अमेरिकी भिसा आवेदनसँग सामाजिक सञ्जालको जानकारी दिनुपर्ने
वासिङटन : अमेरिकी प्रशासनले अमेरिका प्रवेशका लागि भिसा आवेदन गर्ने व्यक्तिमाथि केही नयाँ नियम लागू गरेको छ । त्यस्ता व्यक्तिले भिसाको आवेदन गर्दा सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रोफाइलको पनि विस्तृत जानकारी दिनुपर्ने छ ।
आतंकवादी गतिविधिसँग सम्बन्ध राख्ने वा अमेरिकी राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अनुचित व्यक्ति अमेरिका प्रवेश गर्न नपाऊन् भनेर यस्तो व्यवस्था गरिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयले बिहीबार एक अधिसूचना जारी गरेको छ । त्यसमा अमेरिकी विदेश मन्त्रालय भिसा आवेदकसँग के के कुरा सोध्ने भनेर सुझाव पनि मागेको छ । विदेश मन्त्रालयले आतंकवादी व्यक्तिलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सहज हुने टिप्पणी अपेक्षा गरेको बताएको छ । वर्षेनि ६५ हजार आवेदक अथवा कुल आवेदकको ०.५ प्रतिशत यो नियमबाट प्रभावित हुने अनुमान गरिएको छ ।
अधिसूचनामा भनिएको छ, ‘यात्रा इतिहासका सम्बन्धमा विदेश मन्त्रालयका अधिकारीलाई शंका लागेमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय यात्राको विस्तृत विवरण बुझाउनुपर्ने छ । आवेदक कुनै आतंकवादी संगठनको नियन्त्रणमा रहेको भए उसकले आफ्नो सबै खाले जानकारी उपलब्ध गराउन पनि भनिएको छ । त्यहाँ व्यवस्थिा गरिएका थप नियम लागू हुने आवेदकले त आफ्ना दाजुभाइ र दिदीबहिनीको जन्ममिति लगायतका जानकारी उपलब्ध गराउनुपर्ने छ । उनीहरूले अमेरिकी विदेश मन्त्रालयलाई आफ्नो सामाजिक सञ्जाल तथा अरू अनलाइन प्लेटफार्मको बारेमा पनि विस्तृत जानकारी दिनुपर्ने बताइएको छ ।
यस्ता सूचनाबाट अमेरिकी विदेश मन्त्रालयले अमेरिकी हितको प्रतिकूल व्यक्तिको पहिचान गर्न सहज हुने अपेक्षा गरेको छ । अमेरिकाभित्रै पनि यो अधिसूचनाको विरोध गरिएको छ । जेनिफर फिलिन नामक एक महिलाले ‘निकै बकवास'को संज्ञा दिँदै यो प्रस्ताव हास्यास्पद, बोझिलो र अनावश्यक भएको प्रतिक्रिया दिइन् ।