योगी नरहरिनाथको योगीत्व
यस देवभूमि नेपालमा ऋषिमुनि योगी सिद्धहरूको आगमन समयसमयमा भइराखेको देखिन्छ । नेपाल दैविक शक्तिले सिञ्चित गरिएको पवित्र भूमि हो । यो विश्व ब्रह्माण्ड दृश्य शक्ति र अदृश्य शक्ति दुई शक्तिले सञ्चालन भइराखेको छ । दृश्य शक्तिको अनुभव अनुभूति भौतिक शरीरले गर्न सक्छ भने अदृश्य शक्तिको अनुभव भने प्राणमय आध्यात्मिक शरीरले गर्ने गर्दछ । हामी मानवहरू नवमानवमध्ये एक मानव शरीर धारी हो । हाम्रो यो भौतिक शरीर अन्नमा आश्रित छ ।
सामान्यतया हामी सामान्य मानव स्वभावधारी व्यक्तिहरू अन्नद्वारा अन्नका लागि नै बाँचेको देखिन्छ । जुन हाम्रो समाजमा हामीले दिनहुँ प्रत्यक्ष रूपमा अनुभव गरिराखेका छौं । तर यसै धराधाममा हाम्रोजस्तै शरीर लिएर जन्मेका सामान्य मानव पनि योगी महामानव बनेको पनि हामीले देखि नै राखेका छौं । त्यसमा हात लिनु नलिनु आ-आफ्नो दृष्टिकोणमा भर पर्छ । त्यस्तै महामानवको रूपमा हाम्रो यो राष्ट्रले विसं. १९७१ फागुन १७ गतेका दिन प्राप्त गर्यो ।
हाम्रो यो नेपाल राष्ट्र विश्वको एकमात्र गुरु राष्ट्र हो किनभने यस गोरक्षक राष्ट्रमा प्रकाश अनन्त पुञ्ज छन् । त्यस्ता अनन्त प्रकाशको जन्म दिन अखण्ड दीपहरू नेपालभर बेलाबेलामा प्रज्वलित भई नै राखेको यथार्थ हामीसँग छ । त्यस्तै अनन्त ज्योतिमध्ये कर्णालीको कालीकोटमा प्रज्वलित भएका एक दिव्य ज्योति हुनुहुन्छ योगीराज योगी नरहरिनाथ हुन त योगीहरूको जन्म र मृत्युको आकलन हुँदैन । योगीका दृष्टिकोणमा जन्म र मृत्यु दुवै हैन सदा कोटी सूर्यको जस्तो प्रकाशमय यो जीवन छ । योगीको योगबाट विश्वले शान्ति र आनन्द प्राप्त गर्दछ । योगको अर्थ जोड्नु हो । जीवात्मालाई आत्मासँग आत्मालाई परमात्मासँग, योगमा मुक्ति छ । प्राकृतिक अनुशासनले हाम्रो यो मानवजीवन भौतिक एवं आध्यात्मिक रूपमा निरोगी एवं आनन्दपूर्ण बन्नसक्छ यसको प्रमाणिकता हामीले योगी नरहरिनाथज्यूको जीवनबाट पाउन सकिन्छ । हामीलाई योगीजीको बाह्य परिचयभन्दा पनि आन्तरिक अन्तरमुखी उध्र्वगामी परिचयकाे अत्यन्त खाँचो छ । आउनुहोस् उहाँ कसरी सामान्य बलवीरसिंहबाट योगीराज गोरक्षनाथ अंशावतारी योगी नरहरिनाथ बन्नुभयो । थोरै शब्द विलाससहितको ज्ञान विलास गरौं ।
नौ वर्षको बलवीरसिंह थापा गोरक्षनाथ योग परम्परामा योगी श्रीप्रनाथबाट दीक्षित भइसकेपछि योगी नरहरिनाथको रूपमा जुम्लाको चन्दननाथ मन्दिरमा पुनः जन्म भयो र उहाँले आफ्नो सम्पूर्ण जीवन हामी मानवमात्रको कल्याणको निमित्त खर्चिनु भयो । योगी नरहरिको यौगिक क्षमताको अगाडि हाम्रो यो सिंगो राष्ट्र र यसको राष्ट्र नीति पूर्णिमाको जूनका अगाडि प्रतिपदाको जूनजस्तो