कारोसी, जापान र मातसुरी
बिहानको चार बजेको थियो । २४ वर्ष पुगेकी टोकियो विश्वविद्यालयमा अध्ययन गरेर जापानको सर्व श्रेष्ठ विज्ञापन एवं जनसम्पर्क कम्पनी 'डेन्टसु' मा कार्यरत मातसुरी टाकाहासीले आफ्ना साथीहरूलाई सामाजिक सञ्जालबाट छोटो सन्देश पठाइन्, 'बिहानको चार बज्यो, मेरो शरीर काम्दैछ, म कम्पनीको कार्यालयभित्रै अझै पनि काम गर्दैछु । म यति थाकेकी छु कि अब म मर्न लागें ।' केही घन्टापछि मातसुरीको मृत शरीर कम्पनी बिल्डिङको आँगनमा भेट्टाइयो । मातसुरीले बिल्डिङबाट हाम फालेर आत्महत्या गरेकी थिइन् । यो थियो, गत वर्षको २५ डिसेम्बर २०१६ को घटना । जापानभरि सनसनी फैलियो । डेन्टसु कम्पनीका अध्यक्ष ताडासी ईसीले यस घटनाले गर्दा नै मार्च २०१७ मा कम्पनीबाट राजीनामा दिए ।
अफिसमा नियमित रूपमा अघोरै बढ्ता काम गरेर मानसिक तनावग्रस्त भएर मर्ने हजारौं जापानी कर्मचारीहरूमध्ये मातसुरी टाकाहासी एक थिइन् । दैनिक रूपमा गरिने आठ घन्टाको काम ड्युटीबाहेक जापानका हरेक कार्यालयमा प्रायः सबैले धेरै घन्टाको ओभर टाइम काम गर्छन् । सरकारले र निजी कम्पनीहरूले दैनिक हिसाबकिताबदेखि बाहिर र अmभै थप समय काम गर्नलाई घन्टाको दरमा रोकटोक लगाएको हुँदाहुँदै पनि प्रायजसो कम्पनीहरूमा महिनामा एक सय घन्टाभन्दा बढी समय कर्मचारीले काम गर्छन् ।
दस-एघार-बाह्र बजे राति सिबुया, टोकियो, इकेबुतुरो, कुनिताची, मेट्रो स्टेसनहरूमा त्यत्तिकै भीड हुन्छ, जति ६-७ बजे साँझमा हुन्छ । धेरै कर्मचारीहरू बाह्र बजे रातिभन्दा अबेर घर पुग्छन् । जापानको कार्य-संस्कृति नै यस्तै भयो । कामले थिचेर, कार्यालयले मिचेर हजारौंको संख्यामा बर्सेनि मानिसहरू आत्महत्या गर्छन् । यसैलाई जापानीहरूले हिच्किचाउँदै 'कारोसी' 'कारोसी' भन्छन् ।
जापानीहरू यति दिलोज्यान दिएर काम किन गर्छन् ? कम्पनीहरू खुलेआम कर्मचारीहरूलाई किन कैयन् घन्टाको थप अवधिको काम गर्न बाध्य गर्छन् ? सरकारी नियमको प्रत्यक्ष रूपमा किन उल्लंघन गरिन्छ । यी प्रश्नले विश्वका अन्य सरकार र कम्पनीहरूलाई सधैं झक्झकाइरहन्छ ।
जापानीहरूले आफ्नो काम-धन्धालाई चाहे सरकार होस् या निजी कम्पनी होस्, ईश्वर नै सोचेर आफूलाई समर्पित गछ्न् । सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले भीषण रूपमा एटम बम प्रहार गरेपछि जापानी अर्थव्यवस्था छिन्नभिन्न भयो । यस ऐतिहासिक एवं अमानवीय दुर्घटनाले दोस्रो विश्व महायुद्धको अन्त्य त गर्यो, तर यसले जुन गहिरो आघात जापानी जनसाधारणलाई पुग्यो, आज 'कारोसी र 'मातसुरी' ले यसकै नतिजा दर्शाइरहेको छ । हिरोसिमा-नागासाकीको दुर्घटनापछि जापानीहरूले केवल आफूलाई हेर्न थाले, देशलाई गुहार्न थाले र राष्ट्र निर्माणमा तल्लीन भए । विश्वलाई हेर्नै छोडे ।
