एक अनुवादकको डायरी

एक अनुवादकको डायरी

दोस्रो दर्जाको लेखकको अव्यक्त व्यथा हो यो । एउटाको व्यथा सुन्ने-पढ्नेका लागि प्रायः कथाझैं लाग्न सक्छ । त्यसैले यसलाई गौण लेखकको कथाभन्दा पनि हुन्छ । यस गौण लेखकलाई दुनियाँले अनुवादक भन्छ । लेखकलाई अनुसरण गरेर लेख्ने भएकाले अनुवादकलाई पिछलग्गु लेखकभन्दा पनि हुन्छ । चलिआएको शास्त्रले आलंकारिक भाषामा उसलाई लेखकको छाया पनि भनेको छ । सुरुमा उसले शास्त्रका यिनै र यस्तै कुरा पढ्यो । त्यसैलाई स्वीकार्‍यो । व्यवहारमा यिनै र यस्तै कुरा देख्यो । तिनैलाई आत्मसात् गर्‍यो । उसले झन्डै एक दशकअघि सोच बनायोे- म पनि अनुवाद गर्छु । त्यसपछि अनुवादतिर लाग्यो । लेखकका पछाडि उभियो । लेखकको दायाँबायाँ हिँड्यो । उसले भनेको थियो, लेखेको थियो, स्वीकारेको थियो- म अनुवादक, लेखकको छाया हुँ ।

Balaram-Adhikariझन्डै दस वर्षपछि भने उसले आफ्नो छायामयी अस्तित्व माथि प्रश्न गर्न थाल्यो । आफू केवल छाया होइन भन्ने निष्कर्ष निकाल्नतिर लाग्यो । आफ्नो निष्कर्ष उसले कसैलाई सुनाएन । केवल आफ्नो डायरीमा गुप्त लेख्यो । सार्वजनिक रूपमा आफूलाई लेखकको छाया स्वीकारेको त्यस छायाले मनमनै धेरै पटक दोहोर्‍यायो- म कसैको छाया होइन । मेरो आफ्नै आयतन छ, घनत्व छ । म आफ्नै गुरुत्वले अडिएको छु ।

तर बाहिर भन्नुभएन । आफूले बारम्बार छाया हुँ भनी-लेखी स्वीकारेको सम्झना भयो । पेट तन्किने गरी सास खिच्यो र आफ्नो उत्तेजनाको पुनरावलोकन गर्‍यो । आफ्नो अर्ध निष्कर्षमा थप्यो- म आफैं पनि सर्जक हुँ ।उसले आफ्नो छायामयी अस्तित्वलाई अस्वीकार गर्न र सर्जकीय पहिचानलाई उठाउन केही आधार खोज्यो, सबुत बटुल्यो । उसले आफ्नो अस्वीकृतिलाई उत्तरसंरचनावाद भन्ने विचारमा उभ्यायो- अनुवादक लेखकको छाया होइन । ऊ आफैं लेखक हो । उत्तरसंरचनावादले उसलाई लेखक र अनुवादकबीचको सम्बन्धलाई उल्टाएर हेर भन्यो । उल्ट्याइ हेर्‍यो । त्यहाँ उसले देख्यो, ऊ पनि लेखक झैं भाषाको नै खेल गर्दोरहेछ । लेखकले एउटा भाषामा लेख्यो उसले अर्को भाषामा । लेखक र अनुवादक दुवैजना भाषाको मायावी तानमा अर्थका रेसा उनेर सिर्जनाको पाठ बुन्दा रहेछन् । दुवैजना पाठ बुन्ने जुलाह रहेछन् । दुवैजना लेखक नै रहेछन् । भिन्न भाषामा लेख्ने । आ-आफ्नो शैलीअनुसार खेल्ने । आआफ्ना पाठककोमा पुग्ने । उसले अर्को साँझ डायरीमा थप्यो- त्यसो भए म पनि सर्जक हुँ ।