देखिन्छ । पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु, आकाश) ले बनेको यो शरीरलाई जो कोहीले सजिलै आफ्नो वशमा गर्न सकेको देखिएको छैन तर योगी नरहरिनाथले भने सम्भव गराउनुभएको देखिन्छ । शरीरभित्र रहेका पञ्चतत्वलाई प्राण वायुको वशमा गरी प्राण वायुलाई पनि सुक्ष्म शरीरको वशमा गरी सम्पूर्ण प्राण वायुलाई शिरमा चढाएर मस्तिष्कभन्दा माथि राखी विश्व ब्रह्माण्डको यात्रा गर्ने कलाले योगी नरहरिनाथज्यूलाई साधारण अवस्थाबाट नै महामानवको रूपमा परिभाषित गर्यो । यसलाई यौगिक भाषमा सहज समाधि भनिन्छ । समाधिको माध्यमबाट यस विशालको यात्रा गर्ने योगी नरहरिनाथले मानवधर्मको कुशल वक्ता बनेर हामीलाई मानवीयता सिकाउनु भएको छ ।
योगी नरहरिनाथज्यूका हरेक कर्महरूमा भौतिक र आध्यात्मिकताको सामाञ्जस्य एउटा कलमा त्यसको आकार स्वरूप रस र स्वादजस्तै अनोन्याश्रित छ। वर्तमान विज्ञानले चर्मचक्षुले देखिने देख्न सकिने समस्या चुनौतीहरूसँग मात्र संघर्ष गर्ने सामथ्र्य राख्छ भने योगीको यौगिक विज्ञानले आध्यात्मिक चक्षुले देखिने र देख्न नसकिने समस्या र चुनौतीसँग सामना गर्न सक्ने सामथ्र्य पनि राख्छ। त्यसैले यौगिक विज्ञानले विश्व शान्ति विश्वकल्याण विश्वमैत्री विश्व करुणा कायम राख्न सक्छ । अहिलेसम्म हामीले योगी नरहरिनाथज्यूको बाहिरी दक्षताको परिचय पाएका छौं जस्तै उहाँ पुरातत्व इतिहास, आयुर्वेद, योग र पूर्वीय वाङ्मयको विश्वविद्यालय हुनुुहुन्थ्यो । समाजलाई राष्ट्रलाई विश्वलाई कल्याण गर्न आवश्यक पर्ने कुनै पनि ज्ञानको कमि उहाँमा देखिएन ।
उहाँको जीवनशैली तपाईं हाम्रा लागि वडा विचित्रको छ । उहाँको खानपान, विहार अत्यन्त फरक शैलीको देखिन्छ । २४ घन्टामा उहाँ जम्मा धेरैमा आधा घन्टामात्र सुत्ने गर्नुहुन्थ्यो । जीवनभरि नुन र खुर्सानीको सेवन नगरी सम्पूर्ण जीवनयापित गर्ने योगी नरहरिनाथले आफ्नो मस्तिष्कलाई सदा गतिशील राखी आफ्नो कल्याण र संसारको कल्याण सँगसँगै गर्नुभयो । योगी नरहरिनाथजीको सदाआसनमा बस्ने अभ्यासले गर्दा २४ घन्टामा आधा घन्टामात्र विश्राम गरे पुग्दथ्यो । प्राणयामको विधिबाट सम्पूर्ण चक्र र कुण्डलिनी जागरण भएको हुँदा उहाँको वाचनशक्ति धाराप्रवाह रूपमा घन्टौंसम्म बोल्दा पनि उहाँमा शक्तिको कमी भएको आभास हुँदैनथ्यो । २०३२ सालमा उहाँलाई त्यतिबेलाको सरकारले ३६ महिनासम्म नख्खु जेलमा कठिन कारावासमय यातना दियो ।
