किलिक् किलिक् ना गाउँ !
युवराज नयाँघरे
निदाउन खोज्यो ज्यानले !
दुई दिन दुई रात बाटैमा बितेथ्यो । शरीरमा थिग्रिएको हैरानी र थकानले पेलिएको पीडा थियो । त्यै भएर जहाँ बस्यो त्यहीँ उघूँ, सुतूँ, निदाऊँजस्तै भइरहेको थियो । ज्यानमा दुखाइ र गलाइको थुप्रो थियो खातैखात ।
ना गाउँ पुग्दा मन रमायो अचम्मैसँग ।
लामबगर वरैको छेदछेद भएर डोर्रिएको ढुंगेनी गोरेटोसँग निरन्तर साथी भएको थिएँ । मेरो पाइला सराइमा अरू दुई नि थिए । दुबै परे कापी-कलमका खेलाडी ।
‘हऊ दाजु, ना गाउँ त कहाँको लर्तरो हुनु । यो गाउँ पुगेपछि म त यतै घरजम गरुम्-गरुम् भएर फर्केको थेँ नि !' उद्धवले डोगाङ कट्न लाग्दा भनेथे । उनी लामै समयदेखि दोलखाको सेरोफेरोमा विद्यार्थीको बाघचालमा घेरिएका छन् । उनकै सारमा सार मिलाएर म पुगेथेँ ना गाउँ ।
ना गाउँ पुग्न हम्मे-हम्मे पर्यो । बाटाका सुरमुचे र वेदिङहरू उस्तै लोभ्याउँदा बस्ती र जीवनशैली थिए । जति-जति माथि उक्लियो— नयाँ, फरक, भिन्न र अलग धर्तीसँग टाँसो भइरहेको लाग्थ्यो । अझ वेदिङबाट तेर्पे र तेर्छोको साथी होउन्जेलमा शरीरै पुरा झनन्न-झन्नन रमाउँथ्यो । बाटो, बगर, वनसँग लुरुलुरु लम्किरहँदा पनि रोल्वालिङ खोलासँग मुस्कान दिन छोडिनँ मैले ।
कमल कार्कीले भनेको सम्झना छ—‘खोलाको हाँसो मात्रै सुन्ने हो भने पनि रिसाहाहरूको झ्वाँक मैन जस्तो पग्लिन्छ !' हुन पनि कार्की जतिबेलै खोलैखोला अघि-अघि दगुरिइरहेका लाग्थे । उनका खुट्टामा चक्र टाँसिए जस्तो उनी हामीभन्दा चाँडचाँडो लम्किरहेका हुन्थे ।
‘म त मुसुक्क मुस्कान लिन्छु पनि, दिन्छु पनि !'
रोल्वालिङको सङ्लो र धारिलो आवाज निहालेर बोलिरहेका हुन्थे । आवाजमा अरू आवाज थपिएर वातावरण थप संगीतमय बनिरहेको लाग्थ्यो । रूख र पोथ्राका कुरा । ढुंगा र नदीका कुरा । यी सबैसँग आफ्नै पाइला र हृदयको कुराकानी । म सुरताल मिलाइरहेको हुन्थेँ ।
झनै अग्ला भए पहाड । गौरीशंकरको चुचुराका रङ फरक भएर झन् नौलो र भिन्न रुप देखिन्थ्यो । हरेक पाइलामा देखिने हिउँचुलीको ठिंग उभ्याइ पनि अर्कै-अर्कै ठानिरहेको छु ।
हिलारीले सगरमाथा आरोहणलगत्तै यता नि माया पोख्न थालेछन् । त्यै भएर उनले स्कुल बनाइदिएछन् । तर पाँच मास्तिर नउक्लेको त्यो स्कुलमा हिजोआज ताल्चा लागेछ ।
निकै माथि पुगेको ज्ञान त्यति बेला भो— जब किताबमा पढेका डाँफे र मुनालका बथान आँखा अगाडि उड्न थाले भुरुर्रभुरुर्र । गीत पनि निकै गाइयो डाँफे-मुनालका । चित्रमा पनि बढ्तै देखेँ हुँला मैले— यी लेकाली चराको छायाँछवि ।
रोल्वालिङले मलाई छोडेन । मैले नि उसका आवाजका लहर-लहरलाई माला गाँसी छातीभित्र डुलेको डुलेकै गरिरहेँ । यो अनकन्टार लेकाली संसारमा जीवनको उज्यालो भेट्टाउन यस्ता पूmल र मालाले ठूलै भरथेग गर्छन् सायद ।
