पाठकको शिविरबाट
१.
म साहित्यको एउटा कहिल्यै नथाक्ने पाठकको रूपमा बुझ्छु आफूलाई । सधैं साहित्यमार्फत केही नयाँ आउला भनेर पर्खिरहने ! तर, कवि÷लेखकलाई तुरुन्तै प्रशंसा गरी नहाल्ने एउटा बैगुन रहेछ मेरो । केही लेखक÷कविले प्रशंसा नगरिदिएकामा सेलफोनमार्फत धम्क्याएका कथाहरू छन् मसँग । तर, म बिर्सिदिइहाल्छु । केही अघि एकजना कविको एउटा सानु कविताको प्रशंसा गरिदिएको, त्यसले आजसम्म खराब कविताको ठेलीका ठेली पठाएर दुःख दिएको दियै छ । प्रशंसाको भोक उत्ति राम्रो कुरा होइन । यद्यपि हामीमा त्यो हुन्छ । प्रशंसा खोज्न थालेपछि मानिसले नयाँ खोज बन्द गर्छ । लेखकले पाठकको प्रशंसा पाठक वा श्रोताको आँखामा हेरेर बुझेको राम्रो । यति भनेपछि कुरा सकियो ।
२.
मलाई जीवनमा विशेष अनुभव भएका लेखकहरू ज्यादा मन पर्छन् । कि अरू मानिसका विशेष अनुभवलाई काव्यमा, कथामा ल्याउने लेखकहरू मन पर्छन् । जस्तो विश्वेश्वरप्रसाद कोइरालाको 'आत्मवृत्तान्त' वा झमक कुमारीको 'जीवन काँडा कि फूल' । देवकोटाको 'पागल' वा भूपीको 'हो-चि मिन्हलाई चिठी' वा वैरागी काइँलाको 'मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित ।' तिनमा मैले भोगेको भन्दा नयाँ कुरा हुन्छन् । हेमिङ्वेको 'द ओल्ड म्यान एन्ड द सी' मा प्राप्ति बिना अथाह संघर्ष गर्ने अपराजेय एउटा बूढो मानिसको कथा छ । मो-यानको 'रेड सोरगम'मा जापान-चाइना युद्धको भयानक चाखलाग्दो कथा छ । पामुकको 'स्ट्रेन्जनेस इन माइ माइन्ड'मा आफ्नी प्रेमिका भनेर अँध्यारोमा हात समातेर कुदेको, बिहान हेर्दा त अर्कै मानिस पो छ । त्यो प्रेमीको मानसिक दशाको लोभलाग्दो वर्णन त्यसमा छ । यी रचनाहरूले मेरो जीवन, सोच र भावनामा नयाँ रङ थप्छन् । मलाई आफ्नो जीवनलाई÷जगत्लाई त्यसरी हेर्न सिकाउँछन् । हाम्रै महेशविक्रम शाहको 'छापामारको छोरो' कथा त्यस्तो एउटा प्राप्ति हो । धरावासीको 'झोला' कथा अर्को प्राप्ति हो । यी विशेष सोचहरू, अनुभव र अनुभूतिहरू हाम्रा नयाँ 'एडभेन्चर', नयाँ यात्राहरू हुन् । पाठकको प्रशंसा त त्यता जान्छ ।
३.
