मातृसम्मान नै आत्मसम्मान

मातृसम्मान नै आत्मसम्मान

'यदि मेरो शरीरबाट आत्मा छुट्ट्याएर
कसैले मलाई दुई फ्याक पारे पनि
आमा ! ए मेरी आमा !!
मलाई थाहा छ कसको प्रार्थनाले
फेरि मलाई एक पार्न सक्थ्यो ।'
-रुयार्ड किप्लिङ

आमाको प्रार्थनाले सन्ततिको मृतात्मालाई समेत देहमा पुनर्जागृत गराउन सक्छ भन्ने दृष्टांशमाथिको कविताको एक छेस्काले दिएको छ । वैशाख कृष्ण औंसीका दिन नेपालीले पनि आमाको मुख हेर्ने दिवस मनाउँछन् । गाउँघरमा यसलाई 'आमा खुवाउने औंसी' को नामले पनि चिनिन्छ । गाउँघरमा एउटा भनाइ पनि प्रचलित छ । 'छोराछोरी आमा खुवाउन आउँछन् र आमालाई नै खाएर जान्छन् ।' संस्कृति विकृत बन्दै गएको नमुना हो यो । च्यानलमा आउने सिरियलका संक्रमणले हाम्रा चाडपर्व सामाजिक रोगमा परिणत हुँदैछन् ।

Harihar-timsinaकम्तीमा आमाको स्मरण गर्ने यो पावन दिनलाई 'मातृसम्मान दिवस' रूपमा विस्तार गर्नु आवश्यक छ । हुन त आफ्नी आमालाई सम्मान गर्न कुनै दिवस कुर्नु पर्दैन । दिवसको खानी हाम्रो देशमा अनेक दिवस आउँछन्, जान्छन्, तर आमाको ममता कहिल्यै आउने र जाने हुँदैन । यो त रहिरहन्छ अटंक, अविचलित । संसारमा प्रत्येक देशका प्रवर्तक छन् । हरेक राष्ट्रका जन्मदाता छन् । ती व्यक्तिहरू सम्बन्धित देशमा 'राष्ट्रपिता' भनेर पुजिन्छन् । सिंगै देशको जन्म दिनेलाई पनि 'राष्ट्रमाता' भन्ने हिम्मत नगरेर राष्ट्रपिता भन्छ दुनियाँले । सायद एउटी माताले एउटा सन्तान जन्माउनु भनेको कुनै राष्ट्र जन्माउनुभन्दा पनि महान् कर्म हो । त्यसैले 'आमा' शब्दभित्रको पवित्रता र गहिराइलाई विश्वका बडेबडे आध्यात्मिक, दार्शनिक र साहित्यिक व्यक्तित्वले पनि पूर्णरूपले निरूपण गर्न सकेका छैनन् ।

एउटा चराले कति जतनले आफ्नो गँुड बनाउँछ । त्यसभित्रका अन्डालाई ममताले छोप्छ । आँधी, हुरी, झरी र वज्रपातसित पौंठेजोरी खेलेर बचेरा कोरल्छ । चारो बटुल्छ र हुर्काउँछ । त्यो 'आमा-चरी' को एउटै स्वार्थ हुन्छ । सन्तति हुर्काउनु अनि सृष्टिको सुन्दर रचनामा एउटा आयाम थप्नु । संसारका सबै आमा त्यस्तै हुन् । बच्चा जन्माउनु र हुर्काउनुमा तिनको कुनै स्वार्थ लुकेको हुँदैन । संसारमा आमाको महत्ता दर्शाउने अनेक सिनेमा बनेका छन् । उपन्यास, कथा, गीत र कविता रचिएका छन् ।
पूर्वीय संस्कारले आमाबुबालाई जीवित देउता मानेको छ । पश्चिमी जगत्मा पनि मातापिताको स्मरण गर्ने दिवसहरू प्रचलनमा छन् । आमा हुने गुण केवल नारीलाई मात्रै दिएको छ प्रकृतिले । पुरुषले चाहेर पनि आमा बन्न सक्दैन । पुरुषले माता शब्दको गरिमालाई थाम्न पनि सक्दैन । आमा बन्ने रहर कहिलेकाहीं पुरुषभित्र पनि जाग्छ, तर त्यो रहर कुरूप कल्पनाभन्दा केही हुन सक्दैन । एकचोटि महात्मा गान्धीले आफ्नी नातिनी पर्ने कुमारी मनु गान्धीलाई भनेको थिए रे, 'म धेरैका लागि पिता बनें तर तिमी एकजनाको लागि माता नै हुँ ।' कुमारी मनुले, 'बापु-माई मदर' शीर्षकको किताबमा यो स्मरण लेखेकी छन् ।

संसारभरिका मानिसले अदव, गर्व र आदर्शसाथ उच्चारण गर्ने शब्द हो आमा । मा, माता, माई, अम्म्मा, जननी जे भने पनि सारभूत कुरा एउटै हो । भाषा अलग होला, भाव उही हो । संसारका सबै नारी आमा हुन् । आमा प्राणदाता हुन् । जन्म, कर्म, नाम, इज्जत, शान, मान, सबै आमाले सन्तानलाई दिएका नासो हुन् । आमा देवी हुन् । आमा शक्ति स्वरूपा हुन् । आमा सर्वशक्तिमान पीठ हुन् । आमा हाम्रै वरिपरि घुम्ने जीवनदेवी हुन् । आमाभन्दा शक्तिशाली शब्द एउटै मात्र छ यो संसारमा । त्यो शब्द 'आमा' नै हो ।