जापान सरकारले जनतालाई 'कारोसी' बाट बचाउन भर्खरै नयाँ कानुन ल्याएको छ । यसले 'कारोसी' को सिकार बनेका हजारौंहजार मातसुरीहरूका आमाबाबु, बाजेबज्यै सबैमा नयाँ आशा पलाउँदैछ । मातसुरीहरूको आत्माले शान्ति पाओस् भनेर उनीहरू कियोटोको किनकाकुजी मन्दिर र कामाकुरामा प्रार्थना गरिरहेका छन् ।
हिजोसम्म सम्पूर्ण विश्व नै खान्छु भन्ने, कोरिया-चीन भित्रभित्र दखल पार्ने र दोस्रा विश्वयुद्धमा बर्मा र भारतको उत्तरपूर्वी क्षेत्रहरूसमेत मिच्ने जापानले आफ्नो संविधानमै शान्तिको अह्वान गर्दै विभिन्न धाराहरू हाल्यो र अब युद्ध कहिल्यै नगर्ने प्रण नै गर्यो । हिरोहितोजस्ता इम्पेरर पनि आफ्नो दरबारबाट ननिस्कने भए ।
जापानीहरू राष्ट्र निर्माणमा कति समर्पित भए भने तीस वर्षभित्रै उनीहरूको देश जापान विश्वको विकसित राष्ट्रहरूको सूचीमा पर्यो । एसियाको पहिलो राष्ट्र भयो, विश्व अर्थव्यवस्थाको सूचीमा अमेरिकासँग दाँजो गर्ने । फेरि युद्धमुखी नहोस् भनेर अमेरिकाले जापानलाई हर प्रकारका राजनीतिक, आर्थिक र सामरिक सहायता दियो । अमेरिका र जापानको घनिष्ट मित्रतालाई आज पनि चीन-उत्तरकोरिया र रूस हेर्नै चाहँदैनन् ।
मुलुकको अर्थव्यवस्थालाई यतिशीघ्र विश्वस्तरमा पुर्याउँदा जापानले धेरै कुप्रभावको सामना गर्नुपर्यो । 'कारोसी' अर्थात् ज्यादा काम गर्दा मानसिक तनाव र शारीरिक शिथिलता आएपछि आत्महत्या गर्ने सिलसिला एउटा भयानक रोग नै बन्यो । विशेष तीनवटा कारणले 'कारोसी' रोग बडो गहिरियो ।
प्रथमत जापानीहरू युद्धले विध्वंस पारेको आफ्नो राष्ट्रलाई फेरि नयाँ मार्गदर्शन गराउन दिनरात नभनी काम-धन्धा गर्न थाले । नयाँ-नयाँ कम्पनीहरू अगाडि ल्याए । विश्वलाई नै पिट्ने अनुसन्धानहरू गर्न थाले । कति गुणवत्ता सरसामान उत्पादन गर्न थाले भने सिंगो विश्व नै जापानी सरसामान मात्र रुचाउन थाल्योे । हिताची, क्यानोन, प्यानासोनिक, सुजुकी, तोसिबा, किकोमेन र मितसुईबीसीका सामानहरू विश्व समुदायका घरघरमा पुग्यो । जापानमा यति धेरै द्रूतगतिमा भएको आर्थिक विकासले नौलो जोस, उज्यालो भविष्य र उच्च आशा आकांक्षा पलाउन थाल्यो । जापानीहरू अझै धन कमाउन तल्लीन भए ।
चारैतिर कामधन्धा, राम्रो आय र विकासको मूल फुट्न थालेपछि जापान सरकारले पनि विश्वका कुना-कुनामा रहेका गरिब, अविकसित र विकासशील राष्ट्रहरूलाई पर्याप्त आर्थिक अनुदान र सहायताहरू दिन थाल्यो । दक्षिण एसियाका भारत, बंगलादेश, नेपाल, भोटाङ, पाकिस्तान, श्रीलंका सबैले जापानी आर्थिक सहायता गतिलै रूपमा पाए ।
