शरीर होइन सोचले अगाडि !
रूपन्देहीका नीलकण्ठ पौडेल ‘ख' वर्गका अपांग हुन् । एउटै घाउका कारण उनले ‘ख' वर्गको अपांग हुनु परेको हो । शरीरको कुनै पनि अंग नचल्नेलाई ‘क' वर्गमा राखिन्छ । पौडेल चार वर्षको हुँदा आँखै ढाकिने गरी घाउ बढ्दै गयो । त्यही घाउ सुकाउन उनलाई सुई लगाइयो । जुन सुईले घाउ निको हुनुको सट्टा उनको खुट्टा नै बांगिन थाल्यो । बांगिएको खुट्टा सीधा पार्न उनलाई अर्को सुई लगाइयो, त्यसले झन् दुवै खट्टा कहिल्यै नचल्ने भए । बालकालैदेखि उनी उनको सहारा बैसाखी बन्यो ।
अबोध उमेरमै उनले अपांगको ट्याग भिर्नुपर्यो । धेरै अवस्थाहरूको भोगाइपछि पनि उनीभित्र केही गरौं भन्ने उत्साह कमजोर भएन । अरूले जस्तो देखे पनि उनी आफूलाई कहिल्यै कमजोर ठान्दैनन् । भन्छन्, ‘सपनामा पनि अपांग देख्न छोडिसकेँ । म त भाषण गरिरहेको, गाडी चलाइरहेको सपना देख्छु ।' उनी ठान्छन् यदि सक्षम भएको भए ‘त्यसैमा रमाउँथे होला ।' उनको एउटामात्रै चिन्ता भनेको अपांगहरूलाई पनि अरूलाई सरह अगाडि बढाउने छ । ‘माग्ने र असक्षमको दृष्टिले कहिलेसम्म हेर्ने हामीलाई ? ', उनको प्रश्न छ ।
राजनीतिक दलले ‘युज एन्ड थ्रो' गरेको तीतो अनुभव आफूसँग भएको पौडेल सुनाउँछन् । ‘चुनावको समयमा घरैबाट उठाएर जुस खुवाउँदै लैजान्थे, भोट खसालेपछि लगेकै ठाउँमा छोडेर भाग्थे', उनले भने, ‘अब हामी यस्तो प्रयोग हुनबाट जोगिन चाहन्छौं । अपांग भएका व्यक्तिहरूले पनि अरूका लागि सोच्न र गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छौं ।' उनी अरू राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न चाहन्छन् । त्यसैले आफूहरूले अपांगमैत्री ‘आम नेपाली पार्टी' दर्ता गरेको बताए ।
पार्टीले २० जिल्लामा शाखा विस्तार गरिसकेको छ । तर निर्वाचन आयोगले उनीहरूलाई स्वीकृति दिएन । तर उनी चन्द्रागिरि नगरपालिकाबाट स्वतन्त्र उम्मेदवार भएर उठ्दैछन् । उनी भन्छन् ‘यो मुलुक अपांगहरूको पनि हो । विकास निर्माणका काममा बालबालिका, महिला र अपांगहरूलाई सँगै नलगेसम्म दिगो विकास हुन सक्दैन ।' आफ्नै भोगाइलाई केलाएर हेर्दा समाजले लगाएको लाञ्छनाले आत्मबल बढेको उनी ठान्छन् ।
‘समाजका मान्छे कतै जाँदा अपांगलाई देख्यो भने साइत पर्दैन भन्थे', उनले भने, ‘हो यही कुराले मेरो मन नराम्ररी चिमोठ्यो । यो सोच परितवर्तन गर्नुपर्छ भन्ने लाग्यो, त्यसका लागि आफैं अगाडि नसरी हुँदैन, अनि अगाडि बढेँ ।'
सरकार परिवर्तन हुँदैमा, ठूला घर बन्दैमा, विदेशीले सहयोग गर्दैमा विकास हुँदैन । समाजका सबै तहका मानिसका परिवर्तन भएमात्रै विकास हुन्छ । आफ्नो हैसियत बदल्नेले मात्रै समाजको हैसियत बदल्न सक्छ ।
अपांगताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका उनी जापानिज नियोग ‘जाइका'मा पाँच वर्षसम्म प्रोजेक्ट कोअर्डिनेटर भएर द्वन्द्वपीडित अपांग र महिलाका लागि काम गरे । समाजको व्यवहारले आजित बनेका उनले यस्तो दृढ संकल्प गरे कि जसले उनको जिन्दगी फेरिएको छ । ‘सुरुमा आफ्नै हैसियत बनायो भने मात्रै समाजको हैसियत बदल्न सकिन्छ' भन्ने मान्यता बोकेका उनी भन्छन्, ‘सरकार परिवर्तन हुँदैमा, ठूला घर बन्दैमा, विदेशीले सहयोग गर्दैमा विकास हुँदैन । समाजका सबै तहका मानिसका परिवर्तन भएमात्रै विकास हुन्छ । आफ्नो हैसियत बदल्नेले मात्रै समाजको हैसियत बदल्न सक्छ ।'