ना गाउँ भेट्टाउन औधी समय लाग्यो । थोरै भेटिए मान्छे । अरू सबै कुरा जति पनि भेटियो— तर मानिस नभेट्दाको हैरानी, चोट र उकुसमुकुसले आँखा निस्ताउँदा रैछन् । चेतनाले बालेको राँकै यही होला । सामाजिकताको रन्को भनेकै यही होला । मानिसको हृदयमा बलिरहेको ‘आफ्नो' ज्योति भनेकै यही होला ।
ना गाउँ पुग्दा अरू धेरै कुरा पाएँ । अकल्पनीय र अस्पर्शीय भूमिसँग पाइला चालिरहँदा यो एकलास र अद्भुत भूमिले छातीमा बुरुक-बुरुक लहर उफार्थे । मनको खसखस— ‘कसरी बनेका यी पहाड र उच्चाटलाग्दा ढुंगाका रास ? ' हुन नि हिमाल, पहाड र चट्टानका आ-आफ्ना अरिमठ्ठे उभ्याइ हेर्दा कसैको हार देखिन्न्थ्यो । सबैभन्दा निरीह र पराजित देखिन्थे गोठाला । तर, तिनै गोठालाले ढुंगा, पहाड र हिउँचुलीलाई कब्जामा राखेर सुसेला हालिरहेको अनुभव हुन्थ्यो जताततै । अनि पो साथीसँगै मेरा पाइला टक्क रोकिएर अवाक् हुन्थे आँखा ।
मान्छेको माया आफ्नै खालको हुन्छ । माया गर्नैपर्दा कुनै बाधा र व्यवधानलाई अघि नसारे पनि मायाको गीत ओठ-ओठमा आइहाल्छ । यतिखेर गौरीशंकरले अग्ला-होचा पारेका यी अनन्त हिमालमा पुगेर फर्केका आँखाको भाषाले यही कुरा बोलिरहेका छन् ।
मलाई लेक नलागोस् भनेर अदुवा, लसुन र टिम्मुरको लेदो चटाउन बल गराउनेहरूको माया कहाँको चानचुने छ र ! चर्को भो मैले भन्नै भएको छैन, साथीहरूको माया नै छ औधी चर्को । हिलारीले सगरमाथा आरोहणलगत्तै यता नि माया पोख्न थालेछन् । त्यै भएर उनले स्कुल बनाइदिएछन् । तर पाँच मास्तिर नउक्लेको त्यो स्कुलमा हिजोआज ताल्चा लागेछ । राति वेदिङमा बास बस्दा आङनिमाले भनेकी थिई । उसलाई मन छैन गुम्बा जान । स्कुल पढ्न नै रहर छ । तर पढिरहेको स्कुलमा अरू थप कक्षा छैन ।
‘कत्ति पढ्नु एउटै कक्षामा तीन-तीन पटक !' उसले पाँच कक्षामै तेब्राइसकी । उसको उर्लिरहेको बैंसे ज्यान हेर्दा नै मैले अनुमान गरिरहेको थिएँ— ज्यान र कक्षा मिलिरहेको छैन । हो, त्यही निमाको घरमा १२ बजे हामी पुगेथ्यौं ना गाउँमा । निमबुटीको घर वेदिङमा पनि छ । भोलि बिहान उसकै घरमा भातभान्सा गरिनेछ भन्ने बाचाबन्धनमा परेर हामीले ना गाउँका लागि ठामठेगाना तोक्यौं ।
ना गाउँ पुग्दासम्म हिमालमा धेरै रङ देखेँ । हिउँसँग ढुंगा, माटो, रूख र हावाले कुदाकुद गरेको सबैभन्दा बढी देखेँ । सफा, स्वच्छ र पवित्र हावा फेरेर होचा छातीले फुरुङ्ङ-फुरुङ्ङ अग्लिएको ठान्दैछु ।
