मेस्सीमाथि मरहट्टाको डकुमेन्ट्री
काठमाडौं : नेपाली पत्रकार किरण मरहट्टाले बार्सिलोना फुटबल क्लब र फुटबलर लियोनेल मेसीको बारेमा निर्माण गरेको डकुमेन्ट्री ‘मेसी, द म्यान एट बार्सा’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएको छ ।
नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा हरेक वर्ष मे ५ देखि ७ तारिखसम्म अमेरिकाको बाल्टिमोरमा आयोजित हुने महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र विधामा सो डकुमेन्ट्री छनोट भएको महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले बताए । डकुमेन्ट्री बार्सिलोना फुटबल क्लबको सफलता र त्यस क्लबका स्टार खेलाडीहरूको बारेमा केन्द्रित छ ।
पत्रकार मरहट्टाले दुई वर्षअघि बार्सिलोनाको मुख्यालय क्याम्प पुगी डकुमेन्ट्री निर्माण गरेका थिए । अंग्रेजी, स्पेनिस र कातलान भाषामा निर्माण गरिएको उक्त डकुमेन्ट्री ३० मिनेटको छ ।
एसिया, युरोप र अमेरिकाका २० वटा चलचित्रहरू प्रदर्शन गरिने महोत्सवको उद्घाटन दीपक रौनियार निर्देशित सेतो सूर्यबाट हुनेछ । समापन मीनबहादुर भाम निर्देशित कालो पोथीबाट हुनेछ । महोत्सवमा विभिन्न मुलुकबाट २७ सयवटा फिल्महरूले सहभागिताका लागि आवेदन दिएका थिए । जुरीले तींमध्ये उत्कृष्ट २० वटा फिल्मको छनोट गरेको हो ।
युनिभर्सिटी अफ मेरिल्यान्डको होम थिएटरमा तीन दिनसम्म चल्ने चलचित्र महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने निर्देशक बराइलीले जानकारी दिए । महोत्सवमा ‘नेपाली डायस्पोरा र चलचित्र’ विषयक अन्तरसंवादसमेत हुनेछ ।