कम्फर्ट जोनबाहिर लेखक

कम्फर्ट जोनबाहिर लेखक

म कहिले आफू पाउन किताबहरू पढ्छु, कहिले आफूभित्र आफू हराउन । शायद थकानको थप्पडले नरन्थनाउँदो हो त त्यस दिन म हराउन खोज्ने थिइँन किताबहरूको चिहानघारीभित्र, न त हात लाग्ने थियो किताबभित्र थपक्क राखिएको सुधीर थपलियालको भावनाले भरिएको आधा पाना कागज । मेरा कविताहरू पढेपश्चात उनका खस्रा-मसिना भावना समेटिएको यो कागज के हात लाग्यो, हराउन किताबको चिहानघारी अर्थात् पुस्तकहरूको थाकमा घुसेको म । झन् टड्कारो पाएँ आफूलाई र पाएँ प्राचीन खस्रुको ध्यानमग्न रूखजस्तै सुधिर थपलियालललाई ।

उनी मलाई खस्रुको रूखजस्तै लाग्थे । वर्षौं पुरानो खस्रुको रूख जसलाई झ्याउ, सुनाखरी र थरीथरीका उन्यु र जंगली लहराहरूले क्रमशः ढाकेको हुन्छ । हरिया काँडेदार पातहरूमा मात्रै खस्रुको विशेषता देख्न सकिने त्यस्ता प्राचीन रूखजस्तै उनलाई मुस्कान नाचिरहने उनको ओठ र झल्याकझुलुक देखिने तेजिला आँखाहरूले मात्र चिन्न सकिन्थ्यो । नभए त ओभरकोटमा झुल्किने उनको अनुहारको अधिकांश भाग ह्याटले छोप्दथ्यो भने बाँकी भाग उनको दारीले छोपेको हुन्थ्यो । लामो कपाल, लौरो, ओभरकोट र ह्याटका सौखिन उनी जब किंव्रmेकस्थित आफ्नो कटेज अगाडि केही गमेर उभिन्थे, ठ्याक्कै प्राचीन खस्रुको रूखजस्तै ध्यानस्थ देखिन्थे । लेकाली खस्रुको बोट र मसुरीका सुधीर दुवै मेरा लागि प्यारा थिए ।

उनी यसकारण पनि प्रिय रहे मेरा लागि किनभने उनी आफूलाई ब्रह्माण्ड मानी वरिपरि घुमिरहने गणेशको निर्माण रुचाउँदैनथे । कम्तीमा मैले भेटेको छैन यहाँ यस्तो कवि÷साहित्यकार जो खुल्ला हृदयले अरू कवि लेखकको कृति पढ्न हौस्याउँछ । आफूकहाँ आएका साहित्यानुरागीलाई आफूले कलम चलाइरहेको विधाको अर्को लेखकको कृति पढ्न न त हौस्याउँछ, न त अर्को लेखकको सामीप्यता तिम्रा लागि प्रेरणादायी हुन सक्छ भनी आफ्नो अध्ययन र भेटघाटको दायरालाई फराकिलो पार्न अनुरोध नै गर्छ । आफ्नो भजन मण्डली निर्माण गर्दै ‘कम्फर्ट जोन’ भित्र रही पण्डित-पण्डा कर्म सञ्चालन गर्ने अग्रजहरूको भीडले निसास्सिएको मलाई उनको सामीप्यता तीर्खाले जरुवा भेटे भैmँ हुन्थ्यो ।