जापान आँखाका अघिल्तिर नाचिरहने पुतली नै भयो । तर सन् १९८० को दसकको अन्त्यतिर जापानी अर्थव्यवस्थामा शिथिलता देखियो । पानीमा भुक्लुक्क भएर निस्कने फुकुन्डाजस्तो जापानको अर्थव्यवस्था अचानक फुट्यो । एउटा 'बबल इकोनमी' भत्किन थाल्यो । सन् १९९० को दसकमा जापानी अर्थव्यवस्था अझै जीर्ण अवस्थामा पुग्यो । कम्पनीहरू बन्द हुन थाले । कलकारखाना, उद्योग घाटामा चल्न थाले र सरकारले पनि आफ्नो वार्षिक खर्चमा गहिरो कटौती गर्यो ।
धेरै कम्पनी, कलकारखाना र उद्योगबाट कर्मचारी- श्रमिकहरू कटौती भए । यसपछि कम्पनी र कलकारखाना बाँँच्नुपर्ने थियो । यसोसले रहेका जति पनि कर्मचारी- श्रमिक थिए, सबैले थप दिलोज्यान दिएर काम गर्नुपर्ने भयो । दुइटा डर देखा परे- कम्पनी बन्द भए काम-धन्धा नै नहुने अनि कम्पनीको आय कम भएको खण्डमा कर्मचारी- श्रमिकको संख्यामा थप छाँटकाँट गरिने । अर्थात् हिजो पाँचजनाले गर्दै आएको काम आज एकैजनाले गर्नुपर्दा रातको बाह्र-एक बज्ने नै भयो । यसरी सुरु भयो केवल चार-पाँच घन्टा सुत्ने प्रथा जापानमा । मातसुरी पनि कैयन् सप्ताह र महिनादेखि केवल दुई घन्टा सुत्थिन् रे !
दोस्रो- जापानमा विभिन्न प्रतिवेदनअनुसार बेरोजगार र आत्महत्याबीचको सम्बन्ध अति नै गहिरो रहेको पाइयो । सन् १९९८ मा लगभग ३३ हजार ले आत्महत्या गरे । आज पनि भनिन्छ, विकसित र पुँजीवादी राष्ट्रहरूमा दक्षिणकोरिया र जापानका कर्मचारी- श्रमिकहरू सबैभन्दा बढी दरमा आत्महत्या गर्छन् । जापानी अर्थव्यवस्था अझै मासिँदै गएपछि कम्पनी र कलकारखानाहरू कर्मचारी- श्रमिकलाई जबर्जस्ती अवकाश गराउँछन् । वयस्क कर्मचारीहरूलाई कामै दिँदैनन् । लगभग २० वर्ष काम गरेर कामबाट निकालिनुपर्दा सरकारले केवल तीन सय दिनसम्मको मात्र बेरोजगार भत्ता दिन्छ ।
जापानमा ट्रेड युनियन हरेक कम्पनीअन्तर्गत मात्रै भएकाले ती युनियनहरू देशव्यापी रूपमा विरोध गर्न सक्तैनन् । जस्तो- सम्पूर्ण गाडी, कारखानाका ट्र्ड युनियन जापानव्यापीको नभएर केवल सुजुकी कम्पनीअन्तर्गत मात्र भएकाले कर्मचारी- श्रमिकको काम-धन्धा र अवस्थाबारे सुजुकी र त्यसै कम्पनीकै ट्रेड युनियनभित्र मात्र छलफल हुन्छ । यसैले जापानमा देशव्यापी नीति र विरोधको कुरो कम हुन्छ ।
जापानी नियम, कानुनअनुसार हप्तामा ४० घन्टा नियमित र १५ घन्टासम्म साप्ताहिक ओभर टाइम वा बढ्ता काम गर्नेपर्ने हरेक कम्पनीमा लागू गरिएको छ । तर ट्रेड युनियनले आआफ्नो कम्पनीसँग लागू गरिएको छ । तर ट्रेड युनियनले आफ्नो कम्पनीसँग छलफल गरे पनि यस नियमलाई वास्तै नगरी दैनिक रूपमा काम गर्ने अवधि तोकिने प्रथा नै कस्यो । यसोसले प्रायः सबै कम्पनी-कारखानाहरू कर्मचारी- श्रमिकहरूलाई हप्ताको ४० घन्टा (दैनिक आठ घन्टा) बाहेक २५ घन्टाभन्दा धेरै समय ओभरटाइम गर्न बाध्य पार्छन् ।
