बाहुबली-२ : मानकै मानक

बाहुबली-२ : मानकै मानक

बजारमा सामान त्यसैले बेच्न सक्छ जसले ग्राहक किन्न सक्छ । त्यो भनेको ग्राहकको मनोविज्ञान किन्नु हो । अहिले व्यापक चर्चामा रहेको एस एस राजामौली निर्देशित फिल्म ‘बाहुबली २' ले पनि यही मनोविज्ञानलाई पछ्यायो । हलमा फिल्म हेर्ने दर्शकको चाप थामिनसक्नुको छ । यो दृश्य भारतमात्र नभएर नेपालदेखि अमेरिकासम्मै देखिएको छ । बाहुबलीको पहिलो शृंखलामा ‘कटप्पाले बाहुबलीलाई किन मा‍र्‍यो ? ' भन्ने कौतुहलता दर्शकको मनमा छोडेको थियो । त्यही कौतुहलताले सायद दर्शकलाई फिल्म हलसम्म डोर्‍यायो ।

पहिलो शृंखलादेखि नै निर्देशक राजामौलीले दर्शकलाई लार्जर देन लाइफको यस्तो कल्पनाको दुनियाँमा पुर्‍याइदिए जुन दर्शकले अपेक्षा गरेभन्दा विल्कुल विपरीत थियो । फिल्म हेर्न दर्शक ओइरनुको पछाडि राजामौलीले स्क्रिनमा देखाएको जादुमयी कल्पनाशीलताको उडान प्रमुख रह्यो । दर्शकको कल्पनाको घेरालाई नै साँघुरो बनाइदिने उनको फिल्मलाई दर्शकले मन नपराई बसिरहन सकेनन् । दोस्रो शृंखलासम्म आइपुग्दा त्यो अति नै भव्य भइसक्यो । बक्स अफिसमा फिल्मले भत्काएका अनेक मानकले यसको पुष्टि गर्छ ।

सामान्य कथामा बनेको स्वरैकल्पनाको भिन्न संसारले दर्शकको मनोविज्ञानमा कल्पनाको शासन स्थापित भयो । ‘कटप्पाले बाहुबलीलाई किन मार्‍यो ? ' बाट दर्शकलाई फलामले चुम्बक ताने जसरी तान्यो । बाहुबलीले दोस्रो शृंखलाको स्पेसल इफेक्टको प्रयोगले दर्शकको मन जित्यो । दर्शकसँगै फिल्मले समीक्षकलाई पनि नतमस्तक तुल्यायो । कथा सामान्य नै भए पनि ‘सिनेम्याटिक स्टाइल'ले फिल्मलाई विशेष बनाएको छ । फिल्ममा राजामौलीले खडा गरेको भव्य महिशमती साम्राज्य, भयानक एक्सन दृश्य, कलाकारको जोडदार अभिनयले दर्शक लठ्ठ पर्छन् ।
...
निर्देशक राजामौलीले आफ्नो सुपरहिट फिल्म शृंखलाको सूचिलाई ११औं फिल्मसम्म आइपुग्दा अझ बृहत्तर बनाउन सके । उनको सिनेम्याटिक स्टाइलका अगाडि दुनियाँमा भारतीय फिल्मको ‘कभर' बनेको बलिउडसमेत हेरेको हेर्‍यै बन्यो । अनलाइन बुकिङमा फिल्मले कीर्तिमान कायम गर्‍यो । मान्छेहरू टिकटका लागि चार हजार भारु बढी रकमसम्म तिर्न तयार भए । प्रति १२ सेकेन्डमा एउटा टिकट अनलाइनमा बिक्री भयो । बुकिङ गर्नेको चाप थेग्न नसकेर कयौं साइट डाउनसमेत भए ।

बलिउड फिल्मले सफलताको मानक मान्दै आएको एक सय करोडको कमाइलाई ‘बाहुबली'ले पहिलो दिनमै पार गरेर आश्चर्यचकित बनाइदियो । किनकि यसअघि कुनै पनि भारतीय फिल्मले यो आँकडा पार गर्न सकेको थिएन । तेलेगु र तमिल भाषामा बनाइएको र हिन्दीलगायत भाषामा डब भएको फिल्मले सलमान खान आमिर खान र शाहरुख खानको बक्स अफिस दादागिरीलाई साइड लगायो, फिल्मको हिन्दी डबले मात्र पहिलो दिनमा ४१ करोड भारु कमाइ ग‍र्‍यो । फिल्मले अमेरिकी बक्स अफिसमा हलिउड स्टार इम्मा वाटसनको फिल्मलाई समेत पछाडि पारिदियो ।

‘बाहुबली' फ्रान्चाइजको सफलताले भारतीय फिल्म इतिहासलाई पोस्ट र प्रिबाहुबलीको कोणबाट हेर्नुपर्ने तथ्यमा उभ्याइदिएको छ ।

अमेरिकामा कुल ४५० पर्दामा रिलिज भएको फिल्मले प्रदर्शनको ओपनिङमा करिब १०.३५ मिलियन डलरको कमाइ गर्‍यो । जबकि हलिउड बक्स अफिसमा रिलिज भएका फिल्मभन्दा कम हलमा लागेको थियो बाहुबली । नेपाली बक्स अफिसमा फिल्मको लाइफटाइम ग्रस कलेक्सन १२ करोड माथि सजिलै जाने अनुमान गरिएको छ । फिल्मले नेपाली बक्स अफिसबाट शुक्रबार तथा शनिबार करिब पाँच करोड माथि कमाएको आँकडा सार्वजनिक भएको छ ।
फिल्मको नेपाल वितरण अधिकारका लागि यसअघि कुनै पनि दक्षिण भारतीय फिल्मका लागि कहिल्यै नतिरेको तीन करोड २० लाख रुपैयाँ ति‍र्‍यो जबकि पहिलो शृंखला किन्न केही लाखमात्र तिरिएको थियो । फिल्मले अझै दुई साता उत्साहजनक व्यापार गर्ने हलवालाहरूले बताएका छन् । फिल्मले विश्वव्यापीरूपमा हजार करोडको व्यापार सजिलै गर्ने आकलन गरिएको छ ।
...

