नेतृत्वलाई राष्ट्रियताः पुराण

 नेतृत्वलाई राष्ट्रियताः पुराण

राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको नेतृत्वमा भुरेटाकुरे बाईसे/चौबीसे राज्य समेट्दै एउटै सबल आत्मनिर्भर राष्ट्र निर्माण गर्ने अभियान गोर्खाबाट आरम्भ भई काठमाडौं उपत्यकामा प्रवेश गर्‍यो । काठमाडौं उपत्यकाका सबै भूभागमा संघर्ष र सम्झौताको विधिबाट विजय हासिल गरेपछि पृथ्वीनारायण उपत्यकालाई आफ्नो राज्यमा बाँध्न सफल भए । तत्पश्चात् पृथ्वीनारायणले गोर्खा राज्यको सट्टा कान्तिपुरलाई आफ्नो राजधानी बनाई ५ मंसिर १८२६ मा नेपाल राष्ट्र नामकरण गरे ।

यसरी निश्चित भौगोलिक स्वरूप, सीमा, भाषा, धर्म, संस्कृति, जनसंख्या, इतिहास, आर्थिक प्रणाली, सामाजिक संरचना, राजनीतिक चरित्र बोकेर स्वतन्त्र रूपमा राज्य व्यवस्था सञ्चालित हुँदै आएको मुलुक नेपाल राष्ट्र हो । यो राष्ट्र बहुजाति, भाषा, धर्म, संस्कृति आदि विविधताबाट समिश्रित र अन्तरघुलित बस्ती विकासको सद्भाव, सहिष्णु सामाजिक संरचनाबाट गतिवान् छ । यही नै हाम्रो राष्ट्रको मूल परिचय हो ।

राष्ट्रियताः राष्ट्रियता राष्ट्रसँग अभिन्न ढंगले जोडिएको हुन्छ । राष्ट्रियता भनेको आफ्नो राष्ट्रप्रतिको आत्मिक भौतिक जीवन पद्धतिको लयबद्ध समर्पण भाव हो । राष्ट्रप्रतिको माया, कर्तव्यबोध, जवाफदेहिता, देशभक्तिपूर्ण, प्रगाढताको मूल्यबोध नै राष्ट्रियता हो । अर्को शब्दमा राष्ट्रभित्र बसोबास गर्ने सबै वर्ग, क्षेत्र, लिंग, जातजातिका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, न्याय, समानता र स्वतन्त्रताको समानुपातिक विकास एवं अधिकारको समष्टि भावना राष्ट्रियता हो । सबै जनसमुदायको इतिहास, राजनीतिक अधिकार र कर्तव्यहरूको उचित पहुँच तथा सभ्यताको केन्द्रीकृत रूप खँदिलो राष्ट्रियता हो । विश्वमा राष्ट्रवाद तथा राष्ट्रियताको बहसको आरम्भ सन् १६१८-१६४८ सम्म चलेको युरोपियन युद्धको अन्त्यपश्चात् वेस्टफालिया सन्धिपछि सुरु भएको हो ।

विशेषताः सन् १८१६ को अंग्रेज-नेपालबीचको कथित सुगौली सन्धिपश्चात् नेपालले दुईतिहाइ भूभाग गुमाउनुपर्‍यो । षड्यन्त्रपूर्ण ढंगले नेपाललाई फसाइएको सुगौली सन्धिको पीडाको आलो घाउबाटै नेपाली राष्ट्रियताको रक्षाको विषयको अभियानले उँचो रूप लिँदै आएको इतिहास हाम्रो राष्ट्रियताका तीतो अनुभूतिसहितको पृष्ठभूमि हो ।

राष्ट्रियतामाथिको जस्तोसुकै चुनौतीहरूको सतीसाल बनेर प्रतिरोध एवं भण्डाफोर गर्दै राष्ट्रियता बलियो बनाउनु देशभक्त नेपालीको कर्तव्य हो ।

