बालबालिकाको यस्तो करामत
काठमाडौं : रंगकर्मप्रति बालबालिकामा पनि रुचि र दखल देखिन थालेको छ । थिएटर मलको मञ्चमा त्यस्तै बालबालिकाको एक हूल देखिए । दर्शकदीर्घामा त्यस्तै बालबालिकासहित उनीहरूका अभिभावक ध्यानमग्न थिए । मञ्चमा रहेका बालबालिका दर्शकले दिएका विषयमा कथा बुन्दै अभिनयमार्फत भन्न तल्लिन थिए ।
काठमाडौंमा बाल रंगमञ्चको गतिविधि बढाइरहेको बाल रंगमञ्चसम्बन्धी संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) र थिएटर मल नाटकघरले बालबालिका र अभिभावकमाझ नाटक मञ्चन गरेको हो । बालबालिकाले नाटक 'म जोकर बन्छु' मञ्चन गरेका थिए । नेपाली बालसाहित्यका पिताका रूपमा चिनिने शान्तदास मानन्धरको नाटक 'म जोकर बन्छु'लाई केदार श्रेष्ठको निर्देशनमा बालकलाकारले मञ्चन गरेका हुन् ।
बालमनोविज्ञानमा आधारित यस नाटकमा अभिभावकले बेवास्ता गर्दा बालबालिकामा पर्ने मनोवैज्ञानिक नकारात्मक असरलाई मुख्य विषयका रूपमा प्रस्तुत गरियो । बालबालिकाका इच्छालाई अभिभावकले अनावश्यक दबाब दि“दा र उनीहरूले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बालमस्तिष्कमा पर्ने प्रभावलाई नाटकमा उतारिएको थियो । नाटकमा अभिनय कार्यशालामा सहभागी पाँचदेखि १४ वर्षका अरविन खड्का, कृति भट्टराई, सुशान्त कार्की, अनुप पुरी, सुक्साना थापा, प्रत्युष्का खड्का, आलिया पाठक, विश्वम पाठक, आर्यन पौडेल, प्रिन्स सिलवालले अभिनय गरेका थिए ।
थिएटर मल र टीसीसी नेपालले हरेक वर्ष बालबालिकाका लागि अभिनय कार्यशाला गर्दै आएको निर्देशक केदार श्रेष्ठले जानकारी दिए । बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आसितेज इन्टरनेसनलले 'बालबालिकालाई पनि नाटकघर लैजाऔं' भन्ने अभियानअन्तर्गत बालनाटकको गतिविधि नेपालमा भइरहेको आसितेज नेपालका दिपर्शनजंग राणाले जनाए ।