बलिहाङ्को प्रेम
उसलाई मैले देख्न थालेको एक हप्ता हुन लाग्यो । ऊ सधैं एउटै समयमा यो चिया पसलमा आइपुग्थ्यो ।म हरेक साँझ टहल्दै यहाँ आइपुग्थेँ । एक गिलास चिया मगाएर बाहिर बाटोतिर नजर फ्याँक्थेँ । बाटोतिर अनेक थरी मान्छेको आवतजावत भइरहन्छ । मानिसको आवतजावत नियालेर अनेक थरी अड्कलबाजी गर्थें । चियाको चुस्की लिँदै आनन्दित हुन्थेँ ।
बाटोमा विभिन्न थरीका मान्छेको आउजाउले जीवनका विभिन्न रंगको जानकारी गराउँथ्यो । हरेकको आआफ्नो पहिरन, आफ्नै सजावट र हिँडाइले विभिन्नता बोकेको थियो । यही त रहेछ साझा फूलबारी !
मैले चिया पिउँदै गर्दा ऊ आइपुग्थ्यो । मेरो छेउ बसेर ऊ पनि मझैं बाटोतिर हेर्न थाल्थ्यो । उसका आँखा बाटोमा मात्र एकत्रित हुन्थ्यो । निकै बेर हेरेपछि ऊ बोल्थ्यो, 'एक गिलास चिया ल्याऊ त भाइ ।'
चिया पसले अघिदेखि नै उसको अर्डरको पर्खाइमा बसेझैं लाग्थ्यो । उसको बोली सुन्नासाथ चिया पसले गिलासमा चिया खन्याउन थाल्थ्यो । एकछिनमै चिया आइपुग्थ्यो । ऊ चिया पिउँदै बाटोतिर हेर्न थाल्थ्यो । एक गिलास चिया उसले करिब आधा घन्टा लगाएर सिध्याउँथ्यो । त्यति बेलासम्म चिया सेलाइसकेको हुन्थ्यो।
उसलाई मैले त्यति वास्ता गरेको थिइनँ । तर, हिजोआज सधैं देख्न थालेपछि ऊ मेरो नजरमा पर्न थालेको हो । भनौं, मैले उसलाई अचेल ध्यान दिन थालेको छु ।
ऊ निकै उमेरको हुनुपर्छ । असी वर्षको छेउछाउकै । अनुहारका छाला चाउरिसकेका थिए । कपाल कतै पनि कालो थिएन । सर्टमाथि इस्टकोट र पेन्ट लगाएको हुन्थ्यो । हात घरिघरि काँपिरहेका हुन्थे । काँपिरहेका हातले चिया समाउँदै पिउँथ्यो । अनि आँखा भने बाटोतिरै ओछ्याइरहेकै हुन्थ्यो ।
'तपाईंलाई मैले पहिले कतै देखेको छु ? ' एक दिन सोध्न मन लाग्यो ।
अरू दिनभन्दा अलि चाँडै ऊ यहाँ आइपुगेको थियो । मेरो प्रश्नले उसलाई मतिर तान्यो । उसले मलाई राम्रोसँग नियाल्ने कोसिस गर्यो । त्यति बेला उसका आँखामा हेर्न भ्याएँ । आँखामुन्तिरका छाला चाउरिसकेका थिए । गालाका मासु सुकिसकेका थिए ।
'यहीँ देख्नुभयो होला', उसको मसिनो आवाज आयो, 'हिजोआज म यहाँ आउने गरेको छु ।'
मेरो सवालको जवाफ दिँदै उसले आँखा बाटोतिरै पुर्यायो । मैले पनि बाटोतिर आँखा लगाएँ । एकछिनमै मैले उसलाई हेर्न थालेँ । मलाई भने आज उसलाई बुझ्ने मन थियो । ऊबारे सोध्न मन थियो ।
'तपाईंको घरचाहिँ कता हो नि ? ' विनम्र हुँदै सोधेँ ।
