पृथक पर्यटन

पृथक पर्यटन

भोटेकोसीमा गरिने एडभेन्चर बन्जी २०१७ मा विश्वकै उत्कृष्ट बन्यो । चर्चित मिडिया सीएनएनले तयार पारेको विश्वका उत्कृष्ट पन्ध्र बन्जीको सूचीमा एक सय ६० मिटर उचाइको भोटेकोसी परेको थियो । सीएनएनले रमणीय प्रकृतिको काखमा बन्जी जम्पको मज्जा लिन सकिने उल्लेख गरेको छ । कालीगण्डकी खोँचमा दुई सय २५ मिटर अग्लो बन्जी निर्माण भइरहेको छ । यो बन्जीले नेपालको साहसिक पर्यटनमा भाइब्रेन्ट ल्याउने विश्वास छ ।

नेपालको साहसिक मनोरञ्जनात्मक खेल विश्वचर्चित मिडिया तथा ट्राभल वेबसाइटको नजरमा परेको यो पहिलो होइन । यसअघि एभरेस्ट स्काई डाइभले विश्वका एडभेन्चर पारखीको ध्यान खिचिसकेको छ । विश्वका धनाढ्यका बारेमा लेख्दै आएको फोब्र्स पत्रिकाको विश्वका उत्कृष्ट स्काई डाइभको सूचीमा एभरेस्ट समावेश भइसकेको छ । सर्वोच्च शिखर सगरमाथाको काखमा सुन्दर हिमाली दृश्यालवोकन गर्दै उड्न पाइने फोब्र्सले लेखेको थियो । वर्षमा एक दिनमात्र गराउने एभरेस्ट स्काईडाइले विश्वकै ध्यानाकर्षण गराएको छ ।

नेपालका हिमाली पदमार्ग (ट्रेकिङ) विश्वमै चर्चित छ । भनिन्छ, पदयात्रा शब्दको सुरुआत नै नेपालबाट भएको थियो । नेपालको अन्नपूर्ण राउन्ड ट्रेल विश्वका उत्कृष्ट पदमार्गमध्ये अग्रस्थानमा पर्छ । विश्वकै लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’ नेपालमै छ । यस्ता रमणीय साहसिक ट्रेल नेपालमा दर्जनौं छन् । र्‍याफ्टिङका लागि भोटेकोसी नदी विश्वकै तेस्रो एडभेन्चर भएको व्यवसायी बताउँछन् ।

हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । अरू थुप्रै हिमाल आरोहणका लागि उत्कृष्ट मानिन्छन् । नेपाली पर्यटन पनि हिमाल आरोहणबाटै सुरुआत भएको हो । बर्सेनि हजारौं पर्यटक हिमाल चढ्न नेपाल आउँछन् । नेपालमा जंगल सफारी, प्याराग्लाइडिङ, बाइक टुर, क्यानोनिङ, रक क्लाइम्बिङ, हन्टिङ पनि लोकप्रिय छन्।

प्रचुर सम्भवना

नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको साहसिक पर्यटनको खुलेर प्रशंसा गरेका थिए । उनी भन्दै थिए, ‘साहसिक पर्यटनमा रुचि राख्ने विश्वका नौजवानहरूलाई पागल बनाउने तागत नेपालसँग छ । साहसिक गतिविधिमा नेपालभन्दा उत्कृष्ट मुलुक अर्को हुनै सक्दैन ।’ नेपालले साहसिक पर्यटनबाट लाभ लिनुपर्ने उनको सुझाव थियो । तर, मुलुकले साहसिक पर्यटनबाट लाभ लिन सकिरहेको छैन ।

