भिडालको आरोप–खेल प्रतिबन्धबारे मेसीका लागि फिफाकाे फरक नियम छ
चिलीका स्टार खेलाडी अटुरो भिडालले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई विशेष सुविधा दिएको आरोप लगाएका छन्। भिडालले मेसीमाथि अन्तर्राष्ट्रिय खेलमा लागेको चार खेलको प्रतिबन्ध फुकुवा गरेर विशेष सुविधा दिएको आरोप लगाएका हुन्।
फिफाको अपिल कमिटीले मेसीमाथि लगाइएको चार खेलको प्रतिबन्ध हटाएपछि भिडालले यस्तो प्रतिक्रिया दिएका हुन्। भिडालले भनेका छन्,‘ मेसी अर्जेन्टिनी टिममा हुँदा राम्रो हुन्छ। तर, नियम र कानुन सवै खेलाडीलाई बराबर लागू हुनुपर्छ।’
‘यो धेरै जटिल विषय हो,’भिडालले भनेका छन्,‘ नियम सवै खेलाडीलाई बराबर लागू हुनुपर्छ। विभेद गरिनु हुँदैन।’ मेसी अर्जेन्टिनी टिममा हुँदा मेसी आफै र फुटबल खेलका लागि पनि राम्रो हुने बताउँदै उनले भनेका छन्,‘म के चाहान्छु भने सवैलाई समान खालको व्यवहार फिफाले गरोस्।’
सन् २०१८ मा रुसमा हुने विश्वकप छनौट अन्तर्गत चिलीविरुद्धको खेलमा सहायक रेफ्रीमाथि अपशव्द बोलेको भन्दै मेसीमाथि यसअघि फिफाले चार खेलको प्रतिबन्ध लगाएको थियो। मेसीमाथि चार खेलको प्रतिबन्ध लागेको केही घण्टापछि खेलेको विश्वकप छनौटको खेलमा अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको थियो। तर, फिफाको अपिल कमिटीले शुक्रबार मेसीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेपछि अब बाँकी खेल खेल्न पाउनेछन्।
अर्जेन्टिनी दक्षिण अमेरिकी राष्ट्रको छनौटमा तालिकाको पाँचौ स्थानमा छ। चौथो स्थानसम्म रहने टिम सिधै विश्वकपका लागि छनोट हुने छन् भने पाँचौ स्थानमा रहने टोलीले प्ले अफ खेल्नु पर्नेछ।