उहाँलाई मार्न भनेर कारागार भित्रै बस्ने आसन वरिपरि करेन्ट लगाउने र विष खुवाएर मार्नेजस्ता प्रयास गर्न पनि त्यति बेलाको सरकार पछि परेन । एउटा योगीका लागि आजै मर्नुपरे पनि कुनै हर्ष हुँदैन । हजारौं वर्षपछि मर्नु परे पनि कुनै चिन्ता हुँदैन । सिद्ध योगीले मृत्युलाई पनि आफ्नो वशमा गरेर मृत्युलाई मृत्युदण्ड दिन सक्छन् । त्यस्ता योगीको अंश भएका योगी नरहरिनाथलाई करेन्ट लगाएर मार्न खोज्दा तुरुन्त आसन बाँधी सम्पूर्ण प्राणलाई शिरमा लगेर मृत्युमाथि विजय गरी समाधिबाटै यात्रा गरी 'आध्यात्मिक नेपाल' भन्ने पुस्तक लेख्नुभएको छ जसमा नेपालभरिका सम्पूर्ण तपोभूमिहरूको सार्थक परिचय दिनुभएको छ ।
२०१४ सालमा मानसरोवर कैलाश यात्रामा जाँदा हिममानवसँग भएको भेटलाई पनि योगीजीले 'यो यति' भन्ने पुस्तकमा लेख्नुभएको छ । गोरक्षनाथ पद्धतिको योग सिद्धान्तलाई आफूमा उतार्ने योगी नरहरिनाथलाई चिन्न सक्यौं भने हामीले हाम्रो उद्धारको मार्ग पहिल्याउन सक्छौं । योगी नरहरिनाथले आफ्नो दुवै मस्तिष्क (दायाँ र बायाँ) को प्रयोग गर्नुहुन्थ्यो जसको उदाहरण 'लंका संकल्प' भन्ने पुस्तकमा पाउन सकिन्छ । जुन ग्रन्थलाई योगीजीले श्रीलंकामा भएको विश्व हिन्दु सम्मेलनमा एक घन्टाभित्र जन्म गराउनुभएको थियो । योगीजी बोल्दै सुन्दै लेख्दै तीन काम एकैपटक गरेको पनि विभिन्न ठाउँमा देखिएको छ । यी सबै योगी सिद्धिको प्रतिफल हो ।
योगी नरहरिनाथज्यूको विद्यार्थी जीवन पनि अत्यन्त अद्भुत छ । योगीजीको मेधावी क्षमता सामान्य छैन । परीक्षाकक्षामै बसेर १० अंकको निबन्धका लागि ३ हजार १३ श्लोकको रचना गर्न सक्ने मेधावी क्षमतालाई सामान्य पक्कै भन्न मिल्दैन । अत्यन्त तीक्ष्ण बुद्धि भएको हुनाले उहाँका विद्या गुरु विश्वनाथ शास्त्री प्रभाकरले उहाँलाई लौहपुरुषको उपमा पनि दिनुभएको छ । त्यसैले गर्दा होला योगीजीलाई वैदिक वाङ्मयले अत्यन्त आकर्षित गरेको देखिन्छ । उहाँ आफ्ना हरेक वाणीमा वेदका मन्त्रहरूको उच्चारण नगरिकन कुनै पनि कुराको थालनी गर्नु हुँदैनथ्यो ।
संस्कृत भाषामा रचना गर्नुभएको सांख्य वसन्त, अन्योक्ति मुक्तावली, शान्ति चरितम् गोरक्षकल्प द्रुम: श्री गोरक्ष वसन्त स्तोत्र, गोरक्षस्तुति: गोरक्षक्षस्तव: गोरक्षधन्याष्टकम्, गोरक्षरक्षवाले जस्ता काव्यहरू संस्कृत साहित्यमा अत्यन्त उच्च स्थान राख्छन् । इतिहास प्रकाशमा सन्धि पत्रसंग्रह, मेरो ऐतिहासिक शिखरिणी यात्रा, पशुपतिनाथ दर्शन महाशास्त्रम्, पशुपतिमन्तम, जय गोर्खा, हाम्रो देश दर्शन, देवता तीर्थमालाजस्ता ग्रन्थहरूल जो कोही मानवलाई पनि सत्य मार्गमा प्रेरित बनाइराख्छन् । संस्कृत भाषामा नै चिठीपत्र लेख्नुहुने योगी नरहरिनाथज्यूले भारतका अटलबिहारी वाजपेयीलाई लेखेको यो पत्रले पनि उहाँ संस्कृत मौलिकता र सरलतालाई पुष्टाएको भान हुन्छ ।
मिति: २०५३/२/३/५
क्रमांक ९८४
भारतप्रधानमन्त्रिन् !
अटलविहारिन् !
वाजपेयिन् !