पहिलाको तुलनामा धेरै अपांगको क्षेत्रमा धेरै सुधार भएको उनी स्वीकार्छन् । ‘गणतन्त्रपछि मान्छेहरू झुट बोल्न छोडेका छन् । अहिले हामीसँग हात मिलाउन थालेका छन्', उनले भने, ‘पहिला हामीलाई हेयको नजरले हेरिन्थ्यो । ‘कसैलाई भेट्न गयो भने, भेट्न दिइँदैनथ्यो, सय रुपैयाँ लिएर जानुस् भन्थे । तर अहिले त्यस्तो छैन, परिवर्तन पक्कै भएको हो तर समान रूपमा कहिले हुने ? '
अपांगताको संख्या कति हो भन्ने कुरामा सरकारले गलत तरिका अपनाएको पौडेल भनाइ छ । अपांगता परियचपत्र सुविधाको लोभमा दुरुपयोग भएको छ उनको बुझाइ छ । लोकसेवामा पाँच प्रतिशत आरक्षण, जहाजमा ५० प्रतिशत छुट, हस्पिटल स्कुल निःशुल्क भएकाले थोरै नसा बांगिएकाले पनि अपांग परिचयपत्र लिएको उनले बताए । तथ्यांक विभागले नेपालमा करिब ३० लाख अपांग भएको देखाएको छ । कमजोर र वास्तविक अपांग ११ लाख भएको उनको दाबी छ ।
नेपालमा राष्ट्रिय अपांगता कोष स्थापनाको योजनामा पौडेल छन् । अपांगको नाममा दस अर्ब रकम भित्रिए पनि त्यो बजेट फ्रिज भएर जाने गरेको उनी बताउँछन् । त्यसका लागि संसद्मा वास्तविक अपांगको प्रतिनिधि हुनुपर्ने उनको धारणा छ । २०६३ सालमा आफूहरूले आन्दोलन गरेका कारण संसद्मा दुई सिट पाइएको उनले बताए । राज्यका हरेक निकायमा अपांगता भएकालाई राजनीतिक अधिकार दिन संविधानले नै ग्यारेन्टी गरे पनि राज्यले आफ्नो सहभागिता नस्वीकारेको उनले बताए ।
स्थानीय निकायको चुनावमा अपांगहरूलाई अवसर दिनुपर्ने उनको माग छ । विकासमा अपांगलाई साथ लिएर हिँडिएन भने त्यो दिगो नहुने उनको राय छ । २०६४ सालमा डिग्री पढ्न शंकरदेव क्याम्पसमा आएका पौडेलले न्यु होराइजन कलेज बुटवलबाट स्नातक तह सकाएका हुन् । प्राथमिक तहसम्म अध्ययन गर्दा उनलाई दिदीहरूले बोकेर स्कुल लैजान्थे । उनी स्कुलमा सधंै प्रथम हुन्थे । उनले करिब १५ वर्ष अपांगता क्षेत्रमा काम गरिसकेका छन् । तीन वर्ष पहिला सबल महिलासँग मागी विवाह गरेका पौडेलका एक छोरी र आमासहितको खुसी परिवार छ ।
उनको पहलमा ‘सुनौलो अपांग तथा पुनस्र्थापना केन्द्र' खोलेका छन् । पोखरा, रूपन्देहीलगायत पाँच ठाउँमा करिब ५५ जना अपांगता भएका बालबालिकाले अध्ययन गरिरहेका छन् । उनी रूपन्देहीको अपांग संघको अध्यक्ष हुन् भने राष्ट्रिय अपांग अनुसन्धान तथा विकास केन्द्रको २०६६ सालदेखि अध्यक्ष भएर सक्रिय छन् ।
अपांगका लागि भनेर धनगढीको देवदहमा ह्विलचियर, बैसाखीको फ्याक्टी चलाउन सुरु गरेका छन् । भारतबाट सामान लिएर आउँदा महँगो पर्ने भएपछि कच्चा पदार्थ ल्याएर मुलुकमै यसको उत्पादन थालेको बताए । उनी बाटोमा निर्धक्कसँग सेतो छडी लिएर हिँड्ने अनि ह्विलचियर लिएर आरामले हिँड्ने संरचनाको परिकल्पनामा छन् ।