काव्य र संगीतको 'क्लासिकल आर्ट'लाई हामी अलि बढी नै बेवास्ता गर्छौं जस्तो लाग्छ । जस्तो आजका महान् गीत- संगीतहरूको जगमा शास्त्रीय संगीत छ । महानता त्यहाँबाट उठेर आएको छ । राम्रा गायकहरू आज पनि उठेर स्वर्गसम्म पुग्ने आलाप वा नादको उपयोग आधुनिक गायनका निम्ति गर्छन् । कवितामै पनि त्यस्तो भएको छ । एलियट ले जोन डन मरेको तीन सय वर्षपछि मानिसले तिनको ठूलो प्रशंसा गरे, तिनको 'मेटाफिजिकल' भनिने शैलीमा केही नयाँ समयको कविता लेखे । वाल्ट ह्विटम्यानभन्दा सय वर्षपछि एलेन गिन्सवर्गले ह्विटम्यानको शैलीमा 'हाउल', 'अमेरिका'जस्ता महान् कविताहरूको रचना गरे । काव्यमा छन्दको परम्परा त गयो । तर, तिनका महानताहरू पनि हामीले बिर्सियांै कि भन्ने लाग्छ । तिनको उपयोग आजको कवितामा हुन सक्थ्यो कि ! 'एपिक थिएटर'को जगमा आधुनिक कविताहरू लेखिँदा ती महान् हुन सक्थे कि भन्ने हो । हामीले बिर्सेको वा ध्यान नदिएको वा बेवास्ता गरेको कुरामा हाम्रो साहित्यको सम्पत्ति छुटेको छ कि भनेको हुँ । हाम्रो काव्यको, हाम्रो साहित्यको भर्भराउँदो बैंसमा पुराना मूल्यवान् गहनाहरूले काम गर्थे कि भन्ने हो।
४.
जीवनलाई 'सेलेब्रेट' गर्ने आशावादी लेखक-कविबाट म सधैं प्रभावित हुन्छु । विगतमा केही सुन्दर कविता, कथा पढिसकेपछि मैले ती रचनाकारको निजी जीवन अध्ययन गर्ने कोसिस गरेँ । मलाई सधैं लागिरह्यो कि मौलिक सोच र भीषण भावना व्यक्त गर्ने कवि वा लेखकको जीवनमा केही कुरा छ । मैले के पाएँ भने तिनमा पनि दुःख छ तर ती भयानक ढंगले आशावादी छन् । आँसु, हाँसो, जय, पराजय, आशा, निराशा, प्रेम वा घृणा, जीवन या मृत्यु सबै कुरालाई ती 'सेलेव्रेट' गर्छन् । र, नै आँसु, पराजय, घृणा र मृत्युका बारेमा समेत उनीहरू भयानक सुन्दर अभिव्यक्तिमा बाहिर आउँछन् । बीपी कोइराला आफ्नो वृत्तान्तमा भन्छन्, 'साहसले हाम्रो मनको धेरै खाली ठाउँ भर्नुपर्छ । त्यो चाहिन्छ ।' तिनका रचनाहरू दुःखमा, एकान्तमा, पराजयमा, चोटमा हाम्रा मित्र बन्छन् । ढल्नै लागेको विद्रोह उठ्तछ, भावना उठ्तछ । मलाई के लाग्यो र लागिरहन्छ भने आत्मपराजित र कुण्ठाग्रस्त लेखक-कविको रचनामा चाहिँ एउटा बोझ हुन्छ । एउटा भित्री आर्तनाद, जो हामी पाठक लामो समय सहन गर्नैं सक्तैनौं ।
आजका अंग्रेज साहित्यकारहरू पाँच सय वर्षअघिका शेक्सपियरलाई हरेक दिनजस्तो सम्झन्छन् । उनको रचनामाथि छलफल गर्छन् । हामीले त ज्युँदाजाग्दा माधव घिमिरे नै बिर्सन आँटिसक्यौं । यो आधुनिक चाला होइन ।
५.
अहिले आधुनिक लेखक-कवि बन्ने होड छ र युवा लेखकहरू लिस्ट बनाइ-बनाई सोसल मिडियाका, क्वान्टम फिजिक्सका शब्दहरू कवितामा खाँदेर लेख्छन् । केही त्यस्ता छन् । आधुनिक हुनु भनेको आजको मानिसलाई सम्बोधन गर्नु हो । त्यो इतिहासको जुन शताब्दीबाट गरे पनि हुन्छ । यसमा दुइटा कुरा भनिहालूँ ! त्यो के भने कवि रोवर्ट फ्रस्टले पनि आफ्ना बीसभन्दा बढी कवितामा 'एस्ट्रोनोमी'का शब्दहरूको प्रयोग गरेका छन् । तर, त्यो आधुनिक बन्न होइन । तारा-विज्ञान रहस्यमय छ, विज्ञान स्वयम् ठूलो रहस्यमय यात्रा हो । तर, त्यसको महावर्णन विज्ञानले गर्न सक्तैन, साहित्यले मात्र गर्न सक्छ भनेर फ्रस्टले त्यसो गरे । उता आजका अंग्रेज साहित्यकारहरू पाँच सय वर्षअघिका शेक्सपियरलाई हरेक दिनजस्तो सम्झन्छन् । उनको रचनामाथि छलफल गर्छन् । हामीले त ज्युँदाजाग्दा माधव घिमिरे नै बिर्सन आँटिसक्यौं । यो आधुनिक चाला होइन ।
६.
