वैशाख १२

 वैशाख १२

के घरहरूले जमिन छोडेका हुन् त ? यो स्वाभाविक भय या प्रश्न थियो, हरेक व्यक्तिका मनमा दुई वर्षअघि वैशाख १२ गतेका दिन । अति प्रभावित ११ सहित प्रभावित ३८ जिल्लामा करिब नौ हजार व्यक्तिहरूको ज्यान गएको, करिब २२ हजार घाइते भएका र झन्डै आठ लाख घरहरू पूर्ण या आंशिक रूपमा क्षतिग्रस्त भएका घटनाहरू प्रायः सबैको मनमस्तिष्कमा ताजा नै छन् । अर्को अर्थमा यो राष्ट्रिय शोकबाट नेपालीहरू मुक्त हुन सकेका छैनन् ।

यो घटनाले नेपाली राष्ट्रिय क्षमता र संकल्पलाई एक किसिमको अवसर र चुनौती पनि प्रदान गरेको हो, तर दुई वर्षपछि सबै नेपाली र खासगरी प्रभावितहरूको दिमागमा प्रश्न तेर्सिएको छ ः के हामी त्यो घटनापछि आवश्यक पुनर्निर्माणमा इमानदार र समर्पित रह्यौं ? भूकम्पपछिका तीन प्रधानमन्त्री र उनीहरूमातहतका तीन सरकार अनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वमा सरकारपिच्छेका परिवर्तन तथा सुस्तगतिमा जारी निर्माणले प्रभावितहरूको मात्र हैन, दाताहरूको विश्वासमा पनि आघात पुर्‍याएको छ ।
के नेपाल सरकारमा आवश्यक क्षमता र इच्छाशक्ति छ ? यो प्रश्न नेपाललाई पुनर्निर्माणको लागि चार अर्ब डलर प्रतिबद्धता जनाउने दाताहरूले सोधिसकेका छन् पटकपटक । वास्तवमा भूकम्पको दुई महिनामा नै सम्पन्न अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सहभागी केहीले उनीहरूले दिने रकमको सदुपयोग, पारदर्शिता र आन्तरिक स्रोत परिचालन गर्ने क्षमता नेपालसँग भएनभएको प्रश्न गरेका थिए । नेपालको सकारात्मक जवाफ या प्रतिबद्धतापछि मात्र सहयोग घोषणा गरेका थिए ।

दुग्र्भाग्य वैशाख १२ को दुई वर्ष पूरा हुँदासम्म केवल २३ हजार घर मात्र निर्माण भएका छन् र ५० हजारजति निर्माणाधीन छन् । अथवा प्राधिकरण बढी दलीय राजनीतिको सिकार बन्दै जाँदा उसको क्षमता कुण्ठित भएको छ । करिब १७ सय शिक्षण संस्था निर्माण भएका छन् र दुई हजारजति निर्माणका विभिन्न चरणमा छन् । त्यस्तै दुई सयजति स्वास्थ्य केन्द्र निर्माण भएका छन् र बाँकी एक सय निर्माण चरणमा छन् । प्रायः यी सबै संस्थाहरू जापान, अमेरिका, जर्मनीलगायतका सहयोग संस्थाहरूबाट निर्माण गरिएका हुन् । सरकारले भूकम्पलगत्तै 'एक द्वार प्रणाली' घोषणा नगरेको भए सम्भवतः नागरिक उत्साह र भूमिका प्रशासनिक रातो फित्ताबाट कुण्ठित हुने थिएन र पुनर्निर्माणले अर्को आकार लिइसकेको हुने थियो।

यस्तै प्रतिकूल परिस्थितिमा पनि धुर्मस-सुन्तली जोडीले काभ्रे र सिन्धुपाञ्चोकमा ८५ घर र रेङुङ सेनपेनका संस्थापक तथा सेतो गुम्बा प्रमुख चोक्यी निमा रिम्पोछेको मार्गदर्शन तथा आग्रहमा प्राप्त सहयोगबाट धादिङमा ५५ स्तरीय घर निर्माण गर्‍यो, भूकम्पपीडितका लागि । यो निजी र परोपकारी क्षेत्रको लागि ठूलो प्रेरणा सावित हुनेछ, आगामी दिनमा ।

दुर्भाग्य प्राधिकरण नेतृत्व अझै पनि अदालती मुद्दाको विषय बनेको छ र दलीय राजनीतिकै विवादमा प्राधिकरण पर्‍यो भने हरेक वैशाख १२ गते राष्ट्रिय निराशाको प्रतीक बन्नेछ । दुई वर्षमा सरकारलाई धन्यवाद भन्ने अवसर नजुर्नु आफैंमा दुःखद् अक्षमता हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.