यतिखेर पनि उसका आँखा बाटोतिरै थियो । बाटोतिर हेर्दै बोल्यो, 'मेरो घर यहाँ होइन बाबु । दाङ हो ।'
यहाँ के गर्नुहुन्छ ? कता बस्नुहुन्छ ? सोध्न मन लागेको थियो । तर ऊ उठ्यो । चियाको पैसा तिरेर आफ्नो बाटो लाग्यो । म ऊ गएतिर एकटकले हेर्न थालेँ । ऊ त्यहाँबाट ओझेल भइदियो ।
भोलिपल्ट नेपाल बन्द थियो । दिनभर सडकमा टायरका आगो बले । थोरै चलेका गाडीमा तोडफोड भए । सडक एकदम सुनसान भइदियो । सडकमा कुकुर चलिरहेको भने देखिन्थ्यो । सरकारी गाडीसम्म चलेन । सबैले सास्तीमात्र पाए । नेपाल बन्दका कारण म त्यो चिया पसलतिर गइनँ ।
नेपाल बन्दको भोलिपल्ट साँझ नपर्दै म चिया पसलमा पुगेँ । पहिलेझैं चिया मगाएँ । चिया पिउँदै गर्दा ऊ आइपुग्यो ।
'नमस्ते !' मैले दुई हात जोड्दै भनेँ । बाजेको उमेरको मान्छेलाई सम्मानसाथ बोलाएँ ।
उसले पनि नमस्ते फर्कायो । मेरो छेउमै आएर बस्यो । ऊ मलाई नियालिरहेको थियो । आज उसलाई मेरो तर्फबाट चिया खुवाउने मन थियो । मैले साहुजीलाई भनेर उसका लागि पनि चिया मगाएँ । ऊ चिया पिउन थाल्यो ।
'यहाँ कहाँ बस्नुहुन्छ ? ' सोधिदिएँ ।
'पल्लो चोकमा । आफन्तकोमा', चिया पिउँदै ऊ बोल्यो ।
'धेरै दिनदेखि यहाँ आउनुभएको देखिरहेको छु । तपाईं हेर्दा भुपू आर्मी हो जस्तो लाग्छ नि !'
'सही हो ।' चिया सुरुप्प पार्यो । एकपटक बाटोतिर हेरेर मलाई हेर्यो र भन्यो, 'इन्डियन लाहुरे हुनु मेरो दुर्भाग्य थियो ।'
यति भनेर उसले बाटोतिर हेर्न थाल्यो । यति बेला उसको अनुहारमा निराशाको बादल भेटिन्थ्यो । राता गाला झन् रातो भएर आयो । ऊभित्र अव्यक्त पीडा छ भन्ने लाग्यो । उसको बारेमा बुझ्न मन लाग्यो र सोधेँ । ऊ रिसाउला कि भन्ने मलाई डर लागेको थियो । तर ऊ रिसाएन ।
पहिले त उसले बताउन नचाहेझैं गर्यो । बाटोतिरै एकोहोरो हेरिरह्यो । अन्तमा मेरो अनुरोधलाई उसले लत्याउन पनि सकेन । ऊ बोल्न थाल्यो ।
भर्खर जवान भएको थिएँ । गाउँमा जवान ठिटाहरूबीच लाहुरे हुने लहर चलेको थियो । म भने त्यही समयमा प्रेममा अल्झेको थिएँ । भर्खर अंकुराएको प्रेम फुल्न खोज्दै थियो । मलाई लाहुरे भई ऊसँग छुट्टिनु मन थिएन ।
'बलिहाङ, यसरी त भएन है ! गाउँका सबै ठिटा लाहुर लागिसके । तँचाहिँ गाउँमै बरालिएर बस् ।' मोइ (आमा) भन्नुहुन्थ्यो ।
'मो जान्नँ ।' यति भनेर म घरबाट निस्किन्थेँ । नत्र दिनभर मोइको एउटै गनगन सुन्नुपथ्र्याे ।
गाउँमा ठिटाहरूको कमी भएकाले घरघरमा मलाई बोलाई माग्थे । केही परे सघाउन मै अघि सर्थें । मै परदेश लागे कसले सघाउने ?