लेखकको भन्ने क्षमता यौटा अद्भुत क्षमता हो । 'शिरीषको फूल'की हाम्री पारिजात भनौं वा 'द हार्ट अफ अ वुमन' लेख्ने अमेरिकी अश्वेत 'पोएट लरिएट'माया एन्जेलो । उनीहरूको वर्णनमै कविताले पटक-पटक अनुहार देखाउँछ । जीवनका अनेक रहस्यहरू रातको तारा जसरी खुरुरु सतहमा आउँछन्, जब उनीहरू बोल्छन् । हल्का शब्दहरूलाई उठाएर उनीहरू यसरी राखिदिन्छन् कि शताब्दीयौं ती शब्दहरूलाई कसैले चलाउन सक्तैनन् । पारिजातको शैली थियो- जहाँजहाँ बोल्न सम्भव छ बोल्ने ! जहाँ कठिन छ त्यहाँ बिम्बको, काव्यको प्रयोग गर्ने । त्यसो गर्दा लेखक पनि बोल्ने र हामी पाठकले पनि सोच्ने, कल्पना गर्ने अवसर पाउने हुन्छ । देवकोटाको 'के नेपाल सानो छ ? ' मा राष्ट्रिय गौरवको एक महावर्णन छ । शंकर लामिछानेका निबन्धहरूमा त्यस्तै महावर्णन छ । 'फोसिल'का कथाकार कुमार नगरकोटीको 'गिद्धहरूको नाच' कथालाई नै एकपटक हेरौं । एउटा अदभुत वर्णनसहित कथा अघि बढ्छ । राम्रो गद्य-साहित्यको त्यो एउटा ठूलो गुण हो ।
७.
साहित्यकार÷प्रोफेसर एलबी क्षेत्री हरेकजसो नयाँ लेखक वा कविलाई भनिरहन्छन्, 'स्टाइल इज द म्यान ।' त्यो प्रख्यात भनाइलाई हामी कसरी बुझ्छौं भने जे लेख, वा बोल नितान्त मौलिक शैलीमा बोल वा लेख । ठट्टा नै रचना गर्दैछौं भने पनि शिल्पसहित त्यसो गर । उनको भनाइअनुसार, लेखनमार्फत लेखकको व्यक्तित्व परिभाषित हुन्छ । आफ्नो व्यक्तित्वको परिभाषा जथाभावी गर्न अरुलाई अवसर नदेऊ ।
८.
संगीतका 'माइस्ट्रो'हरू थोरै गल्तीलाई पनि माफ गर्दैनन् । गायनकलामा पनि त्यो क्षम्य हुँदैन । निरन्तरको अभ्यासलाई प्रेरित गरिन्छ तर कलाको गल्तीलाई क्षमा गरिँदैन । तर, लेखनमा त्यो अभ्यास गर्नेलाई 'तानाशाह' भनिदिन्छन् । लेखिका माया एन्जेलोले 'द हार्ट अफ अ वुमन' पुस्तकमा प्रारम्भमा 'हार्लेम राइटर्स गिल्ड'मा, अश्वेत लेखक, नाटककारहरूको 'सर्कल'मा आफ्ना प्रारम्भिक सिर्जनाकालका रचनाहरूमाथिको कटाक्ष र शरमको व्यापक वर्णन गरेकी छिन् । हाम्रामा लेखक दुःखै नपाई हिमचुली पुगुँ भन्छ । समस्या छ ।
९.