राष्ट्रियतामाथिको चुनौतीः राष्ट्रको उदयसँगै राष्ट्रियताको सवाल पनि सँगै उठ्छ । राष्ट्रको उत्पत्तिसँगै शासक र शासित वर्गको पनि उत्पत्ति हुन्छ । राष्ट्र शासक (सरकार) वर्गको मात्र नभई शासित (जनता) वर्गको पनि हो । त्यसैले राष्ट्रियताको रक्षाको विषयमा शासक र शासित दुवैको भूमिका महत्ववपूर्ण रहने गर्छ । राष्ट्रियताको रक्षा, विकास एवं संवद्र्धनबिना राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि असम्भव हुन्छ । समग्र राष्ट्रको उज्ज्वल भविष्यको लागि राष्ट्रियताको रक्षा मुलुकको अनिवार्य सर्त हो । राष्ट्रिय स्वाभिमान, अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता राष्ट्रियताका अभिन्न अंग हुन्, यिनको रक्षा अहं हुन्छ । यतिखेर हाम्रो नेपाली राष्ट्रियतामाथि बाह्य र आन्तरिक गरी दुई खालको चुनौती देखा पर्दै आएको छ ।

 

बाह्य चुनौतीः वैदेशिक शक्ति राष्ट्रहरूद्वारा नेपालको राष्ट्रियतामाथि यो वा त्यो कोणबाट थोपरिएका हस्तक्षेप एवं प्रभुत्व हाम्रो राष्ट्रियतामाथिको बाह्य चुनौती हो । विशेषगरी नेपालको आन्तरिक मामलामा इन्डो-पश्चिमा साम्राज्यवादी शक्तिले आफ्नो रणनीतिक स्वार्थपूर्ति गर्ने दाउपेच खेलिरहेको छ र यस कुकृत्य पछिल्ला घटनाक्रमबाट पुष्टि हुँदै आएको छ ।

खास गरेर नेपालको हितविपरीतको सन् १८१६ को कथित सुगौली सन्धि होस् या त्यसयताका भारतसँग गरिएका कुनै पनि सन्धिसम्झौता नेपालको हितमा छैनन्, यी सन्धिका कारण नेपाली राष्ट्रियतामाथि चुनौती थपिएको छ । साथै भारतीयहरूद्वारा जारी सीमा अतिक्रमण, नागरिकता अतिक्रमण, असमान सन्धि-सम्झौता, राजनीतिक हस्तक्षेप, सांस्कृतिक, प्रशासनिक, सुरक्षा, जलस्रोतमा हस्तक्षेप, भूपरिवेष्ठित राष्ट्रले पाउने अन्तर्राष्ट्रिय पारवहनमा अवरोध सीमामा नेपाली भूमि डुबान गराउने गरी अनधिकृत रूपमा बाँध निर्माण कार्य आदि नेपालको राष्ट्रियतामाथिको भारतीय शासक वर्गको पश्चिमा साम्राज्यवाद स्वार्थसँग जोडिएको गम्भीर चुनौती हो ।

त्यस्तै पश्चिमा साम्राज्यवादी शक्तिद्वारा पनि सीधा नेपालको राष्ट्रियतामाथि गम्भीर आघात पुर्‍याउने काम भएको छ । भारतीय शासकवर्गको नेपालप्रतिको गलत रबैयामा समर्थन जनाउँदै पश्चिमाहरूले कतिपय मुद्दामा भारतीय आँखाबाट नेपाल हेर्ने र कतिपय मुद्दा आफैं हेर्ने गरेका छन् । विशेष गरेर पश्चिमाहरूले नेपालको संविधान निर्माणमा गलत एजेन्डा धर्म निरपेक्षतालगायतका जातिवादी/क्षेत्रवादी मुद्दाहरू उठान गराएर मिलेर बसेको सद्भावपूर्ण नेपाली समाजमा द्वन्द्व कलहको वीजारोपण गर्न सफल भएका छन् ।

यति मात्र होइन, सांस्कृतिक साम्राज्यवादको विस्तार गरेर नेपाललाई क्रिश्चियन राज्य बनाउने र नेताहरूलाई पास्चर बनाउने गृहकार्यमा अमेरिकी र युरोपियनले डलर र युरो खेती गर्दै आएका छन् । एनजीओ, आईएनजीओले चलाएका समानान्तर सत्ता यसको ज्वलन्त उदाहरण हो । यिनै सञ्जालमार्फत सञ्चालित नेपालको एक चीन नीतिविरुद्धका गतिविधि होस् या राज्यका हरेक अंगलाई नियन्त्रित निर्देशित गर्ने प्रवृत्तिलाई हाम्रो राष्ट्रियतामाथिको बाह्य हस्तक्षेपको रूपमा बुझ्नुपर्छ ।

