उनीप्रतिको आशा पनि उत्तिकै बलियो छ । यिनै चुनौती र सम्भावनाबीच ‘घामपानी'को चर्चा/परिचर्चा हुन्छ ।

नामजस्तै ‘घामपानी'मा सरल कथा बुनिएको छ । यसले अन्तरजातीय बिहेको कथालाई उठाएको छ । विगतमा अन्तरजातीय बिहे भन्नेबित्तिकै बाहुन र दलितबीचको कथा पस्किने प्रवृत्ति थियो । थुप्रै नेपाली र हिन्दी फिल्ममा यस्ता कथा आइसके ।

तर, समाजमा अन्य जातजातिबीच पनि अन्तरजातीय विवाह भएका छन् र तिनले पनि कुनै न कुनै समस्या भोगेका छन् । त्यसरी हुने विवाहको अन्त्य फिल्महरूमा देखाइने भैंm सधैं दुःखद् हुँदैन । ‘घामपानी'ले ब्राह्मण र तामाङबीचको बिहे उतारेको छ । दुःखद् होइन सुखद अन्त्यसहित । सानैदेखि सँगै हुर्केका, घरसमेत नजिकै भएका, तामाङ युवक फुर्वा (दयाहाङ राई) र बाहुन युवती (केकी अधिकारी) को प्रेमकथामा फिल्म बगेको छ । बच्चैदेखि प्रेम भए पनि जात फरक परेकाले उनीहरूको बिहे हुने वा नहुने अन्योलमै हुन्छ । फुर्वाले भागांै भन्छ । तारा दोधार मनमा हुन्छे । तैपनि ऊ भाग्न राजी हुन्छे ।
सुरुदेखि नै फुर्वालाई एकोहोरो मन पराउने उसको मामाकी छोरी पेमा र हरेक गाउँमा कुनै न छाप छोड्ने आदत भएको असई कमल अधिकारी (अंकित खड्का) को प्रवेशले बेलाबेला रोमाञ्चक मोड सिर्जना गरिरहन्छ । कहिले जटिल मोड लिन्छ, कहिले रमाइलो मोड लिन्छ ।

सानैदेखिको प्रेम, उर्लंदो बैंस । तर बिहे हुन नसकेको अवस्था, नजिकको पारिवारिक निकटता र खलनायकको षड्यन्त्र, यी सबै तत्ववले फिल्मभर मनोरञ्जन प्रदान गरिरहन्छ । फिल्ममा कतै पनि अतिरञ्जना भेटिँदैन । थोरै स्पेसमा फिल्मलाई विविधताले भरिभराउ बनाइएको छ । कम बजेटमै खँदिलो फिल्म बनेको प्रष्ट बुझ्न सकिन्छ । फिल्म ‘थ्री-एक्ट' संरचनामा छ अर्थात् सुरु, मध्य र अन्त्य ।

हाम्रै गाउँठाउँमा देख्दैभोग्दै आएका दृश्यहरू फिल्ममा छन् । अब के हुन्छ भन्ने उत्सुकता दर्शकलाई हुँदैन ।

कथाको उठानमा फुर्वा र ताराको प्रेमलाई स्थापित गरिएको छ । मध्यमा त्यस प्रेममा आइपर्ने बाधा र अन्त्यमा समाधानतर्फ उन्मुख छ । फिल्ममा उतारचढाव धेरै छैनन् तर ठीकठीक समयमा व्यंग्य कसेको हुनाले हाँसो छुट्ने माहोल बनाइरहन्छ । सामाजिक यथार्थपरक र हाम्रै गाउँठाउँमा देख्दै भोग्दै आएका दृश्यहरू फिल्ममा छन् । अब के हुन्छ भन्ने उत्सुकता दर्शकलाई हुँदैन । यो एउटा कमजोरी पनि हुन सक्छ फिल्मको । तैपनि फिल्मका रोचक दृश्यहरूमा मस्त हुने हुनाले दर्शकले अरू कुराको खोजीनीति पनि गर्दैनन् होला ।