फिल्मले यस्तो सफलता पाउनुको पछाडि ठूलै मेहनत र जोखिम मोलेको छ । दुई शृंखलालाई हलसम्म ल्याइपु‍र्‍याउन करिब पाँच वर्षको मेहनत र झन्डै ५ सय करोड भारु लगानी भएको छ । फिल्मकै कारण मुख्य अभिनेता प्रभास (बाहुबली) ले आफ्नो विवाहसमेत सारे । उनको शरीर बनाउनमात्रै १.५ करोड भारु रकम खर्च भएको छ ।

फिल्मका लागि एक सय ५० फिटको त कृत्रिम झरनाको निर्माण गरिएको थियो । झरना बनाउनमात्रै दुई वर्षको समय खर्च भएको थियो । फिल्ममा ८० प्रतिशत बढी कम्पियुटर जेनेरेटेड इमेजरी (सीजीआई) प्रविधिको प्रयोग भएको छ । फिल्ममा २५ सय बढी भीएफएस सटहरू प्रयोग गरिएको छ । फिल्ममा पाँच सयको संख्या रहेका युनिटले काम गरेका छन् । क्रोमामा मात्रै फिल्मलाई एक सय २० दिन खिच्ने काम भएको छ । हलिउड स्तरको फिल्ममा झन्डै शतप्रतिशत भारतीय जनशक्तिले नै काम ग‍र्‍यो ।

राजामौली फिल्मका हिरो

फिल्मको हिन्दी डबको सेटेलाइट राइटका लागि सोनी टीभीले ५१ करोड भारु खर्चियो । यो आफैंमा एउटा आश्चर्य थियो । किनकि यसअघि यो रकममा बलिउड फिल्म किनिन्थे, तमिल, तेलेगूजस्ता क्षेत्रीय फिल्मका लागि यो फगत कल्पनामात्र थियो । बाहुबलीले त्यसलाई यथार्थ बनाइदियो । यी सब हुनुका पछाडि एउटै हिरोको सोच र हिम्मतले काम ग‍र्‍यो भने निर्देशक एसएस राजामौली हुन् ।

उनको फिल्मी करियरको रेकर्डले यस्तो काम राजामौलीबाट मात्र सम्भव थियो भने प्रष्ट पार्छ । उनी विशेषतः प्राविधिक पक्षमा उत्कृष्ट फिल्म निर्देशकका रूपमा परिचित छन् । बाहुबलीअघि उनले निर्माण गरेको ‘मख्खी' तथा ‘मगधिरा' यसका गतिला उदाहरण हुन् । यी फिल्मको सफलताले उनी दर्शकले समेत खोज्ने निर्देशक बन्न पुगे । यसअघि उनले गर्ने फिल्ममा थोरै चरित्र हुन्थे । उनलाई सजिलो थियो तर बाहुबलीमा सात बलिया चरित्रलाई सन्तुलनमा पेस गर्ने चुनौती थियो, जुन उनी आफ्नो फिल्म करियरमा पहिलो पटक गरिरहेका थिए । उनले त्यो चुनौतीको सामना सफलतापूर्वक गरेको फिल्ममा स्पष्ट देखिन्छ ।

यसका लागि लगातार तीन बल्कबस्टर हिट फिल्म दिएको अभिनेतालाई चार वर्षको समय कब्जामा लिनु सजिलो थिएन । उनले त्यसका लागि पनि प्रभासलाई मनाए । राजामौलीमाथि प्रभासको यतिसम्म विश्वास थियो कि खल्ती रित्तिने बेलासम्म पुग्दा पनि उनले विश्वास गरे । फिल्मकै लागि १० करोड भारु प्राप्त हुने विज्ञापनसमेत खेलेनन् प्रभासले । पैसा, चेक बोकेर घर आउने निर्मातालाई रित्तै हात फर्काए ।

‘बाहुबली' १ बाट आफ्नो फिल्मको भव्यताको परिचय दिएका राजामौलीको अन्तिम भाग रिलिज हुने बेलासम्म फिल्मको हाइप यस्तो थियो, सारा भारत आईपीएलमा मस्त हुँदा पनि फिल्म रिलिज भयो जबकि बलिउडले यस समयलाई फिल्म रिलिजका लागि उपयुक्त मान्दैन । यससँगै उनीसँग कुनै पनि फिल्मले जुध्ने हिम्मत गरेनन् । फिल्म भारतमा मात्रै ६ हजार बढी पर्दामा एकसाथ रिलिज भयो । ‘बाहुबली' फ्रान्चाइजको सफलताले भारतीय फिल्म इतिहासलाई पोस्ट र प्रि बाहुबलीको कोणबाट हेर्नुपर्ने तथ्यमा उभ्याइदिएको छ । बलिउडलाई आगामी दिनमा घरमै चुनौती रहेको देखाएको छ । यस्तोमा बलिउडले फिल्म निर्माण कुन शैलीमा अगाडि बढाउँछ भन्न गहन प्रश्न बनेको बलिउड फिल्म पण्डितको पर्खाइमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.