क्वान्डुमा अरनिको
चीनको दक्षिण पश्चिम प्रान्त युनानको राजधानी कुनमिङ पर्यटकीय सहर हो । तालहरूको यो सहर वर्षैभरि वसन्त ऋतुको सहर वा जनजातिहरूको सहर भनेर पनि चिनिन्छ । प्राकृतिक सौन्दर्यसँगै यसको ऐतिहासिक महत्व पनि छ । सहरको पुराना बजार र पुरातात्विक महत्वका ठाउँलाई मौलिक स्वरूपमै संरक्षण गर्ने प्रयास देखिन्छ । कुनमिङका त्यस्तै पुराना सहरहरूमध्ये एक हो- क्वान्डु ।
कुनमिङको मुख्य सहरबाट १२ किलोमिटर दक्षिण पूर्व र युनान प्रान्तको सबैभन्दा ठूलो ताल तिआनछर् तालको पूर्वमा रहेको त्यो ऐतिहासिक सहरमा यही महिना पुग्दा भीडभाड थियो । पुरानो सहरको फोटो खिच्न र त्यहाँको परिकारको स्वाद चाख्न आएका बाह्य र आन्तरिक पर्यटकले सहर भरिएको थियो । सहरको मध्यभागमा रहेको सहरकै सबैभन्दा पुरानो संरचनाले काठमाडौं उपत्यका नै पुगेजस्तो भान दिन्थ्यो । त्यो पुरानो संरचना एक स्तूपा थियो ।
खुल्ला चौडा चोकको बीचमा सात सय वर्षदेखि उभिएको स्तूपा । स्थानीय भाषामा चिनखान नामले चिनिने यो स्तुपा १३औं शताब्दीमा चीनका सम्राट् कुब्लाई खाँको समयमा निर्माण भएको हो । त्यतिबेला यो सहर युनानका माझीहरूको लालटिन सहर भनेर चिनिन्थ्यो । नजिकैको तालमा माछा मार्ने माझीहरूले बाल्ने लालटिनले झलमल हुने भएकोले त्यस्तो नाम राखिएको बताइन्छ ।
चिनखान स्तूपाको वरपर ६ वटा अरू मन्दिरहरू छन् । स्तूपाको पश्चिममा दुईवटा अग्लो पेगोडा र त्योसँगै एउटा कलात्मक पौवा छ । त्यो पौवामा कुनै समय लामो दूरीको यात्रीहरू बास बस्थे । चिनखान स्तूपा चारकुने आकारमा छ । हरेक कुनामा एक एक स्तूपा र केन्द्रमा मुख्य ठूलो स्तूपा छ । तीन वर्षअगाडि यो ठाउँको भ्रमणमा आएका नेपाली र चिनियाँ संस्कृतिविद्हरूले स्तूपाको मध्यभागमा राखिएको शिलालेखमा लेखिएको रञ्जना लिपिको आधारमा यो स्तूपाको निर्माण नेपाली कलाकार अरनिकोले निर्माण गरेका तथ्य उजागर गरेका थिए ।
१३औं शताब्दीमा नेपालका राजा जयभीमदेव मल्लले अरनिकोलाई तिब्बतको ल्हासामा स्वर्ण स्तूप बनाउन पठाएको इतिहासका किताबहरूमा उल्लेख गरिन्छ । त्यतिबेला राजा कुब्लाई खाँले उनलाई कलात्मक स्तूप र मन्दिरहरू बनाउन महाचीनमा निम्तो गरेको इतिहास छ । कुनमिङमा फेला परेको अरनिको निर्मित संरचनाको आधारमा संस्कृतिविद्हरूले उनी ल्हासामा स्वर्ण स्तूप बनाएपछि कुनमिङ हुँदै बेइजिङ गएको अनुमान लगाएका छन् ।
विभिन्न समयमा दुई पटक पुनर्निर्माण भएको यो स्तूपा बेइजिङमा रहेको अरनिको निर्मित श्वेत पेगोडाजस्तो चर्चित नभए पनि यसले पनि चीन र नेपालबीचको मित्रतापूर्ण इतिहास बोल्छ । ऐतिहासिक सहर क्वान्डुमा सात सय वर्षदेखि थपक्क बसेको मित्रताको साक्षी यो स्तूपलाई क्यामरामा कैद गरिरहँदा र त्यो शिलालेखमा लेखिएका रञ्जना लिपिका अस्पष्ट अक्षरहरू पढ्न खोजिरहँदा मलाई भने अरनिकोका पाइला पछ्याउँदै हिँडिरहेजस्तो लाग्यो
साँझको विद्युतीय उज्यालोमा बसेर मैले अरनिको यही चोकमा लालटिनको उज्यालोमा यस्तै साँझमा नेपाली कला चिनियाँ भूगोलसम्म प्रसार गर्न आफ्नो समूहसँग सल्लाह गरेको कल्पना गरेँ । सात सय वर्ष पहिलेको त्यो क्षणको कल्पनाले मात्रै पनि मलाई फेरि एकपटक अरनिको प्रति गर्वबोध गरायो । लाग्यो, अरनिकोका पाइलाहरू पछ्याउँदै म इतिहासका गहिरा गर्तहरूमा कतै पुरिएका मेरो देश, संस्कृति र कलाको गर्विलो डोब कोट्याइरहेछु ।