आन्तरिक चुनौतीः इन्डो-पश्चिमा साम्राज्यवादी शक्तिको डलर, युरो र पाउन्डको खान्कीमा नेपाल राष्ट्रको विखण्डन र विसर्जन गर्न उद्यत् नेपालका शासक वर्ग, राजनीतिक दलका केही कथित नेतृत्व कुलंघारहरूको कारण हाम्रो राष्ट्रियतामाथि आएको चुनौती राष्ट्रियतामाथिको आन्तरिक चुनौती हो । जातिवादी, क्षेत्रवादी, पृथकतावादी, साम्प्रदायिकतावादी, विसर्जनवादी, राष्ट्रिय आत्मसमर्पणवादी गद्दारहरूको कारण राष्ट्रले भोग्नुपरेको सास्ती आन्तरिक चुनौती हो । एकाधिकार दलाल पुँजीवादका भरौटेहरूले नेपाली जनतामाथि जबर्जस्त थोपरेका अन्याय, अत्याचार, दमन, शोषण, उत्पीडनका कारण पनि नेपाली राष्ट्रियतामाथि चुनौती थपिएको छ ।

साम्राज्यवादी एजेन्ट केपुचिन पादरीका आधुनिक अवतारको रूपमा क्रियाशील, डा. कृष्ण भट्टचन, राजेन्द्र महतो, अमरेशकुमार सिंह, सीके राउत, पदमरत्न तुलाधर, दमननाथ, ढुंगाना, आङकाजी शेर्पा, प्रदीप गिरी, कथित नागरिक समाज, कथित मानवअधिकारवादी, एनजीओ, आईएनजीओ, सक्रिय पश्चिमा नियोग, पीत पत्रकारितासँग जोडिएको सञ्चार प्रोपगान्डा आदिले जाति र क्षेत्रको स्वायत्त शासनको डम्फु बजाउँदै मुलुक विघटन गराउने सुनियोजित भूमिका निर्वाह गरेबाट नेपाली राष्ट्रियता भयभीत र त्रसित छ । राजनीतिक दलका कतिपय नेतृत्व इन्डो-पश्चिमा साम्राज्यवादी शक्ति केन्द्रका गुलाम बन्नुको परिणाम राष्ट्रले लेन्डुप दोर्जेका नयाँ अवतारको सास्ती बेहोर्नु परिरहेको छ । हामीले विश्वास गरेको नेतृत्व आज इन्डो पश्चिमाका अर्दली जस्ता देखिन पुगेका छन् ।

हाम्रा शासकहरू तथा नेतृत्वहरूले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिई आफ्ना निजी स्वार्थप्रतिको आहलमा डुबेर देश र जनताप्रति गद्दारी गरेका छन् । घूसखोरी, कमिसनतन्त्र भ्रष्टाचार, गुन्डागर्दी, दलालीकरण परिवारवाद, वर्ग समन्वयवादी, आत्मकेन्द्रित अवसरवादी चरित्रका कारण केही मूल नेतृत्वहरू जनताका नजरमा गिरेका छन् र राजनीतिक दलीय प्रणालीको खिल्ली उडाइरहेका छन् ।

हाम्रा शासक तथा नेतृत्वहरूको दिमागमा राष्ट्रियता भेटिँदैन । सत्ताभोगमा चुर्लुम डुबेका शासक तथा नेतृत्वसामु राष्ट्रियता, जनतन्त्र, जनजीविका, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता, अखण्डता, स्वतन्त्रताका कुरा गर्नु भालूलाई पुराण सुनाएजस्तै हुन्छ । यस्तो रबैयाबाट मुलुक गम्भीर राष्ट्रिय संकटमा परेको छ । दलका नेतृत्व मात्र नभएर राज्यका अंगहरूका नेतृत्व सम्हालेका प्रशासक पनि राष्ट्रियताका सवालमा गम्भीर छैनन् ।

नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र डीभी र पीआरमा लुब्ध छ र घूसखोरी कमिसनतन्त्र एवं भ्रष्टाचारमामाथि देखि तलसम्म संगठित सञ्जाल निर्माण गरी चुर्लुम्म डुबेको छ । राज्यका हरेक अंक इन्डो-पश्चिमाका गुप्तचर बनेर राष्ट्रियतामाथि गम्भीर आँच पुर्‍याइरहेका छन् । यसरी बाह्य र आन्तरिक गम्भीर चुनौतीका कारण नेपाली राष्ट्रियता थिलोथिलो बन्न पुगी शान्ति, स्थिरता, समृद्धि, शक्ति सन्तुलन र राष्ट्रिय एकताका आधारहरू मक्किँदै र भत्किँदै गएका छन् ।