धेरैजसो म सिमसराकोमा जान्थेँ । उनको घरमा उनी र उनकी आमाबाहेक कोही थिएन । उनको दाजै इन्डियन आर्मी थिए । बेलाबेला म उनकोमा जान्थेँ । परेको सघाइदिन्थेँ । सिमसराकी मोइ (आमा) भन्नुहुन्थ्यो, 'बलिहाङ्, तिमी नभए यो गाउँ शून्य लाग्छ होला । तर, तिम्रा छिमलका सबै लाहुरे भइसके । तिमी पनि जानुपर्छ बाबै ।'मलाई सम्झाइबुझाइ गर्न खोज्नुहुन्थ्यो । त्यति बेला सिमसरा भने आँखा तरिरहेकी हुन्थिन् । उनलाई म यो गाउँ छोडेर नगइदिए हुन्थ्यो भन्ने लाग्थ्यो रे ।
सिमसरा र म एकअर्कालाई मन पराउथ्यौं । हामीबीच प्रेम फुलिरहेको थियो । हाम्रो भेट उनकै घरमा हुन्थ्यो । एकअर्कालाई हेर्न त्यही भ्याउथ्यौं । उनी मलाई सघाउँथिन् । हामी एउटै काममा लाग्थ्यौं । सायद त्यही थियो हाम्रो प्रेम ।सिमसराकी आमा मेरो माइजू पर्नुहुन्थ्यो । मामा उहिल्यै बितिसक्नुभएको थियो । माइजू मेरो असाध्यै ख्याल राख्नुहुन्थ्यो । सिमसरालाई झन् माया गर्नुहुन्थ्यो । सिमसराका दाजु इन्डियन लाहुरे भएकाले दसैं बिदामा मात्र आउनुहुन्थ्यो । त्यो घरमा दुई जनामात्र हुन्थे । त्यसैले म दिनभर त्यहीँ हुन्थें ।
'तिमी कहिल्यै यो गाउँ छोडेर नजाऊ है !' सिमसरा मलाई भन्थिन् ।
उनको भनाइमा आग्रह हुन्थ्यो । मायाको मिठास पाउथेँ । मसँगको उसको सामीप्यता सधैं यसरी नै रहोस् भन्ने उनको चाहना थियो ।
'जान्नँ ।' म सुस्त भन्थेँ ।
त्यो वर्ष खडेरी परेको थियो । मेरा दुःखका दिन आइसकेका रहेछन् । घरमा कोही नभएको बेला आगो लाग्यो । घर आगोले सकियो । हामी घरबारविहीन भयौं । गोठमा बस्न थाल्यौं । मोइ-बोइ (आमा-बा) घरमा झोक्राएर बस्न थाल्नुभो । सधैंको दुःखलाई हेरिरहन सकिनँ । मन नहुँदानहुँदै पनि म इन्डियन आर्मीमा भर्ती हुन जाने भएँ । यस्तो आपत् आइलागेको बेला पनि गइनँ भने समाजले के भन्ला ? मोइ-बोइको मनले के भन्ला ?
