उपलब्धिको उपहास

 उपलब्धिको उपहास

गणतन्त्रमा प्रवेशसँगै नेपालले नयाँ युगमा पाइला राखेको छ । यो यथार्थबाट कोही पनि अनभिज्ञ छैनन् । अर्को शब्दमा भन्नुपर्दा यो यथार्थ भनेको पहिले जुन यथास्थितिको वातावरण थियो आज त्यो परिवर्तन भएको अनुभूति गरिनु हो । यो परिवर्तनलाई उपलब्धिको रूपमा आजको मितिमा कुनै न कुनै प्रकारबाट प्रत्येक नेपालीले आआफ्नो क्षेत्रमा प्रयोग गरिराखेकै छन् । कम्तीमा पनि अभ्यास मात्रै भए पनि गरिराखेका छन् ।

खास गरेर वाक् स्वतन्त्रता गणतन्त्रको प्रमुख उपलब्धि हो । त्यसो त कुनै पनि नयाँ-नयाँ उपलब्धि हात लागिसकेपछि त्यसलाई प्रयोग गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार नै हो । यद्यपि त्यस्तो अधिकारलाई कसरी सदुपयोग गर्ने भन्ने विषयचाहिँ महत्ववको हो ।

आज प्राप्त वाक् स्वतन्त्रता हेर्ने हो भने यहाँ धेरै विसंगति देखिएका छन् । वास्तवमा कतिपय ठाउँमा यसको दुरुपयोग नै बढी मात्रामा भएको पाइन्छ । मानवअधिकारको कुनै प्रसंगमा भन्ने गरिएको छ- भन्न जे पनि पाइन्छ, गर्नचाहिँ पाइन्न । उदाहरणको लागि कुनै व्यक्तिले अर्को व्यक्तिलाई गाली गर्न पाइन्छ, तँलाई पिट्छु वा मार्छुसम्म पनि भन्न पाइन्छ । तर साँच्चैचाहिँ पिट्न पाइन्न, मार्न पाइन्न । हाम्रोजस्तो समाजमा कतिसम्म पचाउन सकिन्छ यस्तो मानवअधिकारीय कुरोलाई ? यो बहसको विषय होला ।

यहाँ सन्दर्भ छ, प्राप्त उपलब्धिको प्रयोगको एउटा खास विषय । त्यसो त नेपालमा गणतन्त्रको आगमनअघि नै २०४६ सालमा जब प्रजातन्त्र पुनस्र्थापनाको घोषणा भयो, त्यसकै आधारमा उभिएर स्वतन्त्रतापूर्वक विभिन्न राजनीतिक पार्टीहरू स्थापना भए । सँगसँगै विभिन्न संघसंस्था पनि धमाधम खुल्न थाले । विशेष गरेर सरकारी प्रशासनिक कार्यालयहरूमा संघसंस्थाहरूको स्थापना हुनु नौलो रहेन । नौलो त के भयो भने कार्यालयहरूमा केवल एउटा होइन, दुईचारवटा संघसंस्थाहरू खुल्न लागे । रमाइलो कुरो त अभैm अर्को छ । त्यो के भने सरकारी मात्रै नभई निजी कुनै पनि कार्यालय यसबाट अछूत रहेनन् । कतिसम्म भने अस्पताल, सञ्चार क्षेत्र, स्कुल-कलेज, उद्योग, कलकारखानालगायत जति पनि ठाउँमा कर्मचारी रहन्छन्, ती सम्पूर्ण ठाउँमा संघसंस्थाहरू स्थापना भए ।

ती संघसंस्थाको एउटै उद्देश्य थियो- कर्मचारी वर्गको हितमा काम गर्ने, कर्मचारीमाथि हुने कुनै किसिमका अन्याय, अत्याचार, शोषण हुनबाट उसलाई उन्मुक्ति दिने । अब यहाँनिर गहिरिएर हेर्नुपर्ने विषय छ- के साँच्चै कर्मचारीको हकहितकै लागि काम गर्ने गरेका छन् त ती संघसंस्थाले ? यो प्रश्नमाथि अलिकति ध्यान दिने हो भने एउटा प्रस्ट तथ्य उजागर हुन्छ । ती संघसंस्थाहरूको स्थापना कर्मचारीको हकहितको लागिभन्दा बढी अर्कै उद्देश्यको लागि भएको देखिन्छ । जुन उद्देश्यअनुरूप राजनीति गर्ने मञ्चको रूपमा ती संघसंस्था प्रयोग हुने गरेका छन् । अर्थात् स्पष्ट रूपमा त्यो मञ्च राजनीतिक पार्टीहरूको भ्रातृसंगठनको रूपमा चलायमान हुन पुगेको देखिन्छ ।

प्राप्त उपलब्धिलाई जथाभावी प्रयोग गर्ने छुट कसैलाई पनि छैन र विसंगतपूर्ण तवरले स्वतन्त्रताको दुरुपयोग हुनुलाई राम्रो पनि मान्न सकिन्न ।

