पाठशालाहरू जेल बन्नु हुँदैन
शिक्षाको मूल उद्देश्य एक बृहत्तर नागरिक बनाउनु हो । यस्तो नागरिक, जो आफ्नै मेहनत र बलबुताले कमाउन सकोस् । जीविका चलाउन सकोस् । जसको आचरणमा सबैप्रति बराबरको भावना होओस् । अनि उसले जाति, धर्म र क्षेत्रभन्दा माथि उठेर समाजको उन्नति, प्रगतिबारे सोच्ने सामथ्र्य राखोस् । ऊ संवेदनशील, तर्कशील र वैज्ञानिक सोचको होस् ।थाहा छैन, मेरो कुरा कतिले बुझ्छन् । आज बिहान मैले एकजना परिचितका छोराछोरीलाई भेटेँ । १२ कक्षाको परीक्षा दिएको १७ वर्षे भाइका लागि दिदी राहदानी बनाइदिन गइरहेकी थिइन् । दिदी दुईमहिने शिशु छाडेर भाइका लागि गएकी रहिछन् । मैले भाइलाई सोधँे, 'तिमी राहदानी बनाउन एक्लै जान सक्दैनौ ? ' उसलेभन्दा अघि सरेर दिदीले भनी, 'हामीले उसलाई एक्लै कतै पनि पठाएका छैनौं । बुबाले मलाई मुम्बईदेखि फोन गरेर उसँग जान भन्नुभएको हो ।'
हेरौं न, यो कुरा सामान्य देखिए पनि यसमा कति आयामहरू छन् । जो राहदानी बनाउन गइरहेछ, केही समयमै विदेश जाँदैछ । विदेश त ऊ एक्लै जाँदैछ । तर, आफ्नै देशको २० किलोमिटर पर्तिर रेलमा एक्लै जान उसलाई परिवारको अनुमति छैन । हाम्रो सम्पूर्ण शिक्षा प्रणाली यस्तै छ । हामी उनीहरूलाई एक स्वतन्त्र व्यक्ति बन्नै दिइरहेका छैनौं । यदि त्यो राहदानी लिन जाने केटालाई एक्लै पठाइन्थ्यो भने उसले बाटो आफैं पत्ता लगाउँथ्यो । टिकट आफैं काट्थ्यो । रेल स्टेसन वा सरकारी कार्यालय आफैं खोज्थ्यो । कार्यालयका प्रक्रिया बुज्थ्यो र धेरै अनुभव बटुल्थ्यो । यस्ता उदाहरण दिनहुँ हामी कति भेट्छौं कति । आज फारम भर्ने अन्तिम दिन भन्दै सबेरै स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै कुदिरहेका बाबुआमा भेटिन्छन् । फारम छोराछोरीको हो, छोराछोरी सक्षम भइसके तर हैरानी आमाबाबुलाई । हामी केटाकेटीलाई आफ्नै खुट्टामा उभिने अवसरै दिँदैनौं ।
१५-१६ वर्षको बालकको व्यक्तित्व यस्तो विकास भइसकेको हुन्छ कि उसमा सारा संसार एक्लै घुम्न सक्ने सामथ्र्य हुन्छ । व्यक्तित्वको विकासका लागि कक्षामा पहिला दोस्रा नै हुनुपर्छ भन्ने होइन । माध्यमिक शिक्षा हासिल गरेको नवजवानमा संसारको भौगोलिक र राजनीतिक ज्ञान हुन्छ । अभिभावक पोस्ट् ग्रयजुएट सन्ततिका लागि पनि सम्पूर्ण तयारी आफैं गरिदिन्छन्, मानौं ऊ चन्द्रमामा गइरहेको छ । हामीले शिक्षालाई असल नागरिक निर्माणमा होइन, केवल कक्षा चढ्ने माध्यम मात्र बनाइयौं ।
के हो असल शिक्षा ?