अहिलेको युवा पुस्ता यस्तो स्थिति सहन गर्न सक्तैन र नै उनीहरू 'कारोसी' को सिकार बन्छन् । युवाहरू बिहे गरेर घरजम बसाल्न मान्दैनन् र नै सरकारले बिहे गर, सन्तान जन्माऊ भनेर विशेष कार्यक्रम ल्याएको छ ।
तेस्रो- युवाहरू कम र बूढापाका अति नै भएको जापानमा काम-धन्धामा अघि सार्ने जनसंख्या कम हुँदै गएको छ । अन्य देशमा झैं विदेशबाट आएका काम गर्ने मानव समूह जापानमा अति कम छन् । क्यानाडा, दुबई, भारत, अमेरिका र कोरियामा जस्तो विदेशी कर्मचारी र आगन्तुक श्रमिकलाई काम-धन्धा दिइने प्रथा जापानमा लगभग छैन । जापानीहरू चीन र कोरियाबाट कसैलाई ल्याउनै मान्दैनन्, ऐतिहासिक कारणले । बूढापाकालाई हेर्ने नर्सहरू फिलिपिन्सबाट छानीछानी ल्याइन्छ । दक्षिण एसियाबाट गएकाहरू धेरै नै जापानमा अवैध रूपमा काम गर्छन् । कारण विदेशीलाई भित्र आउने दिने जापानी नीति अति नै कठोर छ ।
अवैध रूपमा काम गर्ने विदेशीलाई आधाभन्दा कम वेतन दिइन्छ, अस्पताल-स्वास्थ्य-शिक्षाको सुविधा हुँदैन । हामीले दस वर्षअघि नेपाल र भारतबाट गएका अवैध कर्मचारी÷ श्रमिकहरूसँग भेटघाट गरेर एउटा प्रतिवेदन तयार पार्यौं । उनीहरू गम्भीर स्थितिमा बस्छन्, जापानीहरूभन्दा बढी अनुशासित भएर बाँच्छन्, लुकिछिपी काम गर्छन्, स्वास्थ्य सुविधा केही नहुँदा आफूलाई सर्दी, खोकीदेखि बच्ने-बचाउने प्रयत्न गर्छन् र घर सन्तानसँग हत्तपत्त खुला रूपमा कुरा गर्दैनन् ।
जापानी विकासको एउटा विचित्र र भीषण अध्याय हो 'कारोसी' । जापान महँगो राष्ट्र तर अति नै सुन्दर । जापानी समुदाय साधारण, सरल र मृदुभाषी छन् र सबैलाई अँगाल्छन् । जापानी प्रणाली उच्चकोटीको छ । यात्रु या वटुवाले ट्रेन, मेट्रो र सब वेहरूमा केही सरसामान भुलेमा फिर्ता पाउँछन् नै । छोरी, चेलीहरू सुरक्षित हुन्छन् । उनीहरू रातको दुई बजे पनि चारैतिर अग्लाअग्ला हिल भएका जुत्ता लगाएर टकटक आवाज निकाले हिँडिरहेका हुन्छन् र अति नै सफा र परिष्कृत पनि छन् । भनिन्छ- अनुशासन सिक्न जापान जानुपर्छ । संस्कृतिको संरक्षण गर्न जापानीबाट जान्नुपर्छ र जनसाधारणलाई चाहिने दैनिक सरसुविधाको विकास हेर्न र नमुना खोज्न जापान जानुपर्छ । त्यहाँका संस्थाहरू हेर्नलायकका छन् ।
काबुकीदेखि लिएर सुमो कुस्तिवालसम्म, चिया बनाउने र प्रस्तुत गर्ने विशेष कलादेखि लिएर काँचो माछाको सुशी भुइँको थटामी (गुन्द्री) मा बसी खाने प्रथा र रोबोटले चलाउने कारखानादेखि लिएर दैनिक रूपमा दुई करोडभन्दा ज्यादा संख्यामा बिक्री हुने अखबार 'आशाही सिम्बुम' सम्म केवल जापानमा मात्रै हुन सक्छ ।