मुलुक लामो संक्रमणकालीन अवस्थाबाट गुज्रिन विवश छ । जसका कारण देशका कर्णधार युवाहरू विदेश पलयान हुन विवश भई नेपाल वृद्धा श्रम एवं अनाथालयमा परिणत हुन गइरहेको छ । राज्यका हरेक क्षेत्र लंगडा भएका छन् । समग्रमा मुलुकको राष्ट्रियता गम्भीर संकटमा तड्पिँदै राष्ट्रियता रक्षाको सवालमा गम्भीर चुनौती देखा परेका छन् ।

निष्कर्षः राष्ट्रको शान्ति, स्थिरता र समृद्धिका मुख्य आधार बलियो राष्ट्रियता हो राष्ट्रियताको रक्षाविना मुलुकको सार्वभौमिकता अक्षुण्ण राख्न सकिँदैन । राष्ट्रियतामाथि आइलागेका बाह्य आन्तरिक सबैखालका चुनौतीहरूको यथाशीघ्र चिरफार एवं प्रतिरोध गर्दै नयाँ आधारमा राष्ट्रियता मजबुत बनाउन राष्ट्रिय एकता समयको माग हो । बिग्रेका, भत्केका, बाटो बिराएका राजनीतिक दलहरूको मूल नेतृत्वको विकल्प र दलहरूको सुदृढीकरण अहिलेको आवश्यकता हो । भोको पेटले राष्ट्रियता बलियो हुँदैन । लाखौं युवालाई अरबको होम खाडीमा बेचेर रेमिट्यान्सको भरमा मुलुक हाँक्न खोज्ने शासकले बुझ्नुपर्छ ।

राष्ट्रिय उद्योगधन्दा कलकारखानाको निर्माण गरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासमा उचित नीति कार्यक्रम तर्जुमा गर्न विलम्ब गर्नु हुँदैन । युवालाई स्वदेशमै रोजगार दिलाएर उनको पसिना यो मुलुक बनाउन खर्चिनुपर्छ नकि विदेशी राष्ट्र त्यसैले शासकहरू र मूलधारका पार्टीका नेतृत्व एवं कार्यकर्ता र राज्यका अंगहरूका प्रशासकहरूको घैंटोमा घाम लाग्न जरुरी छ । राष्ट्र भौगोलिक रूपमा सानो होस् वा ठूलो आर्थिक रूपमा सम्पन्न होस् या विपन्न, फौजी रूपमा र शक्तिशाली होस् या सामान्य, जनसंख्या धेरै होस् या थोरै यसले राष्ट्रको परिचयमा केही फरक पार्दैन ।

हामीले अर्को राष्ट्रको राष्ट्रियतामा दखल पुर्‍याउने काम किमार्थ गर्नु हुँदैन र हाम्रो राष्ट्रियतामा दखल पुर्‍याउनेहरूलाई समयमै उचित जवाफ फर्काउनै छ । हरेक राष्ट्रहरूसँगको सम्बन्ध सहअस्तित्व र सहकार्यका आधारमा तय हुने विधि विश्वव्यापी मान्यता हो । तसर्थ भारतलगायतका देशसँग भएका असमान सन्धिसम्झौताहरू पुनरावलोकन गरी समानताका आधारमा पुनः सम्झौता गर्नु अहिलेको आवश्यकता हो । त्यसैले राष्ट्रियतामाथिको जस्तोसुकै चुनौतीहरूको सतीसाल बनेर प्रतिरोध एवं भण्डाफोर गर्दै राष्ट्रियता बलियो बनाउनु देशभक्त नेपालीको कर्तव्य हो ।

नेपालको राष्ट्रिय स्वार्थ आम जनताको चासो र सरोकारको विषय हो । राष्ट्रिय स्वार्थ उचित राष्ट्रिय एजेन्डाबाट मात्र पूर्ति हुन सक्छ । त्यसैले आम जनसमुदायको सचेत पंक्ति पनि आफ्ना निजी स्वार्थ र महत्ववाकांक्षामा दोषजति नेतृत्वको नाफाजति आफ्नोको मानसिकताबाट लाचार छायाको भूमिका परित्याग गरी संवेदनशील एवं जिम्मेवार बन्न आवश्यक छ । मूलधारका पार्टीहरू माओवादी केन्द्र, एमाले, कांग्रेसलगायतले पनि आफूलाई समयमै सच्याई आफ्ना राष्ट्रघातका फेहरिस्त बहीखाता पल्टाउँदै जहाँबाट गल्ती भएको हो, त्यहींबाट सच्चिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.