नेमारसहित बार्सिलोनाका चार खेलाडीले 'एल क्लासिको' गुमाउने
काठमाडौंः स्टार खेलाडी नेमारसहित बार्सिलोनाका चार खेलाडीले रियल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन्।
सहायक रेफ्रीलाई गिज्याउँदै मैदानबाट बाहिरिएपछि नेमारमाथि दुई खेलको प्रतिबन्ध लागेकाले नेमार रियल मड्रिडविरुद्धको एल क्लासिको भिडन्तमा टिममा हुने छैनन्। यस्तै म्याथ्यु, राफिन्ना र एलेक्स भिडाल पनि बार्सिलोनाको टोलीमा रहने छैनन्।
राफिन्ना र भिडाल चोटका कारण लामो समयका लागि मैदानमा उपलब्ध हुने छैनन् भने डिफेन्डर म्याथ्यु कुर्कुचामा देखिएको समस्याका कारण टोलीमा हुने छैनन्।
बार्सिलोनाले आइतबार राति रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा खेल्दैछ। सान्टियागो बर्नबाउमा रियल मड्रिडले जित निकाले ला लिगा फुटबलको उपाधि दौड पक्का हुने छ भने बार्सिलोनाले जित दर्ता गरे उपाधिमाथिको आशा कायमै रहनेछ।
ला लिगा फुटबलमा बार्सिलोनाभन्दा रियल मड्रिडले एक खेल कम खेलेको छ।