अन्तमा सिमसराले पनि हाम्रो बिजोग देखेर जान दिइन् । म इन्डियन आर्मी भर्तीको समयमा गाउँ छाडेर लागेँ।
इन्डियन आर्मीमा सेलेक्ट पनि भएँ । त्यसपछि गाउँ छाड्नुपर्दा भन्दा सिमसरालाई छोड्नु मेरो लागि कठिन भइदियो । हामीले धेरै दिन साथ बितायौं र सँगै बाच्नेमर्ने बाचा गरेर छुट्टियौं ।
तालिम बडो कष्टले सकेँ । तालिम अवधिभर सिमसराको याद आइरह्यो । त्यो यादलाई शक्तिमा बदल्नुबाहेक अरू विकल्प थिएन । तालिम सकिएपछि एकहप्ते बिदामा घर पुगेँ ।
एक हप्ते बिदापछि फर्केर जागिरमा जान पो गाह्रो भो । सिमसराले मेरो अघिल्तिरै आँसु बर्र झारिन् । उनको आँसुले मलाई रोक्न खोज्यो । तर, उनलाई छाडेर जान म विवश थिएँ । उनलाई गाउँमै छाडेर म जागिरमा गएँ ।
भर्खर जवान भएको थिएँ । गाउँमा जवान ठिटाबीच लाहुरे हुने लहर चलेको थियो । म भने त्यही समयमा प्रेममा अल्झेको थिएँ । भर्खर अंकुराएको प्रेम फुल्न खोज्दै थियो । मलाई लाहुरे भई ऊसँग छुट्टिनु मन थिएन ।
समय एकनासले बगिरह्यो । पल्टनमा घरको याद खुब आउँथ्यो । तालिम सकिएको वर्ष दिन भएको थियो । लडाइँमा जानुपर्ने खबर आयो । बोर्डरमा भइरहेको लडाइँमा थप फौज पठाउने तयारी भइरहेको थियो । हाम्रो पल्टनमा कसलाई पठाउला भन्ने सनसनी फैलिएको थियो । लडाइँमा जानेहरूको लिस्टमा परेँ । यो खबर घरसम्म तारमार्फत पठाएँ ।
पहिलोपटक बन्दुक बोकेर लडाइँमा जाँदै थिएँ । मन त आत्तिँदो पो रहेछ । घरको याद आइदिने । सिमसराको कम्ता याद आएन । अब उसलाई भेट्न पाउँछु कि पाउदिनँ भन्ने पीरले पो छोप्थ्यो । त्यही पीर बोकी सीमाको सुरक्षामा खटियौं ।
'तिमी बेर्थको चिन्ता लिइरहेका छौ । केही हुन्न । म पहिले पनि यहाँको लडाइँमा आएको छु । कुनै चिन्ता नलिऊ ।' सायद मेरो पिरिएको अनुहार देखेर होला उसले भन्यो । ऊ हाम्रै पल्टनको पुरानो आर्मी जवान थियो । ऊ मलाई बेलाबेला ढाडस दिइरहन्थ्यो ।उसको कुरा सुनेर मन हल्का हुन्थ्यो । तर, जब एकान्तमा हुन्थेँ वा राति ओछ्यानमा पल्टिन्थेँ, त्यस बेला मन उसैगरी पिरोलिन्थ्यो ।
दिनभरि सिकारीले ढुकेझैं गरी बोर्डरमा ढुकेर बस्न थाल्यौं । यसरी बस्नु पट्यारलाग्दो हुँदो रहेछ ! उभिँदाउभिँदै गलिने । एकनासले हेरिरहँदा आँखा उँघ्न थाल्थे । भोक र प्यासले लखतरान भई अँध्यारो भएपछि अस्थायी शिविर फर्किन्थ्यौं । आएर डंग्रंग पल्टिन्थ्यौं ।
एक साँझ । दिनभर बोर्डरमा ढुकेर फर्किँदै गर्दा उताबाट फायरिङ भयो । अचानकको फायरिङले हाम्रो होश उड्यो । पहिले त कताबाट फायरिङ भयो भन्ने नै ठम्याउन गाह्रो भयो । बल्लतल्ल फायरिङ गर्यौं । पहिले त अन्धाधुन्द गोली चलायौं । फायरिङ गर्दै दौडिन्थ्यौं । झमक्कै साँझ भएपछिको लडाइँ मध्यरातसम्मै चल्यो ।
