अमेरिकाले बमको नाम ‘मदर अफ अल बम्स’ राखेकोप्रति पोपको आपत्ति
काठमाडौं : अमेरिकाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बमको नाम ‘द मदर अफ अल बम्स’ राखेकोप्रति इसाइ धर्मगुरु पोप फ्रान्सिसले आपत्ति जनाउनु भएको छ। पोपले आमाले सन्तानलाई जन्म दिने र बमले मृत्यु दिने भएकाले किन यस्तो नाम राखियो भन्दै प्रश्न गर्नु भएको हो।
बिबिसीका अनुसार भ्याटिकनमा विद्यार्थीको एउटा समूहलाई सम्बोधन गर्दै पोपले अमेरिकी सेनाले फौजी कारबाहीमा प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बमको नामप्रति आपत्ति जनाउनु भएको हो।
‘त्यो नाम सुनेपछि मलाई लाज लाग्यो। आमाले सन्तानलाई जन्म दिन्छिन् तर त्यो बमले मृत्यु दिन्छ, त्यस्तो वस्तुलाई हामी आमा भन्छौँ, किन यस्तो गरेको होला ?,’ पोपले प्रश्न गर्नु भएको छ।
अमेरिकाले सबैभन्दा शक्तिशाली बमको नाम यस्तो राखेकोप्रति उहाँको आपत्ति थियो। अमेरिकाले केही समयअघि मात्र इस्लामिक स्टेटविरुद्ध करिब १० हजार किलोको उक्त बम प्रहार गरेको थियो।
अमेरिकी सेनाले उक्त बमको वास्तविक नाम एमओएबी अर्थात् जीबीयु/फोर थ्री बी म्यासिभ ओर्डनेसन एअर ब्लास्ट बम’ भनिएको छ।
उक्त बमलाई अग्रेजी चलन चल्चीमा ‘मदर अफ अल बम्स’ भनिएपछि पोपले त्यसप्रति आपत्ति जनाएका हुन्। जसको नेपाली अर्थ ‘बमहरुकी आमा’ भन्ने हुन्छ।