कोही जापानमा ज्यादा काममा होमिएर 'कोरोसी' हुँदैछन् भने हामी दक्षिण एसियामा दिनमा आठ घन्टा पनि मुस्किलले काम गरेर राष्ट्र र विकासलाई नै धोका दिँदैछौं । केही वर्षअघि भारतको उत्तरपूर्वी क्षेत्रको एउटा नाम चलेको राज्यको कार्यालयमा गएको थिएँ । ११ बजे मात्र फाट्टफुट्ट कर्मचारी कार्यालयमा देखिए । कूतुहलवश एकजना 'चप्रार्सी' लाई सोधें, 'यहाँको कार्यालयको काम गर्ने अवधि के हो ।'
उसले मुस्कुराउँदै जवाफ दियो, 'बिहान दस बजदेखि बेलुकी साढे चारसम्म । हजुर त्यसको अर्थ हो, दस बजे घरबाट निस्कनु र साढे चार बजे फेरि घर पुग्नु ।' हरेक कर्मचारी केवल चार घन्टा काम गर्दा रहेछन् । आजभोलि कारखाना र सरकारी कार्यालयहरूमा समेत सरकारले बिहान कर्मचारी उपस्थित हुने मसिन राख्न थालेका छन् । कामै नगरी तलब खानेलाई ओभरटाइमको के जरुरत ? अनि त्यहाँ 'कारोसी' हुने त प्रश्नै उठ्दैन ।
सरकार रहोस् वा नरहोस्, राष्ट्रको विकास होस् वा नहोस्, देशले अन्तर्राष्ट्रिय क्षेत्रमा होडबाजी गर्न सकोस् वा नसकोस्, यी अबेर गरी कार्यालय आउने र हतार गरी घर जाने कर्मचारीलाई सरकारले त के महासरकारले पनि केही गर्न सक्तैन रहेछ । हाम्रो कार्य-संस्कृति नै यस्तो बस्यो । ट्रेड युनियन बलियो भयो, श्रमिकहरू कमजोर, कारखाना धनी भए, राष्ट्रचाहिँ गरिब । कंगाल मान्छेले किन 'कारोसी' गर्नु ? त्यसै पनि त ऊ जिउँदै कारोसी गरिरहेको छ बारम्बार । दैनिक कामको लत लागेका जापानीहरूलाई 'कारोसी' देखि बचाउन जापान सरकारले भर्खरै नयाँ कानुन ल्याएको छ ।
अब कुनै पनि कार्यालयमा नियमित कामबाहेक एक सय घन्टाभन्दा बढ्दा काममात्रै हरेक महिना गर्न पाइन्छ । कसैले नमानेको खण्डमा कानुनी कारबाही गरिनेछ । श्रमिक संगठनका नेताहरूले यसलाई 'कारोसी' तिर धकेल्ने अर्को उपाय हो भन्दै निन्दा गरेका छन् । नभन्दै विभिन्न कम्पनीहरूले पनि नयाँनयाँ उपायहरू अघि सारेका छन् । 'डेन्टसु' कम्पनीले हरेक ६ महिनामा प्रत्येक कर्मचारीले पाँच दिन बिदामा बस्नैपर्छ भन्ने आदेश जारी गर्यो । केही कम्पनीले कार्यालयको बत्ती १२ बजे रातिउप्रान्त काटिनेछ भन्ने घोषणा गर्यो । कसैकसैले अब ओभरटाइमको अवधि बिहान पाँच बजेदेखि नौ बजेसम्म गरिदिए । बान्की परेकी लावण्यपूर्ण मातसुरीको आत्महत्याले जापानको राजनीतिमा उथलपुथुल नै ल्यायो।
जहिल्यै पनि उत्तरकोरियाको परमाणु बम हमलाको सम्भाव्यबारे देशव्यापी चर्चा हुने जापानमा मातसुरीले एउटा मानवीय सुनामी छोडेर गइन् । 'कारोसी' को सिकार बनेका हजारौंहजार मातसुरीहरूका आमाबाबु, बाजेबज्यै सबैमा नयाँ आशा पलाउँदैछ । मातसुरीहरूको आत्माले शान्ति पाओस् भनेर उनीहरू कियोटोको किनकाकुजी मन्दिर र कामाकुरामा प्रार्थना गरिरहेका छन् । -लामा सिचुआन विश्वविद्यालय, चीनमा उच्चस्तरीय विशेषज्ञको रूपमा कार्यरत छन् । केही वर्षअघि उनी जापानमा हितोत्सुवासी विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक थिए ।