हामीले साना बालबालिकालाई हाम्रै आसपासको कुरा सिकाएनौं र महादेश-महासागरबारे रटायौं । आफ्नो जिल्लाको नक्सा, नजिकको नदी, तलाउ, नहर, पाटीपौवा, चौतारी, प्राचीन स्मारक तथा स्थानीय इतिहास, भूगोल, जंगल र रूखसँग परिचय गराएनौं ।हाम्रो शिक्षाले बालकलाई स्वस्थ नागरिक बन्नसमेत बञ्चित गरिरहेको छ । अंग्रेजीको बोझ, धेरै किताबको भार र परीक्षाको तनावले बालबालिका पीडित छन् । यसले गर्दा उनीहरूलाई सबेरै उठ्नुपर्ने र अबेरमात्र सुत्न पाउने बाध्यता छ । अनिद्राका कारण कलिलैमा उनीहहरू मधुमेह, रक्तचाप, हृदयाघात र अस्वाभाविक मोटोपनको सिकार भइरहेछन् । यतिमात्र होइन, जिद्दीवाल, अटेरी, चिडचिडाहट र डिप्रेसनसमेत देखिन थालेको छ । यसले उनीहरूलाई निराश र हिंस्रकसमेत बनाइरहेको छ ।
शिक्षाले यस्ता सबै कुरामा ध्यान दिनुपर्छ । ठूला-ठूला डिग्री, पीएचडी, इन्जिनियर वा डाक्टर महत्वपूर्ण होइन, महत्वपूर्ण कुरा त शिक्षा पाएको व्यक्ति समाजमा इमानदार छ कि छैन वा समाजलाई इमानदार बनाउन उसको योगदान रहेको छ कि छैन भन्ने हो । भारतीय शिक्षाको तुलनामा युरोप, अमेरिका र अस्ट्रेलियाको शिक्षा प्रणाली मुक्त किसिमको छ । सफाइ कर्मचारी वा नाईको जीवनशैली त्यहाँ अधिकृत वा विश्वविद्यालयको प्राध्यापककोभन्दा खासै फरक हुँदैन । शिक्षाको सही लक्ष्य पनि यस्तै नागरिक तयार गर्नु हो, जो हरेक कामलाई बराबर सम्मान दिन सक्छन् ।
करोडौं बेरोजगार उत्पादन गरिरहेको आजको शिक्षासँग को सन्तुष्ट हुन सक्छ ? हरेक वर्ष हजारौं युवा इन्जिनियरिङको डिग्री लिन्छन् तर यसले इन्जिनियरङ शब्दकै अपमान गरिरहेको छ । त्यस्ता डिग्रीवालालाई यहाँ न सामान्य किला ठोक्न आउँछ, न त बिजुलीको तार वाइरिङ गर्न । इन्जिनियरलाई त्यति पनि आउँदैन जति एउटा सामान्य मिस्त्रीको बच्चाले देखेर नै जानेको हुन्छ ।
एउटा उदाहरण हेरौं न, घरमा एकदिन चल्दाचल्दैको वासिङ मेसिन बिग्रियो । छिमेकमा इलेक्ट्रिकल इन्जिनियरिङ अन्तिम वर्षका एकजना विद्यार्थी थिए । अर्का एकजना मेकानिकलका विद्यार्थी पनि थिए । दुवैजनालाई बोलाइयो र दुवैले अलगअलग मेसिन ठीक पार्ने प्रयास गरे । दुवैजना मिलेर पनि प्रयास गरे । तर मेसिन चलेन । साँझ एकजना मिस्त्री बोलाइयो । मेसिन तुरुन्त चल्न थाल्यो । मैले त्यो मिस्त्रीलाई सोधेँ- 'कति पढेका छौ ? ' बिचरा ऊ लाजले रातो भयो । ऊ १० कक्षामा फेल भएको रहेछ । यसरी प्रमाणपत्रले अनुत्तीर्ण घोषित नागरिक देशका हरेक मेसिन चलाउने क्षमता राख्छन् ।
जीवनको पाठशाला