घरि भाग्ने र घरि लखेट्ने खेल भइरह्यो । अँध्यारोमा कहाँसम्म पुगेँ भन्ने भेउ नै भएन । अचानक गोली पड्केको आवाज आयो । गोली मेरो पिठ्यूँमै लाग्यो । आमा ! म चिच्याएँ । पहिलो लडाइँमै मैले गोली खाएँ । म त्यहीँ ढलेँ ।
आँखा खुल्दा चारैतिर उज्यालो देखेँ । आँखा मिचेँ । धमिलो देखेँ । ज्यान असाध्यै दुखिरहेको थियो । चल्न-चटपटाउन खोजेँ । अहँ, ज्यान चलेन, चल्दै चलेन ।
आँखा नचाएर चारैतिर हेर्न थालेँ । म मान्छेहरूको भीडमा थिएँ । सबै मैलाई हेरिरहेका थिएँ । मैले आँखा खोलेकैमा मानिस खुसी देखिन्थे । चारैतिर आँखा डुलाएपछि आफूलाई नियालेँ । शरीरका लुगा जताततै फाटेका थिए । कुनै माग्नेको भन्दा कम थिएन मेरो अवस्था । म रोइरहेको थिएँ । एक त म उठ्न सकिरहेको थिइनँ । त्यसमाथि म कहाँ आइपुगेको थिएँ ?
'तिमीलाई कस्तो छ ? ' मेरो नजिकै आएर एकजनाले सोध्यो । उसले मलाई हिन्दीमा सोधेको थियो ।
'ठीक छु', भनेँ, 'तर, मेरो शरीर चलिरहेको छैन ।' अलिअलि टुटेफुटेको हिन्दीमा बोलेँ ।
उसले म एक महिनादेखि अर्धबेहोशीमा भएको कुरा सुनायो । म बेहोश अवस्थामा खोला किनारमा भेटिएको रहेछु । माछा मार्न जानेहरूले भेटेर ल्याएछन् । यही गाउँको वैद्यले मेरो उपचार गरेको रहेछ । यो सब सुनेर म छक्क परेँ ।
वैद्य दिनहुँ आएर मेरो उपचार गर्थ्यो ।
गाउँलेको मन बडो सफा हुन्छ । दयालु हुन्छन् । मलाई सबैले माया गरे । उनीहरूले मेरो सक्दो स्याहार गरे । मेरो उपचार गरे । तर, म निको भइनँ । एउटै खाटमा मैले वर्षाैं बिताउनुपर्यो ।
उनीहरूले मेरो अस्थायी शिविरको पनि खोजी गरे । तर, त्यहाँ केही भेटिएन रे ! त्यसैले म त्यही गाउँमा एउटै ओछ्यानमा लडिरहन विवश भएँ ।
एउटै ओछ्यानमा लडिरहँदा सिमसराको, घरको खुब याद आउँथ्यो । मलाई घर जान मन लाग्थ्यो । तर, यो हालतमा कसरी जाने ? उनीहरू भन्थे । आफ्नो गाउँ कहिल्यै नछोडेका माझीहरू मेरा लागि गाउँ छाड्न पनि सक्दैनथे । उनीहरूले गाउँनजिकैको चौकीमा मेरोबारे जानकारी गराए । तर, चौकीका प्रहरीहरूले कुनै चासो देखाएनछ । त्यसैले म त्यही गाउँमा सडिरहेँ ।
दैवको लीला पनि अचम्मको हुँदो रहेछ । चार वर्षअघि बल्ल म अलिअलि चल्न, चटपटाउन सक्ने भएँ । यो चार वर्षमा मैले वैद्यले भने बमोजिमको उपाचर र व्यायाम गरेँ । र, राम्रोसँग हिँडडुल गर्नसक्ने भएँ ।
त्यसपछि म फौजमा फर्किनँ । जसले मलाई लडाइँको मैदानमै छोड्यो, त्यहाँ फेरि किन फर्किनु ? जसले मेरो खोजीसम्म गरेन, त्यहाँ म किन जाने ? म सोझै घर फर्किएँ । घर पुग्दा केही थिएन । साठी वर्षपछि घर फर्किएको थिएँ । नेपालमा धेरै परिवर्तन भइसकेको रहेछ । प्रजातन्त्र, जनआन्दोलन, गणतन्त्र । मलाई यी सबको मतलब थिएन ।
सिमसराले गाउँ छाडेर यतै आएको खबर पाएँ । म उनलाई एकपटक भेट्न चाहन्थँे । उनको अनुहार हेर्न चाहन्थेँ । उनले मेरो बच्चा पाएकी छे रे भन्ने सुनेको छु । दुई जीउकी भएपछि गाउँ छाडेकी थिइन् रे ।
...