बढ्दो आकर्षण

विश्वभर साहसिक खेलमा आकर्षण बढ्दो छ । विश्व पर्यटनको बलियो आधार पनि साहसिक गतिविधि हुन थालेका छन् । विदेशमा मोटो रकम खर्चिएर कृत्रिम पूर्वाधार खडा गरी साहसिक गतिविधि सञ्चालन गरिरहेको पाइन्छ । मकाउमा रहेको विश्वकै अग्लो बन्जी (२३३ मि.) मानव निर्मित संरचना मकाउ टावरबाट गराइन्छ । मकाउमा बन्जी गर्न विश्वका एडभेन्चर पारखीको भीड लाग्छ ।

दुबईमा विदेशी पर्यटक आकर्षित गर्न विश्वकै अग्लो टावरबाट स्काई डाइभ र बन्जी गराइँदै आएको छ । र्‍याफ्टिङ गराउन दुबईले दुई किमी लामो कृत्रिम नदी नै बनाएको छ । र्‍याफ्टिङ गर्न महँगो शुल्क तिरेर भए पनि पर्यटकको घुइँचो लाग्छ । मरुभूमि मुलुक दुबईले पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्चिंदै आएको छ । अफ्रिकाको पर्यटन जंगल सफारीमा आधारित छ । अरू देशले पनि करोडौं डलर खर्चिएर साहसिक खेल सञ्चालन गरिरहेका छन् । साहसिक गतिविधिमा पर्यटक महँगो शुल्क पनि तिर्न तयार हुन्छन् । नेपाल यस्तो मुलुक हो, जहाँ थोरै रकम खर्च गरेरै पनि विश्वकै उत्कृष्ट साहसिक खेल सञ्चालन गर्न सकिन्छ । र्‍याफ्टिङ गर्न दर्जनौं नदी छन् । स्काई डाइभ र प्याराग्लाइडिङ गर्न प्रशस्तै डाँडा छन् । बन्जी गर्न अनगिन्ती खोँच छन् । रक क्लाइम्बिङ र क्यानोनिङको सम्भावना पनि उत्तिकै छ ।

साहसिक पर्यटनको इतिहास

नेपालमा साहसिक पर्यटनको इतिहास ६५ वर्ष पुरानो हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो (८८४८ मि.) चुम्न सफल भए । सगरमाथा आरोहण गर्ने प्रयास यसअघि नभएको होइन, सन् १९२२ मै सातजना शेर्पा हिमाल चढ्न गएका थिए । तर, कोही पनि सकुशल फर्किन सकेनन् ।

 

एक्स्पोलोर हिमालयले वर्षमा एक दिन सीमित व्यक्तिलाई सगरमाथामा स्काई डाइभ गराउँछ । सेता हिमालमाथि चरोजस्तै उड्न पाउँदा पर्यटक निकै प्रफुल्ल हुन्छन् । २३ हजार फिट माथिबाट गरिने एभरेस्ट स्काई डाइभ महँगो प्रोडक्ट हो ।


अन्नपूर्ण र सगरमाथाको सफल आरोहण विश्वभर चर्चाको विषय बन्यो । नेपाल हिमालयको देश भनेर चिनियो । नेपालको हिमाली पर्यटन विश्वभर चर्चित छ । बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले साठीको दशकको सुरुआतदेखि नै हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गराउन सुरु गरे । नेपालका अधिकांश चर्चित ट्रेकिङ रुटहरू माउन्टेन ट्राभलले एक्स्पोलोर गरेको बताइन्छ । सोही बखत (सन् १९६४) चितवन र बर्दियाको जंगलमा विदेशीले हन्टिङ÷सफारी पर्यटनको सुरुआत गरे ।

बेलायती नागरिक जिम एडवार्डस्को टाइगर टप्स कम्पनी सफारी टुरिजमका लागि विश्वभरि चर्चित बन्यो । नेपालमा साठीको दशकमा टे«किङ, हन्टिङ र सफारी पर्यटन सुरुआत भयो । मोटो रकम खर्चिएर अफ्रिका जाने सफारी पारखी नेपाल आउन थाले । नेपालको सफारी पर्यटनको ब्रान्डिङमा जिमको ठूलो योगदान रह्यो । अहिले पनि सौराहा, मेघौली र बर्दियाको पर्यटन सफारीमा अडिएको छ ।