नवदेहली
प्रधानमन्त्रिन् ! वर्धस्व ।
वर्धतां देशिक: श्रीमान् संविन्मार्ग च वर्धताम् ।
महेश्वराष्ट्र वर्धन्तो ‘वर्धतां च महेश्वर : ।।
पत्रहरो भिषग्वर: श्रीदेव अज्र्याल श्रीमत्: समीप–मेति । भवत: स्वास्थ्यं भारतस्वास्थ्यं विश्वस्वास्थ्यं कामयते विस्तरो–मौखिक: । हिन्दुराष्ट्रं हिन्दुस्थानमपि हिन्दुराष्ट्रत्वेन परिणतं द्रष्टुमिच्छति भवति भवति प्रधाने मन्त्रिणि ।
शिवम् ।
भावत्क:–
योगी नरहरिनाथ:
प्रस्तुत पत्रमा योगीजीले अटलबिहारीजीको स्वास्थ्य भारत राष्ट्रको स्वास्थ्यको शुभकामना गर्दै भारत राष्ट्रलाई पनि हिन्दुराष्ट्रमा परिणत गर्नुपर्छ, यो सम्भव छ । हुन्छ । हुन्छ । भनेर भन्नुभएको छ ।
योगीजी विद्वान भएर पनि उहाँमा अहंकार देखिँदैन, आजीवन विद्यार्थी, आजीवन स्वयम्सेवक, आजीवन पदयात्री भएर समाज राष्ट्र एवं सम्पूर्ण विश्वलाई अविस्मरणीय गुण लगाउनु भएको छ । मानव जातिको विकास हिन्दु सभ्यताको विकास कहिले र कसरी भयो भन्ने विषयमा तथ्ययुक्त खोज योगीज्यूले गर्नुभएको छ । योगीजीको औपचारिक अध्ययन सामान्य तर योग बलको अलौकिक सामथ्र्यले गर्दा अनौपचारिक विद्यामा पारंगत योगी नरहरिनाथलाई देखेर भारतका मूर्धन्य विद्वान करपात्रीजी महाराजले भन्नुहुन्थ्यो ‘योगी नरहरिनाथ तो साक्षात : पयर से चल्ने वाला पशुपतिनाथ है ।’
योगी नरहरिनाथज्यूको योग्यता क्षमतालाई नेपालभन्दा पनि भारतका विद्वान राजनेता, सन्तहरू धेरैले राम्रोसँग बुझेको देखिन्छ । विहंगम दृष्टिकोण भएर पनि माता र मातृभूमि, गौमाताका प्रति आफ्नो सम्पूर्ण अर्पण गर्न तयार हुने योगी नरहरिनाथलाई बुझ्न मलाई लाग्छ हामीमा आध्यात्मिक साधनाको पनि आवश्यकता पर्छ । योगीज्यूले आफ्नो सम्पूर्ण जीवन इतिहास, पुरातत्व, सनातन सभ्यता, संस्कृतिका लागि समर्पण गरेर पनि प्रस्तुत श्लोक भन्नुहुन्छ :
‘सुजनता जनतापहरा नमे
न कविता कवितापहराऽ भवत ।
मजुजतोऽ नुजतो न समा श्रयो
नरहरेर हरेवमगाद् वृथा ।।
प्रस्तुत श्लोकमा योगीजी भन्नुहुन्छ:
न मैले सुसज्जन जनताको दु:खलाई हरण गर्न सकेँ । न मैले सुयोग्य कविता लेखेर कविहरूको तापलाई नै हरण गर्न सकेँ । न त मानवहरूलाई बन्धुत्वको मालामा उनेर समआ श्रयी बनाउन सकेँ । यसरी यो नरहरिका दिन र रातहरू वृथा भए यसै बिते । यो उहाँको अहंकाररहित अवस्थाको स्वरूप हो । त्यागमय स्वभावले गर्दा आज विद्वानका मनमा कविका मनमा, ज्ञानीका मनमा, ध्यानीका मनमा साधकका मनमा, विद्यार्थीका मनमा योगीका मनमा उहाँको वास छ ।
योगीजीका लागि यो सम्पूर्ण पृथ्वी सुन्दर घर हो । उहाँ भन्नुहुन्छ :
‘म छु एक्लै मेरो सकल वसुधा सुन्दर घर
हिमाली मायाले हृदय चुनियो ठाउँ कुनिको ।
(शिखरिणी यात्रा)
योगीले हिमालको बास मन पराउँछन् । योगीभित्रको शान्ति हिमालयको शान्ति मिल्दोजुल्दो हुन्छ । सम्पूर्ण पृथ्वी नै योगीजीको सुन्दर घर हो सम्पूर्ण प्राणी दाजुभाइ हुन् सबैमा माया एक समान छ ।