बूढाका आँखा रसाइसकेका थिए । म उसैलाई एकोहोरो हेरिरहेको थिएँ । गाला भिजेजस्तो भयो । हत्केलाले छाम्दा पो थाहा पाएँ, आँखा रुझेछन् । उसको जीवनको कथाले मलाई नराम्रोसँग रुवायो । पगाल्यो ।
'अनि भेट भयो ? ' सोधेँ ।
उसको वर्षांैदेखिको भयावह कथाले मन थिचिरहेको थियो । उसले वर्षांै एउटै ओछ्यानमा बिताउनु परेको क्षण आँखामा चलचित्रझैं आइरहेको थियो । तर पनि ती दिनबारे कोट्याउन मन भएन । त्यसैले सिमसरालाई फेरि भेट्न पायो कि पाएन भनी बुझ्न मन लाग्यो ।
'एक हप्ताअघि यही बाटोमा झुलुक्क देखेको थिएँ । रिक्सा चढेर कतै जाँदै थिइन् । कता गइन् ? भेउ पाउन सकिनँ । म पछिपछि लागेको थिएँ । तर, अहँ भेटाउन सकिनँ ।' अनुहारमा खुसी हो कि झैं देखियो । छिनमै उदास हुँदै बोल्यो, 'त्यसपछि म सधैं यहीँ आउन थालेँ तर कहिल्यै देखिनँ । कहाँ बस्छिन् भन्ने पनि थाहा छैन ।'
उसको कुरा सुनिरहेँ । उसले धेरै ठाउँ खोजेको थाहा भयो ।
झमक्कै साँझ पर्यो । ऊ उठ्यो । म पनि उठेँ । चियाको पैसा तिरेर हिँड्ने बेलामा भनेँ, 'म पुर्याइदिऊ तपाईंलाई ? '
'पर्दैन । यहीँ नजिकै हो ।' उसले आफैं जानसक्ने बतायो ।
ऊ आफ्नो बाटो लाग्यो । म आफ्नो बाटो । भोलिपल्ट म जान पाइनँ । बज्यै बित्नुभएको थियो । बुबा किरिया बस्नुभएकोे थियो । हाम्रो घरमा दुःखको बादल छाएको थियो । हामी शोकमा डुबेका थियौं । त्यसैले १० दिनसम्म म चिया पसल गइनँ ।
बाह्रौँ दिनको दिन म घुम्दै त्यहाँ पुगेँ । बूढा अघि नै आइसकेको रहेछ । उसलाई देखेर म मुस्कुराएँ । दुई हात जोड्दै नमस्कार गरेँ । उसको अनुहारमा आएको खुसीको चमक हेर्न थालेँ । यो चमकले लाग्यो उसले सिमसरालाई भेट्यो होला ।
'अर्काे चिया ल्याऊ त भाइ', पसलेतिर हेर्दै चिया मगायो । म उसको छेउमा गई बसेँ ।
'धेरै दिन आएनौ नि ! म तिमीलाई नै पर्खिरहेको थिएँ', उसले सोध्यो ।
'बज्यै बित्नुभयो । त्यसैले आउन पाइनँ ।' अलि मसिनो स्वरमा बोलेँ । सायद रुन्चे आवाज आयो । चिया आइपुग्यो । हामी चिया पिउन थाल्यौं ।
'तिम्रो बज्यै बित्नुभएकोमा दुःख लाग्यो ।' ऊ फेरि बोल्यो । म चुपचाप थिएँ । केही बोल्ने मन भएन ।