 

सन् ८० को दशकको सुरुआतमै त्रिशूली नदीमा र्‍याफ्टिङ सुरु भयो । यो पनि टाइगर टप्सले नै सुरु गरेको हो । यो विश्वकै दोस्रो र्‍याफ्टिङ थियो । पहिलो इथोपियाको ब्लु नाइल हो । अहिले नेपालमा र्‍याफ्टिङ निकै लोकप्रिय छ । भोटेकोसी बन्जी पनि विदेशीले सञ्चालन गरेका हुन् । नेपालको साहसिक पर्यटनको विकासमा विदेशीको महत्ववपूर्ण योगदान छ । अधिकांश साहसिक गतिविधि विदेशी नागरिकले सुरुआत गरेका हुन् । अहिले पनि सन् १९५० देखि ८० को दशकसम्म विकास गरिएका साहसिक गतिविधिमै नेपाली पर्यटन अडिएको छ ।

चर्चित साहसिक खेल

आकाशमा चराजस्तै उड्नुको मज्जा बेग्लै छ । नेपालमा सबैभन्दा चर्चित साहसिक गतिविधिमा प्याराग्लाइडिङ पनि पर्छ । प्याराग्लाइडिङले पोखराको पहिचान नै फेरिदिएको छ । पोखराको आकाशमा रंगीचंगी प्याराग्लाइडिङ उडेको देखिन्छ । प्याराग्लाइडिङ भन्नेबित्तिकै पोखरा सम्झिन्थ्यो । अब प्याराग्लाइडिङ पोखरामा मात्र सीमित रहेन । ललितपुरको गोदावरी, पाल्पा, भेडेटार, सुर्खेत लगायतका ठाउँमा प्याराग्लाइडिङ गराउन थालिएको छ । नेपालका धेरै पहाड प्याराग्लाइडिङ गर्न उपयुक्त छन् । पोखरामा हरेक वर्ष स्वदेशी÷विदेशी पाइलटबीच प्याराग्लाइडिङ प्रतियोगितासमेत हुन्छ । पोखराको अर्को चर्चित साहसिक प्रोडक्ट हो, अल्ट्रा फ्लाइट । अल्ट्रालाइटमा फ्लाइट गरेर हिमाल, सुन्दर नगरी पोखरा, आसपासको बस्ती अवलोकन गर्न पाइन्छ । पोखरालाई साहसिक खेलको राजधानी पनि भन्ने गरिन्छ ।

हिमाल आरोहण नेपालको मुख्य पर्यटकीय प्रोडक्ट भइहाल्यो । हिमाल आरोहण गर्न बर्सेनि हजारौं विदेशी आउँछन् । भोटेकोसीमा दी लास्ट रिसोर्टले बन्जी गराउँदै आएको छ । जहाँ स्वदेशी÷विदेशी एडभेन्चर पारखीको भीड लाग्छ । भोटेकोसी चम्किएपछि पोखरामा पनि बन्जी सञ्चालनमा आएको छ । कालीगण्डकी खोँचमा दुई २५ मिटर उचाइको बन्जी निर्माण भइरहेको छ । यो विश्वकै दोस्रो अग्लो बन्जी हुनेछ । विश्वको सबैभन्दा अग्लो बन्जी (२३३ मिटर) मकाउमा छ ।

