किन छ चीनमा बोधिचित्तको महत्व ?

किन छ चीनमा बोधिचित्तको महत्व ?

काभ्रेको तिमाल क्षेत्रमा पाइने हाडेबयर समूहअन्तर्गतको एक प्रजाति बोधिचित्त केही वर्षयता त्यहाँका बासिन्दाका लागि अनुपम जैविक सम्पदा बनेको छ । त्यहाँका बासिन्दाले बोधिचित्त अर्थात् बौद्धमाला बेचेर मनग्य आर्थिक उपार्जन गर्दै आएका छन् । बौद्धमार्गीका निम्ति बोधिचित्तको बुद्धमाला महत्वपूर्ण आध्यात्मिक सामग्री हो । उनीहरू ध्यान गर्दा र अन्य अवस्थामा पनि माला हातमा राखेर त्यसका दाना गनिरहन्छन् ।

Kamal_maden1तिमालकै प्रभावमा परेर देशभरका पहाडी भूभागमा बोधिचित्त बिरुवा पचासौं हजार संख्यामा लगाइएको अनुमान छ । त्यो क्रम अझै जारी छ । अझ सन् २०१५ मा खेमराज भट्टराई र मित्रलाल पाठकले बोधिचित्त विश्वको निम्ति नयाँ र नेपालमा मात्रै पाइने दाबी गर्दै त्यसको नामकरण भगवान् बुद्धको समर्पणमा 'जिजाइफस बुद्धेन्सिस्' गरे।

'जिजाइफस'ले एक किसिमको हाडेबयर समूह अर्थात् वनस्पतीय जिनस् जनाउँछ । त्यसले बोधिचित्तप्रति सर्वसाधारणको अझ ध्यानाकर्षण बढ्यो । काठमाडौं उपत्यकाका कतिपय पूmलका नर्सरीसमेत बोधिचित्तको बिरुवा उमार्न पछि परेनन् । तिमाल क्षेत्रमा त घरघरमै बोधिचित्तको नर्सरी भेटिन्छ ।

बोधिचित्त नेपालबाहेक अन्त कतै अहिलेसम्म नपाइएको अर्थात् नेपालको रैथाने भन्ने कुराचाहिँ खोज-अनुसन्धानमै समर्पित वनस्पतिविज्ञका निम्ति पत्याइहाल्ने आधार थिएन । किनभने तिमाल क्षेत्रमा बोधिचित्त प्राकृतिक बासस्थल अर्थात् जंगलमा पाइएको जानकारी छैन । घर वरपर लगाइएको अवस्थामा मात्रै छ । त्यसको अर्थ, त्यो कतैबाट ल्याइएको हो । र, नचिनिएको वनस्पति भेट्दैमा अनुसन्धान र पहिचानका सबै विधि नपनाई विश्वको निम्ति नयाँ ठहर गर्नु वाञ्छनीय हुँदैन । अर्को कुरा फरकफरक भूगोलमा उही वनस्पतिमा पनि केही भिन्नता देखिन्छ । जस्तो पातको साइज सानो ठूलो, फलका आकार घटबढ देखिनु एकै प्रजातिका विविध रूप हुन् । तसर्थ, तिनै आधारमा विश्वको निम्ति कुनै वनस्पति प्रजातिलाई नयाँ भनिदिनु अन्यथा हुन जान्छ ।

दुईचारवटा स्थायी रूपमा आकारमा देखिने भिन्नता भइदिएमात्रै भिन्नै प्रजाति मान्न सकिने आधार बन्छ ।प्रजाति विशेषमा के कस्तो भिन्नता हुन्छ भन्ने कुरा अफ्रिकन र एसियन हात्ती दाँज्दा प्रस्ट बुझिन्छ । भलै ती दुई हात्तीको समूह (जिनस) नै फरक हुन् । दुवै हात्ती उस्तैउस्तै देखिन्छ । तर, राम्ररी नियाल्दा उचाइ र ओजनका अतिरिक्त सुँड, टाउको, खोपडी, खुट्टाको नङको संख्या, कानको आकार, ढाडको बनावट आदिमा फरक हुन्छ । जस्तो अफ्रिकन हात्तीको सुँडको टुप्पो दुई भागमा चिरिएको हुन्छ । जब कि एसियन हात्तीको चिरिएको हुँदैन । अफ्रिकन हात्तीको भाले र पोथी दुवैको दारा हुन्छ तर एसियन हात्तीमा भालेको मात्रै दारा हुन्छ । अफ्रिकी जंगलमा पाइने हात्तीको अगाडि र पछाडिको खुट्टामा क्रमशः पाँच र चारवटा नङ हुन्छ । अफ्रिकाकै झाडीमा बस्ने हात्तीको अगाडि र पछाडिको खुट्टामा चार र तीनवटा मात्र नङ हुन्छ । एसियन हात्तीको भने अगाडि र पछाडिको खुट्टामा पाँच र चारवटा नङ हुन्छ । प्रस्ट फरक भने कान पनि हो । अफ्रिकन हात्तीको कानको आकार अफ्रिकाको नक्शाजस्तै र एसियन हात्तीको भने भारतको नक्सा जस्तो हुन्छ ।

