उजिरसिंह थापाको सालिक

उजिरसिंह थापाको सालिक

पाल्पा तानसेनमा उजिरसिंह थापाको सालिक अनावरण समारोहमा उपस्थित भइरहँदा मेरो मनमा उनको इतिहास झल्झली आइरह्यो । मनमा प्रश्न उठ्यो, उनको योगदान जान्ने नयाँ पुस्ता कति होलान् ? यो लेख त्यही प्रश्नले जन्माएको हो ।शाके संवत् ११११ वि.सं.१२४६ सालदेखि कुलका आदि पुरुषका रूपमा मान्दै आएका कालु थापाका दरसन्तानहरू आत्रेय बगाले थापाले चिनिन्छन् । ती सन्तानमध्ये पृथ्वीनारायण शाहको सेनामा डिठ्ठा एवम् प्रभावशाली सरदार थिए वीरभद्र थापा ।

nirmal-shresthaउनका तीन छोरा थिए- जीवन थापा, वंशराज थापा र अमरसिंह थापा । कान्छा छोरा साना काजी अमरसिंह थापाका सात भाइ छोरा थिए- भीमसेन थापा, नयनसिंह थापा, बख्तावरसिंह थापा, अमृतसिंह थापा, रणवीरसिंह थापा, रणवम थापा, रणध्वज थापा । माहिला नयनसिंह थापाले कांगडामा अंग्रेजसँगको लडाइँमा वीरगति प्राप्त गरेका थिए । उनैकी कजिनी रणकुमारीको कोखबाट वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदा चित्रानक्षत्र वृहस्पतिबारका दिन जन्मेका थिए उजिरसिंह थापा, जो पछि कर्णेल भए । पिता नयनसिंह थापाको मालकांगडाको लडाइँमा मृत्यु हुँदा उनको उमेर नौ÷दस वर्षको मात्र थियो।

उजिरसिंहका हजुरबुबा साना काजी अमरसिंह थापा पाल्पामा तैनाथ थिए । उनको १८७१ साल कात्तिक ७ गते ५५ वर्षको उमेरमा मृत्यु भएपछि मरवट नीतिबाट तिखारिएका कर्णेल उजिरसिंह थापा १९ वर्षको उमेरमा तैनाथवाला भएर पाल्पा आएका थिए । रणध्वज थापासँग रहेको संवत् १८७१ साल मिति कात्तिक वदी ९ रोज १ मा भगीरथ जैसीलाई लेखिएको रुक्कापत्रअनुसार आफ्ना हजुरबुबा साना काजी अमरसिंह थापाको मृत्यु भएको २० दिनपछि यसतर्फको अख्तियारी लिई कात्तिकको २६ गते काठमाडौंबाट हिँडेर मंसिर ८ गते तैनाथवाला भएर उनी पाल्पा आई पुगेका थिए । यिनी पाल्पा आएलगत्तै युद्धको तयारीमा लागेका थिए ।

त्यतिबेला ब्रिटिस साम्राज्यको इकोनोमिक इन्जिनको रूपमा रहेको 'इस्ट इन्डिया कम्पनी' सन् १८१३ मा चार्टर्डको नवीकरणपछि व्यापारमा भएको एकाधिकार तोडिएर चिया र चीनसँगको व्यापारमा साँघुरिन पुगेको थियो । कम्पनी सरकारलाई चीन जाने व्यापारिक मार्ग र चियाखेतीको लागि उर्वरभूमिको आवश्यकता थियो । चीन जाने बाटो र चियाखेतीको लागि उर्वरभूमि नेपालको सरहदभित्र नै थियो । यी दुवै सहज रूपले नेपालले दिँदैन भन्ने कम्पनी सरकारले बुझेको थियो । पाल्पा राज्य नेपालमा विलय भएपछि सेनहरूले चर्चेको बुटवल, स्युराजलगायतका जग्गाको राजस्व उठाउने विषयमा अंग्रेजसँग खचपच सुरु भयो ।

वि.सं. १८५२ तिर जुम्ला नेपाल अधिराज्यमा गाभिएपछि जुम्लाको अधीनमा रहेको मुस्ताङले जुम्लालाई तिर्दै आएको राजस्व नेपाललाई तिर्र्न थालेको थियो । पाल्पा विजयपछि सेनहरूले चर्चेका ती भू-भागमा नेपालको दाबी रह्यो । अर्कोतर्फ, अठारौं शताब्दीको अन्त्यतिर मुगल साम्राज्यको सूर्य अस्त हुने आभास भएपछि राजस्व पनि नउठ्ने, राज्यमा शान्ति कायम गर्न नसक्दा र कम्पनी सरकारसँग लिएको ऋण रकम पनि तिर्न नसक्दा वि.सं. १८५८ सालतिर अवधका बजिरले गोरखपुरलगायत त्यसका आसपासका क्षेत्रहरूलगायत न्यून राजस्व तिरेर अवधले कम्पनी सरकारलाई हस्तान्तरण गरेको थियो । कम्पनी सरकारले सो भू-भागमा आफ्नो दाबी गरिरहनुका साथै पूर्वका १२२ मौजाहरूको विषयमा पनि खिचिलो उठाइरहेका थियो ।

कम्पनी सरकारलाई चीन जाने व्यापारिक मार्ग र चियाखेतीको लागि उर्वरभूमिको आवश्यकता थियो । चीन जाने बाटो र चियाखेतीको लागि उर्वरभूमि नेपालको सरहदभित्र नै थियो । यी दुवै सहज रूपले नेपालले दिँदैन भन्ने कम्पनी सरकारले बुझेको थियो ।

