चलचित्र विद्यार्थीसँग चतुर्वेदी
काठमाडौ : भारतीय हिट चलचित्रका ‘साउन्ड डिजाइनर' सञ्जय चतुर्वेदी नेपाली चलचित्रका विद्यार्थीमाझ प्रस्तुत भएका छन् । ‘ओम शान्ति ओम', ‘तारे जमिन पर', ‘थ्री इडिएट्स'जस्ता हिट चलचित्रमा ‘साउन्ड डिजाइन' गरेका चतुर्वेदी एभरेस्ट चलचित्र एकेडेमीका विद्यार्थीमाझ प्रस्तुत भएका हुन् । एकेडेमीले गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका उनीसँग यहाँका विद्यार्थीले जिज्ञासा राखेका थिए । चलचित्र अध्ययन गरिरहेका विद्यार्थीलाई चलचित्रमा ‘साउन्ड' अथवा आवाजको कस्तो भूमिका हुन्छ भन्ने कुरामा चतुर्वेदीले सम्झाएका थिए ।
नेपालीमूलका चतुर्वेदीले कठोर संघर्षपछि बलिउडमा स्थापित ‘साउन्ड डिजाइनर' बनेका हुन् । उनले कोलकाताबाट सन २०००मा साउन्ड डिजाइनबारे ‘सत्यजित रे टेलिभिजन कोर्स' गरेका थिए । रामलीला, थ्री इडिएड्स, ढिस्यु, नुर, ओम शान्ति ओम, तारे जमी परजस्ता चलचित्रमा उनले साउन्ड डिजाइन गरिसकेका छन् । पचासौं ब्लकबस्टरमा सफल चलचित्र दिइसकेका उनले साउन्ड डिजाइन गरेको पछिल्लो चलचित्र ‘नुर' हो । कार्यक्रममा उनले साउन्डलाई फिजिक्ससँग तुलना गर्दै भने, ‘साउन्ड जान्ने हैन, बुझ्ने र लिने कुरा हो, साउन्ड नबुझेसम्म अभ्यासमा ल्याउन सक्दैनौं ।'
कुनै पनि उत्कृष्ट चलचित्र बनाउ मेकअप, लाइटिङ, आर्ट डिरेक्सन र साउन्ड सिस्टमको आ-आफ्नै भूमिका हुनेबारे उनले विद्यार्थीमाझ बताए । चलचित्रमा दुई प्रकारको साउन्ड डिजाइन प्रयोग हुने जानकारी दिँदै भने त्यो, ‘डबिङ' र ‘सिंगसाउन्ड' हो ।' उनी ‘सिंगसाउन्ड' सिस्टममा काम गर्छन् । ‘यो परिस्कृत रूप हो', उनी भन्छन्, ‘कुनै चलचित्रमा ५० प्रतिशत एक्टिङ गरिन्छ भने ५० प्रतिशत साउन्डले काम गरेको हुन्छ । एभरेस्ट चलचित्र एकेडेमीका अध्यक्ष कलाकार सुनील थापाले चतुर्वेदीजस्तो प्रतिभावान् व्यक्तिलाई विद्यार्थीसँग साक्षात्कार गराउन पाउँदा गर्व लागेको बताए ।