त्यसताका मेरो बसाइ पहाडकी रानी मसुरीमा थियो । सोझा गडवाली र नेपालीहरूको रगत-पसिनाले मुस्कुराइरहेको त्यो हिल स्टेसन माध्यमिक तहको शिक्षाका लागि भारतका प्रमुख गन्तव्यमध्येको एक हो । म बार्लोगञ्जमा बस्थेँ र देवदारको बाक्लो जंगल छिचोल्दै मसुरीको मूल बजार पुग्थेँ । खच्चडलाई दूधको क्यान बोकाएर पसिना पुछ्दै पाखोका सल्लाझैैं सुसाइहिँड्ने गडवालीको दुःख मेरो दुःखभन्दा फरक थिएनन् । हिमालको चिसो हावाले सेकेका त्यहाँका आमादिदीहरूका गालाको लालीबुराँस (गुराँस ) फूलको आकर्षकभन्दा कम थिएन । पिक्चर प्यालेस, लाइब्रेरी वा, बेञ्चीमा नाम्लो बोकेर काम पर्खिरहेका नेपाली दाजुभाइको अनुहारमा म देशको टिठलाग्दो अनुहार पढ्न सक्थेँ । पञ्जावका राजा रणजित सिंहको सेनामा भर्ती भएका बलभद्र कुँवरको कथा कुँदिएको नालापानी किल्लाको जंगलले गौरवशाली इतिहासको अवसादले भरिएको अन्त्य सम्झाइरहन्थ्यो । ती दिनका ऊहापोह र रातका सन्नाटाका साक्षी सुधीर थपलियालका ‘द लभ्स एन्ड लाइफ अफ मिस्टर टी’, ‘मन्सुरी मकाब्रा’, ‘क्रसिङ द रोड’ थिए ।

सेन्ट जर्जेज कलेजले आयोजना गर्ने अधिकांश बौद्धिक कार्यक्रममा सुधीर थपलियालको उपस्थिति रहन्थ्यो । मिर्गौलाको डायलसिसले अतिरिक्त जीवन बाँचिरहेका उनलाई मञ्चमा लान जब मेरा सहकर्मीले सहारा दिन खोजे उनले आफ्नो घडीतिर इशारा गर्दै सहारा अस्वीकार गर्दै ढलपलाउँदै मञ्चमा पुगेको दृश्यले उनको जब्बर आँटलाई प्रतिबिम्बित गरेको क्षण उनलाई सम्झँदा अभैm ताजा हुन्छ । उनको पहाडप्रतिको मोह, जीवनप्रतिको सकारात्मक दृष्टिकोण र लेखनप्रतिको अटुट आस्थाका कारण मानिस प्रभावित भएर उनलाई नभेटिरहन सक्दैनथियो । अतः देवदारका रूखमुनि सेता भित्ता भएको प्राचीन लाग्ने उनको कटेज मेरो आकर्षणको केन्द्रमा थियो ।

 समय रुमालमा छर्किएको अत्तर थियो सुधीर थपलियालका लागि डाइलेसिसले थपिदिएको अतिरिक्त समय । त्यो समय जीवन्त बाँची उनी बिते । तर मानिसको बास्ना फूलको बास्ना होइन जो क्षणमै बिलाइजान्छ ।

पश्चिमा आकाश ‘विन्टर लाइन’को मादक लिपिष्टिमा सजिएको थियो । पहाडलाई विस्तारै अँध्यारोले कस्दै गरेको एक साँझ उनले मेरा रुचि र कामहरू देखेपछि रस्किन बन्डलाई भेट्न हौस्याएका थिए । अध्ययनको दायरा फराकिलो पार्न सुझाव दिएका थिए । ‘यङ्ग म्यान, यु मोस्ट मिट हिम ।’ रस्किन बन्डको ‘द रुम अन द रुफ’ लाई टेलिफिल्ममा ढाल्न पटकथा-संवाद लेखेका सुधीर थपलियालले पहाडी गुफाहरूमा ध्यानस्थ भिक्षुसँग रस्किन बन्डको तुलना गर्दै लेखनको तपस्याका नुस्खाहरू रहेकोले उनीसँग नजिक हुन सुझाएका थिए । एउटा लेखकले अर्को लेखकको मुक्तकण्ठले प्रशंसा गर्दै आफू नजिक आएकालाई यसरी मार्गदर्शन गर्ने विरलै पाइन्छन् । सुधीर थपलियाल यस्तै विरलै पाइने सहृदयी मन थिए ।

गढवालको पहाडको शान्त तपस्वीको सौम्यतालाई भड्काएर रौद्र बनाउने विषय नभएका भने हैनन् । चिसा पहाडका गर्भमा लुकिरहने लाभा पनि एक यस्तै बसाइमा मैले देखेको थिएँ । प्रकाशन गृहका सम्बन्धमा त्यहाँ उपस्थित अन्य साहित्यानुरागीमाझ तात्तातो बहस भइरहेको थियो । म हाम्रो आवाजले सशंकित हुँदै बेलाबेलामा हामीलाई चनाखो आँखाले हेर्दै कुर्सीमा सुतिरहेको बिरालो हेर्दै वादविवादमा सहभागी हुँदै थिएँ । पेङ्गुइन, रूपा, ह्याचेट, पिकाडोर आदि प्रकाशन गृहका लेखकहरूसँगको सम्बन्धबारे तीतो यथार्थ प्रस्तुत भइरहेका थिए ।