यही खचपच बीच २५ दिनभित्र नेपालले बुटवल स्युराज नछाडे कम्पनी सरकारले सो ठाउँमा अधिकार गर्नेछ भन्ने आशयपत्र अंग्रेजले वि.सं. १८७० साल फागुनमा पठायो । नेपाल सरकारले छलफल नै गर्न नपाउँदै वि.सं. १८७१ साल वैशाख १० गतेका दिन बुटवल चौकीमा रहेका दुई चारजना नेपाली रक्षकलाई हताहत गरी कम्पनी सरकारले बुटवलमा कब्जा गर्‍यो । एक्कासि कम्पनी सरकारले कब्जा गरेपछि पाल्पाका तैनाथवाला साना काजी अमरसिंह थापा बुटवल फिर्ता गर्न वि.सं. १८७१ साल जेठ १० गतेका दिन बुटवलतिर लागे । कम्पनी सरकारका सिपाहीसँग लडी बुटवल फिर्र्ता गरे । बुटवल फिर्ता लिए पछि तिनाउ नदीको किनारमा मन्दिर निर्माण गरी लक्ष्मीनारायणको मूर्ति स्थापना गरे ।

 

बुटवल फिर्ता भए पनि कम्पनी सरकारले बुटवल, स्युराजलगायत विभिन्न विषयमा खिचलो निकाली नेपाल र कम्पनी सरकारबीच सन् १८०१ मा भएको सन्धिको धारा ५ मा व्यवस्था भएकोे 'दुई देशबीच सीमासम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सीमा निर्धारण गर्ने' व्यवस्थालाई अवहेलना गरी १ नम्बर १८१४ का दिन नेपाल उपर कम्पनी सरकारले एकतर्फी युद्ध घोषणा गरेको थियो ।

यस युद्धमा कम्पनी सरकारले रूपार, सरहानपुर, गोरखपुर, दानापुर आदि विभिन्न नाकाहरूबाट नेपालउपर आक्रमण गरी नेपालमा अधिकार जमाउने उद्देश्य राखेको थियो । सामरिक महत्व बोकेको पाल्पालाई सर गरी नेपाल दरबार र पश्चिम कुमाउँ गढवालको शक्तिसेतुलाई छिन्नभिन्न गरी नेपालको शक्तिलाई कमजोर पार्ने मनसुवा लिएर कम्पनी फौज बुटवल हुँदै पाल्पा हान्ने रणनीति बनाएको थियो । परिस्कृत हातहतियारले सुसज्जित कम्पनी फौजलाई कम सैन्यशक्ति र घरेलु हातहतियारले परास्त गर्नु चानचुने थिएन । 'युद्ध हतियारले लडिँदैन, विचारले लडिन्छ' भन्ने मूलमन्त्र बोकेका नेपाली सेनाको नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा एवम् नेपाली सेनाको सुझबुझ, रणकौशल, वीरता र धीरताले जितगढीबाट कम्पनी फौजलाई एक पटक होइन, पटकपटक परास्त गरी नेपालको सार्वभौमसत्तालाई जोगाएका थिए । यतिमात्र होइन संसारलाई नै आफ्नो साम्राज्यभित्र समेट्ने मनसुवा बोकी अगाडि बढिराखेको अंग्रेजलाई यस्तो कन्दरामा पनि हामीलाई परास्त गर्ने शक्ति रहेछ भन्ने बोध गराएका थिए ।

युद्ध कुशलता समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापामा थियो नै । युद्धमा विजय भएपछि आफ्नो भाकलबमोजिम तानसेनको मध्यभागमा तीनतले मन्दिर निर्माण गरी श्री ७ रणउजिरेश्वरी भगवतीको अष्टधातुको मूर्ति स्थापना गरी सालिन्दा कृष्णजन्माअष्टमीका दिन विजय उत्सव (जात्रा) मनाउने परम्परा बसालेकोमा उनीमा धार्मिक आस्थाको बहुलता रहेको देखिन्छ । यसको साथै राज्य व्यवस्थालाई चुस्त राख्न वि.सं. १८७९ सालमा 'जंगी तथा निजामती स्थिति बन्देज' नामक पुस्तकको तर्जुमा गरी एक कुशल प्रशासकको रूपमा पनि कर्णेल उजिरसिंह थापा देखिन्छन् ।

यस्ता वीर योद्धाको कलिलै उमेरमा वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौं आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो । मृत्युको एघारौं दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो । छोरी जन्मेपछि सपिण्डन शुद्धशान्ति कार्य रोकियो । जन्मेको एघारौं दिनमा नामकर्म, सपिण्डन शुद्धशान्ति पनि एकै दिन भयो । कर्णेल उजिसिंह थापाका छोरा शेरजंगबहादुर थापालाई जनरल भीमसेन थापाले वि.सं. १८८१ साल फागुन १८ गते आइतबार आफ्नो छोरा बनाई ल्याएका थिए । भीमसेनको घर ल्याइएकै दिन उनले कर्णेली दर्शन गरेका थिए ।

कम्पनी सरकारको नेपालसँग भएको युद्धमा हार भएको विन्दुबाट नै कम्पनी सरकारको अवनति सुरु भएको थियो । नेपालसँगको युद्धमा चेत नखाएका कम्पनी सरकारले त्यसपछि पनि अरूसँग युद्ध खेल्दै १ सितम्बर १८५८ मा एउटा मूल्यवान् उपहारको रूपमा 'हर मेजेस्टी' लाई भारत सुम्पियो । यसरी नेपालउपर आधिपत्य जमाउन खाज्ने कम्पनी सरकार भूतकालको महाविस्मरण-सागरमा विलिन हुन पुग्यो । तर वीरता, धीरता, रणकौशल, राष्ट्रियता र राष्ट्रिय गौरवको गाथासँगै नेपाल, 'नेपाल' नै रहिआएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.