कपाल सेतै फुलेका ज्याक डेरिडा भन्नेले भर्खरै फुल्दै गरेको यस स्वघोषित सर्जकलाई थप उकेरा दिए । लेखक र अनुवादक दुवै लेखनका केन्द्र हुन् । अनुवादकले लेखकको केन्द्रलाई विनिर्माण गर्छ र फरक भाषामा अर्को केन्द्र निर्माण गर्छ । अनुवादकले लेखकलाई पुनर्निर्माण पनि गर्छ ।
छायाको अस्वीकृति

उठ्दै गरेको आफ्नो नयाँ अस्तित्वलाई धान्न उसले अरू केही सैद्धान्तिक थाक्रोको खोजी गर्न थाल्यो । त्यसमा उसले विनिर्माण नामको निकै दह्रो थाक्रो भेट्यो । कपाल सेतै फुलेका ज्याक डेरिडा भन्नेले भर्खरै फुल्दै गरेको यस स्वघोषित सर्जकलाई थप उकेरा दिए । लेखक र अनुवादक दुवै लेखनका केन्द्र हुन् । अनुवादकले लेखकको केन्द्रलाई विनिर्माण गर्छ र फरक भाषामा अर्को केन्द्र निर्माण गर्छ । अनुवादकले लेखकलाई पुनर्निर्माण पनि गर्छ ।
त्यसको केही सातापछि उसले उदयनारायण सिंहलाई पढ्यो । सिंहले पढाए- हरेक मौलिक साहित्यिक रचना अनुवाद हो, हरेक अनुवाद मौलिक सृजना हो।

 

उदयनारायणका बात उसलाई चित्त बुझ्यो । यी भारतीय विद्वान् अनुवाद गर्छन् । अनुवादका सिद्धान्त लेख्छन् । मैथिली भाषामा कविता रच्छन् । उसले उनका विचार पढेको छ, पढाएको छ । उनलाई एकपटक भेटेको पनि छ । उदयनारायणलाई पढेपछि-भेटेपछि भने उसले आफूलाई लेखकका रूपमा हेर्‍यो, देख्यो । अब लेखक र अनुवादकबीचको विभाजनको धर्सो निकै धुमिल देखिन थाल्यो । अनुवादकभित्र उसले लेखकलाई देख्यो, लेखकभित्र अनुवादकलाई।
ऊ थप आलम्बको खोजीमा थियो । उसले मेक्सिन लेखक ओक्टाभियो पासलाई भेटायो । हरेक लेखनी आफैंमा अनुवाद हो । भावना-विचार-अनुभव-अनुभूति अनुवाद भएर भाषामा व्यक्त हुन्छ । अमूर्त विचार बोलीमा रूपान्तरित भएर मूर्त बन्छ । बोलेको कुरा लेखनीमा अनुवाद हुन्छ । हामी सबै अनुवादक हौं । उसले लेखकलाई पनि अनुवादकका रूपमा देख्यो ।

उसले भानुभक्तलाई सम्झियो । भानुले 'रामायण' लेखे या वाल्मीकिको 'अध्यात्म रामायण'लाई अनुवाद गरे ? ! केही अनुवाद गरे, केही लेखे । त्यसो भए भानुभक्त लेखक या अनुवाद ? ! दुवै । उनी लेखक पनि, अनुवादक पनि एकैसाथ भए । भानुको 'रामायण'मा लेखकीय र अनुवादकीय दुवै शक्तिको घुलन भएको छ । नेपालीभाषी समुदायमा भानुको सम्मान अनुवादकको पनि सम्मान हो । तर भानु कुनै छाया लेखक होइनन्, न त अनुलेखक नै । 'रामायण'मा उनको आफ्नै सर्जकीय आयतन, घनत्व र गुरुत्व छ । अब भने उसले आफूलाई भानुको आडैमा उभ्यायो ।