गैररैथाने

अब दुई भिन्न हात्ती प्रजातिमा के कति फरक भन्ने सन्दर्भबाट बोधिचित्त नेपालको रैथाने हो होइन भन्ने प्रसंगतर्फ लागौं । नेपालमा पूmल फुल्ने वनस्पतिमध्ये रैथाने प्रजातिका बारेमा एकीकृत जानकारी सर्वप्रथम टीबी श्रेष्ठ र आरएम जोशीको एक पुस्तकमा सन् १९९६ मा छापिएको थियो । पुस्तकको नाम थियो 'रेयर, इन्डेमिक एण्ड इन्डेन्जर्ड प्लान्टस् अफ नेपाल' । उक्त पुस्तकमा नेपालमा २४६ प्रजातिका पूmल फुल्ने रैथाने वनस्पति प्रजाति पाइन्छ भन्ने जानकारी छ । त्यो जानकारी सन् २००८ सम्म अकाट्यजस्तै विभिन्न पुस्तक तथा अनुसन्धानात्मक लेखहरूमा सारियो । सन् २००९ मा वन मन्त्रालयअन्तर्गत वनस्पति विभागले 'इन्डेमिक फ्लावरिङ प्लान्टस् अफ नेपाल, खण्ड एक' प्रकाशन गर्‍यो । त्यसैको अन्य दुई खण्ड सन् २०१० र ११ मा प्रकाशन भयो । त्यसले नेपालमा पाइने पूmल फुल्ने रैथाने वनस्पतिसम्बन्धी जानकारी अद्यावधिक गर्‍यो ।

पछिल्लोपटक सन् २०१६ मा, वनस्पति विभागले प्रकाशन गर्ने बुलेटिन अफ डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्सेसमा रैथाने वनस्पति सूची अद्यावधिक गरिएको छ । लेखको शीर्षक छ, 'इन्डेमिक फ्लावरिङ प्लान्टस अफ नेपाल : एन अपडेट' । लेखमा ३२४ रैथाने वनस्पतिबारे जानकारी समावेश छ । उक्त लेखमा 'जिजाइफस बुद्धेन्सिस्' समावेश छैन । उसो त वनस्पतिको नामसम्बन्धी जानकारी दिने इन्टरनेसनल प्लान्ट नेम इन्डेक्स (आइपिनी)ले त्यतिखेरै 'जिजाइफस बुद्धेन्सिस्'लाई एक छुट्टै प्रजाति मानी उसको विद्युतीय सञ्जालमा त्यो जानकारी प्रकाशन गर्‍यो । त्यो अद्यावधि कायमै छ ।

बोधिचित्त नेपालमा जस्तै भुटानमा पनि विगत ६ सय वर्षदेखि रोप्ने गरिएको जानकारी इन्डियन जर्नल अफ प्लान्ट साइन्सले सन् २०१५ मै प्रकाशन गरेको थियो । हालै चीनमा नेपालबाट बोधिचित्तको नमुना लगी गरिएको एक आणुवंशिक विश्लेषणअनुसार 'जिजाइफस बुद्धेन्सिस्'को विवरण चीनकै एक बयर प्रजाति 'जिजाइफस जिआंगचेंगेन्सिस्'सँग हुबहु मिल्यो । त्यसले बोधिचित्तको वनस्पतीय नाम 'जिजाइफस बुद्धेन्सिस्' नभई 'जिजाइफस जिआंगचेंगेन्सिस्' हो भन्ने पुष्टि गर्छ । त्यसबाट बोधिचित्त नेपालको रैथाने वनस्पति भन्न मिल्दैन र अर्कोतिर भट्टराई र पाठकद्वयको खोज विज्ञान जगत्का निम्ति नयाँ हुन सकेन । बरु, अनुसन्धान फितलो र गहिराइमा पुग्न नसकेको प्रमाणित भयो ।

