‘माओवादीसँग लड्न युद्ध र विकास सँगसँगै’
नयाँदिल्ली: भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सशस्त्र माओवादी विद्रोहीसँग लड्न युद्ध र विकास दुवै नीति सँगसँगै अघि बढाइने धारणा व्यक्त गरेका छन् । माओवादी (नक्सलवादी) प्रभावित भारतका १० वटा राज्यका मुख्यमन्त्रीहरूसँगको सम्मेलनमा सिंहले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
नक्सलवादीसँगको समस्याका लागि उनले ८ सूत्रीय समाधानको सुझाव प्रस्तुत गरेका छन् । उनले यसलाई नक्सल प्रभावित राज्य सरकारका तर्फबाट माओवादी हिंसा अन्त्यलाई ‘लक्ष्यको एकता’का रूपमा स्वीकार गरी लागू गर्न पनि निर्देश दिएका छन् । उनले ८ सूत्रीय सुझावमा कुशल नेतृत्व, आक्रामक रणनीति, प्रोत्साहन एवं प्रशिक्षण, सशक्त गुप्तचर संयन्त्र, कार्यान्वयनमा तदारुकता, प्रभावकारी प्रविधि, नक्सलपन्थीलाई उपलब्ध हुने आर्थिक सहयोग रोक्न आवश्यक भएको उनको कथन थियो ।
गृहमन्त्री सिंहले विगतमा माओवादी विद्रोहीबाट भएका आक्रमणबाट शिक्षा लिँदै आक्रामक रूपमा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । रणनीति र सुरक्षा बलको तैनाथी, सडक निर्माण लगायत विकासका पूर्वाधार पूरा गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । सम्मेलनमा पश्चिम बंगाल, आन्ध्र प्रदेश, तेलंगाना र मध्य प्रदेशका मुख्यमन्त्रीहरू भने बैठकमा उपस्थित थिएनन् ।
राजनाथ सिंहले नक्सल प्रभावित सबै राज्य सरकारलाई नक्सली हिंसा उन्मूलन गर्न ‘साझा लक्ष्य’ मानेर काम गर्नुपर्नेमा जोड दिए । सशस्त्र नक्सलवादीले बन्दुकको भरमा विकास र लोकतन्त्रको गला घोटेको भन्दै उनले त्यसको भत्र्सना गरे । माओवादीको त्यस्तो प्रयास असफल बनाउन एकीकृत कमानको गठन गरी साझा रणनीति बनाउन सुझाव दिएका छन् ।
सिंहले नक्सलवादीको हिंसा रोक्न उनीहरूको आ श्रयस्थल पत्ता लगाउन मानवरहित विमानको अधिक प्रयोग गरिने दाबी गरे । छत्तीसगढमा माओवादीको आक्रमणमा २५ सुरक्षाकर्मीको मृत्यु भएको थियो । आक्रमणसँगै गृहमन्त्रीले माओवादी प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग बैठक आयोजना गरेका थिए । सिंहले भने, ‘मलाई विश्वास छ, हतियारको बलमा विकासमा अवरोध गर्न र लोकतन्त्रको घाँटी निमोठ्न सम्भव छैन ।’
माओवादी हत्या र हिंसा रोक्न भारतमा ल्याइएको एकीकृत कमान गठनलाई महत्वपूर्ण मानिएको छ। नक्सलवादीले एउटा राज्यमा हिंसात्मक कार्य गरेर अर्को राज्यमा आ श्रय लिने गर्दै आएका थिए । माओवादी प्रभावित राज्यका प्रहरीलाई विशेष प्रशिक्षण पनि दिइने भएको छ । छत्तीसगढ राज्यका २ हजार प्रहरीले सैन्य स्कुलबाट तालिम लिइसकेका छन् । यसबाट विद्रोहीसँगको भिडन्त र अपरेसनमा सफलता मिलेको बताइएको छ ।