भाषाको जग्गामा टेकेर डेरिडा, उदयनारायण, ओक्टाभियो पासलाई समाउँदै र भानुको कर्मलाई मनमा राख्दै उसले फेरि एक रात डायरीमा आफ्नो विचारको प्रविष्टि गर्‍यो- म कविसँगै हिँड्ने सहकवि हुँ । म सहसर्जक हुँ । मेरा आफ्नै संवेदनाहरू छन् । आफ्नै सृजना चेतना । हो, मैले अनुवाद गरेका सिर्जनाहरू 'जेनेटिकल्ली' मूल सर्जकसँग जोडिएका छन् तर प्रत्येक अनुदित सिर्जनाको आफ्नै जीवन छ । आफ्नै बन्धन र आफ्नै स्वतन्त्रता ।लेखक उसको स्रोत हो । तर, कुनै पनि लेखक आफैंमा अन्तिम स्रोत भने होइन । लेखकका पनि अनेकौं स्रोतहरू हुन्छन् । स्रोतको पनि स्रोत हुन्छ । बाको पनि बा हुन्छ, आमाको पनि आमा हुन्छ । लेखक उसको स्रोत हो भने ऊ लेखकको निकास हो । उसले अनुवाद गरेका हरेक लेखक ऊ हुँदै एउटा भाषाबाट निस्केर अर्को भाषामा प्रवेश गरेका छन् । त्यतिमात्रै होइन, अनुवादक आफैं पनि अर्को भाषाको पाठका लागि स्रोत हो ।

अनुवादका लागि लेखकले उसलाई विषयवस्तु दिएको हो । त्यसपछि उसले पनि लेखकलाई धेरै थोक दिएको छ । उसले लेखकलाई फरक भाषाको बोली दिएको छ । भिन्न भाषाका पाठकसँग जोडेको छ । ऊ आफूले अंग्रेजीमा अनुवाद गरेका उपन्यास, कथा, कविता सम्झियो । जे जतिले उसका सर्जकलाई अंग्रेजीमा पढ्छन् त्यो उसैको भाषा हो । लेखकलाई दिएको अंग्रेजी उसले कक्षा ४ देखि आजसम्मको ३० वर्षको यात्रामा आर्जन गरेको हो । त्यही अंगे्रजी बुझेर (नबुझेर) परभाषी पाठकहरू लेखकको सिर्जनाभित्र प्रवेश गरेका छन् । उसले आफ्नो भाषिक आर्जन लेखकको सिर्जनामा खन्याउँछ अन्ततः उसको आर्जन लेखककै बन्छ । भाषामात्रै पनि होइन । उसले आफ्नो सिर्जनात्मक रस लेखकको सिर्जनामा प्रवाहित गरेर लेखकलाई फरक भाषामा नयाँ जीवन दिएको छ । त्यसैले लेखकको विस्तारको महत्वपूर्ण कारक होऊ । उसले अनुवाद गरेका लेखकहरू उसको भाषा, उसको पठन क्षमता, लेखन कलाका साथै कमजोरी पनि लिएर परभाषी प्रदेशमा विस्तार भएका छन् ।

उसले एकाएक निष्कर्ष निकाल्यो- लेखकलाई भिन्न भाषामा पुनर्जन्म दिने म लघुब्रह्मा हुँ ।तर, उसले आफ्नो सर्जकीय चेतनामा अहँकारको सोडा मिसिएको चाल पायो । अहम् असन्तुलित भएपछि अहंकारमा बदलिन्छ । सर्जकका लागि अहम् आवश्यक छ, तर अहंकार भने अस्वस्थकर । सर्जक हुन अरूलाई धारण गर्न सक्नुपर्छ । सिर्जनाको धर्म हो धारण । अहंकारीको धारण क्षमता कम हुन्छ । अहंकारलाई बढ्न नदिन उसले सन्तुलनको खोजी गर्‍यो । कारण अहंकारबाट सिर्जना हुँदैन । केवल ध्वंशमात्र हुन्छ ।

सिर्जनका लागि सन्तुलन चाहिन्छ । सन्तुलन मध्यबिन्दुमा रहन्छ । त्यसैले ऊ मध्यबिन्दुकारी बन्न चाह्यो । अनि निष्कर्ष निकाल्यो- म अनुवादक लेखकको सिर्जनामा खेल्छु । लेखक मेरो भाषा लिएर परभाषी प्रदेशमा प्रवेश गर्दछ । लेखकले मलाई लेख्ने एउटा भाषाको विषयवस्तु दियो, मैले लेखकलाई अर्को भाषाको बोली दिएँ । मेरो पहिचानमा लेखक जोडिएको छ, लेखकको पहिचानमा म जोडिएको छु ।
उसले डायरीमा गुप्त रूपमा लेख्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.