बाख्रापालनबाट लाखौं आम्दानी
धरान : सुनसरीका किसान बाख्रापालन व्यवसायतर्फ आर्कषित हुन थालेका छन् । बाख्र पालन व्यवसायबाट कम समयमा बढी आम्दानी हुने भएपछि किसानले बाख्रापालन व्यवसाय रोजेका हुन् ।उन्नत जातका बाख्राबाट जन्मिएका बोका हुर्काएर खसी पारी किसानले मासुका रूपमा बिक्री गर्न थालेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
सुनसरीमा पुरुषभन्दा बढी महिला बाख्रापालन व्यवसायमा आकर्षित भएका छन् । सुनसरीका पहाडी क्षेत्र, धरान, विष्णुपादुका, बराहक्षेत्र, पाँचकन्या तथा तरहरा, बक्लौरी, महेन्द्रनगर, प्रकासपुर, चतरा, मधुवन र श्रीपुर, हरिपुर, पश्चिम कुसाहा बाख्रा पालन व्यवसायको पकेट क्षेत्रमा पर्दछन् । बजारमा खसीको मासु प्रतिकेजी सात सय केजी पुगेपछि सुनसरीका किसान बाख्रा पालेर लाखौं आयआर्जन गरिरहेका छन् ।
गाईभैंसी पालेर दूध बिक्री गर्नुभन्दा बाख्रा खसी पाल्दा बढी आम्दानी हुन थालेपछि बाख्रापालन सुरु गरेको रामधुनी नगरपालीकाकी रमा ढकालले बताउनुभयो । उहाँले बाख्रा खसी पालेर बर्सेनि एक लाखभन्दा बढी रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो ।सुनसरीमा बाख्रापालनका लागि आवश्यक चरण क्षेत्र पर्याप्त भएपछि किसान बाख्रापालन व्यवसायमा आर्कषित हुन थालेको जिल्ला पशु सेवा कार्यालयका केशव श्रेष्ठले बताउनुभयो । सुनसरीको चारकोसै जंगल भएका कारण यहाँका किसानलाई बाख्रा चराउन घाँस काट्न सहज भएका कारण पनि किसान बाख्रा खसी व्यवसायमा आर्कषित हुन थालेको उहाँको भनाइ छ । बाख्रा पालन व्यवसायमा जिल्लाका महिला संगठित रूपमा कृषि समूह गठन गरी बाख्रापालनलाई व्यावसायिक रूपमा अगाडि बढाइरहेका छन् ।
इनरुवाका महिलाले २०६६ साल यता नेवा बाख्रापालन कृषक समूह गठन गरी मासिक तीन लाखभन्दा बढी रकम बचत गरिरहेको समूहका अध्यक्ष कृष्णा श्रेष्ठले बताउनुभयो ।अखिल नेपाल किसान महासंघका केन्दी्रय सदस्य गणेश गुरङ सरकारले किसानलाई उन्नत जातका बाख्रा र सहुलियत दरमा ऋण प्रदान गरे बाख्रापालन व्यवसाय अझ प्रभावकारी हुने बताउनुहुन्छ । सरकारले कृर्षि तथा पशुपालनमा दिने अनुदान किसानको पहुँचसम्म आइनपुग्दा किसानले बैंकको महँगो ब्याजको मार खेप्नु परेको उहाँको भनाइ छ । सुनसरीमा उत्पादन गरिएका बोका खसी मासुका लागि विराटनगर, काठमाडौंलगायत स्थानमा समेत निर्यात हुने गरेका छन् ।
सुनसरीका विभिन्न स्थानमा तीन लाख ५० हजारभन्दा बढी उन्नत जातका बाख्रा व्यावसायिक रूपमा किसानले पालेको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले बताउनुभयो । सुनरीका किसानले बाख्रापालनबाट वार्षिक तीन अर्बभन्दा बढी रकम आम्दानी गर्ने गरेको उहाँको भनाइ छ। सुनसरीमा पुरुषभन्दा बढी महिला बाख्रापालन व्यवसायमा आकर्षित भएका छन् ।