कोर्टमा टेनिस सुन्दरी मारिया सारापोभा

कोर्टमा टेनिस सुन्दरी मारिया सारापोभा

गत वर्ष मार्च दोस्रो साता रसियन टेनिस सुन्दरी मारिया सारापोभाले निक्कै अप्रिय समाचार सुनिन्, प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन (डोपिङ) परीक्षणमा असफल भएको । त्यो समाचारलाई पहिलोपटक अन्तर्राष्ट्रिय मिडियामा समेत सारापोभा आफैंले सार्वजनिकसमेत गरिन् ।पाँच पटककी ग्रान्डस्लाम विजेता तथा पूर्व शीर्ष विश्व वरीयताकी सारापोभालाई त्यो समाचारले त्यति खेरै ठूलो झड्का दिएको थियो, जति बेला अन्तर्राष्ट्रिय डोपिङ एजेन्सी (वाडा) ले खेल जीवनबाट प्रतिबन्ध लाग्न सक्ने संकेत गरेको थियो । सारापोभा निक्कै कममध्येकी महिला टेनिस खेलाडी हुन्, जसलाई कोर्टभित्र र बाहिर उत्तिकै रुचाइएको छ । कोर्टभित्र र बाहिरको चर्चाले उत्तिकै व्यापकता पाएको छ ।

तर, आफ्नो जीवनकै उच्च फर्ममा रहेको बेला खेलबाटै प्रतिबन्ध लाग्न सक्ने समाचार र त्यसले आफ्नो प्रतिष्ठामाथि पुर्‍याउने क्षतिले सारापोभालाई ठूलै तनाव दिएको थियो । तै पनि उनले त्यो समाचारलाई सहजै लिइन् । असहज अवस्थाको सहज सामना गरिन् ।उनकै भनाइअनुसार सारापोभा आफ्नो सानो गल्तीले प्रतिबन्धसम्मको अवस्थामा पुगेकी थिइन् । सारापोभाले आफ्नो स्वास्थ्यको कारण पछिल्लो झन्डै १० वर्षयता मेलडोनियम नामक औषधि सेवन गर्दै आइरहेको बताएकी छिन् । मेलडोनियम शरीरमा रक्तसञ्चार प्रक्रिया सहज र नियमित गराउन प्रयोग गरिने औषधि हो ।

वाडाले सन् २०१४ मा मेलडोनियमलाई समेत प्रतिबन्धित औषधिको सूचीमा राखिदियो । त्यसको जानकारी खेलाडीहरूलाई समेत इमेलमार्फत दिइएको थियो । सारापोभा भन्छिन्, 'मैले त्यो इमेल हेर्दै नहेरी फालिदए ।' त्यसैले त उनले आफूले प्रयोग गर्दै आइरहेको औषधि प्रतिबन्धमा परेको थाहै पाइनन्, त्यसको प्रतिफल अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले उनलाई दुई वर्षको प्रतिबन्ध लगाइदियो ।उनको अपिलपछि इन्टरनेसनल कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर्सले प्रतिबन्ध १५ महिनामा छोट्याइदियो । त्यसबेला सारापोभाले त्यो अवस्थालाई जसरी स्वीकार गरिन्, अन्तर्राष्ट्रिय टेनिस समुदायले उनको प्रशंसा गरेको थियो ।

पाँच पटककी ग्रान्डस्लाम विजेता तथा पूर्वशीर्ष विश्व वरीयताकी सारापोभालाई त्यो समाचारले त्यतिखेरै ठूलो झड्का दिएको थियो, जति बेला अन्तर्राष्ट्रिय डोपिङ एजेन्सी (वाडा) ले खेल जीवनबाट प्रतिबन्ध लाग्न सक्ने संकेत गरेको थियो ।

उनी आफ्नो १५ महिनाको प्रतिबन्धको अवधि कटाएर यसै साताबाट अन्तर्राष्ट्रिय टेनिस कोर्टमा फर्किएकी छिन् । उनी यसै साता जर्मनीको स्टुटगार्ट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी देखिइन् । स्टुटगार्टमा उनी सेमिफाइनलसम्म पुगिन् । फ्रान्सेली क्रिस्टिना म्लाडेनोभिचसँग पराजित भएपछि सारापोभा सेमिफाइनलभन्दा अघि बढ्न सकिनन् ।सारापोभा प्रतिबन्धमा पर्दा जति साथ पाएकी थिइन्, प्रतिबन्ध सक्काएर फेरिखेलमा फर्कंदा भने आफ्नै सहकर्मी खेलाडीबाट चर्काे आलोचनाको सामना गर्न परेको छ । विशेषगरी अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा उनलाई वाइल्ड कार्डमार्फत समावेश गराइएको बारे महिला खेलाडीहरूले नै उनको आलोचना गरेका छन् ।

 