लेखकहरूले प्राप्त गर्ने रोयल्टीका कुरा गर्दागर्दै सुधीर थपलियालले दाहिने हातको बीचको औंलो अश्लील संकेतका साथ उठाइदिए । हामी किंकर्तव्यविमूढ उनलाई हेरिरह्यौं । एउटा लेखकलाई प्रकाशकले गर्ने अन्याय उनको रोष हामी स्पष्ट देख्न सक्थ्यौं । सन् १९६७ मा कलकत्ताको स्टेट्सम्यानबाट पत्रकारिता सुरु गरेका दिग्गज पत्रकार ‘द लभ्स एन्ड लाइफ अफ मिस्टर टी’, ‘वार एट लम्बिधर’, ‘क्रसिङ द रोड’ अनि ‘मसुरी मकाब्रा’ लगायत अनेकौं कथा र निबन्धका स्रष्टाको प्रकाशकसँगको अनुभव त यति रोषले भरिएको छ भने अरूको हालत के होला भन्ने विषय सोचनीय थियो । लेखकको बलमा ठडिएका प्रकाशन गृह कसरी लेखकको ढाडमाथि सवार हुन्छन् भन्ने उदाहरण उनले हामीलाई प्रष्ट गरिदिएका थिए ।

‘रेड इंक’ लिटररी एजेन्सीसँग म र साथी मिलेर तयार गरेको कथासंग्रहको कुरा चलिरहेको थियो । ‘स्याम्पल च्याप्टर’ मागेर ‘रिडिङ फी’ को कुरा गर्ने पब्लिसिङ हाउसदेखि बच्दै हामी रेड इंक आइपुगेका थियौं । अब यहाँ पनि टाठो हुनुपर्ने उनले हामीलाई औंल्याए । उनको मार्गदर्शक पछ्याउँदै हामीले रेड इंकसँग आफ्ना प्रस्ताव राख्यौं । अन्ततः रेड इंकले तारा प्रेस, न्यु दिल्लीबाट ‘अब्सेसन ः एटर्नल स्टोरिज अफ लाइफ एन्ड देथ’ नामको संयुक्त कथासंग्रह प्रकाशित गर्‍यो । हामीलाई रेड इंकले सम्पर्क बनाइदिएको एडिटरसँगको व्यावसायिक सम्बन्ध र एउटा सग्लो कृति निक्लिन लेखक, प्रकाशक र सम्पादकको त्रिकोणात्मक सामञ्जस्य बुझ्ने मौका मिल्यो । एउटा वाक्यका लागि तन्किएको लामो बहस र अन्त्यमा ‘कि मलाई कन्भिन्स गर कि कन्भिन्स हो’ भन्ने मन्त्रले सुल्झाएको एडिटिङका शृंखलालाई किताब प्रकाशनको अन्तर्राष्ट्रिय मान्यतामा भिज्ने अवसर जुट्यो । सानोसानो प्रसंगमा एडिटरसँग ठोकिनुपर्दाको अन्योललाई चिर्न सुधीर थपलियालको अनुभवले खारिएको सल्लाह हाम्रो लागि सहायक सिद्ध भयो ।

 