चीनमा बोधिचित्त

बोधिचित्तको नमुना वैज्ञानिक रूपमा अध्ययन अनुसन्धानका निम्ति सर्वप्रथम चीनस्थित पश्चिम सिचुआन प्रान्तको जिआंगचेंग भन्ने ठाउँबाट संकलन गरिएको अभिलेखमा देखिन्छ । त्यो सन् १९७९ भन्दा अघिको कुरा हो । त्यस बेला वाईएल चेन र पिके चाउलले उक्त नमुना विश्वको निम्ति नयाँ पाए र नामकरण गरे जिआंगचेंगलाई जोडेर 'जिजाइफस जिआंगचेंगेन्सिस्' । उक्त जानकारी 'बुलेटिन अफ बोटानिकल ल्याबोर्‍टोरी अफ नोर्थ-इस्टर्न फोरेस्ट्री इन्स्टिच्यूट हर्बिन' अंक ५ (८८) संस्करण सन् १९७९ मा छापियो । पछिल्लोपटक सन् २००७ मा 'फ्लोरा अफ चाइना' को भोलम १२, पेज १२१ मा उक्त वनस्पतिको विवरण सविस्तार छापिएको छ, जुन विद्युतीय सञ्जालमा उपलब्ध छ ।

जिआंगचेंगस्थित एक नदी किनारमा उक्त वनस्पति समुद्री सतहबाट करिब दुई हजार आठ सय मिटर भूसतह उचाइमा पाइएको थियो । गजब के देखिन्छ भने बोधिचित्तको बोट सर्वप्रथम चीनमा अध्ययन अनुसन्धान भयो । तर, त्यसको दानाबाटै नेपालमा बोधिमाला बनाइन्छ र चीनतिरै निर्यात हुन्छ भन्ने जानकारी त्यहाँ विल्कुलै छैन । त्यो कुरा केही महिनाअघि मात्र बोधिचित्तको नामकरण 'जिजाइफस बुद्धेन्सिस्' गर्नेमध्ये एक मित्रलाल पाठकले नै पत्ता लगाएका हुन । त्यो कुरा चिनियाँले थाहा पाएका हुँदा हुन् त किन तिनैले बुद्धमाला लाखौं रुपैयाँ तिरेर चीन लैजान्थे ? उनीहरूले उतै त्यसको बृहत् खेती गरेर संसारभरका बौद्धमार्गीलाई सस्तो दाममा बेच्न सक्थे, बुद्धमाला ।

दुईपटक नामकरण

वनस्पति अध्ययन अनुसन्धानमा एकै प्रजातिको वनस्पतिलाई एकभन्दा बढीपटक विश्वका निम्ति नयाँ भनी नामकरण गर्ने गरेको उदाहरण प्रशस्तै भेटिन्छ । त्यस्तो अवस्थामा, जुन पहिलोपटक नामकरण भएको हुन्छ, त्यसलाई वास्तविक नाम अर्थात् एसेप्टेड नेमका रूपमा लिइन्छ । पछि भूलवश दिइएको नामचाहिँ त्यसैको सिनोनेमको रूपमा दर्ज हुन्छ । कहिलेकाहीँ सुरुमा दिइएको नाम नै पनि गलत हुन्छ । जस्तो वनस्पति भने पनि विश्वको निम्ति नयाँ त हुन्छ तर प्रजातिको समूह अर्थात् जिनस नै ठीकसँग पहिचान नगरी नयाँ नाम दिइएको हुन्छ । त्यसरी गलत नामकरण भएको छ भने कुनै बेला अन्य कसैले त्यसलाई सच्याएर पुनः नामकरण गर्छन् । त्यसरी पुनः नामकरण गरेको अवस्थामा भने पछि नाम दिइएको एसेप्टेड र अगाडि राखिएको नामचाहिँ सिनोनेम हुन जान्छ ।

'जिजाइफस बुद्धेन्सिस्' र 'जिजाइफस जिआंगचेंगेन्सिस्' एकै हुन् भन्ने माथि चर्चा गरियो । 'जिजाइफस जिआंगचेंगेन्सिस' सन् १९७९ मा र 'जिजाइफस बुद्धेन्सिस्' सन् २०१५ नाम दिइएको हो । तसर्थ, वनस्पतिशास्त्रको बहिखातामा अब बोधिचित्तको एसेप्टेड नेम 'जिजाइफस जिआंगचेंगेन्सिस' र 'जिजाइफस जिआंगचेंगेन्सिस' सिनोनेमका रूपमा दर्ज भएको छ ।