आमालाई माया गर्ने भुइँमान्छेहरू उन्नति र परिवर्तनको सपना साकार पार्न अझै पनि क्रान्तिको बिगुल फुकिरहेका छन् । आमालाई धोका दिनेहरूलाई खबरदारी गरिरहेका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आमा धरती हुन् । अनि हाम्रा सबै दिदी, बहिनी, छोरी, चेली आमा हुन् । जीवनमा भेटिएका-नभेटिएका, देखिएका-नदेखिएका सबै नारी आमा हुन् । यस्तो गरिमामय आमा शब्दमाथि कतै हामी खेलवाड त गरिरहेका छैनौं ? मन चसक्क हुन्छ- आज पाँच वर्षीय अबोध आमा बलात्कृत हुन्छिन् । बैंसको पहिलो वसन्तको मुहार पनि राम्ररी हेर्न नपाएका युवती आमाहरू पशुसरह बेचिन्छन् । बम्बैको कोठीदेखि अफ्रिकाको डान्सबारसम्म नारीरूपी आमालाई कौडीको भाउमा विनिमय गरिन्छ । तुच्छ बस्तुजस्तो, मूल्यहीन सामानजस्तो, उपभोग गर, मिल्काऊ र कुल्चको भावमा लपेटिएको छ नेपाली पुरुषसत्ता । घरेलु हिंसा, भेदभाव, असमानत, यौन शोषण र श्रमशोषणका उदाहरण त पाइलैपपिच्छे देखिरहेका छौं हामी । आमाले कहिलेकाहीं अञ्जानमा गल्ती गर्छिन् कपूतहरू जन्माएर ।

 



कतिपय आमा आफ्नै सन्तानद्वारा परित्यक्त भएर सडक र वृद्धा श्रममा पुगेका छन् । आमाले आफ्नै कोखलाई धिक्कार्नुपर्‍यो भने त्योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? मेक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास 'आमा' मा पेलागया निलोभ्ना नामकी प्रमुख पात्र छिन् । तिनले एक ठाउँमा भनेकी छिन्, 'रगतको खोलाले पनि सच्चाइलाई डुबाउन सक्दैन, ए उल्लुहरू ! तिमीहरू जति अत्याचार गर्दै जान्छौ हाम्रो घृणा पनि त्यत्तिकै बढ्दै जानेछ ।' एउटी आमाले सन्तानलाई कदापि घृणा गर्न सक्दिनन्, तर एउटी नारीले दुष्ट पुरुषको अत्याचार सधैं सहनुपर्छ भन्ने पनि छैन ।

गोर्कीले सोभियत रूसमा व्यप्त निरंकुश, कठोर र अत्याचारी जारशाही शासन पद्धतिविरुद्ध धावा बोल्न पेलागयामार्फत माथिका शब्द प्रयोग गरेका थिए । कामदार र मजदुर वर्गमा अन्तर्निहित सुषुप्त शक्तिलाई जागृत गराउनु पनि उनको उद्देश्य थियो । हाम्रो सन्दर्भमा भने समाजले नारीमाथि गरेका अत्याचारलाई खबरदारी गर्न पनि गोर्कीको भाव उपयोगी छ । उसो त सबै नारी आमा हुन् । धरती आमाकी पनि आमा हुन् । त्यसैले धरतीलाई 'धरतीमाता' पनि भनिन्छ । धरतीमाता पनि विभिन्न महादेश, देश, प्रदेश र प्रान्तहरूमा विभक्त छिन् । त्यसैगरी नेपाल हाम्री आमाकी पनि आमा हुन् । यी नेपाल आमा शक्तिशाली सत्तासीनहरूको मात्रै पेवा होइनन् । इतिहास साक्षी छ इतिहासदेखि आजसम्म प्रत्येक सत्तासीनले नेपाल आमालाई धोका दिइरहे । गद्दारी गरिरहे । बरु नेपाल आमाका महान् सर्वसाधारण छोराछोरीले परिआएको बेलामा प्राणको आहुती गरेर क्रान्ति गरे ।

आमाको मुहार फेर्ने सपना देखेर आफ्नो सपना र जीवनलाई तिलाञ्जली दिए । आमालाई माया गर्ने भुइँमान्छेहरू उन्नति र परिवर्तनको सपना साकार पार्न अझै पनि क्रान्तिको बिगुल फुकिरहेका छन् । आमालाई धोका दिनेहरूलाई खबरदारी गरिरहेका छन् । कर्मवीर, परिवर्तनकामी, राष्ट्रभक्त र श्रमशील सन्तति जन्माउने यो धरतीका हरेक आमालाई मातृऔंसीको यो पावन दिनमा हार्दिक नमन छ । आफू जन्मेको, हुर्केको अनि बाँचेको धरतीलाई साक्षात् मातासमान सम्मान गर्न आजको दिनले नेपाल आमाका सबै सन्ततिलाई सद्प्रेरणा प्रदान गरोस् । मातृसम्मान दिवसको सार्थकता यसैमा झल्किनेछ । मातृसम्मान भन्नु आत्मसम्मान पनि त हो ।

मातृत्को जय ! समर्पणको जय !
आमा तिमीलाई ढोग सय सय !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.