दक्षिण कोरियामा राष्ट्रपति पदका लागि निर्वाचन जारी
सोल : दक्षिण कोरियामा उन्नाइसौ राष्ट्रपति चयनका लागि मंगलबार मतदान भइरहेको छ । बिहान छ बजेदेखि देशभरका १३ हजार नौ सय चौसठ्ठी मतदान केन्द्रमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ आठ बजेसम्म जारी रहने पनि आयोगले बताएको छ । मतपरिणामको औपचारिक घोषणा बुधवारविहान दुइ बजे भित्र हुन सक्ने बताइएको छ ।
मतदान सकिएपछि प्रारम्भिक चुनावी नतिजा तथा मतसर्वेक्षण सार्वजानिक हुने छ । राष्ट्रिय निर्वाचन आयोगका अनुसार ८० प्रतिशत भन्दा बढी मतदाताले मत खसाल्ने छन् । यसअघि दुर्इ दिन भएको अर्लि भोटिङ अर्थात अग्रिम मतदानमा कुल मतदाताको २६.१ प्रतिशत मत खसेको थियो ।
केहि महिनाअघि बहुप्रतिक्षित भ्रष्टाचार काण्डमा राष्ट्रपति पार्क गून्ह्ये मुछिएर अपदस्थ भएपछि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । पार्कको बर्खास्तीपछि कोरियाली राजनीति विभाजित अवस्थामा रहेको छ । धेरैजसो मतदाताले रुढिवादी दललाई परास्त पार्नुपर्ने पक्षमा छन् भने पार्क समर्थकहरु बचाउने सुरमा छन् । निर्वाचन मार्फत चुनिने नयाँ राष्ट्रपति सामू पार्क पदच्यूत भएपछिको रिक्तता पूरा गर्नु, युवा बेरोजगारी अन्त्य, खस्कदो अर्थतन्त्रको सुधार, उत्तर कोरियाको आणविक तथा मिशाइल चूनौति हल गर्ने, विभाजित कोरियनलाई एकजुट पार्ने लगायतका चुनौतीको सामना गर्नु पर्ने जिम्मेवारी अगाडि छन् ।
चुनावी मैदानमा तेह्र उम्मेद्वार प्रतिश्पर्धामा भएपनि मुख्य तीन उम्मेद्वारबीच टकराव हुने देखिएको छ । यद्यपी लिबरल डेमोक्रयाटिक पार्टीका उम्मेद्वार मुन जे इन अन्य भन्दा अग्रस्थानमा देखिएका छन् । मून जे इनलाई टक्कर दिन प्रोग्रेसिभ जस्टीस पार्टीका सिम सङ जङ, रुढिवादी लिबर्टी कोरिया पार्टीका उम्मेद्वार हङ जुन प्यो र आन छल सुल रहेका छन् । तर सार्वजानिक मतसर्वेक्षणले अन्य प्रतिश्पर्धी उम्मेद्वार भन्दा मुन जे इन धेरै मतान्तरले अगाडि रहेको देखाएका छन् । मत सर्वेक्षणको परिणाम नउल्टिए मून जे इन कोरियाको नयाँ राष्ट्रपति बन्ने प्रबल सम्भावना रहेको छ ।