वेदिङभन्दा धेरै तलदेखि नै काँडे लहरा र हिउँका डल्लाडल्लीसँग भेटघाट भएथ्यो । अल्झिएर लड्ने कलामा कमी भएन । फेरि चिप्ला ढुंगा र रातिको स्याँठले चट्टानमा ऐना बनेको पानीले आफ्नो तुजुगमा ल्याएन कमी । म पछारिएको-पच्छारिएकै भएँ । ना पुग्दा घरभित्र बस्न मनै भएन । मीठो घाम र उज्यालो दिनले जतिखेरै आँगनमै अल्मलिइरहूँजस्तो हुन्थ्यो । उपत्यकाको माभैmमा थपक्क बसेको रहेछ ना गाउँ । रोल्वालिङ उपत्यकाले सबै सौन्दर्य ठाउँठाउँमा थपक्क सिँगारेर राखेको देखिन्थ्यो ।
वरिपरि सेताम्मे हिउँचुली । अग्ला र सुरिला पहाडहरू । हिमालका परी-परीका अनुहारहरू । ती हिमाल नाचिरहेका, उफ्रिरहेका । ती पहाड गाइरहेका, चलिरहेका । कतै पहाड र हिमाल जुधिरहेजस्ता । कतै हिमाल र पहाड जिस्किरहेजस्ता । हाडको ढुंगा खोसाखोस गरेजस्तो । हिमालको हिउँ थुताथुत गरेजस्तो । हरेक अप्रत्याशित र अचम्मित तुल्याउने हिमालयको उभ्याइले मनमा खेल्छन् कति धेरै उकुसमुकुसहरू । ‘आमा एक वर्षभरि रुनु भो, बा बित्दा । अचेल च्छोरोल्पातिर फर्केर सुनपाती चढाएपछि आमाको आँखाको आँसु आँखामै सुक्छ !' वेदिङमा भेटिएकी पासाङले भनेकी थिई । मैले मुख धोएर तातोपानी खाउन्जेलमा उसले घिउ हालेको चिया तनतनी पिई । अनि च्यांग्रा र चौंरीका बथान फुकाई । एउटा अग्लो र मोटो कुकुर नि साथै हिँडाइ ।
‘सिम्भु गएर बत्ती बाल्ने आमाको लाख इच्छा छ !'
चरीकोटसम्म एकपटक पुगेकी पासाङले बोलेको कुराले छाती खलबलियो । काठमाडौंको स्वयम्भू नपुगे पनि ‘सिम्भु'सम्म भन्न पुगी । आफ्नो श्रद्धा जोडेर रहर देखाई । ‘म च्छोरोल्पा पुगेर फर्कंदा तिम्रो काँचो ऊन किनूँला !' —यति भनेर उम्किएको थिएँ म । ऊ आमाको इच्छासँग जोडिएर मसँग नजिक भएकी थिई । रोल्वालिङको तीरैतीर हिँडिरहँदा हिमालको एकान्त र हावाको खुसखुसे बोलीमा कान थापिरहेको छु । पहाडको आत्मा पढ्नु भनेको, हिमालको ढुकढुकी सुन्नु भनेको, हिउँको कम्पन जान्नु भनेको यो नै होला ।
ना गाउँ पुग्दासम्म बाटाभरि लेखिएका ठूलाठूला पवित्र अक्षर, शब्द र वाक्यले आँखामा अलौकिक शान्ति भरिइरहन्छन् । अर्थ नबुझिने भाषाभित्र पनि एउटा अद्भुत आनन्दी र मिठासको रङ घोलिएको हुन्छ । त्यो घुलमिल भएको रङ नै जीवन हो । त्यो जीवन बुझ्न र पढ्न नै ना गाउँको चकमन्न र एकान्तमा यी शेर्पाहरू बसेका होलान् ।
ना गाउँमा यस्तै साठी घर छन् झुरुप्प । तिनको एउटै आँगनले बिहे-मृत्यु छिन्छ । तिनको एउटै पिँढीले जन्म-जारी छिन्छ । तिनको एउटै बारीको कुनाले धन-मनको निक्र्योल गर्छ । जति रोऊ, यी पहाडबाट उता जाँदैन । जति हाँस, यो रोल्वालिङ नदीपारि पुग्दैन । जति उफ्र, यो उपत्यकापर कुनै छिटा पुग्दैन । त्यस्तै संसार बोकेर ना गाउँको पूर्वतिर बादल फाट्छ र घामको मसिनो ज्योति छरिन्छ झलमल्ल ।
कचौराजस्तो छ ना गाउँ !
