पुरुषोत्तम दाहालको ‘शिखरवृत्त’ कथा संग्रहकाे विमाेचन
काठमाडौंः वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ‘शिखरवृत्त’ कथा संग्रह आख्यान दिवसको अवसर पारेर विमोचन गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइराला तथा वरिष्ठ आख्यायानकार धु्रवचन्द्र गौतमले संयुक्त रूपमा उक्त कथा संग्रहको काठमाडौंमा विमोचन गर्नुभएको हो। दाहालकाे पुस्तक उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थ लिमिटेडले प्रकाशनमा ल्याएको हो।
कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले लेखक कुनै सीमामा नबाँधी लेख्न सक्ने बताउनुभयो। विशेष अतिथि धु्रवचन्द्र गौतमले उपलब्धि सहकारीले आख्यान दिवसको अवसरमा पुस्तक विमोचन भएकोमा खुसी व्यक्त गर्नुभयो।
समिक्षक डा. नारायण चालिसेले विक्रम संवत् २०३७ सालदेखि २०७३ सालसम्मको लामो कालखण्डमा रचना गरिएका १५ वटा कथालाई संग्रहित गरिएको ‘शिखर–वृत्त’ कथासंग्रमा काथाकारले जीवनमा भोगेका अनुभूतिहरू समेटिएको बताउनुभयो ।
लेखक पुरुषोत्तम दाहालले आफूले जीवनमा भोगेका कुरा नै कथामा व्यक्त गरेको बताउनुभयो। स्रष्टा दाहालका यसअघि ‘शान्ता’ उपन्यास, मेरो पत्रकारिता, ‘अन्धकारको यात्री’ कवितासंग्रह प्रकाशित भइसकेका छन्।
कार्यक्रममा पूर्व मन्त्री होमनाथ दाहाल, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, वरिष्ठ आख्यानकार धु्रव सापकोटा लगायतले पुस्तकको चर्चा गर्नुभएको थियो।