समाजमा एउटा अर्को वर्ग छ, जो सबै कुरा जीवनको पाठशालाबाट सिकिरहेको हुन्छ । मोटरसाइकल वर्कसप र मोटर ग्यारेजहरूमा काम गरिरहेका हजारौं किशोरहरूले डिग्रीको कुरा छाडौं, राम्ररी साक्षर बन्ने मौका पनि पाएका छैनन् । तर उनीहरू नहुने हो भने समाजका हरेक गाडीहरू रोकिनेछन् । फेरि उनीहरूलाई के नै मिलेको छ र ? उनीहरू मुस्किलले आफ्नो पेट पालिरहेका छन् । दुनियाँका हरेक अवरुद्ध गाडी चलाइदिने यी मेहनतीले आफ्नै जिन्दगीको गाडी भने राम्ररी चलाउन पाइरहेका छैनन् । काम गर्नेहरूको जति अपमान यो देश (भारत) मा छ, अन्त छैन । शिक्षामा काम र काममा शिक्षाबारे अलिकतिमात्र ध्यान दिनसके हाम्रा नानीहरू यति कमजोर नागरिक बन्ने थिएनन्, जसलाई वासिङ मेसिन र फ्रिज बनाउन होइन, कपडा धुन, तरकारी काट्न, सरसफाइ गर्न र कमिजको टाँक लगाउनसमेत आउँदैन ।
मेरा एकजना मित्र दक्षिण अफ्रिका बसेर फर्केका थिए । उनको बच्चाको अनुभव बडो रोचक थियो । चार-पाँच कक्षा पढेका उनले सिलाइ र टाँक लगाउन सिकेका थिए । सिकर्मी काम सिक्न महिनामा दुई दिन छुट्याइएको थियो । खाना पकाउन सिक्नु त अनिवार्य थियो । घरका सानातिना काम पनि बच्चालाई स्कुलमै सिकाइन्थ्यो । हाम्रो देशका धनी र खानदानी परिवारसँग यसको तुलना गर्नुहोस् त । अब त मध्यम वर्गीय परिवारमा पनि बजारबाट सामान आफैं ल्याउनु प्रतिष्ठाको खिलाफ भइसक्यो । फोनबाट पसलेलाई होम डेलिभरिका लागि नोट गरायो । बस् सामान कोठामा आइपुगिहाल्छ ।
श्रमको महत्व शिक्षाको पहिलो प्राथमिकता हुनुपर्छ । आजकल पढेलेखेका मानिसले घरको काम गर्नु वा बजारबाट सामान ल्याउनु उनको हैसियतको अपमानजस्तो भएको छ । यस्तो संस्कारमा हुर्किरहेका आजका बालबालिकाले भोलि पढाइ सिध्याएपछि श्रम गर्नेलाई दोस्रो दर्जाको नागरिक ठान्नेछन् । श्रमको महत्वलाई कम आँक्ने यो नवाबी संस्कार अहिले द्रुत गतिमा फैलदैँछ ।
युरोप, अमेरिकाको नक्कल गरेर हामीले जिन्स पहिरने जीवनशैली त अपनायौं तर उनीहरूले जस्तै आफ्नो काम आफैं गर्ने संस्कृति भने सिकेनौं । हामीले नक्कल पनि आधा गर्र्यौं । गान्धीले भनेका छन्, 'जो श्रम गर्दैन, उसलाई खाने अधिकार रहँदैन ।' प्राथमिक शिक्षाजस्तो सबैभन्दा गम्भीर अभिभारा हाम्रोमा सामान्य योग्यताका अपरिपक्व व्यक्तिले परम्परागत तरिकाले सम्हालिरहेका छन् । जो हरेक दिन आफ्नो कुण्ठा, असन्तुष्टि र वर्चस्व जबर्जस्ती कलिला नानीहरूमाथि थोपरिरहेछन् ।
विभेदकारी निजी शिक्षा
करिब एक दशकअघिको कुरा हो, क्यानडामा एकदिन अचानक जनता सडकमा ओर्लिए । उनीहरूको माग थियो- 'शिक्षामा असमानताको रोक । ९९ प्रतिशत समान शिक्षा उपलब्ध देशमा एक प्रतिशत निजीकरण गर्न खोज्दा जनता यसरी सडकमा ओर्लेका थिए । उनीहरू भनिरहेका थिए, 'शिक्षामा निजीकरण गर्न पाइँदैन ।' के हाम्रोमा शिक्षामा निजीकरणको विरोधमा कहिल्यै आवाज उठेको छ ? उल्टो मध्यम र उच्च वर्गले शिक्षामा निजीकरणलाई बढावा दिइरहेको छ।
