कलाकार प्रदीप सिंहको अन्त्येष्टि
काठमाडौं : चलचित्र कलाकार प्रदीप सिंहको सोमबार काठमाडौंमा अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा भारतको कोलकातास्थित 'कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टर'मा शुक्रबार निधन भएका सिंहको पार्थिव शरीरलाई सोमबार इन्डियन एयरलाइन्सबाट काठमाडौं ल्याइएको हो । नेपाल चलचित्र कलाकार संघको सक्रियतामा बेलुका चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीर कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान लगिएको थियो ।
प्रतिष्ठानमा नेपाल सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी, चलचित्र कलाकार संघका तर्फबाट संरक्षक नीर शाह र अध्यक्ष रामकेशर बोगटीले संघको झन्डा ओढाई सिंहलाई श्रद्धाञ्जली दिएका थिए । सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्न चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईका साथै वसुन्धरा भुसाल, भुवन चन्द, कृष्ण मल्ल, मिथिला शर्मा, अर्जुनजंग शाहीलगायत कलाकार उपस्थित थिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा एक घन्टा राखेर सिंहको पार्थिव शरीरलाई सोमबार बेलुकी नै पशुपति आर्यघाटमा बौद्ध तथा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरियो । सिंहलाई उनका छोरा रुपेश सिंहले दागबत्ती दिएका थिए । ०१५ सालमा काठमाडौंको बौद्धमा जन्मिएका सिंहका एक छोरा, २ छोरी र श्रीमती छन् । केही वर्षअघि किड्नी प्रत्यारोपण गरेका सिंहलाई किड्नीमा पुनः समस्या देखिएपछि उपचारका लागि कोलकाता लगिएको थियो ।
सिंहले कोसेली, चिनो, देउता, दुई थोपा आँसु, दक्षिणा, मीतज्यू, बलिदान, रहरलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका थिए । सालिन स्वभावका सिंह नेपाली चलचित्र क्षेत्रमा सबैका प्रिय कलाकार थिए । 'नेपाल चलचित्र कलाकार संघका पूर्वसदस्य प्रदीप सिंहलाई गुमाउनुपर्दा हामी मर्माहत भएका छौं', संघकी महासचिव सरिता लामिछानेले भनिन्, 'उहाँ साह्रै सालिन र सबैका प्रिय कलाकार हुनुहुन्थ्यो ।'