'आज तिमीसँग भेट भयो । म भोलि गाउँ फर्किंदैछु । तिमीसँग भेट नहोला कि भन्ने डर थियो । धन्न आज भेट भो ।' उसले मलाई राम्रोसँग नियाल्ने प्रयत्न गर्दै हेर्यो । ऊ फर्किने कुराले म आश्चर्यचकित भएँ ।
'तपाईंको खोजी सकिएको हो ? के तपाईंले उहाँलाई भेट्टाउनुभयो ? ' मैले हतारिँदै सोधेँ ।
'त्यहीँ एकसाँझ देखेपछि भेटिएन । धरै ठाउँ खोजेँ । अब यो जुनीमा यति नै होला !' आवाज गह्रुँगो थियो । उसका आँखा रसाउलाझैं देखिए, 'तिमीसँग भेटेर खुसी लागेको छ । नमरी बाँचे दैवले साँचे फेरि भेट होला ।'
ऊ जान हतारियो । म भने आफन्तसँगको बिछोडको क्षणझैं महसुस गरिरहेको थिएँ । आफूभन्दा पचास वर्ष जेठोसँग भर्खरको चिनजानले आत्मीयता बढाएको थियो । उसको अतीतले मलाई रन्थन्याएको थियो । म चाहन्थेँ, उसको भेट सिमसरासँग भइदियोस् । म खोज्न सघाउन सक्थेँ । चाहन्थेँ । तर, ऊ भोलि नै फर्किने हतारोमा थियो । उसका पनि बाध्यता होलान् । म चुपचाप उसलाई हेर्दै उसका विगत सम्झिन थालेँ । कति दर्दनाक थिए ती दिन । कसरी बितायो होला एकै ठाउँमा वर्षौंसम्म ?
ऊ मसँग बिदा भएर गयो । म त्यही मौन सालिकझैं बसिरहेँ । ऊ गएको हेरिरहेँ ।
मलाई उठेर घर जान मन भएन । अर्को चिया मगाएँ । चिया पिउँदै उसैलाई सम्झिन थालेँ । उसको विगत फेरि मेरो आँखामा झलझली आइदियो । मनमनै भनिरहेँ- उसको सिमसरा भेटिए हुन्थ्यो । सोच्दासोच्दै साँझ पर्यो । म उठ्न खोजेँ । मेरो छेउमा कागजको सानोे पोको देखेँ, जहाँ अघि ऊ बसेको थियो । मैले कागज उठाएँ । कागजभित्र केही बेरिएको थियो । जतन गरी राखेको । अर्काको चिज यसै खोल्न नहुने हो । तर, मलाई भने खोल्न हतार भयो ।
हतार-हतार पोको खोलें । एउटा फोटो फुत्रुक्क झर्यो । घोप्टो परेको फोटो पल्टाएँ । फोटोमा एउटा नवजवान जोडी थियो । यसो नियालेर हेरें । अड्कल काटें । पुरुष अनुहार त बलिहाङकै युवा स्वरुप रहेछ । महिला अनुहार पनि चिनेचिनेजस्तो लाग्यो । यसो घोरिएँ । झसंग भएँ । युवतीको स्वरुपमा थिइन् - बलिहाङकी सिमसरा अर्थात् मेरी बज्यै सीमा ।