प्रतिबन्धमा परेपछि वरीयतामा आफ्नो स्थान गुमाएकी सारापोभालाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न वाइल्ड कार्डकै सहायता लिनुपर्ने बाध्यता छ । स्टुटगार्ट ओपन टेनिसमा समेत आयोजकले उनलाई वाइल्ड कार्डमार्फत सहभागी गराएको थियो ।निकट भविष्यमा आयोजना हुने फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिस प्रतियोगिताको छनोटसहित अन्य आधा दर्जन प्रतियोगिताहरूमा समेत उनले वाइल्ड कार्ड पाउने सम्भावना छ । महिला खेलाडीहरूले त्यसमा समेत विरोध गरेका छन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेकी जर्मनीकी एन्जेलिक केर्बरले स्टुटगार्ट ओपन टेनिसका आयोजकले सारापोभालाई वाइल्ड कार्ड दिएकोमा आश्चर्य जनाइन् । 'जर्मनीमै राम्रा क्षमतावान् खेलाडी छन् । तर, उनीहरूलाई बेवास्ता गरेर सारापोभालाई वाइल्ड कार्ड दिएकोमा आश्चर्य लागेको छ', केर्बलले भनेकी छिन् ।
इटालियन टेनिस खेलाडी रोबर्टा भिन्सीले सारापोभालाई वाइल्ड कार्ड दिनै नमिल्ने तर्क गरिन् । 'उनले पक्कै गल्ती गरेकी हुन् । त्यसबापत उनले सजाय पनि पाइसकेकी छिन्', भिन्सी भन्छिन्, 'तर, उनलाई वाइल्ड कार्ड दिनु गलत निर्णय हो । उनी वाइल्ड कार्ड बिना खेलमा फर्कन सक्छिन् ।'

क्यानेडियन टेनिस खेलाडी युजेनी बउचर्डले त सारापोभालाई आजीवन प्रतिबन्ध लगाउनुपर्ने बताएकी छिन् । 'सारापोभा चिटर हुन् । यस्ता खेलाडीलाई कुनै पनि खेलमा खेल्ने अनुमति दिनुहुन्न', बउचर्डले भनेकी छिन्, 'उनलाई आजीवन प्रतिबन्ध लगाइनुपर्छ ।'तर, सारापोभाले भने यस्ता कुनै पनि आलोचनाको उत्तर दिएकी छैनन् । उनले भनेकी छिन्, 'म यस्ता आलोचनाभन्दा माथि छु । उनीहरूलाई मेरो खेलले जवाफ दिएको छ ।' सारापोभाको पुनरागमलाई महिला शीर्ष वरीयताकी खेलाडी सेरेना विलियम्ससहित पुरुष खेलाडी नोभाक जोकोभिच र राफेल नाडाललगायतले भने स्वागत गरेका छन् ।

सारापोभा यस्ता खेलाडी हुन्, जसले प्रायोजकबाट ठूलो साथ पाएकी छिन् । प्रायोजकहरूबाट सायद उनले अन्य खेलाडीले भन्दा बढी साथ पाएकी छिन् । लगातार ११ वर्ष विश्वकै मार्केटेवल खेलाडीको सूचीमा अग्रस्थानमा रहेकी सारापोभा प्रतिबन्धमा पर्दा समेत केही प्रायोजकले साथ छाडेनन् । खेलकुदसम्बन्धी सामग्री उत्पादन गर्ने कम्पनी नायक त्यसमध्ये एक हो ।जर्मन कम्पनी पोस्र्चेले समेत उनीसँगको सम्बन्ध पुनः सुरु गरिसकेको छ । प्रतियोगिताको प्रायोजकसमेत रहेका पोस्र्चेकै दबाबमा स्टुटगार्टमा सारापोभाले वाइल्ड कार्डको अवसर पाएकी थिइन् ।

यस्तै संयुक्त राष्ट्रसंघले पनि यस अघि नै सारापोभाको प्रतिबन्ध समाप्त भएलगत्तै पुनः आफ्नो सद्भावदूत बनाउने घोषणा गरिसकेको छ । सारापोभा सायद कर्पारेट प्रतिष्ठानहरूका लागि लाभदायक छिन्, जसको सहयोगले व्यवसायलाई माथि उठाएका मद्दत पुगेको छ । त्यसले सारापोभालाई सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा सिँढी चढ्न पनि मद्दत पुगेको छ ।

सन् २००१ बाट विश्व टेनिस महासंघ (डब्ल्यूटीए) को प्रतियोगितामा प्रतिस्पर्धा गर्न सुरु गरेकी सारापोभा फरकफरक समयमा पाँच पटक महिलाको शीर्ष वरीयतामा पुगेकी छिन् । उनी कुल २१ साता शीर्ष वरीयतामा बसेकी छिन् । करिअर ग्रान्डस्लाम जित्ने विश्वकै १० मध्ये एक तथा रसियाकी एक्ली महिला खेलाडी पनि हुन् सारापोभा । उनीसँग ओलम्पिक पदक पनि छ । सन् २०१२ मा लन्डनमा भएको ओलम्पिक खेलकुदको टेनिस महिला सिंगल्सतर्फ उनले रजत जितेकी थिइन् ।

सारापोभाले आफू डोपिङमा असफल भएको समाचार सार्वजनिक गर्दा भनेकी थिइन्, 'मैले आफ्नो करिअर यसरी टुंयाउनु चाहेको थिइनँ ।' त्यसको मतलव उनले अझै केही ग्रान्डस्लाम र एटीपी टुर प्रतियोगिता जित्ने इच्छा व्यक्त गरेकी थिइन् । उनी त्यसका लागि फेरि खेलमा फर्किएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.