दिनभरको बैद्धिक कसरतपछि ‘फक्स हिल’ को रुट पछ्याउँदै एक्लै कुनै हावा घरमा घुर्मैलो साँझलाई स्वागत गर्ने मेरो दैनिकी सुधीर थपलियालसँगको भेटपछि केही बदलिएको थियो । पिक्चर प्यालेसको चोकदेखि पूर्वा लन्डौर लाग्दै ‘डोमाज् इन्’ तिर रल्लिने र रस्किन बन्डको सामीप्यता खोज्ने वा त ‘गन हिल’लाई ‘क्यामल व्याक’ रोड समाती एक फन्को घुम्ने र धुपीका रूखहरू फेदमा शान्त सुतिरहेका सिमेट्रीका आङका गुलावहरू मिलाइदिइ म मसुरीमा नयाँ दैनिकी साथ प्रस्तुत भएँ । क्याथोलिक चर्चको भव्यता र यसका आङभरि उनीएका भूतप्रेतका कथाहरू पढ्दै बढेको मेरो मानसपटलमा रस्किन बन्डका भूतप्रेतहरू पनि मिसिन आएका थिए । मुस्किलले शीत ओभाउने चिहानका चेपमा उम्रेका नीला सेता घाँसेफूलहरू उखेल्दै म आकाश भेट्न अग्लिएका देवदारका टुप्पातिर दृष्टि फाल्दै कुनै हानिरहित सरसर्ती सोचिरहेको भूत कहिले हामफाल्ला भनी कुरिबस्थेँ । या त बार्लोगन्ज ओर्लन्थेँ किंक्रेक हुँदै लामो बाटो सुधीर थपलियालको कटेजलाई दाहिने पारेर । शिव मन्दिरका जट्टाधारी थपलियालका उपन्यासका पात्रबाट गिरफ्तार हुनबाट बच्न रूप परिवर्तन गरी साधु बनेका पात्र झैैं लाग्थे।

म मनमा फिक्सन उकेरा लगाउँदै नन् फिक्सन जीवन गोडिरहेथेँ । बाक्लो जंगलमा हराउने कालोपत्रे पुनः जंगलको छाती छेडेर फुत्त बार्लोगञ्जमा निस्कन्थ्यो । पीडी जैसवाल सरको पसलबाट हामी सर्वसाधारणले बुझ्न नसक्ने वा भनौं बुझ्न नपर्ने विविध किसिम र मूल्यका रिचार्ज र डाटा प्याक मोबाइलमा हालिमागेर म कलेज लम्कन्थेँ । कलेजभित्रको भारत-पाकिस्तान युद्धमा प्रयोग भएको लडाकु विमान एउटा मोटो खम्बामा टाँगेर बनाएको स्मारक चौतारोमा पुगेर थकाई मार्थेँ । तल झडीपानी तिरबाट बार्लोगन्ज पस्दै गरेको बाटोबाट उँभो हेर्दा आकाशमा कावा खाइरहेझैैं देखिने यस लडाकु विमानमुनिको स्मारक पत्थरमा युद्धमा वीरगति प्राप्त गर्ने कलेजका भूतपूर्व विद्यार्थीको नाम कुँदिएको थियो । एउटा शिक्षालयलाई राष्ट्रले गरेको सम्मानको यो नमुनालाई मुटुमा समेट्दै म टिचर्स क्वाटरतर्पm लाग्थेँ । हरेक दिन बार्लोगन्ज झर्दा र कलेजको उकालो चढ्दा म यही सहिद स्मारकलाई बिसौनी बनाउँथेँ । साँझ यहाँबाट चम्किरहेको रस्किन बण्डको सहर र देवदारका वृक्षमा कतै हराएको सुधीर थपलियालको घरको स्थान अन्दाज लगाउने मेरो प्रिय खेलका साक्षी जूनकीरीहरू हुन्थे, डाँडैभरि बर्खामास फुल्ने रंगीचंगी वन-फूलहरू हुन्थे ।

समय रुमालमा छर्किएको अत्तर थियो सुधीर थपलियालका लागि डाइलेसिसले थपिदिएको अतिरिक्त समय । त्यो समय जीवन्त बाँची उनी बिते । तर मानिसको बास्ना फूलको बास्ना होइन जो क्षणमै बिलाइजान्छ । मानिसको उपस्थिति कर्मको छिनाले पत्थरमा लगातार घोट्दा बन्ने स्पष्ट धर्को हो जसको सुगन्ध समयले मेट्न सक्दैन । आफ्ना कृतिहरूमा बाँचिरहेका सुधीर थपलियाल अभैm पनि मेरा पहाडी बाटाहरूमा जवान भेटिन्छन् । अनि अलिक माथि लेकतिर चढ्दा ध्यानमा मग्न प्राचीन खस्रुका बोट भएर उनी बाँचिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.