स-साना मानिसको भाषा र त्यसको संगीत एकदमै मन छुने किसिमको हुन्छ । उनीहरूको प्रेममा कविहरूको प्रेमको भाषाको 'सोफिस्ट्री' हुँदैन । पहिले कथाहरूमा नायकहरूले जुन दुःख पाउँथे, त्यसकै समकक्षमा दुःख र संघर्ष झेलेका मानिसहरू भनेकै आजका साधारण मानिसहरू हुन् । पर्दामा उतार्ने हो भने हरेक साधारण मानिस एक जटिल जीवनकथाको नायक हो । तिनको जीवन एक अलिखित महाकाव्यजस्तो छ ।
उनीहरूको भाषामा उनीहरूको जीवनको कथा लेख्ने काम नेपाली साहित्यको पछिल्लो विकासक्रमको एक कडी हो । सिर्जनशील अराजकताका हाङयुग, राजन र उपेन्द्रजीहरूले त घोषणा नै गरेर त्यही सौन्दर्य लेखनमा ल्याए । त्यसो गर्दा मात्रै विविध सांस्कृतिक विम्बहरू साहित्यमा आयो । यो रोचक कुरा हो । बुद्धिसागरले कर्णालीको जीवन र भाषामाथि आफ्नो ट्रेडमार्क राइटिङ दिँदै आएका छन् । नयनराज पाण्डेले 'उलार'मा, अमर न्यौपानेले 'सेतो धरती'मा आञ्चलिक सौन्दर्यको घना प्रस्तुति दिए । देशको राजनीतिक, सामाजिक, आर्थिक अस्थिरताले साधारण मानिसलाई जति प्रभावित गर्छ, अरूलाई गर्दैन । त्यो सघन संवेदनशीलताको गर्भमा पुगेर आउने लेखकले मात्रै अझ उत्कृष्ट र 'ओरिजिनल' कथा भन्न सक्छन् भन्ने आजका पाठकहरू ठान्दछन् ।
१०.
हामी पढ्नेहरू के देख्दछौं भने केही लेखकहरू एकदमै 'रिजिड' छन् । एकदमै सीधा उभिने । प्रख्यात कवि मायाकोब्सीको बारेमा भनिन्छ- उनी यति 'रिजिड' थिए कि साहित्यमा आएको व्यापक परिर्वतनको आँधीसित निहुरिन, लचिलो हुन नसकेर उनले आत्महत्या नै गरे । यो प्रजातान्त्रिक युगमा अलिक व्यापक, विस्तारित दृष्टिको आवश्यकता पर्छ । साहित्य लेख्नु भनेको भावनाको खेल हो । सुन्दर भाव र सिर्जना जुन नेपाली भाषा र संस्कृतिबाट आए पनि यो मुलुकको साझा भाव र संस्कृतिको विस्तारमा काम गर्ने हो । आदरभावको संस्कृतिले साहित्यलाई व्यापक क्यानभास दिलाउँछ । अब यो अनिवार्य छ ।
११.
सघन र कलात्मक प्रस्तुित नभए पाठकहरू ठगिएको महसुस गर्छन् । श्रवण मुकारुङले 'पुरानो मानिस' लेखे । साधारण मान्छेको भाषामा एक उच्च कलात्मक रचना दिए । सरस्वती प्रतीक्षाले एक विधवा नारीबारे कविता दिइन् तर एकदमै सघन र आकर्षक किसिमले । कवितामा विप्लब ढकाल, आहुति, भूपाल राई, मोमिला, रमेश क्षितिज, केशव सिलवाल, भूपिन, देवान किराँती, सरिता तिवारी, सीमा आभास, विनोदविक्रम केसी आदि सघन प्रस्तुतिकै कारण आकर्षक छन् । स्वप्नील स्मृति, चन्द्रवीर तुम्बापो, हेमन यात्री, नवराज पराजुली, नवीन प्राचिन, रामगोपाल आशुतोष आदि सघन काव्यिक प्रस्तुतिका पछिल्ला कडीहरू हुन् । हामी पाठक लेखनमार्फत सधैं केही नयाँ, केही सघन आओस् भनेर पर्खिबस्छांै । चेतना भया ।