कविताको मञ्चमा ‘भरियाको भूगोल'
काठमाडौः कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्य ‘भरियाको भूगोल' सांगीतिक तथा कवितामय जमघटबीच शुक्रबार विमोचन भएको छ । अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै विमोचन गर्नुभएको थियो ।
‘हाम्रो पुस्ताले कविता लेख्न प्रारम्भ गर्दा तत्कालीन ठूलो स्कुलमध्येको एउटा दिनेश दाइ पनि हुनुहुन्थ्यो', प्राज्ञ मुकारुङले अधिकारीको पुस्तक यसरी ग्रहण गर्दाको सुखद अप्ठेरोपना व्यक्त गर्दै थप्नुभयो, ‘उहाँहरूमध्येमा पनि गद्य कविताको मामलामा दिनेश अधिकारीको नाम सबैभन्दा अगाडि आउँछ ।'
२०५६ सालमा ‘अतिरिक्त अभिलेख'का निम्ति मदन पुरस्कार र २०५१ सालमा ‘इन्द्रजात्रा'का निम्ति साझा पुरस्कारलगायत धेरै सम्मान र पुरस्कारबाट सम्मानित अधिकारीको पुस्तकयात्रा २०३७ सालमा ‘अन्तरका छिटाहरू' कवितासंग्रहबाट सुरु भएको थियो । त्यसयता उहाँका दर्जनभन्दा बढी कवितासंग्रह र त्यति नै संख्यामा गीतिसंग्रह निस्किसकेका छन् । प्रस्तुत कृति भने २०५१ सालमा उहाँलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा'पछिको दोस्रो काव्य हो ।
‘कवितामा जसरी उहाँ हामीभन्दा अघिल्लो पुस्ताकै अग्रज हुनुहुन्थ्यो', मुकारुङले थप्नुभयो, ‘गीत त उहाँलाई चिनाउने ढोका नै थियो ।' यसरी बढी मानिसले गीतकारका रूपमा चिन्ने गरेको सर्जकको कार्यक्रम सांगीतिक नहुने कुरै थिएन । त्यसमाथि यो तीन वर्षदेखि स्थगित नेपालयको पलेँटी शृंखला फेरि सुरुआत हुँदै गर्दाको क्षण पनि थियो ।
कार्यक्रमको प्रारम्भ नारायणगोपालले गाएका ‘यो सम्झिने मन छ'बाट भएको थियो । पछिल्लो समय ‘ठमेल बजार' गीतबाट चर्चामा उक्लिएकी पलेँटीकी पुरानो गायिका मीनाले उक्त गीत सुनाउनुभएको थियो । ‘नारायण दाइको अनुरोधअनुसार ४१ सालमा बैतडीबाट यो गीत पठाएको थिएँ', रचनागर्भ खोतल्दै अधिकारीले भन्नुभयो, ‘सरुवा भएर ४४ सालमा कलैया पुग्दा दाइले पठाइदिनुभएको गीत रेकर्डको चक्का सुनेर रमाउन पाएँ ।'
त्यसपछिको पालो थियो भक्तराज आचार्यले गाएको ‘जीवन भन्नु त घात छ'को । भक्तराज आचार्यले गाएलगत्तै उहाँको जीवनले पनि त्यस्तै मोड लिन पुगेकोमा आफूलाई पछुतो लागेको अधिकारीले सुनाउनुभएको थियो । पलेँटीमा पुरुष स्वर लिएर गायक योगेन्द्र उपस्थित हुनुभएको थियो ।
त्यसपछि तारादेवीले गाएको ‘सोचेजस्तो हुन्न जीवन' सुनाइयो । त्यति बेलाको रेडियो नेपाल र संगीतकार नातिकाजीलाई पनि अधिकारीले सम्झनुभएको थियो । नारायणगोपालले अधिकारीका गीत पछिल्लो समयको ‘गीतियात्रा'मा मात्र होइन, त्यसअघिको ‘ब्लु नोट्स'का निम्ति पनि गाउनुभएको थियो । अबको पालो रत्न रेकर्डिङ संस्थानको त्यसै कालजयी अल्बमको ‘तिमी जुन रहरले ममा फुल्न आयौ'को थियो । २०३४ सालमै आफूले लेखेको यो जीवनकै पहिलो गीतको रचनागर्भ सुनाउने बेलामा संगीतकार दिव्य खालिङ र नारायणगोपालको मित्रता र खटपट यो गीतले कसरी झेलेको थियो भन्ने रोचक घटना पनि अधिकारीले सम्झनुभएको थियो ।
कार्यक्रममा अधिकारीको रचना र रविन शर्माको स्वरमा कुनै समयको अत्यधिक चर्चित गीत ‘तिमी यसै लजायौ' र सिनेमाका निम्ति अधिकारीले लेखेको ‘बोल बोल पाखाहरू' समेत सुनाइएको थियो । प्रत्येक गीतको रचनागर्भ सुनाउने क्रममा मनाङमा सुटिङ भएको त्यस गीतमा एउटा लोकभाका कसरी मिलाइएको थियो र त्यसले खोल्ने बैंसालु मनाङे जीवनशैलीबारे पनि जानकारी दिइएको थियो ।
अधिकारी लिखित गीतहरू प्रस्तुत गर्ने कार्यक्रमको पहिलो भागको अन्त्य भने ‘पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ' बाट गरिएको थियो । दोस्रो भागमा अधिकारीको काव्य विमोचन गरिसकेपछि अधिकारीले केही कविता वाचन गर्नुभएको थियो ।
‘मेरा कविताहरू मेरा मनका पखेटाहरू हुन्', त्यस क्रममा अधिकारीले भन्नुभयो, ‘व्यक्तिगत कामले व्यस्त हुँदाहुँदै पनि मैले थाम्न नसकेका मेरा अभिव्यक्तिहरू अहिले यो भरियाको भूगोलसम्म आइपुगेको छ ।' कार्यक्रमको तेस्रो भागमा भने पलेँटीका प्रस्तोता एवं गायक तथा संगीतकार आभाष मञ्चमा आउनुभएको थियो । पछिल्लो समय कवितालाई गीतमा रूपान्तर गर्दै आउनुभएका आभाषले अधिकारीको भर्खर विमोचित ‘भरियाको भूगोल'कै केही अंश संगीतबद्ध गरेर सुनाउनुभएको थियो ।
‘यो कार्यक्रमसँगै पलेँटीको पनि फेरि सुरुआतको घोषणा गर्न पाउँदा खुसी लागेको छ', आभाषले भन्नुभयो, ‘तीन वर्षअघि केही समय स्थगित भएको यो शृंखला लगत्तैको भुइँचालोले गर्दा पनि प्रभावित हुन पुग्यो ।' कार्यक्रममा आभाषले आगामी महिना पलेँटीमा युवा गायक विधान श्रेष्ठ प्रस्तुत हुने जानकारीसमेत गराउनुभएको थियो ।