भारतजस्तो बहुभाषी तथा विविध संस्कृतिको देशमा एउटै कक्षामा फरक-फरक पृष्ठभूमिका बच्चा रहँदा सोच्नुहोस् त शिक्षा कस्तो रमाइलो र बहुरंगी हुन्थ्यो । कक्षामा आदिवासी बच्चाहरूले आ-आफ्नो परम्पराको कुरा गर्थे । धनी, गरिब, वकिल, कर्मचारी सबैका बच्चा एउटै कक्षामा हुँदा उनीहरूले फरकफरक अनुभव गर्न पाउँथे । एकआपसबाटै धेरैभन्दा धेरै जानकारी हासिल गर्थे । यसले समभाव र समानताको पनि विकास हुन्थ्यो । धनीका बच्चालाई गरिबको घरमा केकस्तो हुन्छ थाहा हुन्थ्यो । यसले भविष्यका प्रशासक दक्ष बन्थे । बच्चा संवेदनशील नागरिक बन्थे । अब भारतीय जनता जाग्न जरुरी छ । उनीहरू सडकमा आउन आवश्यक भइसकेको छ र अब जोडले भन्नु परेको छ- 'हामीलाई निजी स्कुल चाहिँदैन ।'
सरकारी स्कुल त्यति पंगु छैनन्, जति प्रचार गरिएको छ । सरकारी स्कुलविरुद्धको प्रचार त एक राजनीति हो । विश्व बैंक, अमेरिका वा अन्य एजेन्सीहरूको दबाबमा विकासोन्मुख देशहरूमा निजी स्कुल बढाउने दबाब जारी छ । सबैतिर निजीकरण बढिरहेको छ भने शिक्षामा निजीकरण बढाउँदा के हुन्छ भन्ने उनीहरूको तर्क छ । निजी स्कुल तबमात्र बढ्छन् जब सरकारी स्कुल बदनाम हुन्छन् । सरकारी जति बदनाम भए, निजी स्कुल बढाउन त्यति सजिलो हुन्छ । राजनीतिक दलहरू पनि यही चाहन्छन् किनभने निजी स्कुल सञ्चालकहरू कि कुनै न कुनै पार्टीका कार्यकर्ता छन् या पार्टीका चन्दादाता ।
निजी स्कुलहरू सामाजिक न्याय र परिवर्तनप्रति बेपर्वाह छन् किनभने निजी स्कुल मुनाफाको एक धन्दा मात्र हो । समाजमा सम्मान मिल्ने र नाफा हुने धन्दा । उनीहरू विज्ञापन गर्छन्- हाम्रा कक्षाहरू वातानुकूलित छन्, हामी छुट्टीमा विदेश घुमाउँछौं, अंग्रेजी हाम्री अधिष्ठात्री देवी हुन् आदि । अहिले त निजी स्कुलमा जस्तो मनमौजी कुनै क्षेत्रमा छैन । उनीहरूले कुनै जिम्मेवारी र सामाजिक दायित्व बहन गर्नु पर्दैन न त सरकारले कुनै अंकुश नै लगाउन सक्छ । अहिले हामी पनि बच्चालाई उसको नाम, रुचि वा परिचयभन्दा पनि पहिले कुन स्कुलमा पढ्छौ भनी सोध्छौं । किनभने बच्चाले भन्ने स्कुलको नामबाटै उसका आमाबाबु र परिवारको हैसियत पत्ता लगाइन्छ ।
'मन्डे टेस्ट' को मार र सिर्जनशीलताको हत्या
अधिकांश निजी स्कुलहरूले हरेक साता परीक्षा लिएर बच्चालाई अर्को आतंक थपिदिएका छन् । हरेक 'मन्डे टेस्ट' मा उनीहरू तयार हुनैपर्यो । तिनलाई बिदामा पनि अरू कुरा सोच्ने फुर्सद छैन । तिनका अभिभावकसमेत 'मन्डे टेस्ट'मै मग्न । कोही पाहुना आएका छन् भने पनि शरीर पाहुनानजिक तर ध्यान बच्चालाई रटाउनमै र 'मन्डे टेस्ट' का लागि तयार पार्नमै हुन्छ । परीक्षा... परीक्षा... को यो तनावले बालबालिकामाथि हामी आतंक शिक्षाप्रणालीलाई स्थापित गरिरहेका छौं । शिक्षाको अर्थ असल नागरिक चरित्र निर्माण गर्नु नभएर यो ८० प्रतिशत, ९० प्रतिशतको 'मुसा दौड' मा सामेल हुनु रहेको छ । यसले ट्युसन र कोचिङ सेन्टरको बाढी आउन थालेको छ । अनि पढाइ चाहिनेभन्दा ठूलो बोझ बनेको छ ।