योगी नरहरिनाथलाई सबैले सबैले जान्नु आवश्यक छ । उहाँलाई जान्ने क्रममा सम्पूर्ण राष्ट्रको भूगोल, इतिहास, पुरातत्व संस्कार संस्कृति सभ्यता जान्न पुगिन्छ । योगीज्यूसँग जोडिएका सबै विषय सार्वजनिक सरोकारका विषय हुन् । मात्र व्यक्तिगत परिचयमुखी छैनन् । जसरी वाल्मीकि, व्यास, जनक, याज्ञवल्क्य, बुद्ध, कृष्ण, राम, सीता, यशोधरा, भृकुटी, पृथ्वीनारायण, राम शाह आदि प्रभृतिलाई जान्नु जरुरी छऽ त्यसरी नै योगीराज योगी नरहरिनाथज्यूलाई जान्नु आजको आवश्यकता हो । योगीजीले सम्पादन गरेका हरेक कृतिहरूले राष्ट्रको गरिमालाई सगरमाथाजस्तो अग्लो बनाइराखेका छन् । विश्वभरि छरिएर रहेका सम्पूर्ण हिन्दु सभ्यता अनुयायीहरूका अभिभावक योगी नरहरिनाथ हुनुहुन्छ ।
सरकारले उहाँको कर्मठतालाई देखि प्रभावित भएर विश्व शान्तिदूतको उपमाले विभूषित गरेको छ । योगी नरहरिनाथलाई विहंगम दृष्टिकोणबाट हेर्ने हो भने हिन्दुका गुरुमात्र नभएर सम्पूर्ण विश्व मानव परिवारका भरपर्दा अभिभावक हुनुहुन्छ । किनभने उहाँका सबै कार्य विश्वशान्ति विश्व कल्याणका निमित्तमा समर्पित छन् । सम्प्रदाय र जातिगत भिन्नतालाई हेरेर उहाँले प्रार्थना गर्नुभएको छैन ।उहाँको चिन्तन, कर्म स्वभाव अत्यन्त बृहत् छ । संकुचित छैन । यसको यथार्थ उदाहरण – एकपटक एक पत्रकारले सोधेको प्रश्नको उत्तरबाट प्रष्ट हुन्छ ।
पत्रकार – योगीज्यू के महिलाहरूले व्रतबन्ध गर्नुहुन्छ ? के महिलाले पनि काजक्रिया गर्नुहुन्छ ?
योगीजी – हुन्छ । हुन्छ । हुन्छ । वैदिक पुराकल्पमा जाति भेद छैन, लिंग भेद छैन, पराकल्प भनेको हिन्दु कल्प हो । महिलाले पनि व्रतबन्ध गरेर गायत्री दीक्षा लिन हुन्छ । काजक्रिया पनि गर्न मिल्छ । जति पुरुषको अधिकार छ वैदिक कर्ममा नारीको पनि त्यति अधिकार छ ।
पत्रकार – के पशुपतिनाथ मन्दिरको दर्शन क्रिश्चियन, मुसलमान सबैले गर्न मिल्छ ।
योगीजी – मिल्छ, हिन्दु, मुस्लिम, क्रिश्चियन पशुपतिनाथ सबैका साझा हुन् । भगवान् कसैका व्यक्तिगत हुँदैनन् । सबैका साझा हुन्छन् । पशुपतिनाथको दर्शन सबैले गर्न मिल्छ । गर्न पाउनुपर्छ ।
यसबाट पनि पुष्टि हुन्छ, योगी महाउदारमना हुनुहुन्छ । योगीजीलाई नबुझ्नेले राष्ट्र र राष्ट्रियतालाई बुझ्न सक्दैनन् । राष्ट्रियता बुझ्नलाई राष्ट्रको भूगोल, इतिहास, पुरातत्व भाषा, धर्म, सभ्यताको यथार्थ ज्ञान हुनुपर्छ । त्यो यथार्थ ज्ञान कुनै विदेशीले आएर लेखेको होइन । हाम्रा पुर्खाले नै लेखेको हो । त्यो यथार्थ ज्ञान योगीजीका कृतिमा छन् ।
उहाँले भन्नुभएको छ:
विदेशीको सिको गरि कन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुन भनी ।
पढी लेखी घोकी अरुकन पढाइ सब कुरा
अपूरा ती मिथ्या जब–हुन गए भ्रान्त जनता ।।
(शिखरिणी यात्रा)
यस्तो अवस्था देखेर नै योगीजीले आफ्नो सम्पूर्ण इतिहास, पुरातत्व सभ्यता संस्कृतिको यथार्थ खोजमा समर्पण गर्नुभयो । आफ्नो जीवनको ८८ वर्ष पूर्ण प्राणीमात्रको लागि कल्याण समर्पण गरेर २०५९ फागुन १३ गते राति १२ बजे यस धराधामबाट शरीर छोड्नुभयो ।