अरहरबालीमा कीराको प्रकोप
बर्दिया : मौसम परिवर्तनसँगै तापक्रम बढेपछि अरहरबालीमा कीराको प्रकोप देखिएको छ । दलहनबाली स्याहार्ने समयमा कीरा लागेपछि सयौं हेक्टरमा लागाइएको अरहरखेती प्रभावित बनेको छ ।लामो समयदेखि चलेको पूर्वीया हावाका कारण तापक्रम बढेपछि बर्दियामा खेती गरिने दालजन्य अरहरबाली नोक्सान भएको छ । बाली स्याहार्ने समयमा अरहरको कोसामा कीरा लाग्दा बाली नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार बर्दियामा गत वर्ष एक हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा अरहरखेती गरिएको थियो ।
गत वर्ष एक हजार एक सय मेट्रिक टन अरहर उत्पादन भएको जनाइएको छ । कार्यालयका अनुसार बर्दियामा अरहरको उत्पादन सन्तोषजनक नभएको
बताइएको छ । विशेष गरी गर्मी मौसमको सुरुवातसँगै अरहरमा कीरा लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'मौसम परिवर्तनसँगै तापक्रम बढेपछि अरहरको कोसामा कीरा लाग्ने गर्छ ।' पछिल्लो समयको वर्षातपछि अरहरको बोटमा नयाँ पालुवा पलाएपछि पनि कीराको प्रकोप बढेको हो । उहाँले थप्नुभयो, 'बर्दियामा यस आर्थिक वर्ष एक हजार ६ सय ४१ हेक्टर क्षेत्रफलमा अरहर खेती गरिएको छ । जसमा एक हजार दुई सय मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौं ।' किसानलाई सामान्य सल्लाहबाहेक अनुदानलगायतका सहयोग गर्न नसकेको उहाँले बताउनुभयो ।
गुलरिया नगरपालिका वडा नम्बर ८ मा अरहरखेती गरेका किसान राधेलाल लोध भन्नुहुन्छ, 'मरीमरी वर्षभरि दलहनबालीका लागि अरहरखेती गरँे । स्याहार्ने बेलामा सबै पूर्वीया हावाले बिगार्यो ।' कीराले खाएको अरहरको कोसा देखाउँदै उहाँले थप्नुभयो, 'हामी गरिबको सहारा यही बाली थियो त्यो पनि कीरा लागेर समाप्त भयोे । अब वर्ष दिनसम्म के खाने ? '
उहाँले दुःख पोख्दै भन्नुभयो, 'खेती पनि कसरी गर्ने नत कुनै तालिम पाइन्छ न कुनै अनुदान यस्तै अवस्था रहे कृषिप्रति धेरैको वितृष्णा जाग्न सक्छ ।'
किसानको अनुभवमा अरहर काट्नुपूर्व अन्तिम महिनामा पूर्वीया वायुको प्रभावले कीरा लाग्ने र पश्चिमा वायुको प्रभावले कीरा हराउँछ भन्ने विश्वास रहँदै आएको पाइन्छ । अरहरखेती तयार हुन एक वर्ष समय लाग्ने हुनाले पनि किसान मर्कामा पर्ने गरेका छन् ।
बर्दियामा कृषि बिमाको राम्रो प्रचारप्रसार नहुँदा किसानको बिमाप्रति आर्कषण छैन । यदि किसानले बिमा गरेको भए नोक्सान भएको अरहरको क्षतीपूर्ति पाउने थिए तर कीराबाट क्षती व्यहोरेका किसानले बिमा नगरेको हुँदा क्षतीपूर्ति पाउनबाट बञ्चित भएका छन् ।