हाइग्राउन्ड एडभेन्चर्सले पोखरामा बन्जी र जिप फ्लाइ गराउछ । टावर बनाएर सञ्चालन गरिएको बन्जी ६५ मिटर अग्लो छ । यस्तै जिप फ्लाई सराङकोट डाँडाबाट हेम्जासम्म गराइन्छ । यतिमात्र होइन, भोटेकोसीमा पिङजस्तै मच्चिने स्विङ (एक जना), टेन्डम स्विङ (दुईजना) पनि गराइँदै आएको छ । कालीगण्डकीमा पनि स्विङको व्यवस्था हुनेछ । नेपालमा स्काई डाइभको सम्भावना धेरै छ तर अझै व्यावसायिक बन्न सकेको छैन । एक्स्पोलोर हिमालयले वर्षमा एक दिन सीमित व्यक्तिलाई सगरमाथामा स्काई डाइभ गराउँछ । सेता हिमालमाथि चरोजस्तै उड्न पाउँदा पर्यटक निकै प्रफुल्ल हुन्छन् ।

२३ हजार फिट माथिबाट गरिने एभरेस्ट स्काई डाइभ महँगो प्रोडक्ट हो । यो ११ दिनको प्याकेज हो । यसको व्यावसायिकीकरण गर्न सकेमा विश्वका धनाढ्य एडभेन्चर पारखी भित्र्याउन सकिन्छ । एक्स्पोलोर हिमालयले पोखरामा पनि वर्षमा एक दिन स्काई डाइभ गराउँछ ।त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, कर्णाली, सेती लगायतका १६ नदीमा र्‍याफ्टिङ गरिन्छ । यसमा सबैभन्दा चर्चित त्रिशूली र भोटेकोसी हुन् । सिजनमा र्‍याफ्टिङका लागि नदीमा भीड लाग्ने गर्छ । पानीको छालमा डुबुल्की मार्दै बग्न मज्जा आउँछ । नदीमा र्‍याफ्टिङ र कायाकिङ चर्चित छन् ।

माउन्टेन फ्लाइटमा पनि पर्यटकको भीड लाग्छ । करिब एक घन्टाको माउन्टेन फ्लाइट विदेशी पर्यटकमाझ लोकप्रिय छ । पर्यटकको आकर्षण बढेपछि आन्तरिक वायुसेवा कम्पनीले पनि माउन्टेन फ्लाइटलाई प्राथमिकता दिएको पाइन्छ । विमान कम्पनीलाई पनि राम्रो कमाइ हुने माउन्टेन फ्लाइटबाटै हो । नेपालमा ट्रेकिङ सुरुआत भएको झन्डै सात दशक पुग्नै आँट्यो । अहिले पनि ट्रेकिङ मुख्य पर्यटकीय प्रोडक्ट हो । नेपालको हिमाली तथा पहाडी भेगमा ट्रेकिङका लागि लाखौं पर्यटक आउँछन् । खुम्बु (एभरेस्ट) पदयात्रा, अन्नपूर्ण सर्किट, मनास्लु, रोल्वालिङ, डोल्पा, हुम्ला, घोरेपानी, गोसाइँकुण्ड, बडिमालिका, खप्तड, रारा, फोक्सुन्डो लगायतका ठाउँ पदयात्राका लागि चर्चित हुन् । नेपाली पर्यटन व्यवसाय ट्रेकिङले धानिएको छ ।

सन् १९९९ मा बुलेट राइडर्सको भेलाले क्लब बनाउने निर्णय गर्‍यो । सन् २००० मा रोयल इन्फिल्डर्स क्लब जन्मियो । बुलेट राइडर्स एकबद्ध भएपछि सप्ताहन्त र बिदाको दिनमा एडभेन्चर टुरमा निस्किन थाले । बुलेट राइडर्स थपिँदै गए, क्लब पनि बढ्दै जान थाले । अरू ब्रान्डका एडभेन्चर बाइक पनि भित्रिन थाल्यो । अफरोडमा बाइक कुदाएर रमाइलो गर्ने युवाको जमात बढ्दै गएको छ । अहिले अफरोड बाइकिङ युवाबीच संस्कृति नै बनिसकेको छ । एडभेन्चर राइडिङका लागि नेपाल उपयुक्त मुलुक हो । एडभेन्चर राइडिङका लागि चर्चित मुस्ताङ र मनाङ हुन् । पोखरा, सौराहा, सिन्धुलीको बीपी राजमार्ग, सिन्धुपाल्चोक (सुकुटे), कालिञ्चोक, जुम्ला, रारालगायतका ठाउँ राइडरको रोजाइमा पर्छन् । छोटो रुट खोज्नेहरू नुवाकोट, धुलिखेल, नगरकोट, चित्लाङ, दामन, शिवपुरी, बर्दिबास, भोटेकोसीको किनार सुकुटेतिर लाग्छन् । छिमेकी मुलुक भारत, भुटान, तिब्बतसम्म क्रसबोर्डर साहसिक टुर पनि हुन्छ ।