हिमालको अद्भुत घेरो छ । वरिपरि हिउँका अचम्मै लाग्ने आकार । हिमालको अथाह लस्कर । नाम दिएर नसक्ने हिउँचुली छन् । औंला भाँचेर नसकिने संख्याका सेताम्मे पर्वतहरू छन् । हिमाली चुचुराका आकारमा आँखा रोकिन नसक्ने सौन्दर्यका तहतह छन् । खेतमा आलु रोप्न लागिपरेका आइमाई, केटाकेटीहरूले छपक्कै ढाकिएको मान्छेको बगाल छ । जान मन छ मलाई नि ।
‘निमा, आलु खन्ने मन छ । मिल्छ ? '
उद्धवले उत्तर यसरी दिए— त्योभित्र अरू जिज्ञासा, जीवन र समयका वाक्यको उपस्थिति गर्बिलो भयो । ‘च्छोरोल्पा नपुगी— यो रहर नगर्नुस् दाजु । यिनले आलु रोपेका होइनन् । हिउँले नखाओस् भनेर छ महिना अघि खनीखोस्रिएका आलुलाई पुरेका खाल्डाबाट निकालेका हुन् । यी आलुबाट यिनले रोटी, पिठो, सुकुटी, दाल बनाउँछन् । कति ठाउँमा चामलै खालका आलु-दाना बनाउँछन् ।' रुच्यो, मज्जैले खाना रुच्यो । आलुको रस, आलुको भुटुवा, आलुको अचार, आलुको छोप, आलुको कबाब, आलुको पक्कु । ओहो, सबै परिकार आलुकै । आलुमय खाना, स्वाद पनि आलुमय । खाँदै गर्दा आलु पाराले हाँसेँ म ।
मुख चुठेर घाममा बस्दा आँखामा निद्रा ओर्लियो । ज्यानमा निद्राको लोरीले गीत गाएकोले होला— यो अपरिचित र अद्भुत ठाउँको भुइँमा पनि लमतन्न हुने मन छ । तर फेरि सतर्क पारेँ आपूmलाई ।
‘लेक लाग्न सक्छ । नसुत् बाबु ।' सुतेकोसुतेकै भइन्छ फेरि । सुतेकै तालमा सिलटिम्मुर खानेहरू निकै हुँदा रहेछन्— लेकाली धर्तीमा । नसुतेकै जाती । मनमा उठेका यी तर्क र वितर्कसामु मेरो निद्राले नसुनी धरै पाएन।
एकपटक उठेर नांगै गोडाले आँगनमा कुदेँ । चारै कुना पैmलिएका हिमालको लोभलाग्दो लस्कर छ ।
‘चोपुचे !'
