कलिलै उमेरमा विवाह गर्दा पाठेघर गुमाउँदै महिला

कलिलै उमेरमा विवाह गर्दा पाठेघर गुमाउँदै महिला

सुर्खेतः घुमखहरे निवासी टीका (नाम परिर्वन) ले १४ वर्षको उमेरमै विवाह गर्नुभयो । विवाह भएको एक वर्षमा नै उहाँको पहिलो बच्चाको जन्म भयो । उमेर नपुग्दै बिहे गरेकी उहाँले उचित स्याहार पाउनु भएन । उहाँको (आङ) अर्थात् पाठेघर खस्यो । समयमा नै उपचार नपाउँदा उहाँको पाठेघर नै झिकेर फालियो ।

उहाँ भन्नुहुन्छ्, ‘धेरै पीडा सहेँ, कतिबेला त मरेर पनि बाँचिरहे । डरले गर्दा परिवार र श्रीमान्लाई भनिन, समयमा नै उपचार नहुँदा धेरै दुःख पाएँ ।' गाउँमा पाठेघरसम्बन्धी उपचार शिविर सञ्चालन भएको बेला उहाँको पाठेघर नै झिकेर फाल्नु पर्‍यो । आफूले सानैमा बिहे गर्दा अहिले आधा शरीरको भरमा बाँच्नु परेको उहाँले दुखेसो पोख्नुभयो ।

बाबियाचौरकी हरिकला (नाम परिवर्तन) को पनि पीडा उस्तै छ । कक्षा सातमा पढ्दापढ्दै भागेर बिहे गर्नुभयो । सानै उमेरमा विवाह गर्नुभएकी उहाँले १६ वर्षको उमेरमा नै बच्चा जन्माउनुभयो । उहाँले सुत्केरी अवस्थामा राम्रो स्याहार पाउन सक्नु भएन जसको परिणाम आङ खस्ने समस्याको सिकार हुनुभयो । सानै उमेरमा बच्चा जन्माउँदाको परिणाम उहाँले अहिले भोग्नु परेको छ । उहाँ भन्नुहुन्छ, ‘पाठेघर खसेको आठ वर्ष भयो । विवाह भएको केही वर्षसम्म त श्रीमान्सँग राम्रै सम्बन्ध थियो तर जब मेरो पाठेघर खस्यो तब श्रीमान् टाढिए ।'

सानै उमेरमा विवाह गर्दा मानसिक र शारीरिक रूपमा पर्ने असरबारे थाहा नहुनु र बच्चा जन्माउँनुले पनि पाठेघर खस्ने समस्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

समयमा नै उपचार नपाउँदा र रोग लुकाउँदा उहाँको पनि पाठेघर झिकियो । त्यसपछि उहाँका श्रीमान्ले दोस्रो बिहे गरे । पाठेघर खसेको पीडाभन्दा पनि ठूलो पीडा छ उहाँलाई श्रीमान्ले आफूलाई छोडेकोमा । उहाँ भन्नुहुन्छ, ‘घरपरिवार र श्रीमान्लाई मेरो पीडा सुनाउन सकिनँ, आफैं मर्नु न बाँच्नुको अवस्थामा पुगें ।'

बालविवाहका कारण महिलाहरूमा पाठेघर खस्ने समस्या बढ्दै गएको छ । सानै उमेरमा विवाह गर्दा मानसिक र शारीरिक रूपमा पर्ने असरबारे थाहा नहुनु र बच्चा जन्माउँनुले पनि पाठेघर खस्ने समस्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अध्ययनले यस्तो समस्या देखाएको हो । प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाका अनुसार पनि सुर्खेतमा ४२ प्रतिशत महिला यो समस्याबाट पीडित छन् ।

सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) ले दिएको जानकारीअनुसार यो जिल्लाका केही स्थानको मात्र तथ्यांक हो । जिल्लाको ग्रामीण क्षेत्रका महिलामा यो समस्या बल्झिँदै गएको संस्थाको भनाइ छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउनाले यो समस्या बढेको हो । सुर्खेतमा ४२ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको वामले जानकारी दिइएको हो ।

केड नेपालकी अरुणा चौधरी सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा महिलाहरूमा पाठेघर खस्ने समस्या बढी देखिएको बताउनुहुन्छ । उहाँले कम जन्मान्तरमा धेरै बच्चा जन्मनेजस्ता मुख्य समस्या र हानिकारक संस्कारले गर्दा महिलाहरूमा मानसिक असर पर्ने गरेको बताउनुभयो । नेपालमा अहिले करिब दस लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको उहाँको भनाइ छ । उहाँले बालविवाहलाई न्यूनीकरण गर्न विद्यालयस्तरमा प्रजनन् स्वास्थ्यसम्बन्धी पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिनुभयो ।

गर्भवती, किशोरकिशोरी, बालबालिका र नवविवाहित जोडिलाई लक्षित गर्दै सुर्खेतका खानीखोला, डाँडाखाली, राकम, लेखगाउँ, कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बजेडीचौर र गुठुमा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा पाठेघर खस्ने समस्या रोक्ने सरकारी लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.