चितवन र बर्दियामा सफारी चम्किएको छ । हात्ती र जिपबाट जंगलमा घुमफिर गर्दै पशुपक्षी अवलोकन गर्न धेरै पर्यटक आउँछन् । जंगल सफारीकै कारण सौराहा मुलुकको तेस्रो महत्ववपूर्ण पर्यटकीय गन्तव्यमा दरिँदै आएको छ । अग्ला झरनामा गरिने क्यानोनिङ र पहाडमा गरिने रक क्लाइम्बिङ पनि उत्तिकै मनोरञ्जनात्मक गतिविधि हुन् । नेपालका विभिन्न ठाउँमा क्यानोनिङ र क्लाइम्बिङ गराइन्छ । यस्तै साइक्लिङ, हाइकिङ, केबुलकार, रिभर हाइक, हन्टिङमा पनि नेपाल चर्चित छ । काठमाडौंको ट्राफिक जाममा बाइक÷कार चलाउँदा पनि एडभेन्चर फिल हुन्छ । पर्यटकलाई पहाडी भेगमा ड्राइभिङ गर्दा पनि एडभेन्चर महसुस हुन्छ ।

नेपालको हिमाली भेगमा स्की खेलको प्रशस्त सम्भवना छ । तर, अहिलेसम्म पहिचान गर्न पनि सकिएको छैन । विदेशमा स्की निकै चर्चित छ । स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले पहल सुरु गरेको हो । स्की खर्चालु पर्यटक भित्र्याउने बलियो माध्यम पनि हुनेछ ।

अस्पष्ट नीति

नेपालमा साहसिक पर्यटनको प्रवद्र्धनमा बाधक सरकारी नीति रहेको विज्ञ बताउँछन् । सरकारी नीति उदार नभएसम्म साहसिक पर्यटनको विकास सम्भव नहुने ठोकुवा छ । नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन विदेशीले गरे । अस्पष्ट नीतिकै कारण उनीहरूले नै व्यवसायबाट हात धुनु परेको तीतो यथार्थ छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्सलाई उदाहरणका रूपमा लिन सकिन्छ । केही सीमित व्यवसायी÷व्यक्तिको दबाबमा टाइगर टप्स बन्द गरियो ।

टाइगर टप्स बन्द भएपछि धनाढ्य र कुलीन खानदानी पर्यटक आउन रोकिएको छ । विश्वका चर्चित सेलिब्रेटी र विशिष्ट पाहुना टाइगर टप्समा धेरै आउने गर्थे । ब्रिटिस रोयल फेमिली धेरै आउँथे । टाइगर टप्स विश्वका हाइप्रोफाइल र धनाढ्यको जक्सन हुन्थ्यो । नेपालले साहसिक पर्यटनमा गर्व गर्नलायक प्रगति गर्न सकेको छैन । साहसिक पर्यटन ब्रुमिङ गराउन विदेशी लगानीकर्ता भित्र्याउन विज्ञ सुझाउँछन् । विदेशीसँग प्रोडक्ट डेभलप गर्ने क्षमता, पुँजी र बजारको पहुँच पनि हुन्छ । यसैले अनुभवी विदेशी कम्पनी नेपाल भित्र्याउनुपर्ने देखिन्छ । तर, यसका लागि नीतिगत सुधार आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.