उत्तरतिर लमतन्न फैलिएको अद्भुत हिमाल । कतै कुहिरोमा हराएजस्तो लाग्ने । कतै मुसुक्क हाँसिरहेका चुलीहरू । कतै परेली खोलेर रमाइरहेका कुमारी चुचुराहरू । कतै अथाह जोवन पस्केर रमाइरहेका हिमाली यौवनाहरू ।एकपटक आफ्नै सुरिला औंला र ओठसँगै निमाका आवाजमा ओर्लिए वरिपरिका हिमचुलीहरू ।
खाङनाचु, वोमुगो, चेकिगो, राम्दु, यलुमुरी— यी सबै ना गाउँ र च्छोरोल्पा छेउकुनाका हिमाल । अभैm अरू अनौठा नाम थिए— रिपिमोसर, ट्राकडिङ । हिमालको विकटता वा दुर्गम आत्मा नाममा उत्रिएका थिए ।
वरिपरि एकै खालका घर छन् । ती घरलाई ढुंगेनी पर्खालले घेरेको छ । ठूलाठूला भोटे कुकुर बेलाबेलामा अकाशै छेडूँलाजस्तो गरी भुक्छन् । अरू केही छैन आवाजको रहलपहल ।
ज्यान फालेर बसेको छु म— नीमबुटीको घरअगिल्तिर । तातो घाममा वरिपरिका हिमालको मात मेरो शरीरमा ओर्लिरहेको छ । म मातेको छु मस्तले । मेरो मन, आँखा, चेतना, टाउको र रगतका कणकणमा घ्वाप्पघ्वाप्प छुन्छ मातले । लाट्टिएका आँखाले मलाई हिउँको रूप, सुन्दरता र अपार आभामा पौडिन जा भनिरहेका छन् । तर बेखबर हिउँचुलीका रङले आफ्नो मन धोइरहेको छु, पुछिरहेको छु, नुहाइरहेको छु र सुग्घर बनाइरहेको छु ।
मुन्टो घुमाईघुमाई वरिपरिका हिमालसँग आँखाको चिनाजानीमा कमी भएको छैन । हिमाली आभाले छरेको सेताम्मे तिरिमिरीले झंकृत पारेको पारेकै छन् मलाई । मेरो सिंगो शरीर हिउँको अँगालोमा परेर उकुसमुकुसियो ।
‘बडङ्ङ बडङ्ङ !'
चारैकुनाका हिउँचुलीबाट अनौठा अनौठा आवाज आइरहेका छन् । आवाजको तह झन् झन् थपिँदो छ । चर्को आवाजले वरपरको चकमन्नता घरिघरि भत्काउँछ । आवाज अनौठो र अत्यासलाग्दो खालको छ ।
आँखामा यो आवाजले जिज्ञासाभन्दा पनि भय, डर र संशय उमार्छ । सिंगै हिमाल सोहोरिएर ना गाउँमा ओइरिएको लाग्छ कता-कता । जम्मै हिउँचुली कामेर भुतभुताएको लाग्छ पटकपटक ।
के हिमाल कराएको हो ? के हिउँचुली रिसाएर बर्बराएको हो ? के हिमगिरिले फलाको हालेको हो ? के हिमालले सराप दिएको हो ? के हिउँ पर्वत चिच्याएको हो ? हामी तीनैजनाले ती अनौठा आवाजहरूसँग उत्तरका लागि खुलदुली गर्यौं ।
घरभित्र नगई-नगई पनि वरिपरिका चुच्चा, सुरिला, खिरिला, काँडेदार, थेप्चे, भ्यात्ते र नाकठाडे हिउँ-पहाडका आकारबाट आइरहेका शिखरहरू पढिरहेथेँ । घामको तातोसँगै पग्लेर खसेका हिउँ-पहिरोबाट आवाज आइरहेको रहेछ । कतै गोली चलेजस्तो, कतै बारुद पड्केजस्तो, कतै पेस्तोलको तकाइजस्तो— हिमालका कुनाकाप्चाबाट आइरहेका आवाजले घरीघरी झस्काइरहे मलाई । मसँगै हिमालको चकमन्नताले डामेको चोट र हिउँ पहिरोले घोचेको पीडा छ चर्कै ।
नीलो अकाशमा पातलो सेतो बादलमुनि कनिके भुस छरिएर उल्लास र उमंगको वातावरण बनाइरहेको छ । आकाश हाँसेको भन्छन्, यै होला । हृदयले किलिक् किलिक् तस्बिर खिच्न छोडेन ।
चारै सुरका घरमा भेडाको ऊनैऊनको धोक्रो घाममा सुकाएको देखियो । सिंगो शरीरको मासु खाएर भुत्ला र छाला जोगाएर बनेको धोक्रो मैले वेदिङ, सुरमुचेमा नि ओढेको थिएँ । ठाउँ, अवस्था र आवश्यकताले हरेक बस्तु जीवनको नजिक राख्न मान्छेले जानेकै हो ।
‘साथी हो, खुट्टामा जुत्ता कस । झोला ढाडमा बोक । पानी बोक । आँखा नखाने चस्मा नाकेडाँडीमा हाल्न नबिर्स । लौ लाग च्छोरोल्पा !' यसो भनेर पाइला चालेँ ।
नयाँ वर्षको पहिलो दिन थियो यो ।