रटन्ते विद्याले बालबालिकाको रचनात्मकतामा गिरावट आइरहको छ । सबै वर्ग, पेसा, धर्म, सम्प्रदायका बालबालिका एकै छतमुनि अटाउन सके यसले शिक्षामा समानता स्थापितमात्र गर्दैन, बच्चालाई सहपाठीहरूबाट पनि धेरैभन्दा धेरै सिकाउँछ । बच्चाले शिक्षक र पाठ्यक्रमबाट मात्र होइन, सहपाठीबाट पनि धेरै सिकिरहेको हुन्छ । बच्चा भनेको ज्ञानको ग्राहक मात्र होइन, ऊ स्वयम् सर्जक हो, जसले आफ्नो बोली, भाषा, अनुभव र परिवेशबाट एकसाथ सिकिरहेको हुन्छ । रचनात्मकताका लागि बच्चाले आफ्नो मातृभाषामा कम्तीमा प्राथमिक स्तरसम्मको शिक्षा हासिल गर्न पाउनुपर्छ । मातृभाषामा शिक्षा नदिँदा बचपनबाटै हामी उसको सिर्जनशीलताको हत्या गरिरहेका छौं ।
धेरैजसोले आफूखुसी आफ्नो रुचिको विषय पढ्न पनि पाउँदैनन् । उसको ८० प्रतिशत फैसला आमाबाबुले गर्छन् र डिग्रीवाला आमाबाबु छन् भने यो प्रतिशत बढ्छ । यसमा ग्रामीण बालबालिकालाई फाइदा छ किनभने उनीहरूले बाबुआमाको डिग्रीको बोझको सिकार हुनु पर्दैन ।
बाह्य किताब दिनुहोसबच्चामात्र होइन, ठूला मानिस पनि पाठ्यक्रममात्र पढेर असल बन्न सक्दैनन् । म धेरै अधिकृत र कर्मचारीहरू देख्छु, नोकरीमा लागेपछि उनीहरू पढ्न लगभग बन्द गर्छन् । अखबारसम्म पनि उनीहरू मुस्किलले हेर्छन् । बच्चाको पहिलो पाठ त अभिभावक र आसपासको परिवेश नै हो । तपाईं घरमा गएर सीधै टेलिभिजन खोल्नुहुन्छ, या इन्टरनेटमा बस्नुहुन्छ । क्लबमा गएर तास खेल्नुहुन्छ अथवा रेस्टुरेन्टमा गफ ठोक्नुहुन्छ । यसको सीधा असर तपाईंको बच्चामा परिरहेको हुन्छ । साहित्य, विज्ञान, कला, राजनीति, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, मनोविज्ञान, भूगोल आदिका असल किताब तपाईंसँग छन् र तपाईं बेलाबेलामा राम्रा किताब किन्नुहुन्छ अथवा फुर्सदमा पढ्नुहुन्छ वा किताबबारे कुराकानी गर्नुहुन्छ भने बच्चामा पनि पठन संस्कार बस्छ । एउटा सानो पुस्तकालय घरमै छ भने त्यो एकदमै राम्रो हुन्छ बच्चाका लागि ।
तर, अफशोच अधिकांश भारतीय अझ तथाकथित अमिरहरूको घरमा झन् एउटै किताब देखिँदैन । खेलौना, सजावटका सामान र इलेक्ट्रोनिक ग्याजेटहरू तिनका घरमा यत्रतत्र देखिन्छन् तर किताब भेटिँदैन । कुनै पनि बालक वर्षैभरि कोर्सकै किताबमात्र पढिरहन सक्दैन । उसलाई दिलखुस हुन र आनन्द तथा मनोरञ्जनका लागि पनि अरु किताब पढ्न दिनै पर्छ । सहरियाहरू आफ्ना नानीहरूलाई लगातार ट्युसन र कोचिङ कक्षामा धकेल्छन् तर किताब दिँदैनन् । अनि बिस्तारै बालक किताबसँग टाढिँदै जान थाल्छ र पाठ्यक्रमकै पनि राम्ररी पढ्न सक्दैन ।
बच्चा आफैं विद्यालय जान उत्साहित हुने वातावरण हुनुपर्छ । डराउने होइन । विश्वकवि रवीन्द्रनाथ ठाकुरले भनेका छन्, 'हाम्रा पाठशालाहरू जेल बन्नु हुँदैन, जहाँ आउँदा बच्चा डराउने गर्छन् ।' हुन पनि बच्चाको खुसी नै शिक्षाको सबैभन्दा ठूलो पुरस्कार हो ।
(साहित्य एकेडेमी पुरस्कार प्राप्त भारतीय शिक्षाविद् प्रेमपाल शर्माका साहित्य, भाषा र शिक्षासम्बन्धी डेढ दर्जन पुस्तक प्रकाशित छन् । शर्मासँग दैनिक जागरणका पत्रकार अनुरागले संवाद गरी तयार पारेको पुस्तक 'शिक्षा, भाषा और प्रशासन'बाट भाषान्तर : अनन्त वाग्ले)