 

लगभग सबै प्रमुख कलाकारहरू थियटरका आर्टिस्ट छन् । कथा पनि नयाँ, आफूलार्इ पनि नयाँ भएकाले होला निर्देशक दीपेन्द्र पर्दाअगाडि र पछाडि सबैतिर पुरानाका भर परेका छन् । त्यसैले फिल्ममा शक्ति सन्तुलन पनि छ । यस फिल्मको खोट लाउनै नसकिने पक्ष भनेको संवादको प्रयोग उचित समयमा हुनु हो । निर्देशक आफैं यसका लेखक हुन् । त्यसैले उनले पटकथामा विशेष ध्यान दिएको देखिएको छ । सानासाना पक्षमा पनि सावधानी अपनाइएको पाइन्छ । संवादका ‘पन्च लाइन'हरू पनि मज्जाका छन् । केही डबल मिनिङ दिने खालका भए पनि ती पाच्य नै छन् । त्यसैले परिवारसँग बसेर फिल्म हेर्दा अप्ठेरो पर्दैन । फिल्म एउटै लयमा बगेको हुनाले सिनेमाटोग्राफी कलात्मक नभई साधारण छ । हुन त सिनेम्याटिक इफेक्ट नदेखिनु नै सिनेमाटोग्राफरको सफलता हो भनिन्छ ।

‘घामपानी'मा सिनेम्याटिक लाउड्नेस छैन । अन्तरजातीय प्रेमकथा देखाउने नाममा अति नाटकीयता पस्किने जोखिम जहिल्यै हुन्छ । तर दीपेन्द्रले अहिलेको समाज र दर्शकलाई बुझेर होला त्यस्तो जोखिमबाट पन्छिएका छन् । फिल्ममा के पुगेन वा के छैन भनेर चर्चा गर्नु ठीक होइन । फिल्ममा भएका कुराको चर्चा गर्ने हो । त्यसमा खोट लाउने ठाउँ छैन । यो फिल्म किन हेर्ने ? सर्वप्रथम मनोरञ्जनकै लागि र परिवर्तित समाज बुझ्नका लागि । त्यस्तै स्वतन्त्र फिल्म अध्ययनका लागि पनि यो फिल्म ठीक छ । साथै यसले जातीय सहिष्णुतामा अझ रमाउन पनि प्रेरित गर्न सक्छ ।

यही फिल्मका कारण दीपेन्द्रलाई अब्बल दर्जाको फिल्म निर्देशक मान्नु चाहिँ गलत हुन्छ किनभने उनको यो पहिलो फिल्म हो । पहिलो फिल्मको कारण उनले शंकाको सुविधा पाएका छन् । फिल्ममा उनले लिएको निर्देशकीय पकड हेर्दा उनले भविष्यमा योभन्दा कमसल काम गर्लान् भन्ने लाग्दैन । निर्देशकलाई कला पक्ष र प्राविधिक पक्षलाई संयोजक मानिन्छ । यो संयोजन गर्ने क्षमता उनमा देखिएको छ ।

उनले जुन कथालाई फिल्ममा लिए त्यो कथामात्र नभई एउटा विषय नै हो । विषयको गम्भीरता र समाजअनुसारको बृहत् अध्ययन पनि देखिएको छ उनको काममा । सरल कथालाई सजीव तरिकाले प्रस्तुत गर्नु ‘घामपानी'को खुबी हो । दर्शकलाई फिल्महलमा बाँधी नराखी घटना/परिघटनाको बीचमै पुर्‍याउनु लामाको निर्देशकीय विशेषता । नाटकीयताभन्दा पर रहेर मौलिक स्वाद दिन सफल भएकाले यो फिल्म अब्बल छ । विरलै राम्रा फिल्म बन्ने नेपाली सन्दर्भमा यत्तिको उत्कृष्ट फिल्मको तारिफमा कन्जुस्याइँ किन गर्नु ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.