मित्रलाल पाठक र अरूहरूको एक लेख हालै एक विद्युतीय सञ्जालमा प्रकाशन भएको छ । लेखको शीर्षक छ, 'मोलेक्युलर कन्फरमेसन या जिजाइफस बुद्धेन्सिस् एन्ड इट्स रेलिजिअस एन्ड इकोनोमिक भ्याल्यु' । उक्त लेखअनुसार बोधिचित्तको एसेप्टेड नेम 'जिजाइफस जिआंगचेंगेन्सिस्' र 'जिजाइफस बुद्धेन्सिस्' सिनोनेममा दर्ज भएको जानकारी प्रकाशमा आएको हो । त्यसले खेमराज भट्टराई र मित्रलाल पाठकद्वयले बोधिचित्तलाई भूलवश 'जिजाइफस बुद्धेन्सिस्' नामकरण गरेका थिए भन्ने बुझिन्छ । उक्त जानकारी अनुसन्धानकर्ता पाठककै अनुसन्धानबाट साबित भएको हो । पाठकले काभ्रेपलाञ्चोक जिल्लाबाट बोधिचित्तको कलिलो पात संकलन गरे ।

संकलित पातलाई सानो प्लास्टिकको बट्टामा सिलिका जेल नामक रासायनिक पदार्थमा राखेर बन्द गरे । त्यो चीनको बेजिङस्थित टायगेन बायोटेक ल्याबोर्‍टरीमा पुर्‍याए । त्यसलाई 'डीएनए इक्स्टयाक्सन किट'बाट अनुसन्धान सुरु गर्दै त्यसमा रहेका आणुवंशिकसम्बन्धी विभिन्न जानकारी अध्ययन गरे । अनि प्राप्त नतिजा बयर समूह अर्थात् 'जिजाइफस'का अन्य प्रजातिहरूको आणुवंशिक अध्ययनसँग तुलना गर्दै लगे ।

संसारभर जिजाइफस समूहका सयभन्दा बढी प्रजाति छन् । भारत, चीन, नेपाल र भुटानमै क्रमशः १७, १२, ८ र ७ प्रजाति छन् । पाठकले बोधिचित्तको आणुवंशिक अनुसन्धानपछि प्राप्त गरेको आणुवंशिक विवरण चीनमा पाइने बयरको एक अर्को प्रजाति 'जिजाइफस जिआंगचेंगेन्सिस्' सँग करिबकरिब हुबहु मिल्न गयो । त्यसले चीनको सिचुआन प्रान्तको जिआंगचेंगमा भेटिने 'जिजाइफस जिआंगचेंगेन्सिस्' र 'जिजाइफस बुद्धेन्सिस्' एकै हुन् भन्ने पुष्टि गर्‍यो । त्यस नतिजाबाट एकै वनस्पतिलाई भिन्न दुई देशमा ३६ वर्षको अन्तरालमा दुई भिन्नभिन्न नाममा नामकरण गरिएछ भन्ने प्रस्ट भयो । हिजोआज आणुवंशिक संरचनाका आधारमा पहिचान गरिएको नमुनालाई बढी भरपर्दो मानिन्छ । भलै त्यो प्रविधिमा कमै नेपालीको दख्खल छ ।

रहस्य

बोधिचित्तलाई केही नेपाली वनस्पतिविज्ञले नेपालको रैथाने होइन भनेर शंका गर्नुले उनीहरू वनस्पतिशास्त्रमा कति गहन ज्ञान राख्छन् भन्ने पुष्टि हुन्छ । तर, बोधिचित्त नेपालको रैथाने नभइदिनु निश्चय नै दुःखको सन्दर्भ हो । त्यसरी नै अझै त्यसले दुई खालका प्रश्न अनुत्तरित नै छाडेको छ । पहिलो, चीनबाट बोधिचित्त कहिले र कसले तिमाल क्षेत्रमा ल्यायो ? उता नेपालबाट भुटान लैजाने त एक बौद्ध धर्मगुरु थाङ टोङ ग्याल्पो हो भन्ने लेखिएको भेटिन्छ । दोस्रो, के अब पनि चिनियाँहरूले बुद्धमाला चीन लैजान्छन् ? बुद्धमाला नबिक्ने अवस्था आए पचासौं हजार संख्यामा लगाइएका त्यसको बोटको अस्तित्व अब के होला ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.