वास्तवमा कुनै पनि कार्यालयमा काम गर्नु भनेको विशुद्ध भाषामा भन्ने हो भने व्यक्तिको लागि ‘रोजगार' हो । अर्थात् त्यहाँ ‘जागिर खानु' हो । अर्को भाषामा जागिर भनेको नुनको सोझो गर्नु हो । नुन अर्थात् तलब खाइसकेपछि त्यसमुताबिक काम गर्नुपर्ने सीधा अर्थ हो यसको । यहींनिर प्रश्न उठ्ने गरेको छ- के आज त्यहाँ नुनको सोझो गर्ने गरिएको छ ? खास गरेर सरकारी कार्यालयहरू र अझ त्यसभन्दा अघि बढेर सम्भवतः सबैभन्दा बढी तलब र सुविधा पाइने बैंकिङ वा संस्थानहरूमा ‘जागिर' को व्यापक दुरुपयोग भएको स्पष्टै देखिन्छ । प्रश्न यहीं छ- कुनै पनि कार्यालयको जागिरे भएर पदीय जिम्मेवारी लिएपछि त्यही कार्यालयअन्तर्गत बसेर काम गर्नुपर्छ कि पर्दैन ?

 

के यो एक किसिमको नैतिक भ्रष्टाचार होइन ? यो प्रश्नमाथि आँखा चिम्लिन मिल्छ ? यदि बुझेर पनि नबुझे झैं गर्ने हो भने त भन्ने कुरो नै के बाँकी रह्यो र ? संगठन चलाउन भनेरै जागिर खोल्दा भइहाल्यो । दरबन्दी त्यसैअनुसार खडा गर्न पनि सकिन्छ । सीधै संगठनको लागि भनेर राजनीतिक पार्टीबाट हुकुम प्रमांगी गरेर कोटामा नियुक्ति दिइँदा झन् सजिलो हुन्छ । यसो गर्दा समावेशी-समानुपातिकका आधारमा आजको गणतन्त्रको पनि मान रहने भयो । हुन पनि अधिकांश कार्यालयहरूमा स्थापित संघसंस्थाहरू हेर्दा यसै खालको प्रशासनिक नियमावली नै बनेको छ कि झैं लाग्छ, अन्यथा नेपालका प्रत्येक प्रशासनिक कार्यालयहरूमा कुनै न कुनै रूपमा थोरै अंशमा भए पनि सम्मिलित भएको ‘नागरिकको राजस्व' को खुलमखुला लुट होइन यो ?

तपाईं राष्ट्रबैंकमा जानोस्, विद्युत् प्राधिकरणमा जानोस्, टेलिकममा जानोस्, आयल निगममा या अन्य कुनै संस्थानमा जानोस्, कुनै कलेजमा जानोस्; त्यहाँ यस्तै संघ, संगठन वा युनियन जो आफ्नो राजनीतिक माउपार्टीको ‘लाइन' अनुरूप कार्यालयमा तालाबन्दी गर्ने, पेन डाउन गर्ने, घेराबन्दी गर्ने काममा सदैव अग्रसर भइरहेको पाउनुहुन्छ । कम्तीमा पनि आफ्नो राजनीतिक लाइनविपरीतका कार्यालय प्रमुखलाई हटाउनुपर्ने माग राखेर वा विशुद्ध आफ्नो वर्गको लागि बढी बोनसलगायतका सुविधाको माग राखी धर्ना गरिरहने दैनिकीलाई देख्दै आइएकै हो ।

फलस्वरूप सम्बन्धित कार्यालयबाट पाउनुपर्ने सेवाबाट सेवाग्राहीहरू वञ्चित हुनुपरेका घटना कैयन् छन् । अरू त अरू बिरामीका सेवा गर्नुपर्ने कर्तव्यलाई बिर्सेर अस्पतालका चिकित्सकहरूसमेत बेलाबेलामा यस्तो अनुचित कार्यमा संलग्न हुने गरेको पाइन्छ । देख्दै आइएकै हो, ओपीडी सेवासमेतबाट वञ्चित गराइएर त्यहाँ कति बिरामीले अनाहक दुःख बेहोर्ने गर्छन् ! त्यसैले प्रश्न फेरि पनि त्यही हो- त्यही कार्यालयको जागिर खाएपछि आफ्नो कर्तव्य/पदीय जिम्मेवारी छोडेर, अनेक संघसंगठनको माध्यम बनाएर राजनीति गरिरहन मिल्छ ? लाग्छ, कतै ‘बाँदरको हातमा नरिवल' भन्ने उखान चरितार्थ भइरहेको त छैन ?

यसो भनिनुको यो अर्थ होइन, कर्मचारीलाई केवल काम गर्ने औजारको रूपमा प्रयोग गरिनुपर्छ, उसलाई अन्य कुनै किसिमको स्वतन्त्रता दिइनु हुन्न । भन्न खोजिएको यत्ति मात्रै हो- प्राप्त उपलब्धिलाई जथाभावी प्रयोग गर्ने छुट कसैलाई पनि छैन । चाहे मुलुकमा जतिसुकै ठूलो लोकतन्त्र किन नहोस्, यस प्रकार विसंगतपूर्ण तवरले स्वतन्त्रताको दुरुपयोग हुनुलाई कदापि राम्रो मान्न सकिन्न । हामीले वर्षौंदेखि भोग्दै आएको निरंकुशतामाथिको विजयप्रति गर्ने गर्वलाई सार्थक तुल्याउने हो भने कार्यालयहरूमा खोलिएका संघसंस्था, युनियनलगायतका संगठनमार्पmत गरिने तथाकथित राजनीतिबाट कर्मचारी वर्गले अलग्गै रहनु मुनासिब ठहर्छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.